१४ मंसिर २०७८, मंगलवार ०८:११ – Page 4 – Nagarikabhiyan : National News

भीम रावललाई भोट नहाल्न भन्दै एमाले प्रतिनिधिहरुलाई बाँडियो पर्चा

चितवन । नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडेको भेटिएको छ ।

एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आज बिहानबाट मतदान सुरु भएको छ । मतदानमा सहभागी प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको दुई खालको पर्चा बाँडिएको छ । त्यसमा अध्यक्षका उम्मेदवार भीम रावलको नाम सबैभन्दा माथि छ ।

अध्यक्षमा केपी शर्मा ओलीसँग रावलको प्रतिस्पर्धा छ । यसअघि रावलको पक्षमा भोट माग्दै पर्चा बाँड्ने कार्यकर्ताहरुलाई एमालेका स्वयंसेवकहरुले बन्दसत्र हलको परिसरबाट बाहिर निकालेका थिए ।

भोट नहाल्न भन्दै बाँडिएको पर्चामा अरु कसको नाम छ ?

यसैगरी, उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल, खुला सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भीमप्रसाद आचार्यलाई पनि भोट नहाल्न भन्दै पर्चा बाँडिएको छ ।

यसैगरी प्रदेश १ खुला सदस्यमा भाष्कर काफ्ले, प्रदेश १ महिला सदस्यमा नीरा खनाल, सुदूरपश्चिम प्रदेश महिला सदस्यमा पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्न भनिएको छ ।

 

माओवादी नेता अनिललाई पूर्वजनमुक्ति सेनाकाे सहयोग

उदयपुर।  क्यान्सर रोगबाट पीडित माओवादी केन्द्र उदयपुरका नेता भीमबहादुर अधिकारी ‘अनिल’लाई पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुले आर्थिक सहयोग गरेका छन् ।

वैदेशिक रोजगारी तथा नेपालमा रहेको पूर्वजनमुक्ति सेनाका कमाण्डरले नेता अनिललाई ३८ हजार ५ सय ३७ रुपैयाँ सहयोग  गरेका हुन् । रकम हस्तान्तरण गर्न पूर्वजनमुक्ति सेनाका सुनिता लामा पोखरेल र दुर्गा कार्की अनिलकाे घर पुगेका थिए ।

अनिललाई आर्थिक सहयोग गर्न राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १०४०१०००२१६३५०१० मा सहयोग पठाउन अनुरोध  गरिएकाे छ ।

एक दिन कैदका फरार प्रतिवादी पक्राउ

लमजुङ ।  लमजुङ प्रहरीले बैंकिङ कसूरका फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।  बेसीशहर नगरपालिका ३ बसौलाका प्रजिता गुरुङलाई प्रहरीले पक्राउ गरेको हाे ।

उच्च अदालत पाटनले ५ पुस, ०७७ मा १ दिन कैद र दुई लाख जरिवाना तोकेको थियो ।  फैसलादेखि फरार रहेकी गुरुङलाई सोमबार पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

उनलाई सोमबार नै लमजुङ जिल्ला अदालतबाट कैद भुक्तान गर्न कारागार लमजुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताए । गुरुङले जरिवाना वापतको रकम बुझाएकी हुँदा एक दिन कैदका लागि सोमबार नै कारागार चलान गरिएको छ ।

जिप दुर्घटनामा चार जनाको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नंको जिप औँलामा दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुढबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा छन् ।

उनीहरु सवै बेगका बासिन्दा हुन् । गौमाया रघुगङ्गा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् । पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ । जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो ।

आज देशभर बदली, भाेलि यी क्षेत्रमा वर्षाकाे आँकलन

काठमाडौं । अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेकाे छ । आज देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली  रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात सम्भावना पनि रहेकाे महाशाखाले जानकारी दिएकाे छ ।

