११ भाद्र २०७८, शुक्रबार १०:४८ – Page 7 – Nagarikabhiyan : National News

काँग्रेसका शीर्ष नेताहरुबीच सिंह निवासमा छलफल

काठमाडौं । आसन्न चौधौं केन्द्रीय महाधिवेशनको छलफलका लागि वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला लगायतका नेताहरु शुक्रबार बिहान काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवास ठमलेस्थितको चाकसीबारीमा पुग्नुभएको छ । साथै शेखर कोइराला, अर्जुननरसिंह केसी, सीतादेवी यादव लगायतका शीर्ष नेतृत्व सिंह निवासमा छलफल जारी रहेको सिंहका प्रेस संयोजक यूपी लामिछानेले जानकारी दिनुभएको छ ।

सत्तारुढ दल नेपाली काँग्रेसको चौधौ केन्द्रीय महाधिवेशनको प्रक्रिया भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने तय भएसँगै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह लगायतका शीर्ष नेताहरुले विधि र विधान अनुरुपका क्रियाशील सदस्यताहरुलाई मात्र मान्यता प्रदान गर्न सकिने भन्दै पार्टीमा साेही अनुसार लबिङ गर्न छलफलमा जुट्नु भएकाे हाे ।

निजामती कर्मचारीका यी भाग्यमानी जोडी : श्रीमान् सिडिओ, श्रीमती सहायक सिडिओ

काठमाडौं । निजामति सेवामा अनेक दम्पत्ती रहेका छन्। तर कमैले मात्र समान जिम्मेवारी पाउँछन् । नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत एक उपसचिव जोडी भने प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक सिडिओको जिम्मेवारी पाएका छन्।

यी भाग्यमानी निजामती कर्मचारीका जोडी हुन्– सिद्धराज जोशी र किरण जोशी।

सिद्धराज दार्चुला जिल्लाका सिडिओ हुन् भने किरण डोटीकी सहायक सिडिओ हुन् । कैलालीको गोदावारी–६ निवासी यी दुवैको बिहे भने ०५४ सालमा भएको थियो। किरणले १४ माघ ०७७ मा खुला स्पर्धामा उपसचिवमा नाम निकालेकी थिइन्। त्यसअघि उनी निजामति सेवाको खरिदार पदमा थिइन्।

१६ बर्षसम्म उनले खरिदार र सुब्बा पदमा काम गरेकी किरणको निजामति सेवा भने १ साउन ०६१ मा थालेकी थिइन्। किरणलाई गृह मन्त्रालयको गत २८ माघको निर्णय अनुसार डोटी जिल्लाको पदस्थापना गरेपछि उनी सूदुरपश्चिम जिल्लाकै सहायक सिडिओ बन्ने पहिलो महिला हुन्।

यसअघि किरण रोल्पामा निर्वाचन अधिकारीको रुपमा कार्यरत थिईन् । किरणले पति सिद्धराजसँग मिलेर लोक सेवा तयारी सम्बन्धि खरिदार, उपसचिव र सह–सचिव स्तरको करिब ४० वटा लोक सेवा तयारी किताब लेखिसकेकी छन्।

झरही खोलाको बाढीले परासी बजार डुब्यो, एकजना बेपत्ता

बुटवल । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।

बाढी पसेर बजारको अधिकांश स्थान जलमग्न भएको छ । बजारका सयौं घरहरु डुबानमा परेका छन् । डुबानले परासी बजारका रामग्राम नगरपालिकाको वडा नंं. १ को सहुवाटिकर, वडा नंं. २ को मस्जिद टोल, हाटबजार टोल, वडा नंं. ३ को सङ्गम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा नंं ५ को प्रशासन टोल ड्राइभ टोल, इमली टोल, बुद्ध चोक टोल र वडा नंं ६ पोखरापाली टोल पुरै डुबानमा परेका नगर प्रमुख नगेन्द्र गुप्ताले बताए ।

बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म बाढीको पानी पसेर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउ परीक्षक राजु लामाले जानकारी दिए।

सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामानलगायतमा क्षति पुगेको छ ।

