११ भाद्र २०७८, शुक्रबार १५:४४ – Page 6 – Nagarikabhiyan : National News

विभिन्न मन्दिरका पूजारी ल्याएर विमलेन्द्र निधिले खोले सम्पर्क कार्यालय

काठमाडौं । पटक–पटक सर्दै आएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लक्षित गरी उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलेका छन् ।

सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका निधिले शुक्रबार (आज) दिउँसो थापागाउँस्थित नयाँ बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

निधिले आज बिहान ९ बजेको शुभसाइतमा पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वरलगायतका विभिन्न मन्दिरका पूजारी तथा पण्डित ल्याएर २१ ताराको पूजा गरेका हुन् ।

विभिन्न ज्योतिष, पञ्चाङ्ग निर्णायक समिति, बौद्ध धर्मका लामा र मुस्लिम धर्मका मौलनाहरूले पनि निधिलाई विजयको आशिर्वाद दिएका थिए । उक्त सम्पर्क कार्यालयमा निधिका समर्थक–शुभेच्छुक, नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

उक्त सम्पर्क कार्यालयका लागि निधिले बैंक्वेट नै भाडामा लिएका हुन् । सो सम्पर्क कार्यालयमा स्वास्थ्य उपचारसम्मको व्यवस्था गरिएको छ ।

चेलसीका मीडफिल्डर जोर्गिन्हो यूरोपको वर्ष खेलाडी घोषित

काठमाडौं । चेलसी एवम् इटालीका मीडफिल्डर जोर्गिन्हो यूरोपेली वर्ष खेलाडी घोषित हुनुभएको छ । २९ वर्षीय जोर्गिन्होले आफ्नै सहखेलाडी एन’गोलो कन्टे र म्यान्चेष्टर सिटीका केभिन डे ब्रुइनलाई उछिनेर वर्ष खेलाडी घोषित हुनुभएको हो ।
यूरोपेली फुटबल संघ(यूइएफए)ले थोमस टुचेल वर्ष प्रशिक्षकको रुपमा घोषित गरेको छ । चेलसीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउनुभएका टुचेललाई यूइएफएले वर्ष प्रशिक्षक घोषित गरेको हो । बार्सिलोनाका कप्तान अलेक्जिया पुतेल्लास वर्ष खेलाडी महिलाको उपाधि जित्नुभएको हो ।
जोर्गिन्होले चेलसीका लागि ५६ खेल खेल्नुभएको छ । जसमा उहाँले नौ गोल गर्नुभएको छ । उहाँको उपस्थितिमा चेलसीले च्याम्पियन्स लिग र इटालीले यूरोपेली च्याम्पियनशीपको उपाधि जित्न सकेको हो ।

मालीका पूर्बप्रधानमन्त्री प्रहरी नियन्त्रणमा

काठमाडौं । मालीका पूर्ब प्रधानमन्त्री बौबेये माइगालाई प्रहरीले गिरफ्तार गरेको छ । राष्ट्रपतिका लागि जहाज खरिद प्रकरणमा उहाँलाई नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अलजजिराले भने गिरफ्तारीको कारण अझै स्पष्ट भइनसकेको भएपनि सन् २०१४ मा खरिद गरिएको जहाजसँग जोडिएको हुन सक्ने बताएको छ । उक्त जहाज चार करोड डलरमा खरिद गरिएको थियो । पूर्ब प्रधानमन्त्री माइगाका अधिवक्ता कसौम टापोले हामीले अझै फाइल हेर्न नपाएकोले स्पष्ट भन्ने अवस्था नरहेको रोयटर्ससँगको कुराकानीमा उल्लेख गर्नुभएको छ ।
माइगाले सन्े २०१७ देखि २०१९ सम्म मालीका प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हाल्नुभएको थियो । आगामी वर्ष हुने चुनाबमा राष्ट्रपति पदका लागि तयारी गर्नुभएका माइगाको गिरफ्तारीले चुनाबी अभियानमा धक्का लाग्ने बताइएको छ ।

