१७ माघ २०७७, शनिबार १७:५८ – Page 5 – Nagarikabhiyan : National News

मध्य मेसम्म साउदी अरबमा यात्रा गर्न प्रतिवन्ध

एजेन्सी । साउदी अरबले यात्रा प्रतिवन्धको समयावधि फेरी लम्ब्याएको छ । साउदी अरबको सरकारले यात्रा प्रतिवन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो ।

नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिवन्धको निर्णय खारेज गर्न नमिल्ने निश्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो ।

साउदी अरबमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रीक क्षेत्रमा जान, हवाइ तथा स्थल मार्गमार्फत सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो बर्षको मार्च १३ देखि नै प्रतिवन्ध लगाइएको हो । कोरोनाविरुद्धको खोप ल्याउन ढिलाई भएकाले यात्रा प्रतिवन्धको अवधि पनि लम्ब्याउनु परेको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

साउदी अरबमा शुक्रबार मात्रै थप २६७ जनाका कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले जनाएका छन् । सोही अवधिमा दुई जनाको मृत्यु भएको छ । योसँगै साउदी अरबमा अहिलेसम्म कोरोना भाइरसबाट कुल ६ हजार ३६८ जनाको मृत्यु भएको छ ।

‘जसका लागि भोट मागेँ ऊ नै कुहिएको आलु निस्किएपछि कसरी माडी मणि बनोस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गरेका छन्।  चितवनमा आफू पक्षीय नेकपाको जनसभालाई भरतपुरमा सम्बोधन गर्दै ओलीले  प्रचण्डको लागि भोट माग्न २०७४ को निर्वाचनका क्रममा चितवनको पर्यटकीय केन्द्र माडी पुगेको र सो ठाउँलाई मणि बनाउँछु भनेको स्मरण गरे। तर जसका लागि भोट मागेँ ऊ नै कुहिएको आलु निस्किएपछि कसरी माडी मणि बनोस् भन्दै ओलीले कटाक्ष गरे ।
उनले भने, ‘चितवनको सुन्दर भूमि माडीलाई मणि बनाउँछु भनेको थिएँ । तर जसका लागि भोट मागेँ ऊ नै कुहिएको आलु निस्किएपछि कसरी माडी मणि बनोस् त!” ।

यस्तै ओलीले पार्टी विभाजन नभएकाे भन्दै पिलो निचोर्दैमा शरीरको तौल नघट्ने  बताए । ‘तपाईंहरूलाई पार्टी फुट्यो भनेर चिन्ता लागेको हो। पार्टी फुटेको होइन, केही मान्छे बाहिर गएका हुन्। पार्टी एकढिक्का छ। एकजुट छ’, ओलीले भने।

नेकपा एकढिक्का रहेकाे दाबी गर्दै ओलीले नेकपाको सबै धारको नेतृत्वकर्ता आफूले गरेकाे बताए ।  उनले भने, ‘केही मान्छे निचोरिएर गएका छन्। हामीले निचोरको पनि होइन, आफैं निचोरिएर गए। मुलधार हामी हौं।’
उनले तोकिएको समय वैशाख १७ र २७ गते निर्वाचन हुने पनि दावी गरे ।  ‘केही व्यक्तिहरूले अल्मल्याउनका चुनाव हुFदैन भनेर भ्रम फैलाइरहेका छन्”, उनले भने, चुनाव हुन्छ। भ्रममा फैलाउनेहरू फैलाइरहून्।’ रातोपाटी

इनरुवा रेडक्रस ग्रामामा कृत्रिम घटना अभ्यास सुनसरी खोलामा कित्रिम बाढी ल्याएर गरे अभ्यास