वर्षा नरोकिएका कारण बाढी र डुबानले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न नसकिएको डीएसपी लामाले बताए । घर भित्रै बाढी पसेकाकारण एक तले घर हुने कैयौं परिवारले वर्षाकै बीच घरको छतमा रात कटाउन बाध्य भएको परासीका स्थानीय बासिन्दा एवं नेपाल पत्रकार महासंघका जिल्लाअध्यक्ष हरि शर्माले बताए ।

जिल्लाको सरावल, पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाको केही वडाहरु पनि बाढीले जल्मग्न भएको प्रहरीले जनाएको छ।

१४ वर्षीय किशोर वेपत्ता

सुनवल नगरपालिका वडानं. ४ का एक जना १४ वर्षीय किशोर बेपत्ता भएका छन् । बस्तीमा बाढी पसेकाले उनी बाढीमा बगेको आशंका प्रहरीले गरेको छ । उनको खोजीकार्य भइरहेको छ ।

खालीपेटमा खानै हुन्न यी खानेकुरा

बिहान उठेर धेरै मान्छे चिया र कफी वा खाजामा फलहरु खाने गर्छन् । तर यो शरीरको लागि कत्तिको लाभदायक छ त ?

दिनभर उर्जावान बन्नको लागि बिहान खाजा खानु आवश्यक छ । खाजामा पोषणले भरिएको खाद्यपदार्थ पनि खानुपर्छ । तर कैयौ पटक जानकारीको अभावमा मान्छे खाजामा गलत खानेकुराको सेवन गर्ने गर्छन् । जसको कारणले पाचनसँग जोडिएको समस्य वा अन्य बिमारीहरु समेत हुन सक्छ । के खानुपर्छ बिहानको खाजामा भन्ने विषयमा भन्ने बारेमा यो लेख तयार पारिएको छ ।

चिया कफी

प्रायः मान्छे आफ्नो दिनको सुरुवात चिया वा कफीबाट गर्ने गर्छन् । यो ठीक कुरा पनि होइनन । किनकी खाली चिया र कफीको सेवान गर्दा पेटमा ग्यास्ट्रिकको समस्या बढ्ने गर्छ । यस्तो अवस्थामा पाचनतन्त्रमा हाइड्रोक्लोरिक एसिडको स्राव बढ्न जान्छ । जसले कतिपयको पेटमा दुखाइ पनि सुरु गर्न सक्छ । त्यसैले बिहान चिया र कफीको सट्टा बिस्कुट र पाउरोटी जस्ता खानेकुराहरु लिनु जरुरी छ ।

अमिलो फल

फ स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । तर खाली पेटमा यस्तो फल खानुले पेटमा अधिक एसिड जम्मा हुने गर्छ । फलफूलमा प्रचूर मात्रामा फाइबर र फ्रुक्टोज पाइन्छ । जसले गर्दा हाम्रो पाचनतन्त्रमा समस्या सिर्जना हुन सक्छ । यसका कारण खासगरी बिहान खाली पेटमा यस्ता अमिलो खानेकुरा खानु हुँदैन ।

काँचो तरकारी

खाली पेटमा सलाद लगायत काँचो तरकारी पनि खानु स्वास्थ्यको लागि हानिकारक छ । यसमा हुने फाइबरका कारण खाना सजिलैसँग पच्दैन । त्यसैले बिहान उठेर काँचो तरकारी खानु हुँदैन ।

केरा

खाली पेटमा केरा खाँदा पेटमा म्याग्नेसियमको मात्रा बढ्न जान्छ । जसका कारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रा बढ्न जाँदा शरीरमा अनेक समस्या हुन सक्छ ।

चिसो पेय पदार्थ

खाली पेटमा चिसो पेय पदार्थ खानु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसले तपाईंको म्युकस मेम्ब्रेनलाई नोक्सानी पु¥याउँछ । जसका कारण दिनभर तपाईंको पाचन प्रणाली धिमा गतिमा चल्छ । यसको लागि बिहान खाली पेटमा चिसो भन्दा तातो पेय पदार्थ खानु उपयुक्त ।

गोलभेडा

गोलभेडाको सेवन स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर खाली पेटमा टमाटर खानु बढी नोक्सानदायक हुन सक्छ । टमाटरमा साइट्स एसिड पाइन्छ । जसले गर्दा पेटमा ग्यास्ट्रो इन्स्टेन्टाइल एसिडको साथ मिलेर पेटमा ग्यास्ट्रिक दुखाइको समस्या पैदा गर्न सक्छ ।

दही

दहीको सेवन स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर तर बिहान खाली पेटमा दही खानु फाइदा भन्दा नोक्सानी बढी हुन्छ । यसबाट पेटमा अपचको समस्या बढ्छ । यसको लागि खाली पेट मसलेदार खाद्य पदार्थ खाने कोसिस गर्नुपर्छ ।

खालीपेटमा के–के सेवन गर्ने ?