अफगानी क्रिकेटर रासिद खान भन्छन्- अफगानीलाई मार्न बन्द गर

काठमाडौं । अफगानिस्तानका युवा क्रिकेटर रासिद खानले विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको लागि अग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्- अहिले पुनः काबुलमा रगत बगिरहेको छ । कृपया, अफगानीलाई मार्न बन्द गर ।’

बिहीबार काबुल विमानस्थलमा भएको बम विष्फोटको घटनालाई लक्षित गर्दै रासिद खानले यस्तो प्रतिक्रिया दिएका हुन् । बिहीबार विमानस्थलमा भएको उक्त आक्रमणमा परी अहिलेसम्म ९० जनाको मृत्यु भएको छ । जसमध्ये १३ जना अमेरिकी सैनिक छन् । यो आक्रमणको तालिबानले भत्र्सना गरेको छ । तालिबानले यो आक्रमण अमेरिकी सेनाको नियन्त्रणमा रहेको स्थानमा भएको बताएको छ ।

यसअघि अगष्ट १० मा रासिद खानले विश्व समुदायलाई अफगानिस्तानलाई समस्यामा छाड्न नजान आग्रह गर्दै ट्वीट गरेका थिए । उनले अफगानिस्तानमा प्रत्येक दिन निर्दोष मानिस, बालबालिका र महिला मारिइरहेको, घर र सम्पत्तिहरु ध्वस्त भइरहेको भन्दै उनले यो अवस्थामा अफगानिस्तानलाई नछाड्न उनले विशव समुदायलाई अपिल गरेका थिए । उनले आफूहरुले शान्ति चाहेको उनको भनाइ थियो ।

तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै आगाम महिना तय गरिएको अफगानिस्तान र पाकिस्तानबीचको एकदिवसीय क्रिकेट अर्को वर्षसम्मका लागि स्थगित गरिएको छ । तालिबानले पुरुष क्रिकेट टोलीमा कुनै किसिमको हस्तक्षेप नगर्ने बताएको छ । तर, महिला खेलकूद के हुन्छ भन्ने स्पष्ट भइसकेको छैन ।

पुल ढलानको तयार सेन्टिङ्ग बगाउँदा १० लाखको क्षति

चितवन । माडीको मगोई खोलामा आएको बाढीका कारण पुल ढलानको लागि तयार गरिएको सेन्टिङ्ग बगाउँदा करिब १० लाख बराबरको क्षति भएको छ ।

ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले दिएको जानकारीअनुसार बिहीबार रातिदेखि लगातार परेको पानीका कारण आज (शुक्रबार) बिहान करिब ६ बजेतिर मगोई खोलामा बाढी आएको हो ।

लोहनी कन्स्ट्रक्सनले बिगत २ वर्षदेखि बनाउन सुरु गरेको पुलको २ वटा स्ल्याब बनिसकेको र तेस्रो स्ल्याबको ढलानको लागि सेन्टिङ्ग गरेर तयारी गरेको भए पनि बाढी आएसँगै सबै सेन्टिङ्गका सामग्रीहरु बगाएको हो ।

पौडेलले सो खोलाले नजिकै रहेको विद्युतको पोल भएको स्थानतर्फ पनि बाढीले कटान सुरु गरेपछि अहिले बिद्युत लाइन पनि काटिएको जानकारी दिए ।

अहिले माडीका रिउ, परेउ, घागर, पतेरे, बगर खोला लगाएतका ठाडो खोलामा पानीको सतह बढी रहेको र सबैलाई सतर्क रहन भनिएको पौडेलको भनाई छ ।

झाँक्रीको मन्त्रालय टुंगियो

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकाे नवगठित नेकपा (एकीकृत समाजवादी) कम्तिमा पाँच जना मन्त्री र एक जना राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तयारीमा छ। कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगाे लाग्न बाँकी भए पनि सत्तारुढ गठबन्धनका पाँच दलभित्र कसले कति मन्त्रालय पाउने भन्ने बिहीबार लगभग टुङ्गो लागेको छ ।

