१६ बैशाख २०७८, बिहीबार २२:०१ – Page 2 – Nagarikabhiyan : National News

कोरोनाको उपचारका लागि स्वास्थ्य सामाग्रीमा कर छुट

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितको उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीमा कर छुट दिने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजन लगायतका विभिन्न स्वास्थ्य सामाग्रीमा कर छुट दिने र्निर्णय गरेको जानकारी गराएको हो ।

गएको सोमबार बसेको मन्त्रिपरिषद्को संक्रमितको उपचार व्यवस्थापनका लागि अवश्यक पर्ने अक्सिजन, आइसियु बेड लगायतका विभिन्न १० प्रकारका मेडिकल सामग्रीमा पैठारीमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्क समेत छुट दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

निषेधाज्ञा उल्लङ्घन गर्ने १९ सय वटा सवारी भयो प्रहरीको नियन्त्रणमा

काठमाडौं । कोरोना माहारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको छ ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।

रगतका आधारमा बढ्दै संक्रमण, ब्लड ग्रुप ‘ए’ लाई बढी लाग्यो कोरोना

एजेन्सी। मानिसको रगत समूहका आधारमा कोरोना भाइरसको संक्रमण फरक-फरक हुने चीनका मेडिकल अनुसन्धानकर्ताहरूले निष्कर्ष निकालेका छन्। हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्ट समाचारपत्रका अनुसार (कोभिड-१९) को उदगम थलो हुवेई प्रान्तको वुहान र सेन्जनमा गरिएको अध्ययनले ब्लड गु्रप ए भएका मानिसमा यसको संक्रमण धेरै देखिने र रोग लागिसकेपछि अवस्था पनि गम्भीर हुने देखिएको छ।

अर्कातिर ब्लड गु्रप ओ भएका मानिसमा भने कोरोनाको संक्रमण कम हुने अध्ययनको प्रारम्भिक निष्कर्ष रहेको छ।
वुहान विश्वविद्यालय अस्पतालको सेन्टर फर एभिडेन्स बेस्ड एन्ड ट्रान्सलेसनल मेडिसिनको सहकार्यमा अनुसन्धानका क्रममा २ हजारभन्दा बढी मानिसको रगतको नमूनाको विश्लेषण गरिएको थियो। वुहानमा कोरोना भाइरसबाट मृत्यु भएका २ सय ६ जनाको रक्त समूह छुट्याउँदा ८५ जनाको ए थियो भने ५२ जनाको ओ समूह थियो। अर्थात् ओभन्दा ब्लड गु्रप ए भएका ६३ प्रतिशत बढी मानिसको मृत्यु भएको छ। यी मृत्युमा उमेर समूह र व्यक्तिगत स्वास्थ्य अवस्था पनि महत्वपूर्ण अवयव हुन्।

उक्त अध्ययनमा लेखिएको छ, ‘ब्लड गु्रप एका मानिसहरूले संक्रमण नहोस् भनेर व्यक्तिगत सावधानीमा धेरै नै ध्यान दिनु जरूरी छ,’ यो रक्त समूहका बिरामीलाई उपचारका क्रममा पनि विशेष निगरानी गर्नुपर्छ।’ यदि तपाईंको रक्त समूह ए हो भने पनि आत्तिनु पर्दैन किनकी यसको अर्थ तपाईं संक्रमित हुनु नै हुन्छ भन्ने होइन अर्कातिर तपाईंको शरिरमा ओ समूहको रगत बग्छ भने पनि तपाईं सतप्रतिशत सुरक्षित होइन तपाईंले पनि अरूले जस्तै सावधानीका उपाय अपनाउनुपर्छ।