सुनसरीको सदरमुकाम इनरुवा भएर बग्ने सुनसरी खोलामा बाढी आएको र केहीको घर बगाएको सूचना स्थानीय सन्तोश शर्माले प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेललाई गराउनुभयो ।
प्रजिअ पोखरेलले कहाँ , कसरी, कती, के के भएको ? भनेर सोध्नुभयो, सूचनाकर्ता शर्माले इनरुवा नगरपालिका ४ रेडक्रस ग्राममा सुनसरी खोलामा आएको बाढीले केहीको घर बगाएको र केही मानिस फसेको बताएपछि वहाँले तत्काल उद्धार टोली, सुरक्षा निकाय र एम्बुलेस समेतलाई खबर गरि घटना स्थलमा पठाउनुभयो ।
यो घटना क्रम सनिबार विहान रेडक्रस सोसाईटी र जिल्ला विपत व्यवस्थापन समिति सुनसरीले आयोजना गरेको कित्रिम घटना अभ्यास कार्यक्रमको हो । जिल्लामा आउन सक्ने आपतकालिन कार्यमा कसरी तयारी गर्ने, त्यसमा सफलता हासिल गर्ने र बढी क्षती हुनबाट जोगाउन प्रतिकारात्क क्षमताको पर्दशन गर्न कित्रिम घटना अभ्यास सञ्चालन गरेकोमा प्रमुख जिल्ला अधिकारीलाई सोही बीचमा सुनसरी खोलामा आएको बाढीमा मानिस फसेको र डुबानले केही मान्छेहरु बाहिर सरक्षित स्थानको खोजीमा रहेको सूचना आएको थियो ।
घटनाबारे थाहा पाउने बित्तिकै प्रजिअले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको दुई टोली रबरको बोट लिएर खोलामा पुगे । नभन्दै ४ जना मानिस डुवानको जोखिममा परेका रहेछन् । सेना र सशस्त्र प्रहरीको उद्धार टोली पुग्दा उनीहरु खोला किनारमा आधा डुबेको अवस्थामा थिए । सबैलाई सेना र सशस्त्र प्रहरीले उद्धार गरेर बाहिर ल्याए ।
खेलाको छेउमा ल्याएपछि डुवान पीडितलाई रेडक्रसको टोलीले प्राथमिक उपचार ग¥यो । केहीबेरमा सबैजनालाई थप उपचारका लागि इनरुवा अस्पताल पठाए । खोलामा केही मान्छे फसेको, उद्धार गर्न सेना र सशस्त्र प्रहरीको टोली रेडक्रम ग्राम गएको गाउँलेले खुब ध्यान दिएर हेरिरहेका थिए ।
यो घटना भने वास्तविक थिएन । जिल्ला विपत व्यवस्थापन समितिले बाढी विपत सम्बन्धमा कृत्रिम घटना अभ्यास गरेको थियो । बाढी फसेका व्यक्तिलाई कसरी उद्धार गर्ने भन्ने अभ्यास गरिएको थियो । सुनसरी खोलामा बाढी आउदा पहिला डुब्ने गाउँ नै रेडक्रस गाउँ भएकाले केहीले कृत्रिम घटना अभ्यासलाई वास्तविक रुपमा बुझेका थिए ।
प्रमुख जिल्ला अधिकारी पोखरेल, प्रहरी उपरीक्षक (एसपी) कमल थापा, सशस्त्र प्रहरी उपरीक्षक, नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष उमेश थापा, भोक्राहाका रेडक्रस सभापती युवराज दाहाल, विष्णु मण्डल, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौगम पोखरेल, रामधुनीका प्रमुख जयप्रकाश चौधरी, हरिनगरका अध्यक्ष गफार अंसारी, कोशीका अध्यक्ष ऐयुव अंसारी सहितको उपस्थितिमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले डुवानमा परेकालाई उद्धार गर्ने बारेमा कृत्रिम घटना अभ्यास गरेका थिए ।
जिल्लाको सदरमुकाम सहित सुनसरी खोलाको तटीय क्षेत्रमा पर्ने भोक्राहा नरसिंह, हरिनगर गाउँपालिकासम्म डुवानको जोखिममा पर्ने गर्दछ । यो वर्ष भने डुवान आएको छैन ।
यद्यपि, जिल्ला विपत व्यवस्थापन समितिले उद्धार टोली तयारी अवस्थामा राखेको र अभ्यासले थप उर्जा मिल्ने विश्वासका साथ कित्रिम अभ्यास गरेको जनाएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले डुवानमा फसेकालाई बोटमा राख्ने, बाहिर ल्याउनेदेखि बीचमै बोट पल्टिएमा उद्धार गर्ने तरिकाहरु देखाएका थिए भने उद्धार पछि उपचार र विस्थापितहरुलाई अबास सहित राहतको कार्यक्रमसम्म अभ्यास गरेर देखाएको थियो ।
जिल्ला विपद व्यवस्थापन समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीद्धारा सञ्चालित विपत पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यक्रमको प्राविधिक सहयोगमा अभ्यास कार्य गरिएको हो । कार्यक्रमका प्रमुख आथिति इनरुवा प्रमुख राजन मेहताले विभिन्न समयमा उत्पादन गरिएका सामुदायिक विपद उद्धारकर्ता हरुलाई पुनरताजकी गराउने र अभ्यासमा लगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएकोमा धन्यवाद दिनुभयो ।
यसैबिच आगडालीको समेत कित्रिम अभ्यास गरिएको जनाएको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले यस्ता अभ्यासहरु नियमित भएमा समुदाय चनाखो हुने र विपद पछि पनि सहजीकरण गर्न सहज हुन सक्ने अवस्थामा पुग्ने बताएका थिए ।
१, सुनसरीको इनरुवा ४ रेडक्रस ग्राममा भएको कृत्रिम घटना अभ्यास कार्यक्रममा उद्धार गर्दै सशस्त्र प्रहरी
२, कृत्रिम घटना अभ्यासका क्रममा एम्बुलेन्समा राखेर अस्पताल पठाउदै ।
३, प्राथमिक उचार गर्दै तथा अन्य दृष्यहरु
तस्वीर ः जयकृष्ण यादव । इनरुवा

 

लागूऔषधसहित ३ जना पक्राउ

पर्सा। पर्सा प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पर्साको कालिकामाई गाउँपालिका-३ का प्रेम हजारालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा उनको घरमा छापा मारी एक किलो सय ग्राम गाँजा र ४ सय ग्राम चरेशसहित उनलाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । एसपी पाण्डेका अनुसार पक्राउ परेका हजारालाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।

यसअघि हिजै पर्सा प्रहरीले १८ सय लागूऔषध एम्पुलसहित २ जनालाई पक्राउ गरेको थियो । अटोरिक्सामा ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा प्रहरीले उक्त अटो चालक जलान्धर दास र अटोमा सवार जयप्रकाश महतोलाई नियन्त्रणमा लिइएको हो ।

पोखरामा चैतको दोस्रो सातादेखि ‘आहा रारा गोल्ड कप’ हुने

पोखरा । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत १७ देखि २८ गतेसम्म पोखरा रंगशालमा हुने भएको छ । कोरोना संक्रमणका कारण खेल गतिविधि ठप्प भएको लामो समयपछि पोखरामा १९ औं सस्करणको आहा रारा गोल्ड कपको आयोजना गरिने भएको हो ।

‘खेलकुदको विकासमा सहाकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने नारासहित आगामी चैत्रमा फुटबल प्रतियोगिताको आयोजना गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा  सहारा क्लव पोखराका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए।

प्रतियोगितामा नेपाली र विभिन्न देशका क्लबहरुका तर्फबाट १२ टिमको सहभागिता रहने क्लवका अध्यक्ष थापाले बताए । ‘हामी कोभिड १९ को विषम परिस्थितीका बीचमा प्रतियोगितको आयोजना गरेका छौं, यसलाई हामीले सोचे अनुरुप अगाडि बढाउनु पर्दछ’ उनले भन, ‘आशा छ हामीले सोचे अनुरुप विदेशीसहित स्वदेशी खेलाडी र ए डिभिजनका क्लव तथा मोफसलका गरी १२ टिमको सहभागिता गराउने छौं ।’

सहाराले प्रतियोगिताको तयारी थालेपनि खेलाडीलाई प्रदान गर्ने पुरस्कार राशी, दर्शक संख्या र टिकट दर भने कोभिड १९ को परिस्थितीलाई आकंलन गरेर मात्रै जानकारी गराउने अध्यक्ष थापाले बताए । ‘अहिले हामी असहज परिस्थितिमा छौं, जनसहभागिता र त्यसवेलाको अवस्थालाई हेरेर पुस्कार राशिको सार्वजनिक गर्ने छौ उनले भने ।’

अध्यक्ष थापाले १९ औं सस्करणका लागि विदेशी क्लव निमन्त्रणाका लागि प्रयास भइरहेको जानकारी दिंदै प्रतियोगितालाई रोचक बनाउने तर्फ क्लवले सोचिरहेको बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेश गुरुङले १९ औं आहा रारा गोल्डकपको सफलताको शुभकामना व्यक्त गर्दै पोखरा रंगशालामा २० हजार दर्शक संख्या पु¥याउने गरी तयारी गरिने बताए । उनले पोखराको खेलकुद र सहारा क्लबलाई राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सहारा युकेका महासचिब धनु थकालीले प्रतियोगिता सफल बनाउन सहारा युकेको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउँदै वितरण गरिने पदकहरुका लागि सहयोग गर्ने बताए ।
प्रतियोगिता सञ्चालन गर्न अनुमानित अर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ रहने बताइएको छ । प्रतियोगिता सञ्चालनबाट १ करोड ३० लाख १ हजार रुपैयाँ अनुमानित आम्दानी हुने सहारा क्लबले अपेक्षा गरेको छ ।