मन्त्रालयको सङ्ख्या टुङ्गो लागे पनि कुन–मन्त्रालय कसको भागमा र कति राज्यमन्त्री भन्ने अझै एकीन भई नसकेकाे सरकारी स्रोतले जनाएको छ । सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निभाएबापत् कांग्रेसले उपसभामुख पनि माधव नेपालकै भागमा थपिदिने ती अधिकारीले बताए ।

पार्टी फुटाउनुअघि नै नियुक्तिमा हिस्सा पाउन सुरु गरेकाे नेकपा (एकीकृत समाजवादी) ले  राज्यका महत्वपूर्ण निकायमा पनि आफ्नो सहभागिता खाेजेकाे बालुवाटार स्राेतले जनाएकाे छ।

उपसभामुखका लागि तीन सांसद कल्याणी खड्का, पुष्पाकुमारी कर्ण वा सरला यादवको नाम चर्चामा भएपनि को हुन्छ भनेबारे एकीन गरिएको छैन। यसबारे पार्टीभित्र आन्तरिक छलफल चलिरहेको बताइएको छ।

उपसभामुखका लागि सुरुमा वामदेव गौतमले पत्नी तुलसा थापाका लागि चासो देखाएका थिए तर नेता गौतमकाे दोधारेपनले पत्नी तुलसा थापाले उपसभामुखकाे अवसर गुमाइन्। गौतमले मन्त्री बनाउने आश्वासन पाएपछि पत्नी थापालाई माधव नेपालको पक्षमा लगाए पनि ढिलो भइसकेकाे छ । अब उनी मन्त्री बन्न सक्ने छैनन् ।

नेपाल पक्षबाट विरोध खतिवडाकाे नाम मन्त्रीकाे लागि लगभग पक्का भएकाे छ। उनी ०४८ सालदेखि संसदमा चुनिएका खतिवडा चार पटक चुनाव लडेर सधैँ जितेका तर एमालेले कहिल्यै मन्त्री नबनाएका नेता हुन् ।

त्यस्तै, रामचन्द्र पौडेललाई चुनाव हराएरआएका सांसद् कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) लाई भने नेता नेपालले राज्यमन्त्री मात्र बनाउने तयारीमा रहेको स्रोतकाे दाबी छ। उनी पार्टीको केन्द्रीय सदस्य नभएकाले राज्यमन्त्री मात्र बनाउने संभावना रहेको ती नेताले जानकारी दिए ।

नेता नेपालले बिहिबार पत्रकार सम्मेलन गरी सरकारमा सहभागी हुने जानकारी गराएका छन्प  । त्यसलगत्तै मन्त्रीका लागि मरिहत्ते गरिरहेका सांसदहरू मेटमणि चौधरी र प्रेम बहादुर आलेको नाम सबैभन्दा चर्चामाआएको छ। स्राेतका अनुसार नेकपा (एस) ले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएकाे हाे।

साेही अनुसार पछिल्लो समय नेता नेपालनिकट मानिएकी नेत्री रामकुमारी झाँक्रीको नाम पनि मन्त्रीको लागि अग्रस्थानमा छ। रामकुमारीलाई शहरी बिकास मन्त्रालय दिने मोटामोटी टुंगो लागेको एक नेताले बताए।

नयाँ सरकार गठन भएको महिनौँ बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन्। प्रधानमन्त्री देउवाले माधव नेपालको नयाँ पार्टीलाई समेत सरकार सहभागी बनाएर मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने आशय व्यक्त गर्दै आएका छन।

गठबन्धनका अन्य दलहरुले सरकारमा सहभागी हुने मन्त्रीको नाम निश्चित गरिसकेका छन्। र अब नेता नेपालले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम दिनबित्तिकै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने पक्का भएको छ।

कोरोना भाइरसका डेल्टा, बीटा, गामा र अल्फा भेरियन्ट के हुन्?

