१३ मंसिर २०७७, शनिबार २०:३१ – Page 5 – Nagarikabhiyan : National News

पाठ्यक्रम लागू गर्न दरबन्दी नै सिर्जना गरेर शिक्षक पठाइने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्नका लागि सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ ।

यही शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भने पनि कारोना भाइरसका कारण पठनपाठन ठप्प हुँदा पाठ्यक्रम लागू हुन नसकेको हो । महानगरपालिकाका शिक्षा विभाग प्रमुख नमराज ढकालका अनुसार हाल महानगरमा सञ्चालित ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा आगामी शैक्षिकसत्रदेखि अनिवार्य रुपमा आधारभूत तहमा स्थानीय पाठ्क्रम लागू गरिनेछ ।

पठनपाठनका लागि पाठ्यसामग्री तयारी अवस्थामा रहेको छ । संस्थागत विद्यालयमा पाठ्यसामग्री पठाउने र सामुदायिक विद्यालयमा नयाँ दरबन्दी सिर्जना गरी शिक्षकसहित पठाउने तयारी महानगरपालिकाको छ ।

स्थानीयस्तरको भाषाका बारेमा जानकारी दिनका लागि कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको पाठ्यक्रम अनिवार्य लागू गर्न लागिएको हो । सो विषय पठनपाठन गर्नका लागि महानगरपालिकाको ५३औँ कार्यपालिका बैठकले विद्यालयमा पठाइने शिक्षकलाई प्रशिक्षण दिने निर्णयसमेत गरिसकेको छ ।

हाल महानगरपालिकाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् । रासस

सूर्यविनायक नगरप्रमुख थापा कोरोना संक्रमित

भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा कोरोना संक्रमित भएका छन् ।

प्रमुख थापाले आज सामाजिक सञ्जालबाट आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिँदै आफूसँग सम्पर्कमा आएकालाई परीक्षण गर्न र सचेत रहन आग्रह गरेका हुन् ।

नगरपालिकाले कोरोना संक्रमण रोक्न र संक्रमितको व्यवस्थापनमा घुम्ती स्वाब संकलनदेखि स्वास्थ्यका गतिविधिमा खटिएका प्रमुख थापा आफैँ संक्रमित भएका छन् ।

होम आइसोलेसनबाटै नगरप्रमुख थापाले भने,“गत बिहीबार साँझ म घर पुगेपछि हल्का ज्वरोको महसुस भयो, शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो, हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या देखिएको छैन । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।”

उपत्यका नगरपालिका फोरमले आज एक विज्ञप्ति जारी गर्दै फोरमका सदस्य एवं सूर्यविनायक नगरपालिकाका प्रमुख थापाको शीघ्र स्वाथ्य लाभको कामना गरेको छ ।

फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य, उपाध्यक्ष चिरीबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“आफ्ना नगरवासीलाई कोरोनाबाट जोगाउन कर्तव्यबोधका साथ अहोरात्र खटिने क्रममा नगरप्रमुख थापा आफैँ कोभिड-१९ बाट संक्रमण भएकामा उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीसँग सम्पर्कमा आउनुभएका सचेत रहेर पिसीआर परीक्षण गर्न आग्रह गर्दछौं ।’’

कंगना रनौतको पक्षमा उच्च अदालतको फैसला

नयाँदिल्ली  । मुम्बईको उच्च अदालतले अभिनेत्री कंगना रनौतको पक्षमा निर्णय गरेको छ ।

अदालतले रनौतको बंगलाको भाग भत्काउने मुम्बई महानगरपालिकाको आदेश रद्द गरेको हो ।
उक्त आदेश दुर्भावनाबाट प्रेरित भएको र अभिनेत्रीलाई नोक्सान पुर्याउने उद्देश्य रहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

बीएमसीले घरको केही भाग गैरकानूनी हिसाबले बनाइएको आरोप लगाएपछि भत्काउने आदेश दिएको थियो । कंगनाले उक्त आदेशलाई चुनौती दिँदै अदालतमा याचना पत्र बुझाएकी थिइन् ।

महानगरपालिकाले गत सेप्टेम्बर ९ मा पाली हिल्स इलाकामा रहेको कंगनाको बंगलाको एक भागमा डोजर चलाएको थियो । घटनामाथि फैसला सुनाउँदै दुई न्यायाधीशले भने-उक्त कारवाही अनाधिकृत थियो ।

कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु

धनगढी  ।  कैलालीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालीका १ का ५९ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको उनका आफन्तले बताएका छन् ।

उनको स्वास्थ्यमा समस्यमा आएपछि अस्पताल भर्ना गरिएकोमा आज बिहान सारथी अस्पताल प्रा.ली धनगढीमा मृत्यु भएको हो । उनको सेती प्रादेशीक अस्पतालमा आजै कोरोना परिक्षण गरिदा रिर्पोट पोजेटीभ आएको थियो ।

ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा अराजक : नेता भण्डारी

जनकपुरधाम ।  जनता समाजवादी पार्टीका नेता एवं पूर्व रक्षामन्त्री शरद सिंह भण्डारीले केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै सबैभन्दा अराजक रहेको आरोप लगाएका छन् ।