मेसीले जिते सातौँपल्ट बेलन डे’अर

काठमाडौँ । लियोनल मेसीले सोमबार कीर्तिमान सातौं पल्ट बेलन डे’अर जितेका छन् । व्यक्तिगत रूपमा उनको खेल जीवन यो वर्ष उतारचढावपूर्ण रह्यो, तर उनले अर्जेन्टिनाका लागि कोपा अमेरिका भने जिते । अर्जेन्टिनी मेसीले यही उपाधिका कारणले आफूले बेलन डे’अर जितेको पनि मानेका छन् । महिलातर्फ भने स्पेनकी एलेक्सिया पुटेलासले बेलन डे’अर अवार्ड जितिन् । अहिले ३४ वर्ष पुगिसकेका मेसीले यो अवार्ड जित्ने क्रममा रोबर्ट लेवनडोस्की र करिम बेम्जेमालाई उछिनेका हुन् । अवार्ड कार्यक्रम पेरिसमा आयोजना गरिएको थियो र संयोगले अहिले उनी पेरिसकै क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्छन् ।

अगस्टमै मात्र उनी बार्सिलोना छाडेर पीएसजी आएका हुन् । उनको नेतृत्वमा यसपल्ट अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो र यो अर्जेन्टिनाले सन् १९९३ यता जितेको पहिलो ठूलो उपाधि हो । अवार्ड थापेपछि मेसीले भने, ‘मलाई लागेको थियो, अब यो अवार्ड जितिने छैन्, तर फेरि जितेकोमा खुसी छुं ।’

उनले यो अवार्ड सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा पनि जितेका थिए ।

सार्वजनिक सवारीमा जीपीएस ट्रयाकिङ शुरु

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा ‘जीपीएस भेहिकल-ट्रयाकिङ सिस्टम’ को प्रयोग शुरु गरेको छ ।  परीक्षणका रूपमा शुरुआतको चरणमा ‘फर्स्ट कम, फर्स्ट सर्भ’का आधारमा १०० वटा सवारीमा निःशुल्क सेवा दिएर प्रोत्सहान गर्ने योजना छ ।

पहिलो दिनमा आइतबार १७ वटा सार्वजनिक बसमा यस्तो ट्रयाकिङ सिस्टम जोडिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनका अनुसार काठमाडौं-पोखरा, काठमाडौं-वीरगञ्ज  काठमाडौं-बर्दिबास-जनपुर रुटमा चल्ने सवारीबाट यसको शुरुआत गरिएको हो ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार सवारी व्यवस्थापन गर्न आधुनिक प्रणालीमा जान खोजिएकोे विभागका महानिर्देशक घिमिरेले बताए ।

सबै सार्वजनिक सवारीमा जीपीएस सिस्टम लगाएर एउटा कन्ट्रोल रुम बनाउन सकिने र देशभरको सार्वजनिक सवारी व्यवस्थापनको अवस्था एउटै कक्षबाट निरीक्षण गरेर नियन्त्रण गर्न सकिने विभाग बताउँछ ।

‘जीपीएस सिस्टम लागेपछि कुन सवारी कति बजे कहाँबाट छुट्यो र कुन ठाउँमा कति बजे पुग्छ भन्ने जानकारी पाइन्छ,’ उनले भने, ‘सर्वसधारणले पनि सार्वजनिक सवारीको कहाँ पुग्यो भनेर जानकारी लिन सक्ने गरी एप पनि विकास गरेका छौं ।’

उनले आफ्नो सवारी रहेको लोकेसन र गतिबारे लाइभ मनिटरिङ गर्न सकिने भ्एकाले सवारी धनी नै यसमा आकषिर्त हुने घिमिरे दावी गर्छन् ।  सवारी दुर्घटना नियन्त्रणमा यो सिस्टम सबैभन्दा बढी उपयोगी हुने यातायात व्यवस्था विभागको दाबी छ ।

अहिले ८० प्रतिशत सवारी दुर्घटना उच्च गतिमा सवारी चलाएका कारण हुन्छन् । राजमार्गमा तोकिएभन्दा उच्च गतिमा दौडने प्रवृत्तिलाई जीपीएस सिस्टमले निरुत्साहित गर्न सक्ने घिमिरे बताउँछन् ।

