१२ आश्विन २०७८, मंगलवार १५:१६ – Page 3 – Nagarikabhiyan : National News

इलामको फाकफोकथुममा खोलाले बगाउँदा बालिकाको मृत्यु

मङ्गलबारे । इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो ।

फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फिर्कदै गर्दा खोलाले बगाएको थियो ।भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले राईलाई बगाएर बेपत्ता बनाए पछि खोजतलास गर्दा ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव आज पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

बीएस६ भर्सनको यामाहा एमटी–१५ सार्वजनिक, यस्तो छ मूल्य र विशेषताहरु

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले बीएस६ भर्सनको एमटी–१५ लन्च गरेको छ । भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेन्ज मेलामा सो बाइक सार्वजनिक गरिएको हो ।

एमटी–१५ मा बीएस६ मापदण्डयुक्त १५५ सीसी लिक्विडकुल्ड फोरस्ट्रोक एसओएचसी फोर भल्व इन्जिन हुनेछ, जसले १८.५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ ।

यसको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक दिइएको छ । डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको यो मोटरसाइकलमा एलइडी हेडलाईट र एबीएसको विशेषता रहेको छ ।

बाइकको मूल्य ४ लाख ४९ हजार ९ सय, ४ लाख ५४ हजार ९ सय र ४ लाख ५९ हजार ९ सय रुपैयाँ छ । बाइक किन्ने ग्राहकलाई ज्याकेट र हेल्मेटलगायतका एसेसरिज समेत उपलब्ध गराइने छ ।

मकवानपुरमा डेङ्गुका बिरामी घट्दै

मकवानपुर । मकवानपुरमा डङुेगु सङ्क्रमण घट्दै गएको छ । कोरोना महामारीका कारण सरसफाइ र स्वास्थ्य सावधानीमा जोड दिएपछि लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामीको सङ्ख्या घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष हेटौँडालगायत मकवानपुरमा १४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

आर्थिक वर्ष २०७६र०७७ तीन हजार ३८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार विशेषगरी साउन महिनादेखि कातिक महिनासम्म फेला पर्ने सो रोगका बिरामीको सङ्ख्या गत आवमा १४ जनामा मात्र देखिएको थियो ।

आर्थिक वर्ष २०७७र७८ मा साउनमा एक महिला र दुई पुरुष, भदौ महिनामा एक महिला र तीन पुरुष, असोजमा दुई महिला र चार पुरुष, कात्तिकमा एक पुरुषमा डेङुगुरोग फेला परेको थियो । डेङ्गु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । वर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फूल पार्ने गर्दछ ।

खासगरी वर्षाको पानी जम्ने टिनको भाँडा, पुरानो टायर, ड्रम, गमला र पानी ट्याङ्कीमा यसले फूल पार्ने गर्दछ् । यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ ।

मांसपेशी र हाडजोर्नीहरु दुख्ने, शरीरमा बिमिराहरु देखापर्नेलगायत लक्षणहरु यसमा देखिन्छन् । डेङ्गु विरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट सुरक्षित रहन आवश्यक रहेको विज्ञको भनाइ छ ।

वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लैजाने तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लाने तयारी गरिएको छ।

सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि थाइल्याण्ड लाने तयारी गरिएको माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए। पुनलाई पुरानै रोग जन्डिस बल्झिएपछि उपचारका लागि विदेश लैजान लागिएको हो।

सुमेरु अस्पतालमा उपचार गराइरहेका पुनलाई बुधबार बिहान बैंककस्थित समितिभेज अस्पतालमा लैजान लागिएको पुन निकट स्रोतले बतायो।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको बताइएको छ। ४ वर्षअघि पनि पुनलाई यस्तै समस्या देखिएको हो। त्यो बेलामा समेत पुनले बैंककमा उपचार गराएका थिए।

यमनमा हुथी विद्रोही र गठबन्धन सेनाबीच भिडन्त, ६७ जनाको मृत्यु

एजेन्सी । यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाबीच भएको भिडन्तमा कम्तीमा ६७ जनाको मृत्यु भएको छ ।देशको मुख्य शहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले सोमबार जानकारी दिएको छ ।

इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो । यही महिना मात्रै अरू पनि दर्जनौँ लडाकूहरू मारिएको स्रोतले जनाएको छ । मारिबमा लगातार झडप हुन थालेपछि हजारौँ स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