सहारा क्लबले वितग २० वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिताबाट बचत हुने रकम आयोजक सहरा क्लबबाट सञ्चालित सहरा फुटबल एकेडेमी सञ्चालनमा खर्च गरिँदै आएको छ । हाल एकेडेमीमा १४ जिल्लाका २४ जना बालक आश्रित रहेका छन् ।  रातोपाटी

धनगढीमा ओलीलाई बेवास्ता गरेका मुख्यमन्त्री र मन्त्री प्रचण्ड–नेपालको स्वागतमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भव्य स्वागत गरेका छन् ।

आफूनिकट सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रचण्ड-नेपालको स्वागतमा मुख्यमन्त्री त्रिलोचन भट्टसहित मन्त्रीहरु धनगढी विमानस्थल पुगेका थिए ।

उनले शुक्रबार नेपाललाई र शनिबार बिहान प्रचण्डलाई धनगढी विमानस्थलमै पुगेर स्वागत गरेका हुन् । अध्यक्षद्वयको स्वागतमा मुख्यमन्त्री र मन्त्रीका साथै प्रदेश इन्चार्ज भीम रावललगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

२४ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आमसभालाई सम्बोधन गर्न धनगढी जाँदा उनको स्वागतमा प्रदेश सरकारको शून्य सहभागिता थियो ।

मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, उद्योग वन वातावरण तथा पर्यटनमन्त्री माया भट्ट र भूमि व्यवस्था तथा कृषिमन्त्री विनिता चौधरी कोही पनि ओलीको स्वागतमा धनगढी विमानस्थल भएका थिएनन् ।

प्रदेश प्रमुख शर्मिला पन्तबाहेक मुख्यमन्त्री र मन्त्रीहरूले ओलीको स्वागत गरेका थिएनन् । तर संघीय चार मन्त्री वाणिज्य अथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेम आले मगर, सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना र श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरी ओलीको स्वागतका लागि धनगढी विमानस्थल पुगेका थिए ।

प्रदेश सरकार ओली पक्ष विहीन छ । पछिल्लो समय ओली पक्ष निकट मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको थियो भने आर्थिक मामिलामन्त्री झपट बोहोराले राजीनामा दिएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कुनै पनि जानकारी नदिइएकोले प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल नगइएको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जनाएको थियो ।

नेकपामा विभाजन आएपछि संघीय सरकारका उद्योगमन्त्री लेखराज भट्टको स्वागतमा पनि मुख्यमन्त्री भट्ट गएका थिएनन् ।

 

मन्त्री भट्टले आफ्नो स्वागतमा नआएर मुख्यमन्त्रीले राजनीतिक संस्कार बिर्सेको टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री ओली गुटको सभालाई सम्बोधन गर्न यसअघि धनगढी आएका कारण स्वागतमा आफूहरु नगएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । तर आज भने पार्टीको कार्यक्रममा लागि अध्यक्षद्वय आएकाले स्वागत गरिएको र आफू पनि कार्यक्रममा सामेल हुने जानकारी दिए । रातोपाटीको

कोरोना रोकथाम गर्न चीन असफल, फेरी बढन थाले संक्रमित

काठमाडौं ।  चीनमा कोरोना भाइरसका नयाँ संक्रमित हरेक दिन बढ्दै गइरहेका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार गत वर्षको डिसेम्बरमा पहिलोपटक देखिएयता हरेक दिनजसो संक्रमितहरू फेला परिरहेका छन् । गत वर्षको डिसेम्बरमा चीनको वुहानमा यो भाइरस भेटिएको हो ।

वुहानबाट यो भाइरस संसारका विभिन्न देशमा पुगिसकेको छ । ती देशमा अहिले पनि संक्रमित हुने क्रम जारी नै रहेको समाचार आइरहेका छन् । यसरी वर्ष दिन पुगिसक्दा पनि भाइरसको नियन्त्रण हुन सकेको छैन । तर, चीनले भने ६ महिनाभन्दाअघि नै यहाँ कोरोना भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । पछिल्ला दिनमा भने फेरि यसका संक्रमितहरू देखिन थालेको चीन सरकारले जनाएको छ ।

चीन सरकारका अनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरूका अनुसार मंगलबार मात्रै पनि चीनमा ७५ जनामा संक्रमण देखिएको छ । तीमध्ये थप ५५ जना स्वदेशमा नै थिए । यस्तै अरू २० वटा नयाँ घटना बाहिरबाट आएका व्यक्तिमा देखिएको छ ।

चीनको नेसनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला सयम विभिन्न सहरमा नयाँनयाँ संक्रमित भेटिएका छन् । स्थानीय नागरिकहरूबाटै संक्रमण फैलिरहेको पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकको पनि पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ । मंगलबार भेटिएका स्वदेशी संक्रमितहरूहमध्ये उत्तरी चीनको हेबेई र हेलिङजाङ प्रान्तका कतिपय सहर र जिलिङ नगरका धेरै नागरिक रहेका छन् ।

चीनका हेलिङजाङ, हेबेईलगायतका प्रान्तमा नयाँ संक्रमित भेटिन थालेको समाचार गत महिनादेखि नै आएको हो । ती प्रान्तका सरकारले आइसोलेसन वार्ड निर्माण पनि गरिरहेका बताएका छन् ।

प्रधानमन्त्री ओली चार मन्त्रीसहित चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न चार विभागीय मन्त्रीसहित शनिवार चितवन आउने भएका छन् । भरतपुरको गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तार तथा भरतपुरमा बन्ने बहुउद्देश्यीय सिटी हल शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउन लागेका हुन् । उनले भरतपुरमा नै हुने जनसभालाई सम्वोधन गर्न कार्यक्रम पनि छ ।

ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर चितवन आउने भएका हुन् । यतिका धेरै मन्त्री एकैपटक चितवन आउन लागेको यो पहिलोपटक हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षकी नेतृ एवम् राष्ट्रिय सभा सांसद पार्वती रावलले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली विहान ११ बजे भरतपुर आइपुग्ने कार्यक्रम छ । विहानको मौसम नखुलेकाले केही ढिला हुनसक्ने उनले बताइन् ।

प्रधानमन्त्री ओली भरतपुर आएलगत्तै विमानस्थल गेट नजिकै पूर्वपश्चिम राजमार्गको छेउमा गोन्द्राङ–नारायणगढ ६ लेन सडक शिलान्यास गर्ने कार्यक्रम छ । त्यसपछि भरतपुरमा रहेको नेपाली सेनाको ब्यारेकमा केहीबेर आराम गर्ने र त्यसलगत्तै भरतपुरको बाइपास सडक नजिक बन्न लागेको बहुउद्देश्यीय सिटी हलको शिलान्यास गर्ने कार्यक्रम छ ।