कोभिड-१९ को डेल्टा भेरियन्ट फैलिएपछि चीनसहित केही देशमा कोरोना भाइरस पुनः चिन्ताको विषय बनेको छ।

चीनमा १० दिनको अवधिमा तीन सयभन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भएको थियो। हाल चीनमा सङ्क्रमणको परीक्षण बढाइएको छ र यात्रामा पनि प्रतिबन्ध कडा गरिएको छ।

के हो कोरोना भाइरसको डेल्टा भेरियन्ट ?
विश्वभर फैलिएको कोरोना भाइरसको हजारौँ प्रकार अर्थात् भेरियन्ट छन्। तीमध्ये डेल्टा या B.1.617.2 भेरिअन्ट एक हो जुन संसारका अधिकांश देशहरूमा तीव्र गतिमा फैलिरहेको छ। यूकेमा यो भेरिअन्टको प्रभाव अधिक रहेको मानिएको छ।

त्यहाँ डेल्टालाई ‘भेरियन्ट अफ कन्सर्न’ अर्थात् चिन्ताको भेरिअन्टका रूपमा वर्गीकृत गरिएको छ र स्वास्थ्य अधिकारीहरूको सूक्ष्म निगरानीमा राखिएको छ।

भेरियन्ट अफ कन्सर्नको सूचीमा रहेका अन्य कोरोना भाइरसहरू यस प्रकारका छन् :

अल्फा (B.1.1.7): जुन पहिलो पटक यूकेमा पहिचान भएको थियो र विश्वका पचासभन्दा बढी देशहरूमा फैलिएको छ,

बीटा (B.1.351): पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान भएको र हाल यूकेसहित कम्तीमा बीस देशमा फैलिएको छ, र

गामा (P.1): पहिलो पटक ब्रजिलमा पहिचान भएको थियो र हाल यूकेसहित दशभन्दा बढी देशहरूमा पुष्टि भएको छ।

भाइरसहरू उत्परिवर्तित भइरहन्छन् र अधिकांश परिवर्तनहरूको महत्त्व हुँदैन। परिवर्तित स्वरूपका केही प्रकारले भाइरसलाई नै असर पार्छन्। केहीले भने भाइरसको असली स्वरूपविरुद्ध हाबी हुँदै भाइरसका कारण रोगलाई अझै सङ्क्रामक र भयावह बनाउँछन्।

के डेल्टा भेरियन्ट बढी जोखिमपूर्ण हो ?

ठूलो सङ्ख्यामा सङ्क्रमितहरू गम्भीर बिरामी हुनुको कारण डेल्टा या कोरोना भाइरसको अन्य कुनै भेरियन्ट हो भन्ने यथेष्ट प्रमाण छैन। भाइरसको पहिलो संस्करणको जोखिम भने वृद्धवृद्धा र दीर्घकालीन स्वास्थ्य समस्या भएकाहरूमा बढी रहन्छ।

तर पनि यदि कुनै भेरिअन्ट बढी सङ्क्रामक छ भने त्यसले हालसम्म कोभिड-१९ विरुद्ध खोप नलगाएको जनसङ्ख्याको मृत्युदर बढाउने देखिन्छ।

खोपहरूले कोभिड-१९ सँगै देखिने गम्भीर रोगहरूविरुद्ध र चिन्ताको भेरियन्टका कारण हुने सङ्क्रमणविरुद्ध उच्च सुरक्षा प्रदान गर्छन्। खोपले सङ्क्रमणको जोखिमलाई पनि कम गर्छ तर सङ्क्रमणलाई शतप्रतिशत रोक्ने काम भने गर्दैन।

चीनमा हालसम्म एक अर्ब ६० करोड मात्रा खोप वितरण भएको त्यहाँका अधिकारीहरूले बताउँछन् तर कति चिनियाँ नागरिकले दुवै मात्रा खोप लगाए भन्ने प्रस्ट छैन। भाइरसका विभिन्न प्रकार देखिए पनि सङ्क्रमणको जोखिमबाट बच्ने उपाय भनेको हात धुनु, दूरी कायम राख्नु, मुख छोप्नु र हावाको बहावबारे सतर्क रहनु नै हो।