संसारका मानिसहरूको रगत चार समूहमा पर्छ। अष्ट्रियन बायोलोजिस्ट कार्ल ल्यान्डस्टेनरले सन् १९०१ मा मानिसमा ए, बी, एबी र ओ समूहका रगत हुने पत्ता लगाएका थिए। अहिले अमेरिकामा ४४ प्रतिशत मानिसको रक्त समूह ओ छ भने ४१ प्रतिशतको ए छ। १ करोड १० लाख मानिस रहेको वुहानमा रक्त समूह ओ भएका मानिस ३२ र एका ३४ प्रतिशत छन्। अनुसन्धानकर्ताहरूले अहिलेको अध्ययनले सरकार र स्वास्थ्य संस्थाहरूलाई केही मार्गदर्शन गर्न सक्ने भए पनि यो नै अन्तिम निचोड नभएको बताएका छन्। यो अध्यनन बेइजिङ, वुहान, सांघाइ र सेन्जेन सहरका डाक्टर र वैज्ञानिकहरू मिलेर गरेका हुन् तर यसको यसको ‘पियर रिभ्यू’ हुन बाँकी छ। अनुसन्धानकर्ताहरूले पनि अहिले नै यसलाई कोरोनाविरूद्धको मार्गनिर्देशक मान्न नहुनेतर्फ सचेत गराएका छन्।

जनताका गुनासा सम्बोधन गर्न सिसीएमीद्वारा संयन्त्र गठन

काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सिसीएमसीले अनुरोध गरेको छ ।

यसैगरी विदेश जाने र विदेशबाट आउनेले सिसीएमसीको वेबसाइट ccmc.gov.np रहेको फारम भर्न अनुरोध गरिएको छ । यसरी सङ्क्रमण र बन्दाबन्दीमा परेका व्यक्तिलाई सहज बनाउनका लागि संयन्त्र गठन गरिएको हो । कोरोना भाइरस सङ्क्रमणको दर उच्च भएपछि सरकारले आजदेखि उपत्यकामा वैशाख मसान्तसम्म बन्दाबन्दीको घोषणा गरेको छ ।

मोडर्नाले सन् २०२२ मा तीन अर्ब डोज खोप उत्पादन गर्ने

पेरिस । अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा कोभिड–१९ विरुद्धको तीन अर्ब डोज खोप उत्पादन गर्ने बिहीबार घोषणा गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा युरोप र संयुक्तराज्य अमेरिकामा खोप उत्पादन र आपूर्ति बढाउन आर्थिक सहायता प्राप्त हुने विश्वास पनि व्यक्त गरेको छ ।

लगानी बढाइएको खण्डमा खोपका लागि आवश्यक तत्व उत्पादनलाई स्वीस साझेदार लोन्जा र स्पेनको रोभीले दोब्बर वृद्धि गर्न सक्षम हुनेछन् ।
अमेरिकामा रहेको मोडर्नाको प्लान्टको उत्पादन क्षमता पनि ५० प्रतिशतले वृद्धि हुनेछ ।

कम्पनीले तीन अर्ब खोप उत्पादनका लागि एमआरएनए खोप एवं मोडर्नाकै पेडियाट्रिक खोप र भेरिएन्ट बुस्टर डोजको मिश्रणमा निर्भर हुने जनाएको छ ।

साथै कम्पनीले यस वर्ष ८० करोडदेखि एक अर्ब डोज खोप आपूर्ति गर्न सकिने प्रक्षेपण गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी स्टिफन बान्सेलले मोडर्नाले विकास गरेको कोभिड विरुद्धको खोपले कोरोनाभाइरसको नयाँ प्रजातिको संक्रमण रोक्न पनि सफल भएको बताए ।

अतिकम विकिसत राष्ट्र एकजुट हुनुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले कोभिड–१९ महामारीको अहिलेको अवस्थामा अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका विकासोन्मुख राज्यहरूका निम्ति अन्तर्राष्ट्रिय सहयोग अरिहार्य भएको उल्लेख गर्दै महामारीविरुद्धको खोपमा पहुँच, वित्तीय सहायता र ऋणमोचन महत्वपूर्ण हुनेमा जोड दिएको छ ।