सो शिलान्यास सकेपछि प्रधानमन्त्री ओली भरतपुर केन्द्रीय बस टर्मिलनमा हुने जनसभालाई सम्बोधन गर्न जाने छन् । सभामा ५० हजारको जनसहभागीता रहने दावी ओली पक्षले गरेको छ ।

ओली पक्षकी नेता एवम् नेकपा केन्द्रीय सदस्य पार्वती रावलले चितवनका हरेक वडावडामा कार्यक्रममा सहभागिता जनाउन जनपरिचालन गरिएको जानकारी दिइन् । त्यसको संयोजन नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारीले गरिरहेका छन् । सभाअघि पूर्व क्षेत्रको गोन्द्राङ बसन्तचोक, पश्चिम क्षेत्रको चौविसकोठी र उत्तर क्षेको मालपोत चोकबाट र्‍याली निकालिने छ ।

प्रधानमन्त्रीसहित चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भरतपुरका विभिन्न क्षेत्रमा आवश्यक सुुरक्षाकर्मी परिचालन गरिएको बताए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को गृह जिल्ला चितवनमा मन्त्रीहरुसहित प्रधानमन्त्री आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भरतपुर महानगर र प्रचण्ड माधव समूहको विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरको सिटी हल र नारायणगढ–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्ने कार्यक्रमको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले विरोध गरेका छन् । उनीहरुले क्षेत्राधिकार मिचेर शिलान्यास गर्न लागेको, निर्वाचन आचारसंहिता लागेको, सरकार कामचलाउ भएकाले शिलान्यास गर्न नपाउने दावी गर्दै आएका छन् ।

भरतपुर महानगरकी मेयर रेनु दाहालले महानगरसँग समन्वय नगरी शिलान्यास गर्न लागिएको भन्दै विरोध गरिन् । उनले आफ्नो पहलकदमीमा सिटी हल र सडक विस्तार गर्न लागिएको दावी गर्दै आएकी छिन् । तर, यी दुबै योजना संघीय सरकारको बजेट र कार्यक्रम रहेको ओली पक्षको भनाइ छ ।

यस्तै, प्रचण्ड माधव समूहले पनि निर्वाचन आचारसंहिता विपरीत कामचलाउ प्रधानमन्त्रीले शिलान्यास गर्न लागेको भन्दै नाटक मञ्चन गरिएको आरोप लगाएको छ । सो समूहका जिल्ला इन्चार्ज कृष्ण खनालले प्रधानमन्त्रीले दीर्घकालीन महत्वका कामको शिलान्यास यतिबेला गर्न नपाउने बताए ।

सिटी हल र छ लेन सडक विस्तार द्रूत गतिमा

सघन सहरी तथा भवन निर्माण आयोजना अन्तर्गत सङ्घीय सरकारको ८७ करोड ८८ लाख रुपैयाँ लागतमा सिटी हलको ठेक्का सम्झौता भएको छ । जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा चार कठ्ठा जग्गामा सिटी हल बन्न लागेको हो । सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधा सम्पन्न सभाहल हुनेछ ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार तीन सय क्षमताको कन्फ्रेन्स हल रहने छ । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने छ । चारवटा भर्याङ, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष पनि रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उनले जानकारी दिए ।

सभागृहमा प्रशासनिक कक्ष, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड र बगैँचा हुनेछ । २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ स्थल रहने छ ।

भरतपुरमा नै नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्म एक अर्ब १२ करोड रुपैयाँको लागतमा ६ लेनको सडक दुई वर्ष ४ महिनाभित्र बनिसक्ने गरी ठेक्का सम्झौता भैसकेको छ । दुबै आयोजनाको निर्माणको जिम्मा इन्डो सगुन रौताहा जेभीले लिएको छ ।

टिकौली जंंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय वस टर्मिनलदेखि रिजालचोकसम्म ४ लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर ओरालो र बजार क्षेत्रमा ४ लेन छ ।

दुई लेन भएको स्थानमा थप ४ लेन र ४ लेन भएको स्थानमा थप २ लेन थपिने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर एवम् प्रवक्ता शिव खनालले जानकारी दिए ।सुवास पण्डित/अनलाइनखबर

सामाजिक सुधार ऐनलाई चुनौति दिँँदै मुख्यमन्त्री राईले गरे तामझाम सहित प्रितीभोज

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीबाट विजयी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक सुधार ऐनलाई चुनौति दिँदै तामझाम सहित  आफ्नो बिहेको प्रिती भोज गरेका छन ।

शंखुवासभा मुल घर काठमाडौं बस्दै आएकी २३ वर्षीया पुर्व मिस मंगोल तथा मोडल ज्याङ्मु शेपासँग ५० वर्षको उमेरमा ११ माघमा विवाह गरेका मुख्यमन्त्री शेरधन राईले शुक्रबार विराटनगर स्थित मनास्लु होटलमा तामझाम सहित प्रिती भोज आयोजना गरेका हुन् ।

प्रिती भोजमा प्रदेश १ भरिका सिडिओ, प्रहरी, कार्यालय प्रमुखदेखि नेता, मन्त्री, सांसद, पत्रकार र शुभेच्छुक सहित करिब दुई हजार सहभागी थिए ।  मुख्यमन्त्री राईले कोरोना संक्रमण कालमा तामझाम सहित बिहे भोजको आयोजना गर्नु सामाजिक सुरक्षा ऐनको खिल्ली उडाएको सर्वसाधारणहरुले बताएका छन् ।

कोरोना रोकथाममा सर्वसाधारण नागरिक र कर्मचारीबाट चन्दा संकलन गरेका मुख्यमन्त्री राईले शाही शैलीमा बिहे गरेर समाजिक संस्कारलाई झन खर्चिलो र भड्किलो बनाउन प्रेरित गरेको सर्वसाधारण बताउँछन ।

मुख्यमन्त्री राई आफैँ पनि सदाचारी आचरण पालना गर्नुपर्ने कम्युनिष्ट पार्टीका नेता समेत भएकोले उनको भड्किलो बिहेले सांस्कृतिक आचरणमा प्रश्न थपिएको छ । सामाजिक सुधार ऐन अनुसार ५० जना भन्दा बढी जन्ती लगेर भड्किलो खर्च गरेर बिहे गर्न प्रतिबन्ध लगाइएको छ ।नयाँ पत्रिका