प्रान्तभरी रहेका शरणार्थी शिविरहरूमा २० लाखभन्दा बढी शरणार्थी रहेका छन् । ‘पछिल्लो २४ घण्टामा मारिब र शाब्वामा भएका हवाई आक्रमण तथा झडपमा परी हुथी विद्रोही र यमनी उदारवादी पक्षका गरी ६७ जनाको मृत्यु भएको छ’, सैन्य स्रोतले भन्यो ।

अस्पताल स्रोतले पनि ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । विद्रोहीहरूले भने कहिले कहिले मात्रै आफ्नो तर्फको क्षति स्वीकार्ने गरेका छन् ।

सैन्य स्रोतले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा साउदी अरब नेतृत्वको गठवन्धन सेनाले २० हवाई आक्रमण गरेको थियो ।

कांग्रेसभित्रैको किचलाेले मन्त्रिमण्डल विस्तारमा झन् ढिलाई

काठमाडौं । मन्त्रिपरिषद्ले तत्काल पूर्णता नपाउने भएको छ । सत्ता गठबन्धनका दलहरूले आन्तरिक तयारी नसकेका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको हो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भए पनि दलहरूले सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् गठनमा ढिलाइ हुने देखिएको छ ।

सत्ता गठबन्धनको दल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य विरोध खतिवडाले पार्टीका आन्तरिक तयारी नपुगेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन दुई दिन जति लाग्ने बताए ।

सत्तारुढ अर्को दल जनता समाजवादीका नेता मोहम्मद इश्तियाक राईले पनि पार्टीको आन्तरिक तयारी नसकिएकाले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लाग्न दुई/तीन दिन लाग्ने बताए ।

‘कांग्रेसको आन्तरिक विवाद कायमै छ, उसको विवाद टुंगो लागेपछि मात्र अरु पार्टीको मन्त्रीको टुंगो लाग्ने हो’, राईले भने, ‘कांग्रेसले कुन–कुन मन्त्रालय पाउँछ त्यसपछि अरुको टुंगो लाग्छ ।’

कांग्रेसभित्र देउवाले एकलौटी रुपमा मन्त्रिमण्डल विस्तार गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले असन्तुष्टी जनाउँदै आएको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो कोटाबाट मात्रै मन्त्री नियुक्त गरेपछि पौडेल पक्ष असन्तुष्ट बन्दै आइरहेको छ । उनले आफू पक्षीय नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेपछि संस्थापन इतर पक्ष रुष्ट बन्दै आइरहेको छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एक/दुई दिन भित्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।

‘मन्त्रीको टुंगो लागेको छैन् । आज हुने सम्भावना छैन् । भोली र पर्सीसम्ममा विस्तार भइसक्छ,’ स्थायी कमिटी सदस्य रहेका नेता गजुरेलले भने । यस्तै नेकपा (एकीकृत समाजवादी )ले पनि मन्त्री र मन्त्रालय बाँडफाँडको टुंगो लगाउन बाँकी रहेको महासचिव बेदुराम भुसालले जानकारी दिए । नेकपा एसले मन्त्रीको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिइसकेको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएकाले देउवाले ७३ दिनभन्दा बढी हुंदा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको साढे दुई महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

जसपाले दल विभाजनमा सहज हुने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा जाने मन्त्रीको टुंगो नलगाने अडान राखेको थियो । कांग्रेससिहत सबै दलहरूमा मन्त्री बन्नका लागि नेताहरूको हानथाप छ ।

अहिले प्रधानमन्त्री देउवासहित कांग्रेसबाट गृहमा बालकृष्ण खांड र कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ छन् ।

अपराह्न्न ३ बजेका लागि बोलाइएको माओवादी स्थायी कमिटी बैठक स्थगित, भोलि ११ बजे बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज अपराह्न्न ३ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्थताका कारण बैठक सारिएको बताइएको छ। आज बोलाइएको बैठकमा विभिन्न सम्मेलनको मितिलाई अन्तिम रुप दिने , सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, आयोगहरुको फर्मेसन गर्ने लगायतका एजेन्डा थियो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आउँदो कात्तिक ७ र ८ गते

काठमाडौं । यो वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आउँदो कात्तिक ७ र ८ गते सञ्चालन हुने भएको छ ।

नियमित तालिका अनुसार कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको कार्यक्रम यो वर्ष सो मितिमा बडादसैँ परेका कारण सारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिँदै आएको छ ।