बैङ्ककमा जारी एशिया प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक सामाजिक आयोग (युएनइस्क्या)को ७७औँ बैठकका सन्दर्भमा आयोजित अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका राज्यहरूको बैठकलाई अप्रत्यक्षरूपमा बुधबार सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले अन्तर्राष्ट्रिय सहायताबाट जोखिममा रहेको ती राष्ट्रको अर्थतन्त्र उठाउन मद्दत पुग्ने बताउनुभयो ।

आर्थिक समृद्धि, व्यापार विविधिकरण तथा त्यसका संरचनागत अवरोध र बहुआयामिक गरिबी हटाउन अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका राज्यहरूको साझा प्रयास आवश्यक भएकामा उहाँले जोड दिनुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उपाध्यक्ष कँडेलले कोरोना महामारीका कारण स्वास्थ्य, व्यापार, पर्यटन, यातायात, शिक्षा, कृषि तथा औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको यथार्थ प्रस्तुत गर्दै रोगको फैलावट नियन्त्रण तथा सामाजिक र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर नेपाल सरकारले काम गरिरहेको बताउनुभयो ।रासस

आफ्ना नागरिकलाई भारत छाड्न अमेरिकाकाे आग्रह

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल भारत छाडेर स्वदेश फर्कन आग्रह गरेको छ । भारतमा तीव्र रूपमा कोरोना भाइरस फैलिएपछि अमेरिकाले एक एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको हो ।

भारतमा कोरोना भाइरसको संक्रमण अध्याधिक बढिसकेको र मेडिकल सुविधा ध्वस्त भइसकेकाले विमान समातेर स्वदेश फर्कन भनेको हो । अमेरिका फर्कने नागरिकका लागि भारतले ४ ट्राभल नोटिकस पनि जारी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडले कोरोनाबाट जुध्नका लागि मद्दत गर्ने सम्बोधनको क्रममा आफ्ना नागरिकका लागि पनि फर्कन आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्रंघले कोभिड विरुद्ध लड्न भारतलाई सघाउने

काठमाण्डाै ।  संयुक्त राष्ट्रसङ्घले कोभिड-१९ विरुद्ध लड्न भारतलाई सघाउने सङ्घ प्रवक्ताले बुधवार जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार कोभिड-१९ को सङ्क्रमणका कारण अहिले भारतको अवस्था निकै जटिल भएकाले संयुक्त राष्ट्रसङ्घले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो ।

संयुक्त राष्ट्रसङ्घका विशिष्ठ जनस्वास्थ्य विद्सहितको समूह अहिले भारत पुगेको छ । साथै संयुक्त राष्ट्रसङ्घले पनि आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु भारतलाई सहयोग गरिरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसङ्घीय बालकोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर पठाएको बताएका छन् ।

त्यस्तै भारतका अस्पतालहरुमा आवश्यक भेन्टिलेटरहरु पनि पठाइएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यसका साथै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायले भारतलाई पीपीई, पीसीआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकहरणहरु पनि पठाएको जनाएका छन् ।

भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले २ हजार ६०० भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ । ती जनशक्तिको माध्यमबाट विशेषगरी महाराष्ट्रमा घुम्ती अस्पतालहरु राखिएका छन् ।

ती अस्पतालहरुमा पीसीआर परीक्षणका साथै आवश्यक स्वास्थय उपचार पनि उपलब्ध गराइएको बताइएको छ । भारतमा अहिले कोभिडको अवस्था निकै तीव्र गतिमा वृद्धि भएको छ । यहाँ दिनहुँ लाखौँ जना नागरिक कोभिडबाट सङ्क्रमित हुने गरेका छन् भने कम्तीमा पनि दुई हजार जना मानिस यही सङ्क्रमणबाट नै मृत्यु हुने गरेका छन् ।