धनी हुने सबैभन्दा सजिलो तरिकाः यौनसम्बन्धलाई उत्कृष्ट बनाउनुहोस्

मानिसको जीवन विभिन्न भागमा बाँडिएको हुन्छ । आवश्यकता र जिम्मेवारीबीच सन्तुलन बनाउनका लागि आफूलाई बलियो र परिपक्व बनाउनुपर्छ । हालै गरिएका केही अनुसन्धानले पैसासम्बन्धि मामलाले मानिसहरुको यौन जीवनलाई प्रभावित पारिरहेको हुन्छ भन्ने निष्कर्ष निकालेको छ । यस्तो दबाबबाट कसरी बच्ने, यसबारे जानकारी लिऔं ।

तपाईंको जीवनमा पैसा महत्वपूर्ण छ कि प्रेम ? यदि यस्तो प्रश्न सोधिए सायद जवाफ दिन सक्नुहुन्नँ होला । जीवनमा दुबैको आ–आफ्नै महत्व छ । यी दुबै जीवनमा अत्यावश्यक छन् । पैसा बिनाको प्रेम समयअगावै चाउरिन सक्छ र धेरै पैसा कमाउने लोभमा कसैलाई सम्बन्धबाट टाढा लैजान सक्छ ।

अमेरिकामा हालै भएको नर्थवेस्टर्न म्युचुअलले आफ्नो एक अध्ययनमा वयस्कमा तनाव र दबाबको मुख्य कारण पैसा नै भएको बताएको छ । यसको सबैभन्दा नकारात्मक प्रभाव उनीहरुको सम्बन्धमा परिरहेको छ । यो अनुसन्धानमा संलग्न १० दम्पत्तीमध्ये चारले पैसाका कारण सम्बन्धमा खटपट भइरहेको स्विकारेका छन् ।

चुप बस्नु खतरनाकः

यस अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता र क्लिनिकल साइकोलोजिस्ट पाओ आल्टो भन्छन्, ‘मानिसहरु आर्थिक चिन्ता र भविष्यबारे यति धेरै सोच्छन् कि उनीहरु आफ्नो वरिपरि भएका राम्रो कुराहरुको पनि आनन्द लिन सकिरहेका हुँदैनन् ।’

उनका अनुसार मानिसहरु धेरै कमाउने लोभमा धेरै बेरसम्म अफिसमा बस्न बाध्य हुन्छन् र जब घर पुग्छन् शारिरिक रुपमा थाकिसकेका हुन्छन् । उनीहरुको सबै ऊर्जा भविष्यको योजना र ओभरटाइममै बित्छ । आफ्नो पार्टनरलाई प्रेम गर्न र कुराकानी गर्नसमेत भ्याउँदैनन् ।

काम, पैसा र यौन यी तीनै विषय जीवनका निकै संवेदनशील पाटा हुन् जसबारे कुरा गर्न सजिलो छैन । थुप्रै दम्पत्ती यसबारे कुरा गर्न रुचाउँदैनन् । उनीहरुलाई लाग्छ कि यसबारे कुरा गर्दा आपसी कटुता पैदा हुनेछ । उनीहरु आफ्नो भावनालाई दबाउन थाल्छन् तर भित्रभित्रै चिन्तित रहन्छन् । यसको सिधा असर बेडरुममा पर्छ । फलस्वरुप उनीहरु प्यासिभ एग्रेसिभ हुन्छन् र यौनसम्बन्ध स्थापित नगर्नका लागि बहाना बनाउन थाल्छन् । पार्टनरसँग कुनै पनि प्रकारको असन्तुष्टिको असर सेक्स सम्बन्धमा धेरै देखिने गरेको विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।

हर्मोन्सको नकारात्मक असरः

विशेषज्ञको मान्यता यो छ कि तनावको स्थितीमा शरिरको स्नायु प्रणालीले ‘फाइट वा फ्लाइट (लड्ने र भाग्ने) प्रतिक्रिया दिन्छ । यसमा कार्टिसोल र एपिनेफ्रेनजस्ता स्ट्रेस हर्मोन्सको श्राव बढ्छ । यद्यपी, यी नकारात्मक हर्मोन होइनन् तर जब यी लगातार रिलिज हुनथाल्छन् तब स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ । उदाहरणका लागि कार्टिसोलले सेक्स हर्मोनलाई दबाउन थाल्छ ।

पैसाको महत्वः

विभिन्न अनुसन्धान र अध्ययनले बताउँछन् कि संसारका थुप्रै देशका मानिसहरु यस्ता स्थितीसँग जुधिरहेका हुन्छन् । थुप्रै अनलाइन सर्वेमा पनि जोडीले स्विकारेका छन् कि यदि उनीहरुसँग धेरै पैसा भएको भए वा आर्थिक रुपमा सक्षम भएको भए   उनीहरुको व्यक्तिगत जीवन पनि राम्रो हुने थियो  ।

पुस्तक ‘द बैंक अन योरसेल्फ रिभोलुशन’ मा आर्थिक स्तर र आपसी सम्बन्ध बीचको तालमेललाई बुझ्नका लागि लेखकले थुप्रै जोडीसँग कुराकानी गरे । लगभग ३० प्रतिशत जोडीले पैसाको मामलामा उनीहरु पार्टनरलाई पूरा वास्तविकता नबताउने बताए । थुप्रै पटक उनीहरु पार्टनरसँग किनमेलको कुरा लुकाउँछन्, सामानको मूल्यबारे झुटो बोल्छन् र त्यसबारे नबताइकनै पर्सबाट पैसा पनि निकाल्छन् । लगभग आधा दम्पत्तीले स्विकारेका छन् कि विवाह अघि यो पाटोबारे उनीहरुले कहिले पनि कुराकानी गरेका थिएनन् । लगभग ७० प्रतिशत मामलामा आर्थिक स्थितीका कारण सम्बन्धमा खटपट वा विवादको स्थिती आयो । मानिसहरुले स्पष्ट रुपमा भने, ‘यदि उनीहरुसँग धेरै पैसा भएको भए उनीहरुको यौनजीवन उत्कृष्ट हुने थियो ।’

यौन ऊर्जाः

रिलेशनशिप कोच किम अनामी आफ्नो ब्लगमा लेख्छिन्, ‘धनी हुनका लागि सबैभन्दा सजिलो तरिका हो, यौनजीवनलाई उत्कृष्ट बनाउनुहोस् ।’

यस्तो लेख्नुको पछाडि उनको तर्क यस्तो छ – यौन ऊर्जा व्यक्तिको सृजनात्मक ऊर्जा हो । यसैबाट नयाँ जीवनको रचना हुन्छ । यौन अभिव्यक्ति र आर्थिक स्थितीको आपसी सम्बन्ध निकै गहिरो छ । आफ्नो यौन ऊर्जासँग जति सहज हुनुहुन्छ त्यति नै जीवनका अन्य पाटोप्रति पनि सकारात्मक हुनुहुनेछ ।