मनतातो पानीको साथमा मह

बिहानको समयमा मनतातो पानीमा एक चम्चा मह राखेर पिउनुहोस् । यो धेरै खनिज भिटामिन, फ्लेवनाइड र एन्जाइम प्रदान गर्न मद्दत दायक हुन्छ । जुन पेट सफा गर्ने एवं स्वस्थ राख्नको लागि प्रभावकारी हुन्छ । यसका अलावा यो वजन कम गर्नको लागि पनि प्रभावकारी हुन्छ ।

एलोबेरा जुस

यदि तपाईं पेटको समस्याबाट ग्रस्त हुनुहुन्छ भने वा पेटसम्बन्धी कुनै समस्या छ भने खालीपेटमा एलोबेराको जुस लिन सकिन्छ । यसबाट केवल आफ्नो पेट सफा हुन सक्छ । यसबाट कब्जियतको समस्याको समाधान समेत हुन्छ ।

काबुल विमानस्थल बाहिर विस्फोट : ८० भन्दा बढीको मृत्यु

अफगानिस्तानको राजधानी काबुल विमानस्थलबाहिर भएको विस्फोटमा ८० जना भन्दा बढीको मृत्यु भएको छ ।

विस्फोटमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ८० भन्दा बढीको ज्यान गएको छ । घाइतेको संख्या २ सय नाघेको छ। आक्रमणको जिम्मा जिहादी समूहले लिएको छ । विस्फोटबाट उनीहरुको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्।

”हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,” उनले भने। उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे । अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १ लाख मानिसहरुलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।

तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन्। बाइडनले मिसन सम्पन्न गर्ने वाचा गर्दै भने, ”हामी आतङ्कवादीहरूसँग डराउने छैनौँ ।”

बिहीवार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो। सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए। त्यसको केही समय पछि गोली चलेको आवाज आएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भएको थियो । अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस-के ले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो। विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएको बताइएको छ।

भदौ १४ गते सोमबार सार्वजनिक बिदा

देवानगंज । नेपाल सरकारले यही भदौ १४ गते सोमबार सार्वजनिक बिदा दिएको छ। श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ । अघिल्ला वर्ष सरकारले श्रीकृष्ण जन्माष्टमीको बिदा कटौती गरेको थियो ।

महोत्तरीमा रातु नदीको बाँध भत्के पछी झन्डै नौ सय घर डुबानमा

महोत्तरी । महोत्तरीमा रातु नदीको बाँध भत्किएपछि सयौँ घर डुबानमा परेको छ । बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको प्रहरीले जनाएको छ । बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनकाअनुसार बाढी बस्तीमा पुग्दा झण्डै ९ सय घर डुबानमा परेको छ। घर आँगन डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको उनले बताए । जनप्रतिनिधि सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धारमा जुटेको उनले बताए। दुई दिनदेखि लगातार पानी पर्दा बाँध भत्केको हो।

देशभर थप २४३३ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु

देवानगंज । पछिल्लो २४ घण्टामा देशभर २४३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २०५२ पीसीआर परीक्षणबाट  र ३८१ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ९ हजार ७०२ नमुनाको पीसीआर परीक्षण र ४ हजार ६७२ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १४ हजार ३८४ गरिएको छ । १९२९ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट २६ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ३८ हजार ३८४ छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ५४ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८१ हजार ९६८  पुगेको छ ।  हालसम्म ७ लाख ५ हजार ८९३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ६३८ पुगेको छ ।

जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको दुई मिनेटमै जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।  कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ४१७.६० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ५१९८.९० रुपैंया पुगेको छ । कम्पनीको ३४ हजार १८२ कित्ता शेयर खरिद माग भएको छ भने बिक्रीमा शून्य रहेको छ ।

न्यादी हाइड्रोपावरको आईपीओमा ४ हजार ५१९ जनाले दिए आवेदन

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा ४ हजार ५१९ जना आवेदकले रू. ११ करोड १ लाख ४१ हजार बराबरको  आवेदन परेको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधवारसम्ममा ४ हजार ५१९ जनाले ११ लाख १ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले भदौ १ गतेदेखि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न ३,६,७ र ८ का स्थानिय बासिन्दका लागि ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानियलाई १० लाख कित्ता छुट्याएको छ ।

त्यसैगरी न्यादीका संस्थापक शेयरधनीहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीहरुका लागि भने ३ लाख कित्ता शेयर छुट्याइएको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदकले भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै शेयर विक्री नभएमा भदौ ३० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लभर रहेका शाखा कार्यलय,सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी संस्थापक शेयरधनी संस्थाका कर्मचारीले न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले केयर रेटिङ डबल बी इस्युआर रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको देखाउँछ । कम्पनीले लजमुङ जिल्लामा ३० मेगावट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

युरोपेली देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

काठमाण्डौ । पछिल्लो समय युरोपेली देश पठाइदिन्छु भन्दै ठगी गर्नेहरु बढेका छन् । राम्रो कमाइ हुने भन्दै रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट मोटो रकम असुल्ने र फरार हुने क्रम बढिरहेको छ ।

यसरी नै प्रलोभन देखाएर युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाण्डौको कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा–३ का ३३ वर्षीय पोशबहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ ज्याम्दीका ६ जनालाई कामदार भिसामा युरोपेली देश लिथुआनिया पठाइदिने भन्दै ठगी गरेका हुन् । उनले लिथुआनिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि होटलमा काम लगाइदिन्छु भनी विश्वासमा पारी ६ जनाबाट प्रति व्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ मागेका प्रहरीले जनाएको छ ।

सबैबाट पैसा उठाइ सम्पर्क विहीन भई ठगी गरेको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।

५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार खुलेको दुई घण्टामा ५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको शेयरमुल्य रु ७०२.९० र जीवन विकास लघुवित्तको रु ५ हजार १९८.९० पुगेको छ ।

यस्तै, खानीखोला हाइड्रोपावरको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ३९३, अरुण भ्याली हाइड्रोपावरको शेयरमुल्य ९.६२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ७१८ र घलेम्दी हाइड्रोपावरको शेयरमुल्य ९.४२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ४५३ पुगेको छ ।

एमाले केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसिरहेको हो । एमालेबाट फुटेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो ।

१० बुँदे सहमति कार्यान्वयनको सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यको कारबाही प्रक्रिया अगाडि बढाउने, १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने,  पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे बैठकमा छलफल हुनेछ ।

प्रदेश नं. १ को नयाँ मुख्यमन्त्री को रुपमा भीम आचार्यले लिए शपथ

विराटनगर । प्रदेश-१ को नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन्।

आचार्यलाई निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको हो। आचार्य दलको नेता चयन भएपछि राईले प्रदेश प्रमुख सोमनाथ प्यासीकहाँ मुख्यमन्त्रीबाट आजै राजीनामा बुझाएका छन्।

आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन्।

बिहान ९ बजे नै संसदीय दलको बैठक बस्ने भनिए पनि शेरधन राई र भीम आचार्य काठमाडौंबाट आउन ढिलाइ भएपछि विराटनगर विमानस्थल नजिकैको एसियाटिक होटलमा एमाले संसदीय दलको बैठक बसेको थियो।

‘पार्टी एकतालाई बचाउन मैले राजीनामा दिएको हुँ। हामीले आचार्यजीलाई भावी मुख्यमन्त्रीका रूपमा अगाडि सारेका छौं,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै राईले भने, ‘विभाजन र पार्टी एकताको सर्वोत्तम कुरालाई ध्यानमा राखेर परिस्कृत परिस्थितिलाई सामना गर्ने, नेकपा एमालेको प्रभाव र वर्चश्वलाई जस्ताको तस्तै कायम राख्ने सरकारलाई सुरक्षित तरिकाले अगाडि बढाउने तमाम कुरालाई ध्यानमा राखेर मैले राजीनामा गरेको हुँ।’