त्यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्व बालभिटा समेत लक्षित जिल्लाहरूमा वितरण गर्दै आएको छ ।

झापाबाट १४७ ग्राम ब्राउनसुगर र नगदसहित युवा पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिकाबाट ठूलो परिमाणमा ब्राउनसुगर र नगदसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका बिर्तामोड–१ स्थित पञ्चकन्या प्लटिङबाट जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले कनकाई नगरपालिका–९ का टेकराज साह र सोही स्थानका २४ वर्षीय विकास मर्डीलाई १४७ ग्राम ब्राउनसुगर र रु दुई लाख ६९ हजार ३०० सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

सुरुमा प्रहरी टोलीले जाँच गर्दा साहको साथबाट ०।५ मिलीग्राम र मर्डीको साथबाट चार ग्राम पाँच मिलीग्राम ब्राउनसुगर बरामद भएको थियो ।

सोधपुछ गर्दा मर्डीको बिर्तामोड–१ स्थितमा डेरा कोठामा जाँच गर्दा थप १४२ ग्राम ३७ मिलीग्राम ब्राउनसुगर, नगद रु दुई लाख ६९ हजार ३००, एक थान डिजिटल तराजु, एक थान क्यानोनको डिजिटल क्यामेरा र उनले चलाउँदै आएको प्र१–०१–०१२प ९५४५ नंको एफजेड मोटरसाइकलसमेत बरामद गरिएको प्रवक्ता थापाले बताउनुभयो ।

पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि इप्रका अनारमनी राखिएको छ भने झापा अदालतबाट म्याद थपको अनुमति लिएर कानूनी प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा

काठमाण्डौ । मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउन नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छलफलमा जुटेका छन् ।

यी दुई पार्टीले आजै मन्त्रीको नाम टुङ्ग्याउने तयारी गरेका छन् । एकीकृत समाजवादी र जसपाबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कसले लिने भन्ने रस्साकस्सी चलेको छ ।

भौतिक पूर्वाधार जसपालाई दिएर एकीकृत समाजवादीलाई सहरी विकास मन्त्रालय दिनेबारे छलफल भइरहेको छ । माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

आज मन्त्रालय टुङ्गो लागेमा भोलि र नलागेमा पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । मन्त्रालय भागबन्डाका विषयमा मोटामोटी समझदारी भइसकेकाले मन्त्रिपरिषद् विस्तारमा अब ढिलाइ नहुने सत्ता गठबन्धनमा आबद्ध नेताहरुले बताएका छन् ।

दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन सहज भएको छ । यसअघि अध्यादेश  खारेज गर्न नहुने नेकपा एकीकृत समाजवादीको आग्रह र खारेज गर्नु पर्ने  जनता समाजवादी पार्टी जसपाको अडानका कारण मन्त्रिपरिषद् विस्तारमा समस्या भइरहेको थियो ।

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँला त ? कसको भागमा कति वटा मन्त्रालय ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णत दिनेबारे गृहकार्य थाल्नुभएको हो ।

प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग यसअघि पनि पटक पटक यसबारे छलफल गरिसक्नुभएको छ । दलहरुबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउने छ ।

यसैगरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता सामजवादीले ६–६ वटा मन्त्रालय लिने सहमति भएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री देउवाले २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न पाउने कानुनी व्यवस्था छ । नयाँ अध्यादेशअनुसार दर्ता भएका एकीकृत समाजवादीले कानुनी मान्यता पाएपछि सरकाले अध्यादेश फिर्ता लिएको हो ।

त्यसैगरी अध्यादेशमा अन्तरिम आदेश दिनु नपर्ने सर्वोच्च अदालतको फैसलाले पनि मन्त्रिपरिषद बिस्तारको बाटो खुलेको हो । मन्त्रिपरिषदले गत भदौ १ गते राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको थियो ।

मन्त्री चयन गर्न बस्ने भनिएको माओवादी स्थायी कमिटी बैठक स्थगित, अपराह्न ३ बजे बस्ने

काठमाडौँ  मन्त्री चयनका लागि आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएसँगै प्रधानमन्त्री शेरबहादुर  देउबाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि माओवादीले मन्त्री हुनेको नाम आजै टुंगो लगाउने तयारी गरेको थियो ।