किम आफ्नो कोचिङको क्रममा सल्लाह दिन्छिन्, ‘यति तपाईंहरु आर्थिक समस्या झेलिरहनुभएको छ भने आफ्नो यौन जीवनप्रति ध्यान केन्द्रित गर्नुहोस् ।’

उनी भन्छिन्, ‘सेभिङ अकाउन्टले धेरै हदसम्म बेडरुमको माहौल तय गर्छ । ’

केही इन्भेस्टमेन्ट एजेन्सी र बैंकले गरेको अध्ययनले वैवाहिक सम्बन्धमा झगडाको मूल कारण पैसा भएको निष्कर्ष निकालेको छ । ओन्लीमाई हेल्थ

‘छिटो प्रधानमन्त्री हुन ओलीले संविधान जारी गराउने कामलाई ‘फास्ट ट्र्याक’ मा लगे’

प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली संविधान निर्माणको महत्वपूर्ण जग १६ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक हुन् । २०७२ जेठ २५ गते मध्यरातमा गरिएको १६ बुँदे सहमतिको संविधान निर्माणमा ऐतिहासिक महत्व छ । सोही सहमतिको जगमा टेकेर २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । १६ बुँदे सहमतिपछि छोटो समयमा संविधान जारी गर्न तत्कालीन एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको महत्वपूर्ण भूमिका थियो । संविधान जारी भएपछि ओली आफैंले भनेका थिए, ‘नयाँ संविधानले राजनीतिक स्थायित्व र समृद्धि ल्याउनेछ ।’

चार राजनीतिक दल नेपाली कांग्रेस, एमाले, माओवादी र फोरम (लोकतान्त्रिक) बीच भएको १६ बुँदे सहमति कार्यान्वयनमा आउन नदिन बीचबीचमा देखिएका अवरोध चिर्दै संविधान जारी गराउन महत्वपूर्ण भूमिका खेल्नेमध्येका एक नेता ओली थिए । सहमतिपत्रमा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, तत्कालीन एमाले अध्यक्ष ओली, तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गरेका थिए । उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमले भने सहमति जनाएको थिएन । १६ बुँदेपछि संविधानका विवादित सबै विषयमा सहमति भयो । १६ बुँदे समझारीमा प्रदेश संख्या, संघीय सांसद संख्या, निर्वाचन प्रणाली, दुई सदनात्मक व्यवस्था, संसदीय प्रणालीलगायतमा सहमति बनेको थियो ।

प्रधानमन्त्री ओलीले अचानक प्रतिनिधिसभा विघटन गरेर फेरि राजनीतिलाई अस्थिरतातर्फ लगेका छन् । यसले अन्ततः मुलुकलाई फेरि अर्को द्वन्द्वमा होम्ने खतरा बढेको छ ।

नेकपा दाहाल–नेपाल समूहका एक नेताले भने, ‘तत्कालीन प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीचको गोप्य सहमतिले नै १६ बुँदे सहमति कार्यान्वयन भएको थियो ।’ गोप्य सहमतिमा संविधान जारी गरेपछि ओली प्रधानमन्त्री हुने भनिएको थियो । छिटो प्रधानमन्त्री हुन ओलीले संविधान जारी गराउने कामलाई ‘फास्ट ट्र्याक’ मा लगेको ती नेताले बताए । नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलले १६ बुँदेको जगमा संविधान जारी भएको स्पष्ट पार्दै धारा ७६ मा हुँदै नभएको व्यवस्थामा टेकेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताए । संविधान मस्यौदा समितिको सदस्यसमेत रहेका उनले चार चरणको प्रक्रियामा पनि सरकार बन्न सकेन भने मात्र प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था संविधानमा राखिएको बताए । नयाँ संविधानको व्यवस्थाबमोजिम प्रधानमन्त्री भएका ओली यसरी परिवर्तन भएकोमा रावलले अनभिज्ञता प्रकट गरे । उनले भने, ‘यो कुरा प्रधानमन्त्री ओलीज्यूलाई मात्र थाहा छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

दैलेखमा देखिन थाले लोपोन्मुख गिद्ध

विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थालेका छन् । डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई विसं २०६६ मा डाइक्लोफेनकमुक्त घोषणा गरिएको थियो ।

मासुलाई आहारा बनाउने तर आफू सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयवासीमा खुशी भएका छन् । मरेको सिनो खाएर वातावरणलाई स्वच्छ बनाई दिने गिद्ध मानिसका लागि सहयोगी हुन् ।

बिरामी पशुलाई दुखाइ र ज्वरो कम गर्नका लागि प्रयोग गरिने डाइक्लोफेनेक औषधिको अत्यधिक प्रयोग हुन थालेदेछि त्यस्ता मरेका पशु खाँदा गिद्ध समेत मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टले बताए । उनले भने, “डाइक्लोफेनेक औषधि प्रयोग गरिएको सिनो खाँदा गिद्धको मिर्गौलामा असर पर्न गई मर्ने, बाँचेकामा पनि बाँझो आउने अुनसन्धानबाट खुलेपछि जिल्लालाई २०६६ सालमा डाइक्लोफेनेकमुक्त घोषणा गरिएको थियो ।”

आजभोलि जिल्लाका विभिन्न ठाउँमा आकाशमा फाटफुट गिद्ध देखिन थालेपछि डाइक्लोफेनक औषधिको प्रयोग भएको छैन भन्ने अनुमान गरिएको छ । गिद्धको सङ्ख्या बढ्नु आमनागरिकका लागि खुशीको कुरा हो प्रमुख विष्टले थपे ।

डाइक्लोफेनेकमुक्तपछि जिल्लाका विभिन्न ठाउँका सिमल, सल्लाको रुखमा गिद्धले गुँड लगाउनेको गरेको ठाटीकाँध गाउँपालिका–१ का वडाध्यक्ष नर्तमबहादुर बुढाले बताए । ‘‘एक दशकसम्म हामीले गिद्ध देखेका थिएनौँ । गिद्ध नहुँदा मरेको गाईगोरुले वातावरणलाई दूषित बनाएको थियो । तीन वर्षयता गाउँपालिकाका जङ्गलमा गिद्धले गुँड लगाउने गरेको देखिएको छ’’, उनले भने । गिद्धको वासस्थानको लागि सिमलको रुख फँडानी गर्दा गिद्ध देखा पर्न छोडेको स्थानीयवासीले बताउँछन् । गिद्धका लागि सिमलको रुख काट्नाले गिद्ध लोप भएको स्थानीयवासीको बुझाइ छ । नेपाल सरकारले सिमलको रुखलाई पनि गिद्ध उचित वासस्थान हो मानेर रुख कटानमा प्रतिबन्ध लगाएको छ ।