एमाले विभाजनपछि प्रदेश १ को संसदीय दलको बैठक पहिलो पटक बसेको हो । माधवकुमार नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि आचार्यलाई बिहीबार नै मुख्यमन्त्री बनाइएको छ।

नेपाल पक्षका आचार्यसँगै प्रदेश सभा सदस्य बलबहादुर साम्सोहाङ, होमकुमारी सावा, जीवन घिमिरे, लक्ष्मण तिवारी, लिलाबल्लब अधिकारी, यशोदा अधिकारी र साबित्री जोशी एमालेमै खुलेका छन्।

नेपाल समूहमा प्रदेश- १ का १५ सांसद रहेको उक्त समूहको दाबी छ। आचार्यलाई मुख्यमन्त्री बनाउँदा त्यसको ठूलो संख्या आफूले एमालेमै राख्ने आचार्यले दाबी गर्दै आएका छन्। त्यहीअनुसार आचार्यले सांसदहरूलाई फकाउँदै पनि आएका छन्।

‘मैले सबै मन्त्रीहरू हाम्रो टिमबाट बनाउने हो,’ आचार्यले नेपाल समूहकालाई  फकाउने क्रममा सांसदलाई उनले भन्ने गरेका छन्, ‘मन्त्रिमण्डल र संसदीय समितिमा पनि व्यापक फेरबदल हुनेछ। पार्टी नछाडौं।’

तेस्रो प्रयासमा प्रदेशको मुख्यमन्त्री बनेका आचार्यका लागि आगामी दिन भने सहज छैनन्। नेपाल समूहले दाबी गरेअनुसारको सांसद संख्याले नयाँ पार्टी रोजेको खण्डमा उनको सरकारको आयु छोटो हुने निश्चित छ।

आचार्यले यसअघि शेरधन राईसँग एमाले संसदीय दलमा प्रतिष्पर्धा गरेर हारेका थिए। पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि तत्कालीन नेकपाको प्रचण्ड-नेपाल पक्षले मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा आचार्यलाई नै मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको थियो। तर फागुन २३ को सर्वोच्चको फैसलाले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि आचार्यको मुख्यमन्त्री बन्ने दौड रोकिएको थियो।

पछिल्लो समयमा अध्यक्ष ओलीले मुख्यमन्त्रीको आश्वासन दिएपछि उनले नेपाल समूहको साथ छाडेका थिए। एमाले विभाजन प्रक्रिया सुरू भएसँगै  बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई  झैं गत साता आचार्यको पनि विराटनगरमा शपथ गराउने तयारी एमाले ओली पक्षको थियो। प्रदेश सभामा रहेका नेता नेपाल पक्षधर सांसदलाई पार्टीमै टिकाउन ओली पक्षले यस्तो तयारी गरेको थियो। तर माधव नेपाल पक्षधर सांसदहरुबाट पहिलेदेखि नै एक्लिएका उनले शपथ लिने बाटो रोजेनन्।

काठमाडौं बसेर उनी मुख्यमन्त्री बन्न नेता नेपालको सहयोग खोजिरहेका थिए। नेपाल समूहको समर्थन बेगर मुख्यमन्त्री बने पनि टिक्न नसकिने तथ्य बुझेका उनी ओलीको प्रस्ताव स्वीकार गर्न सुरूमा  हच्किएका थिए। नेपाल समूहको असहयोग हुने बुझेपछि उनी गएको शनिबार बिहान नेता नेपालको सहयोग माग्दै उनकै निवास पुगेका थिए।

तर उनलाई सघाउन नसक्ने जवाफ नेता नेपालले दिएका थिए।

प्रदेश संसदमा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, जनता  समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना सांसद छन्। यसअघि माओवादी केन्द्र संसदीय दलका नेता टंक आङ्बुहाङ एमालेमा प्रवेश गरेपछि उनी कारबाहीमा परेका छन्।