सप्तरीमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

सप्तरी । सप्तरीमा कोरोना संक्रमित एक पुरुषको बिहिबार बिहान मृत्यु भएको छ । सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपास्थित कोभिड अस्पतालमा उपचारको क्रममा अग्निसाइर कृष्णासवर गाउँपालिका ५ का २४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

वैशाख ९ गते संक्रमण पुष्टि भएपछि उहाँलाई १३ गते प्रतिष्ठानस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मधुमेहका विरामी समेत रहेका युवकको उपचारकै क्रममा विहीवार विहान सवा १२ बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

युवकको शव दाहसंस्कारको लागि ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र प्रसाद धमलाले बताउनु भयो ।

ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या चार लाखनजिक

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट तीन हजार १६५ नागरिकको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मात्र पछिल्लो२४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका नागरिकको एकै दिनमा ज्यान गएको हो ।
यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या करिब चार लाखनजिक पुगेको छ । हालसम्म तीन लाख ९८ हजार १८५ जनाको यो संक्रमणबाट मृत्यु भएको सो मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सोही अवधीमा थप अर्थात् गएको २४ घन्टायता करिब ८० हजार जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४५ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् ।अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । यहाँको अवस्था दिन प्रति दिन थप जटिल बन्दै गएको पनि बताएका छन् ।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९४ हजार भन्दा बढी नागरिकको ज्यान गएको छ ।त्यसैगरी सो राज्यमा करिब ४० लाख नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् ।
अधिकारीहरुले अप्रिल महिना ब्राजिलका लागि सबैभन्दा खराब महिना भएको बताएका छन् ।उनीहरुले यस महिनाभित्र मात्र कम्तीमा पनि ७० हजार जना नागरिकको यही संक्रमणबाट नै ज्यान गएको बताएका छन् ।

त्रिशूलीमा बेपत्ता भएका दुवैको शव फेला

काठमाडौँ ।  निर्माणाधीन पुल भत्किँदा त्रिशूली नदीमा बेपत्ता भएका दुवै जना मृत भेटिएका छन्  । उनीहरूमध्ये एकको शव बुधबार र अर्काको बिहीबार फेला परेको हो । बिहीबार भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको छ ।

भरतपुर महानगरपालिका–१ स्थित ठिमुरा–देवघाट जोड्ने पुल निर्माणका क्रममा वैशाख १२ गते भाँच्चिँदा एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका थिए । निर्माणाधीन अवस्थामा रहेको पुलमुनि शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार गोताखोरको टोलीले निकालेको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

भारतमा एक करोड ८० लाखभन्दा बढी संक्रमित

नयाँ दिल्ली । भारतमा एक करोड ८० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यहाँ संक्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार ६४५ जनाको कोरोना संक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख चार हजार ८३२ पुगेको सो मन्त्रालयले जनाएको छ । एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष शुरु भएयताकै यो सब भन्दा धेरै भएको समाचारमा जनाइएको छ । एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका यो आठौं दिन भएको बताइएको छ । कोरोना महामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ ।

भारतमा हाल ३० लाख ८४ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ५० लाख ८६ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म १५ करोड भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ, भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् । भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ । यहाँ हिजो एकैदिनमा २५ हजार ९८६ जना थप व्यक्ति कोरोना भाइरस संक्रमण देखिएको र ३६८ जनाको मृत्यु भएको छ । दिल्ली कोरोना शुरु भएदेखि हालसम्म यसको संक्रमणको कारण १५ हजार ३७७ व्यक्तिको मृत्यु भइसकेको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन : कतै सुनसान, कतै चेकजाँच

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा आज बिहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको हो ।

उपत्यकाका प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् । संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु विहानैदेखि सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका र संचालन अनुमति पाएका गाडीहरु फाट्टफुट्ट चलेका देखिन्छ ।