मरेको सिनो खाएर गिद्धले सरुवा रोग हैजा, झाडापखालालगायतका रोगबाट मुक्त बनाइदिने भएकाले संरक्षणका लागि गाउँबस्तीका मानिसले औषधि प्रयोग गरिएको सिनो गाड्ने र वासस्थानको लागि सिमलको रुखलाई संरक्षण गर्नु पर्ने दैलेख पशु अस्पताल कार्यलयका निमित्त अधिकृत विष्टले बताउँछन् ।

नेपालको एकमात्र लोपोन्मुख जाति राउटे समुदायले सिमलको रुखबाट भाँडाकुँडा बनाई जीविकापार्जन गर्दै आएकाले यसको रोकथामको लागि राउटे समुदायमा काम गर्ने सङ्घसंस्थाले जनचेतना जगाउनुपर्ने उनको भनाइ छ । राउटेको जीवन प्रकृतिसँग हुर्किने भएकाले प्रकृतिका कुचिकर मानिएका गिद्धको संरक्षणका बारेमा उनीहरुमा जनचेतना जगाउनुपर्छ र सिमलको रुख काट्न रोक लगाउनु पर्ने हुन्छ ।

हिन्दू धर्ममा शनि देवताको बहानको रुपमा चिनिने यो पंक्षी धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउने पहल गरेको उल्लेख गरिएको छ । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये दैलेखमा पाँच प्रजातिका हिमाली गिद्ध, हाडफोर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध, डङ्गुर गिद्ध  पाइने नेपाल पंक्षी संरक्षणका जीवविज्ञान कृष्णप्रसाद भुसालले जानकारी दिए । उनले भने, “अकल्पनीय र अप्राकृतिक विनाशले सानो खैरो, डङ्गुर, लामो ठुडे र सुन गिद्ध अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका छन् । अतिसङ्कटापन्न प्रजाति आउने १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत हुन्छ ।

नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्बती मूलका लामा समुदायमा अहिले पनि आफन्तको शव गिद्धलाई खुवाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पु¥याउने दूतका रुपमा पुज्ने गर्छन् ।

गिद्ध खाद्य शृङ्खलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्पूर्ण सूचक मात्र नभई कतिपय समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर रहेको छ ।

अझै गिद्धलाई संरक्षण गर्न स्थानीय सरकार, राजनीति दल विभिन्न सरकारी एवं गैरसरकारी संस्थाले डाइक्लोफेनेकलगायत अन्य विषादीलाई रोकथाम नियन्त्रण र स्थानीयवासीमा जनचेतना जगाउन सके गिद्ध संरक्षणमा फाइदा पुग्ने वातावरण संरक्षणवादीहरुको तर्क छ ।

विसं २०६३ जेठ २३ नेपाल सरकारले गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेकको उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो । गिद्ध, तथा अन्य चराचुरुङ्गी वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्री वितरण लागि प्रयोगमा ल्याएको छ ।

गिद्धले एकैपटक ३०० किमी आकाशीय दूरीमा उडान भर्न सक्छ । नेपाल पंछी संरक्षण सङ्घ काठमाडौँको अध्ययनानुसार गिद्धले सिमलको रूख, सल्ला, साललगायत १३ प्रजातिका फरकफरक रूखमा गुँड बनाउने गरेको छ ।रासस

बाक्लो हुस्सु र शीतलहरको कारण विद्यालय बन्द

बाक्लो हुस्सु र शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

पुसको अन्तिम सातादेखि शुरु भएको लगातारको शीतलहरका कारण विद्यार्थीलाई विद्यालय जान आउन समस्या हुन थालेपछि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय यही माघ १८ देखि २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख हरिनारायण महतोले बताए ।

बाक्लो हुस्सु र शीतलहरको कारण जनजीवन प्रत्यक्षरुपमा प्रभावित भएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी नगरपालिकाले चार दिनका लागि विद्यालयमा जाडो बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डङ्गोलले सूचनामार्फत जानकारी दिए ।

जाडोको समयमा बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकाले नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

साथै सामुदायिक विद्यालयको अर्धवार्षिक परीक्षा सकिएको हुँदा सो बिदा अवधिभरि उत्तरपुस्तिका परीक्षण गराई बिदापछि नतीजाको विवरणसहित शिक्षा, युवा तथा खेलकूद शाखामा जानकारी दिनसमेत प्रमुख प्रशासकीय अधिकृत डङ्गोलले आग्रह गरेका छन् ।रासस

नियमित यौनसम्पर्क गर्नेहरुको हृदयघातबाट मृत्यु हुने सम्भावना न्यून

एजेन्सी । बुढ्यौली र दीर्घायु हुनु कसैको बसमा हुँदैन । विज्ञानका अनुसार पढाई, व्यायाम गर्नु र स्वस्थकर खाना खानु नै एक स्वस्थ जीवनका लागि आवश्यक चीज हुन् । तर, पछिल्लो समय अनुसन्धानकर्ताका अनुसार शारीरिक सम्बन्ध पनि अत्यन्त आवश्यक छ ।

अनुसन्धानकर्ताका अनुसार शारीरिक सम्बन्धले थुप्रै गम्भीर बिरामीहरुको खतराबाट बचाउँछ । शारीरिक सम्बन्धले सन्तुष्टि मात्र दिँदैन यसले दिमागी रुपमा पनि तन्दुरुस्त राख्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउँछ । उच्च रक्तचापलाई सन्तुलनमा राख्न र मुटुसम्बन्धी थुप्रै समस्याहरुबाट बच्नुका साथै लामो उमेरका लागि पनि शारीरिक सम्बन्ध राख्नु जरुरी छ ।

न्यू इंग्लयाण्ड रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ताका अनुसार शारीरिक सम्बन्ध र मुटुका रोगहरुसँग सम्बन्धित एक अनुसन्धान गरिएको थियो । जसमा ६५ वर्षभन्दा कम उमेरका १ हजार १ सय २० जना पुरुष र महिलाहरु सहभागी थिए । यस अनुसन्धानका अनुसार २२ वर्षपछि आएको नतिजाका अनुसार हरेक दिन शारीरिक सम्बन्ध राखेमा मुटुसम्बन्धी रोग लाग्दैन ।

अनुसन्धानका अनुसार ‘सेक्स लाइफ’ सक्रिय हुनेहरुको हृदयघातपछि पनि मृत्यु हुने सम्भावना कम हुन्छ । जसले एक हप्तामा एकभन्दा बढी पटक सेक्स गर्छ त्यस्ता व्यक्तिको हृदयघातबाट मृत्यु हुने सम्भावना २७ प्रतिशत कम हुन्छ । यद्यपि, सेक्स नगर्नेहरुको मृत्यु हुने सम्भावना ८ प्रतिशत मात्रै कम हुन्छ ।