एमालेका ५१ सांसदमध्ये १५ जना समाजवादीमा रहेको दाबी सो पक्षले गरिरहेको छ। यद्यपि दोस्रो पुस्ताका नेताहरु एमालेमै रहने र ०७५ जेठ २ गतेकै अवस्थामा पार्टीको संगठनात्मक संरचना र नेतृत्व रहने निर्णय गरेपछि कतिपय सांसदहरुले एमाले छोड्ने सम्भावना कम छ।  नयाँ सरकार बनाउन पुग्ने संख्याभन्दा धेरै सांसद आफूसँग रहने नेपाल समूहको दाबी छ।

एमालेले आचार्यलाई मुख्यमन्त्री हुँदै गर्दा नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले पनि आचार्यको सत्तारोहण रोक्न उपायको खोजी सुरु गरेको छ।  एमालेले आफ्ना पक्षका सांसद लान सक्ने भन्दै उनीहरुले १ महिने सरकारमा मन्त्री बन्ने लोभमा कोही पर्न नहुने भन्दै अभियान चलाएका छन्।

मुख्यमन्त्री बन्नका लागि ४७ जना सांसद आवश्यक पर्छ। एमालेका ५१ मध्ये १ जना सभामुख, १ जना गुलेफुन मियाँलाई मुद्दा लागेको कारण हाल एमालेका ४९ जनामात्रै सांसद छन्। समाजवादीमा गएका केही सांसद एमालेमै रहे भनेपनि बहुमत पुर्‍याउने गरी सांसदलाई एमालेले टिकाउनै समाजवादीमा लागेका एक सांसदले बताए।

स्रोतकाअनुसार फौजदारी अभियोग लागेकी गुलेफुन मियालाई पनि संसदीय दलको बैठकमा सहभागी गराउने तयारी एमालेले गरेको छ। योसँगै प्रहरीले उनलाई पक्राउ गर्नसक्ने समाजवादी पक्षका एक नेताले बताए।

नयाँ दल दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै माधव नेपाल

देवानगंज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहीबार दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगरमा काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरिएको हो। बुधबार निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रमाण पत्र दिएको थियो। केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

वर्षा र राजको प्रेमसँगै म्यूजिक भिडियो यात्रा

नायिका वर्षा सिवाकोटी र कलाकार राज कटुवालको भेट भएको लामो समय भएको छैन । तर, यतिबेला उनीहरु जिन्दगीको नयाँ यात्रामा दौडिरहेका छन् । राज र वर्षाको भेट भएको केही समयमै उनीहरुको प्रेम यात्रा पनि सुरु भयो । भलै, यी दुई आफूलाई मिल्ने साथी बताउँछन् । तर, वर्षा र राजको प्रेम अब खुल्ला किताब जस्तै भैसकेको छ ।

वर्षा र राज केही दिन अगाडि मात्र होलिडे मनाउन चितवन पुगेका थिए । यी दुईले अब एकसाथ काम पनि गर्न थालेका छन् । केही दिन अगाडि मात्र वर्षा र राजले अभिनय गरेको नविन के भट्टराइको स्वरमा समावेश गीत सार्वजनिक भएको थियो । भलै, यो गीतले बजारमा खासै चर्चा पाएन ।

यसपछि, वर्षा र राजलाई नै लिएर ‘म यस्तो गीत गाउँछु’ बोलको गीत पनि तयार पारिएको छ । यो गीत शुक्रबार सार्वजनिक हुँदैछ । रियल लाइफमा समेत प्रेम जोडी बनेका केही कलाकारलाई लिएर भिडियो बनाउँदा चर्चा बढी हुने सोचेरै मेकरले उनीहरुलाई प्रस्ताव गर्ने गरेका छन् । कुनै समय पल शाह र आँचल शर्माको जोडी यसरी नै चम्किएको थियो ।

यसपछि, नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा, नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जोडी पनि यसरी नै भिडियोमा चम्किएको थियो । मेकर अहिले वर्षा र राजलाई भिडियोमा लिएर काम गर्न अगाडि देखिएका छन् । यसले, वर्षा र राजलाई कती फाइदा पुग्ने हो त्यो भने भोलीको कुरा हो । तर, प्रेम जोडीलाई कामको अफर पनि एकसाथ आउन थालेपछि फाइदा भने हुन थालेको छ ।