कस्तो छ भेरियन्टहरूको असर ?
कोरोना भाइरसका सबै ‘चिन्ताका भेरिअन्ट’हरूको परिवर्तन बाहिरी सतहमा हुने प्रोटिनको बनोटमा देखिएको छ जुन सङ्क्रमणको बेला मानव कोशिकासँग जोडिन्छ।

तीमध्ये डेल्टा भेरियन्टमा महत्त्वपूर्ण परिवर्तन देखिएको छ। जस्तै: L452R एउटा यस्तो परिवर्तन हो जसले भाइरसलाई सहजै फैलने बनाउन सक्छ। तर यसले सङ्क्रमितलाई गम्भीर रोगी बनाउँछ वा वर्तमान खोपहरूलाई कम प्रभावकारी बनाउन सक्छ भन्ने कुराको कुनै प्रमाण नभएको यूकेका अधिकारीहरूले बताएका छन्।

अल्फा, गामा र बीटा भेरिअन्टबाट उत्परिवर्तन भएको N501Yले भाइरसलाई फैलन र कोशिकामा सङ्क्रमण गर्न बढी सघाउँछ।

कोरोना भाइरसको डेल्टा भेरियन्टका लक्षणहरू

बीटा र गामाको प्रमुख उत्परिवर्तन भ्द्धडद्धप् ले भाइरसलाई मानिसको शरीरको प्रतिरक्षा प्रणालीअन्तर्गतका केही सुरक्षा संयन्त्र छल्न सहयोग पुर्‍याउन सक्छ। विज्ञहरूले अल्फा भेरियन्टको सानो सङ्ख्यामा पनि यस्ता परिवर्तन भेटेका छन्।

के खोपहरूले नयाँ भेरियन्टविरुद्ध काम गर्छ ?

हाल प्रयोग भइरहेका खोपहरू कोरोना भाइरसको पहिलो संस्करणविरुद्ध बनाइएको थियो। त्यसैले वर्तमान खोपले नयाँ भेरियन्टहरूविरुद्ध राम्रोसँग काम नगर्न सक्छ। विज्ञहरूले भने ती खोपले अझै पनि गम्भीर रोग र मृत्युको सम्भावनालाई कम गर्ने बताएका छन्।

ब्रिटेनको पब्लिक हेल्थले गरेको एक विश्लेषणका अनुसार फाइजर वा आस्ट्राजेनेका खोपको दुई मात्रा डेल्टा भेरियन्ट सङ्क्रमितलाई अस्पताल भर्ना हुनबाट जोगाउन ९० प्रतिशतभन्दा बढी प्रभावकारी छ।

सोही खोपको एक मात्रा डेल्टा सङ्क्रमितको तुलनामा अल्फा सङ्क्रमितमा बढी प्रभावकारी देखियो।

चिकित्सकहरूले हाल पुष्टि भएका र उत्परिवर्तन भइरहेका भेरियन्टबाट जोगिन खोपको दुवै मात्रा लगाउनु अत्यावश्यक भएको बताएका छन्। भाइरसका नयाँ स्वरूपविरुद्ध काम गर्न हालका खोपहरूलाई नै पुनः डिजाइन गर्न सकिनेमा विज्ञहरू ढुक्क छन्।

यूके सरकारले बायोफार्मास्यूटिकल कम्पनी क्योरभ्याकसँग भावी भेरिअन्टविरुद्ध खोपको विकास गर्ने सम्झौता र पाँच करोड मात्राको अग्रिम माग गरेको छ।

यी खोपहरू भेरियन्टहरू कसरी विकास हुन्छन् भन्ने अवस्था हेरेर वृद्धवृद्धा र जोखिममा रहेका समूहलाई उपलब्ध गराउन सकिने बताइएको छ।बीबीसीबाट