यसमा शारीरिक सम्बन्ध राख्दा पार्टनरको लगावमा पनि भर पर्ने अनुसन्धानमा उल्लेख छ ।

यसैगरी, हप्तामा एक पटक सेक्स गर्नेको उमेर ३७ प्रतिशत लामो हुन्छ । अमेरिकी जर्नल अफ कार्डियोलोजीमा छापिएको एक अध्ययनका अनुसार सेक्सले उमेर लम्ब्याउँछ । उक्त अध्ययनका अनुसार सेक्स कम गर्ने पुरुषमा मुटुको रोग लाग्ने खतराका साथै इरेक्टाइल डिसफंक्शनको समस्या पनि बढाउँछ । साथै, यौन क्रियाकलापमा सक्रिय हुने पुरुषमा शारीरिक सक्रियता बढाउने क्षमता धेरै हुन्छ ।

स्वास्थ्यकर्मी भन्छन्–‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् ।

गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनु पर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन् ।

भारतले अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ देखि बागलुङमा समेत लगाउन थालिएको छ ।  स्वास्थ्यकर्मी, सफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप लगाउन थालिएको छ । कोरोनाको निकै जोखिमपूर्ण अवस्थामा परिवारबाट समेत अलग्गै बसेर जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीले खोप लगाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको प्रतिक्रिया दिएका छन् ।

बागलुङमा पहिलो खोप लगाउने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा दिवाकर पराजुलीले आफूले खोप लगाएर ढुक्क भएर जनताको सेवामा खटिन पाउँदा खुशी लागेको बताए । “कतिपय स्वास्थ्यकर्मी नै मृत्यु हुनु भएको खबर आउँदा परिवारमा समेत पीडा हुने गरेको थियो”, डा पराजुलीले भने, “जिल्लामै पहिलोपटक कोरोना खोप लगाउन पाउँदा भाग्यमानी ठानेको छु ।”

धौलागिरि अस्पताल नेपालमै पाँचौँ र छैटौँ कोरोना सङ्क्रमितको उपचार गराउने अस्पतालका रुपमा रहेको छ । पराजुलीले खोप ढुक्क भएर लगाउन अन्य स्वास्थ्यकर्मीलाई समेत अनुरोध गरेका थिए । पहिलो दिनमै बागलुङका ११७  स्वास्थ्यकर्मी र सफाइ कर्मचारीले खोप लगाए । दोस्रो दिन बिहीबार २७८ ले खोप लगाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए। गुरौँका अनुसार बागलुङमा एक हजार ९६० डोज खोप आएको छ ।

डा पराजुलीले जुनसुकै खोपमा पनि सामान्य प्रतिक्रिया देखा पर्ने भन्दै सबैलाई संयमित हुन आग्रहसमेत गर्नुभएको थियो । खोपका बारेमा चलाइएका अनावश्यक हल्लामा विश्वास नगर्न आग्रह गर्दै डा पराजुली खोप सबैसम्म पु¥याउनुपर्ने र आमनागरिकले अब प्रयोग गर्नुपर्ने धारणा राख्छन् ।

स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे खोप लगाउनेको व्यवस्थापनमा खटिएका छन् । उनले सबैलाई खोप लगाएपछि अन्तिममा लगाउने बताए । “सेवामा खटिँदा सङ्क्रमित नै भएँ, अहिले स्वयंसेवीलाई खोप लगाउने व्यवस्थापनमा खटिएको छु”, घिमिरेले भने, “यही डोजको अन्तिम खोप लगाउने योजनामा रहेको छु ।” सङ्क्रमित भएरसमेत स्वस्थ भई काममा खटिएको र खोप आउँदा आफू खुशी भएको उनको भनाइ छ ।

आफूले खोप लगाउन पाउँदा निकै खुशी भएको धौलागिरि अस्पतालमा कार्यरत सिनियर अनमी टीकादेवी रिजालले बताउनुभयो । आफूले बुधबार बिहान कोरोना खोप लगाएलगत्तै सेवामा खटिएको बताए । “पहिले सङक्रमणको भय हुँदाहुँदै सेवामा खटिएको थिएँ”, रिजालले भने, “अब ढुक्क भएर सेवा दिन पाइने भयो ।” खोप लगाउन डराउन नहुने उनको भनाइ रहेको छ ।

यस्तै धौलागिरि अस्पतालका स्वास्थ्यकर्मी प्रदीप आचार्य र निर्मला पौडेलले खोप लगाएर ढुक्कका साथ सेवामा खटिँदा खुशी भएको बताए । अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीले खोप लगाएपछि अर्को चरणमा अन्य सर्वसाधारणलाई खोप लगाइने जनाइएको छ । खोप लगाएका कसैमा कुनै समस्या नआएको अस्पतालले प्रष्ट पारेको छ । रासस

ओलीलाई प्रधानमन्त्रीबाट यसरी हटाउँदैछन् प्रचण्ड, भित्रैभित्रै भएको रहेछ तयारी!

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने तयारी गरेको जानकारी दिएका छन् ।

शुक्रवार विराटनगरमा आयोजित जनसभामा प्रचण्डले संविधानमा भएको ब्यवस्था प्रयोग गरेर कारवाही गरिने जानकारी दिए । उनले अहिले सर्वोच्च अदालतप्रति भरोसा भएको र तलमाथि भए तयारीअनुसार कारवाही गरेर अघि बढ्ने चेतावनी दिए ।

उनले भने, ‘अदालतप्रति भरोसा गरेर बसेका छौं । जरुरी परेमा सभामुखले बैठको आयोजना गर्ने र केपीलाई कारवाही गर्छौ । तर अदालतको भर छ । तपाइले ५ वर्षका लागि चुनाव जिताएर पठाएका हामी जिउँदै छौं । कसैले नक्कली ढंगले मारेर हुँदैन,’ उनले भने ।

प्रचण्डका अनुसार २०५९ सालमा सडकबाटै संसद बैठक बसेजसरी बैठक बोलाउने र अविश्वासको प्रस्ताव पारित गरेर ओलीलाई हटाउने तयारी छ । एक महिनाभित्रै ओलीलाई पदबाट हटाउने प्रचण्डको घोषणा छ । ‘धेरै महिना लड्नु पर्दैन । एक महिनाभित्र बादशाहलाई घोडाबाट खसाउनेछौं । लोकतन्त्र फेरि ट्रयाकमा जानेछ,’ उनले भने ।