तीन दिनमा पाँच लाखभन्दा बढीले काठमाण्डौ छाडेर घर फर्के – केही यात्रु गाडी नपाएपछि अलपत्र

काठमाडौ ।  निषेधाज्ञा लागू हुने भएपछि पछिल्लो तीन दिनमा पाँच लाखभन्दा धेरैले काठमाण्डौ छोडेका छन् ।

आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने भए पछि राति दुई, तीन बजेसम्म पनि यात्रु सडकमा गाडी कुरेर बसेका थिए ।

राति अबेरसम्म सडकमा गाडी पर्खिएका केही यात्रु गाडी नपाएपछि अलपत्र परेका छन् ।

सम्बन्धित निकायको निर्णय पर्खेर बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए ।

हिजो काठमाण्डौको नयाँ बसपार्क, कलङ्की, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा यात्रुको सबैभन्दा धेरै भीड थियो ।

गाडी र यात्रुको चापका कारण मुख्य नाका नागढुङ्गा सडकखण्डमा लामो जाम भएको थियो ।

काठमाण्डौ उपत्यका बाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम बढेपछि नाकामा गाडीको आवागमन अस्तव्यस्त बनेको थियो ।

यात्रुले गाडी नपाउने मात्रै होइन, बल्लतल्ल गाडी पाए पनि बढी भाडा तिर्नु परेको, घण्टौँ जाममा बस्नु परेको गुनासो गरेका छन् ।

सरकारले दुई दिनको मात्रै समय दिएर निषेधाज्ञा लागू गरेकाले भीड थेग्न नसकेको महासचिव सिटौलाले बताए ।

 

ट्रम्पका निजी वकिलको घर तथा कार्यलयमा छापा

न्युयोर्क । अमेरिकामा सङ्घीय जाँच ब्यूरो एफबीआईले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलको घर तथा कार्यलयमा छापा मारेको छ ।

न्यूयोर्कका पूर्वमेयरसमेत रहेको रुडी जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट तथा पार्क एभेन्युमा रहेको कार्यालयमा छापा मारिएको हो ।

तथा उनका पिता जो बाइडेनमाथि अनुसन्धान गर्न युक्रेनलाई दबाब दिने काममा मुख्य भूमिका खेलेको जुलियानीमाथि आरोप छ ।

युक्रेनी अधिकारीहरूलाई जो बाइड्नविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने सूचना दिन बाध्य पार्न खोजिएका आरोपित गतिविधिमा जुलियानीको संलग्नताबारे छानबिन भइरहेको छ ।

यस्तै गएको वर्षको राष्ट्रपतीय चुनावको अगाडि उनले वर्तमान राष्ट्रपति जो बाइडेनका छोरा हन्टरका सम्बन्धमा अपराध ठहर्याउन सकिने सूचना सङ्कलन गरेका आरोपबारे पनि अनुसन्धान भइरहेको छ । छापा मार्ने क्रममा विद्युतीय उपकरणसहितका सामग्री जफत गरिएको छ । एजेन्सीको सहयोगमा

 

अभूतपूर्व सङ्कटमा भारत – सरकारी र निजी अस्पतालमा पाएन धेरै बिरामीले भर्ना

भारत ।  ठूला सहरका सरकारी र निजी अस्पतालहरू बिरामीको भार थेग्न नसक्ने अवस्थामा पुगेका छन्।

दिल्लीमा ३० शय्या भएको एउटा निजी अस्पताल पेन्टामेड हस्पिटल र धेरै ठूलो लोक नायक अस्पतालबाहिर बिरामीको ताँती लागेको छ।

तर शय्या र औषधोपचारका लागि आवश्यक सामग्रीको अभावका कारण धेरै बिरामीले भर्ना पाएका छैनन्।

उनीहरूले पालो कुर्नुपरेको छ। अस्पतालहरूले बिरामीका आफन्तलाई सामान र अक्सिजनको जोहो गर्न आग्रह गरिरहेका छन्।