उच्च गतिमा रहेका सवारीलाई  ट्राफिकले तत्कालै नियन्त्रणमा लिएर सावधान गरान सक्ने विभागको भनाइ छ ।  कुनै सवारी दुर्घटनामा परेको जानकारी लिन सजिलो हुने र राजमार्गमा विभिन्न कारण आउने अवरोध तथा जामको प्रारम्भिक सूचना पनि लिन सकिने विभाग बताउँछ ।

एमाले महाधिवेशन : मतदान जारी

साैराहा । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सौराहामा मंगलबार बिहानबाट मतदान जारी छ ।

राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको हो  । पहिलो मत एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् । उनी अध्यक्षका उम्मेदवार हुन् । ओलीसँग उपाध्यक्ष भीम रावल चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्षका उम्मेदवार रालव लगायतका नेताहरूले सुरूवातमा मतदान गरेका थिए ।  यसअघिको कार्यतालिका अनुसार बिहान ८ बजेसम्म मतदान हुनेछ ।

एमालेमा अध्यक्ष तथा उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सात जना प्रतिस्पर्धामा छन् । सात सचिव पदमा   ९ जनाको उम्मेदवारी परेको छ। ७ क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि चुनाव भएको हो । एमालेको १०औँ महाधिवेशन १० मंसिरदेखि जारी छ ।

विश्व इतिहासमा आजः प्यालेस्टाइनमा गृहयुद्धदेखि फिनल्यान्ड र सोभियत युनियनबीच शीतयुद्ध सुरु भएको त्यो दिन

आज ३० नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

प्यालेस्टाइनमा गृहयुद्ध
सन् १९४७ मा प्यालेस्टाइनमा गृहयुद्ध भएको थियो । संयुक्त राष्ट्रसंघको महासभाले प्यालेस्टाइनलाई दुई राज्यमा विभाजन गर्ने संकल्प प्रस्ताव पारितसँगै गृहयुद्ध भएको थियो । नोभेम्बर ३० मा सुरु भएको युद्धमा धेरै हिंसा भएका थिए । दुई ओटा गाडीभित्र रहेका इजरायली यात्रुहरुलाई अरबी बन्दूकधारीले तेल अभिभमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । १४ मेमा इजरायलले आफूलाई स्वतन्त्रत राष्ट्र घोषणा ग¥यो । युद्धमा इजिप्ट, जोर्डन, सिरिया आबद्ध भएपछि १५ मेमा सो युद्ध क्षेत्रीय युद्धमा परिणत भएको थियो ।

शीतयुद्ध सुरु
सन् १९३९ मा तत्कालिन सोभियत युनियनले फिनल्यान्डमा अतिक्रमण गरेर हेलसिन्कीमा हमला गरेपछि फिनल्यान्ड र सोभियत युनियनबीच शीतयुद्ध भएको थियो । मस्को शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सन् १९४० को ३० मार्चमा युद्ध अन्त्य भएको थियो । आक्रमणका कारण सोभियत युनियन लिग अफ नेसनबाट निस्काशित भएको थियो ।

पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता
सन् १८७२ मा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । स्कटल्यान्डको प्याट्रिकस्थित क्रिकेट क्लबमा बेलायत र स्कटल्यान्डबीच खेल भएको थियो । खेल बराबरीमा समाप्त भएको थियो ।

माइकल ज्याक्सनको रेकड

सन् १९८२ मा माइकल ज्याक्सनको गीतहरुको एलबम थ्रीलर विश्वव्यापी सार्वजनिक भएको थियो । सर्वाधिक बिक्री भएको भनिएको सो एलबमको नौ ओटा ट्र्याक छन् । एलबमले ८ ओटा ग्र्यामी अवार्ड जितेको छ । सन् १९८४ मा वर्षको सर्वाधिक लोकप्रिय एलबम बनेको थियो ।

एमाले केन्द्रीय कमिटीमा विशाल भट्टराई किन अटेनन् ?