माधव नेपालको पार्टीका यी २० केन्द्रीय सदस्यले ओलीलाई दिने भए साथ

काठमाडौं । नेकपा एमाले विभाजन गरी वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बनाएपछि एमालेका नेताहरूको पार्टी रोज्ने क्रम तीव्र बनेको छ। यसै क्रममा यसअघि नेपाल पक्षमा रहेका एमालेका २० जना केन्द्रीय सदस्य ओली अर्थात् एमालेतर्फ लागेको यस पार्टीको उच्च स्रोतले जानकारी दिएको छ।

एमाले उच्च स्रोतले उपलब्ध गराएको सूचीअनुसार भानुभक्त जोशी, झपट रावल, राजबहादुर बूढा, ठाकुर गैरे, रवीन्द्र अधिकारी एमालेमै रहने भएका हु्न्।

यस्तै निरज आचार्य, श्रीमाया थकाली, सीता गिरी ओली, माधव अर्याल, सुरेन्द्र मानन्धर पनि एमालेमै बस्ने भएका हुन्। यसैगरी अरुण नेपाल, रचना खड्का, रविन कोइराला, परशुमेघी गुरुङ, जीवन घिमिरे, धर्म निरौला, यज्ञराज सुनुवार, नरेश खरेल, हरिबहादुर राई र भाष्कर काफ्ले पनि एमालेमै आबद्ध हुने भएका हुन्।

नेपाल पक्षका अरू थप नेता पनि एमालेतिरै आउने क्रम जारी रहेको उच्च स्रोतले दाबी गरेको छ। यसअघि मंगलबार मात्र लामो समय नेपाल पक्षमा रहेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघु पन्त, गोकर्ण विष्टलगायत १० नेता एमाले पुनःस्थापनायता पहिलोपटक स्थायी कमिटीको बैठकमा सहभागी हुँदै एमालेमा एकताबद्ध भएका छन्।

नेकपा नाम विवादमा सर्वाेच्च अदालतले गत फागुन २३ गते नेकपा बदर गर्दै एमाले र माओवादी केन्द्र अलग भएको फैसला सुनाएयता एमालेभित्र तीव्र विवाद भइरहेको थियो। त्यसयता एमाले माधव नेपाल र केपी शर्मा ओली पक्षमा विभाजित भएको थियो भने नेपाल पक्षले ओलीले बोलाएका हरेक बैठक बहिष्कार गरिरहेको थियो।

इँटा भट्टामा जिउँदै मान्छे जलाएका आफताब आलमको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाईका लागि आज सर्वोच्च अदालतले पेसी तोकेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको हो । इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

तनहुँमै मलद्वार फाटेकी महिलाको सफल शल्यक्रिया

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मलद्वार फाटेको एक बिरामीको शल्यक्रिया गरिएको छ ।

केन्द्रका एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरे र सर्जन डा परिवर्तन बरालले स्थानीयबासी ६७ वर्षीया महिलाकोे पहिलोपटक हालै सफल शल्यक्रिया गर्नुभएको हो ।

डा बरालले ढाडमा सुई लगाई लठ्याएर शल्यक्रिया गरिएको र धेरै कब्जियत भएकालाई यस्तो समस्या आउने बताउनुभयो । उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले पहिलोपटक मलद्वार फाटेको शल्यक्रिया गरिएको र अब यसलाई बिस्तारै निरन्तरता दिइने जानकारी दिनुभयो ।

उपचार केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभूषण ताम्राकारबाट हाडजोर्नीको शल्यक्रिया नियमित रुपमा भइरहेको जनाइएको छ ।

अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नसारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपीडी , चौबिसै घण्टा आकस्मिक , प्रयोगशाला, भिडियो एक्स–रे , माइनर अप्रेसन लगायतका सेवा दिइरहेको छ ।

पचास शय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा पखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामीहरु नियमित आउने गरेका छन् ।

दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रका नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा जिल्लाका शुक्लागण्डकी र भीमाद नगरपालिका, म्याग्दे र रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाबाट सेवा लिन आउँछन् । न्युज २४ बाट

तालिबानले भारतीय वायु सेनाको विशेष विमानलाई उड्न दिएन

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भारतीय वायु सेनाको एक विशेष विमानलाई उड्न नदिइएको खबर सार्वजनिक भएको छ ।