तर आन्तरिक छलफल गरेर मात्रै अध्यक्ष पुष्पमल दाहालले बिहीबार ११ बजे बैठकमा नाम प्रस्ताव गर्ने गरी आज अपराह्न ३ बजे तय गरिएको बैठक स्थगित भएको नेता गणेश शाहले जानकारी दिए ।

अध्यक्ष प्रचण्डको सचिवालयले भने बैठकमा महाधिवेशन केन्द्रित विषयमा नै छलफल गरिने बताएको थियो ।

सोमबारको बैठकले महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो । मंगलबार त्यही हेरफेर गरिएको समयमा गुर्नपर्नै संगाठानिक कामबारे छलफल हुने जनाइएको थियो ।

रावल अपहरणमा प्रहरीमाथि नै शंका, अनुसन्धान गर्न छानबिन समिति गठन

काठमाडौं । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ ।

रावल अपहरण काण्डको अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले एसएसपी चक्रबहादुर सिंहको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिनुभएको छ । समितिमा एसपी कृष्ण कोइराला, डीएसपी रविन कार्की, इन्सपेक्टर ईश्वर कार्की र सई घनश्याम उप्रेती रहनुभएको छ । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

एकद्वार प्रणाली प्रभावकारी बनाउन आग्रह

काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले सरकारले उद्यमी–व्यवसायीलाई सहजीकरण गर्न सुरु गरेको एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न त्यहाँ दक्ष जनशक्ति परिचालन गर्न र अनुगमनमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

सङ्घको प्रतिनिधि मण्डलले सोमबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेल भेट गरी उक्त आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष सुनिलकुमार वंशलले नेतृत्व गरेको प्रतिनिधि मण्डलले घरबहाल करको दर १० बाट ५ प्रतिशत कायम गर्न तथा ड्यामेज भएका वस्तु नष्ट गरेको अनुगमन गरी प्रमाणित गर्ने छुट्टै निकायको आवश्यकतामा पनि जोड दिएको थियो ।

सीमा क्षेत्रबाट भइरहेको मदिरा चोरी पैठारीले ठूलो राजस्व गुमिरहेको र त्यसबाट कानुनी रूपमा ती वस्तुको कारोबार गरिरहेका व्यवसायीलाई अप्ठ्यरो परेको विषयमा पनि महानिर्देशक पौडेलको ध्यानाकर्षण गराइएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जवाफमा महानिर्देशक पौडेले सङ्घले उठाएका जायज विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

एमालेका पन्ध्र सय स्थानीय जनप्रतिनिधिले माधव नेपाललाई रोजे

काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । यही भदौ ९ गते एमालेबाट अलग्गिएर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तथा महन्थ ठाकुर नेतृत्वको अध्यक्षतामा लोसपा गठन भएको थियो ।

संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि दुवै पार्टी गठन भएको थियो । दुवै दलले भदौ ९ गते नै दल दर्ताको प्रमाणपत्र पाएसँगै निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्ने सूचना जारी गरेको थियो। स्थानीय तहका जनप्रतिनिधिका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्ने व्यवस्था गरिएको थियो। आयोगका सहायक प्रवक्ताको मलप्रसाद धमलाले आयोगको अन्तिम म्यादसम्म उक्त सङ्ख्यामा स्थानीय जनप्रतिनिधिले नयाँ दल रोजेको जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एमालेको विधान महाविधेशनको व्यवस्थापन पूरा

काठमाडौँ । नेकपा (एमाले) को विधान महाविधेशनको व्यवस्थापन पूरा गरिएको छ । यही असोज १५ देखि १७ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलनमा गर्न लागिएको महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो । मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचारप्रसार समिति संयोजक खिमलाल भट्टराईले महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिएका थिए। महाधिवेशनसभास्थलको तयारी पूरा गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।

उनले महाधिवेशनमा सहभागी हुने करिब पाँच हजार जनालाई सभाहलमा अट्ने गरी व्यवस्थापन गरिएको बताए । ‘सभामा दुई हजार ८४० कुर्ची भए पनि दायाँबायाँका खाली कोठामा थप एक हजारका दरले कुर्ची राखेर हामी व्यवस्थापन गर्छौँ’, उनले भने, ‘त्यहाँ पनि नअट्ने माथि बार्दलीमा स्क्रिन राखेर भए पनि प्रतिनिधिलाई अटाउने व्यवस्था गर्दछौँ ।’