काठमाडौं । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई एमाले अध्यक्ष केपी ओली निकट हुन् । अध्यक्ष ओलीको विश्वासपात्र भएकै कारण भट्टराईले एमालेका प्रमुख सचेतकको भूमिकामा छन् ।

चितवनमा जारी एमालेको १०औँ राष्ट्रिय अधिवेशनमा अध्यक्ष ओलीले आइतबार राति सार्वजनिक गरेको ३०१ जना केन्द्रीय सदस्यको सूचीमा भने भट्टराईको नाम अटाएन ।  प्रमुख सचेतककै नाम केन्द्रीय सदस्यको सूचीमा नसमेटिँदा अनेक अडकालबाझी भइरहेका छन् । सामाजिक सञ्जालमा समेत अनेकथरी टिकाटिप्पणी भइरहेका छन् ।

तर, भट्टराईले नेतृत्वसँगको सल्लाहमा अर्को महत्वपूर्ण जिम्मेवारी पाउनेगरी केन्द्रीय कमिटिमा नाम नराखिएको प्रष्ट्याएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत भट्टराईले थप सशक्त भूमिकासहित पार्टी संगठन निर्माण र परिचालनको काममा लाग्ने जानकारी दिएका छन् ।

स्राेतका अनुसार अध्यक्ष ओलीले भट्टराईलाई प्रदेश नम्बर १ को अध्यक्ष दिने आश्वासन दिएका छन् ।  ‘खासमा पार्टी अध्यक्ष, महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने भन्नुभएको छ । म यसै पनि संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त भूमिकासहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु,’ भट्टराईले लेखेका छन्, ‘यहि कारणले मात्र मेरो भूमिका खुम्चिदैन, म कमजोर बन्दिन । नेपाली राजनीतिमा मेरो सानो–ठूलो भूमिका अनवरत रहिरहनेछ । कोही खुसी नहुन, कोही चिन्तित नहुन बिनम्रतापूर्वक आग्रह गर्दछु ।’

प्रधानन्यायाधीश र सर्वोच्चका प्रवक्ता दाहाललाई कोरोना संक्रमण

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई कोरोना संक्रमण भएको छ । उनलाई सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा भर्ना गरिएको छ ।

परिवारका एक सदस्यमा संक्रमण भएपछि सोमबार राणाको पनि परीक्षण गरिएको जनाइएको छ ।

यस्तै सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहाल पनि कोरोना संक्रमित भएका छन् ।

मलाई केपी ओली मन पर्नुहुन्छ : रेखा थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भिजन प्रति सहमति जनाएकी छिन् ।

न्युज कारखानासँग कुरा गर्दै अभिनेतृ थापाले ओलीको भिजन दूरगामी भएको बताएकी छन् । उमेर बढी भए पनि ओलीको सोच र दिमाग युवा पुस्ताको झै भएको बताएकी हुन् । उनले एमालेको १०औं महाधिवेशनमा ओलीले अवलम्बन गरेको नीति पनि आफूलाई मन परेको बताएकी छन् ।

‘म केपी ओलीको पार्टीको मान्छे होइन । उहाँसँग मेरो सिद्धान्त मिल्दैन । तर, उहाँको भिजन मनपर्छ । त्यसैले मलाई ओली मन पर्ने नेताभित्र पर्नुहुन्छ,’ उनले भनिन् ।

आजको राशिफल : २०७८ मंसिर १४ गते

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जानेछैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडि छोड्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

शाहशिलो कामगर्ने जोसजागर आउँनेछ भने खेलकुद तथा यस्तै गतिबिधिमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको गाठो कसिलो भएर जानेछ । साझपख समय मध्ययम रहेकोले आमा तथा आफन्तसँग मनमुटाब बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ‘ओमिक्रोन’