तालिबानको कब्जापछि असुरक्षित बनेका आफ्ना नागरिक लिन काबुलको हामिद कारजाई विमानस्थल पुगेको भारतीय वायु सेनाको विशेष विमानलाई त्यहाँबाट आउन नदिइएको हो ।

भारतको अंग्रेजी पत्रिका द हिन्दुले ‘इन्डिया वर्ल्ड फोरम’ का अध्यक्ष पुनित सिंहको भनाइ उद्धृत गर्दै दिएको रिपोर्टमा तालिबानले कम्तीमा १४० अफगान सिख, हिन्दु र अन्य यात्रुलाई विमानस्थल जान रोकेका छन् । अध्यक्ष सिंहले काबुलबाट उनीहरूको उद्धार गर्न विदेश मन्त्रालय र भारतीय वायु सेनासँग समन्वय गरिरहेका छन् ।

आजदेखि काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौं ।  आजदेखि काठमाडौं उपत्यकामा भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ। कोरोनाविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ।

भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष माथि उमेर समूहका सबैलाई आजदेखि यसको दोस्रो मात्रा दिइने छ। विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकलाई पनि यो खोप दिइने छ।

सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रा लगाइने छ।

खोप लगाउनको लागि काठमाडौंका सबै स्थानीय तहमा गरेर १ सय ४६ खोप केन्द्र तोकिएको छ।

त्यसबाहेक राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह थापाथली, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा पनि खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं ।  सनराइज बैंक लिमिटेडले आज (भदौ ११ गते, शुक्रबार) आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

बैंकले इन्स्योरेन्सको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता ४ सय २१ रूपैयाँ ६३ पैसा तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ।

उक्त सेयर खरिद गर्न लागि विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि असोज एक गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

61287589ce7e0.jpg

सशस्त्र प्रहरीले १२२३ जनाको लागि खुलायो बिज्ञापन

काठमाडौं । सशस्त्र प्रहरी बलले रिक्त पदहरुमा पूर्तिका लागि बिज्ञापन खुला गरेको छ । शुक्रबार गोरखापत्रमा भर्ना सम्बन्धी सूचना जारी गर्दै सशस्त्र प्रहरी बलले जम्मा १२२३ जनाको बिज्ञापन खुला गरेको छ ।

जसमा सशस्त्र प्रहरी निरीक्षक ७५, सशस्त्र प्रहरी सहायक निरीक्षक १३७ र जवानमा सबैभन्दा धेरै ७५५ जना माग गरिएको छ ।

त्यस्तैगरी सशस्त्र प्रहरी परिचरका लागि १२८ जनाको लागि बिज्ञापन खुला गरिएको छ । आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुले आजैबाट असोज १० गते बेलुकी ५ बजेसम्म दरखास्त दिन सक्नेछन् ।

बिज्ञापन:

आजदेखि प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको यी कम्पनीको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । आजदेखि प्रुडेन्सियल क्यापिटलले आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रभु बैंक, नेशनल लाइफ, नेपाल ग्रामिण विकास र प्राइम कमर्सियल बैकको संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो ।

प्रभु बैंकका प्रतिकित्ता १ सय ८५ रुपैयाँ मुल्य अंकितका ५० हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता ४ सय ३७ रुपैयाँ मुल्य अंकित दरका ५० हजार कित्ता संस्थापक शेयर, नेपाल ग्रामिण विकास लघुवित्तका प्रतिकित्ता ४ सय ५५ रुपैया अंकित दरका ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको प्रतिकित्ता २ सय ८ रुपैयाँ अंकित दरका ७० हजार कित्ता संस्थापक शेयर भदौ २५ गते सम्मका लागि बिक्रिमा ल्याएको हो ।

यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

शनिबारबाट मौसममा सुधार हुने

काठमाडौँ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।

शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । “मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ”, उहाँले भन्नुभयो ।

देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ । त्यस्तै प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।