एजेन्सी । पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र र फ्रान्समा पनि कोरोनभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ‘ओमिक्रोन’बाट सङ्क्रमित भेटिएका छन् । फ्रान्सका स्वास्थ्य मन्त्रीले आइतबार राति ओमिक्रोनबाट सङ्क्रमित शंकास्पद विरामी भेटिएको जानकारी दिनुभयो । पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरुमा परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको उहाँको भनाई छ । सङ्क्रमित भएका मध्ये ८ जनामा कोरोनाभाइरसको नयाँ सङ्क्रमण ओमिक्रोन नै हुन सक्ने उहाँले बताउनुभयो ।

त्यसैगरी पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा रहेको आप्रवासी शिविरमा पनि कम्तीमा दुई जनामा कोरोनाभाइरसको नयाँ संस्करण देखिएको छ ।बेलारुसको ग्रोड्नो क्षेत्रका गभर्नर भ्लादिमिर कारानिकले आफ्नो देशमा पनि ओमिक्रोन भेटिएको पुष्टि गर्नु भएको हो । “हाम्रो स्वास्थ्य प्रयोगशालाले पनि उनीहरुमा ओमिक्रोन भेटिएको पुष्टि गरेको छ, उनीहरुको थप उपचार भइरहेको छ, थप फैलिन नदिनका लागि हामीले उच्च सतर्कता अपनाउनु पर्नेछ” उहाँले भन्नुभयो ।

युरोपेली मुलुक प्रवेश गर्नका लागि हजारौ शरणार्थीहरु पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा शरणार्थीको रुपमा बसेका छन् । उनीहरुका कारण अरुलाई पनि कोरोनाभाइरसको महामारी फैलिन सक्ने खतरा रहेको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

नारायणघाटबाट बुटवल हुँदै महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना

बुटवल । नारायणघाटबाट बुटवल हुँदै महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना भएको छ । सोमबार बिहान नारायणघाटबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ८९४९ नम्बरको बस बर्दियाको बारबर्दिया ८ औरीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी बसका चालकसहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौं। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज आयोजना गरेको कार्यक्रममा उनले आफू विद्यार्थी राजनाीति गर्दादेखि नै सीप र ज्ञान हस्तान्तरणको पक्षमा वकालत गर्दै आएको बताए।

उनले सबै क्षेत्रका नागरिकका लागि सरकारले सुरक्षित आवास निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले सरकारले कार्यक्रमका रुपमा सुरक्षित आवास निर्माणलाई अघि बढाइरहेको जानकारी पनि दिए। मन्त्री झाँक्रीले विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका निजी आवासको निर्माण अन्तिम चरणमा पुगेको बताए। अनुसन्धानको नतिजालाई जीवनसँग जोड्ने कुरा महत्वपूर्ण भएको उनले बताए। उनले भने, ‘विद्यार्थीलाई अध्ययन, अनुसन्धानमा नै सहयोग गर्ने मन्त्रालयको सोच छ।’

कार्यक्रममा इञ्जिनीयरिङ र इञ्जिनीयरिङबिना निर्माण गरिएका दुई घर प्रदर्शनीमा राखिएका छन्। यी घरमा भूकम्पको धक्का दिएर कतिसम्म थेग्न सक्छ भनी हेर्न सकिन्छ। नेपालमा ग्रामीण क्षेत्रमा रहेका अधिकांश घर स्थानीय निर्माण सामग्री ढुंगा, माटोले बनाइएका हुन्छन्। स्थानीय निर्माण सामग्रीको प्रयोग गरेर पनि इञ्जिनीयरिङ गरिएका घरहरु अरु सामान्य घरभन्दा कति बलियो हुन्छन् भन्ने देखाउन लागिएको आयोजकको भनाइ छ।

अरु सबै किसिमका घरहरुले कतिसम्मको भूकम्पको सामना गर्न सक्ने छन् भनी परीक्षण गर्न सकिने बताइएको छ। भारतका प्राध्यापकहरुले यसको निर्माण गरेर त्यहीँ परीक्षण पनि गरिएको थियो। -रासस