विद्यापति स्मृति दिवस-२०७७ को अवसरमा आज (शनिबार) जनकपुरधामस्थित विद्यापती चोकमा आयोजित कार्यक्रममा बोल्दै जसपा नेता भण्डारीले वर्तमान सरकारमा अनुशासनहिनता अत्यधिक रहेकोले अराजकता बढेको जिकिर गरे ।

उनले भने,‘मुलुकमा कानूनी व्यवस्थालाई निरन्तरता दिने उद्देश्यका साथ नेपाली जनताले दुई तिहाईको बहुमत दिएर जनादेश दिएपनि भ्रष्टाचार र अनुशासनहिनता बढेको छ । वर्तमान राजनीतिक प्रणाली संरक्षण गर्ने जिम्मा जुन सरकारको छ सोही सरकार राजनीतिक प्रणाली ध्वस्त पार्न उद्वत छ । वर्तमान सरकार नै संविधान ध्वस्त पार्ने षडयन्त्रमा लागेको छ ।’

नेता भण्डारीले देशमा शक्ति विकेन्द्रिकरणका लागि नेपाली जनताले संघियता ल्याएपनि वर्तमान सरकारको नियतमा शंका रहेको उल्लेख गरे । अर्को प्रसङ्गमा बोल्दै नेता भण्डारीले प्रदेश २ सरकारले अहिलेसम्म यस प्रदेशको नामाकरण गर्न नसक्नु दुः खद विषय रहेको बताए । प्रदेश २ को नामाकरण भूगोलको आधारमा मात्र नभई भू-संस्कृतिलाई समेत समेटेर नामाकरण गर्नु आवश्यक रहेकोले सहमतिको आधारमा चाँडै नै नामाकरण गर्न प्रदेश सरकारलाई नेता भण्डारीले आग्रह गरे ।

जनकपुरधामस्थित विद्यापती चोकमा विगत २३ वर्षदेखि महाकवी कोकिल विद्यापती स्मृति पर्व त्यहाँका स्थानीयले मनाउँदै आईरहेका छन् । विद्यापति स्मृति दिवस-२०७७ को अवसरमा आज माँ दुर्गा मन्दिर प्राङ्गणमा कविगोष्ठी आयोजना गर्नुका साथै विद्यापती चोकस्थित महाकवी विद्यापतीको स्मारक स्थलमा माल्यापर्ण समेत गरिएको थियो ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता स्मृति नारायण चौधरी, प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्र, जिल्ला समन्वय समितिका उपसभापति दिपक झा लगायतकाले आ-आफ्नो मन्तव्य राखेका थिए ।

‘‘हर्न निषेध” पालना नगर्नेलाई कार्वाही हुने

विराटनगर । ‘हर्न निषेध’को पालना गर्न जिल्ला प्रहरी कार्यालय मोरङले सवारी चालकलाई अनुरोध गर्दै नियमको पालना नगरेर कारबाही गर्ने तयारी गरेको छ ।

प्रदेश १ लाई तीन वर्षअघि नै ‘हर्न निषेध’ क्षेत्र घोषणा गएिकोमा पछिल्लो समयमा नियमको उल्लघंन बढेपछि प्रहरीले कडाइ गर्न लागेको हो ।

हर्न बजाउने नाममा त्यसको दुरुपयोग गरिएको र ध्वनी प्रदूषणसमेत बढेको भन्दै प्रदेश १ प्रहरी कार्यालयले २०७४ साल असोज १ गतेबाट प्रदेशमा ‘हर्न निषेध’ गरेको थियो । त्यसयता साना तथा ठूला सवारी साधनलाई जथाभावी हर्न बजाउन रोक लगाइएको छ ।

तत्कालिन प्रदेश प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले प्रदेशमा ‘हर्न निषेध’को अवधारणा लागू गरेका थिए । केही समयसम्म त्यसको प्रभावकारी रुपमा कार्यान्वयन भएको थियो ।

ट्राफिक प्रहरीले जथाभावी हर्न बजाउने सवारी साधन र चालकलाई कारबाही गर्ने गरेको थियो । तर, पछिल्लो समय त्यसको कार्यान्वयन फितलो भएको छ । मोरङ प्रहरीले भने अब कडाई थालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

निजी, सरकारी तथा सार्वजनिक सवारी साधनले जथाभावी प्रेसर हर्नको प्रयोग गरिरहेको भन्दै प्रहरीले अब उप्रान्त हर्न प्रयोग नगर्न भनेको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दुर्घटना हुनसक्ने खतरा रहेको स्थान, घुम्ती र मोडहरुमाबाहेक अन्य स्थानमा सवारी साधनले हर्न बजाउन नपाउने जानकारी दिनुभयो ।

प्रहरीले प्रदेश १ मा गरेको ‘हर्न निषेध’ का विरुद्धमा २०७४ साल कात्तिक १४ गते परेको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएको थियो । हर्न निषेधलाई अझ व्यवस्थित रुपमा लागू गर्दै आगामी दिनमा यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने मोरङ प्रहरीले जनाएको छ । हाम्रोमतबाट

इनरुवा अस्पताल सुधार संघर्ष समिति सक्रिय बन्दै

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा गठन भएको इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरी सक्रिय बन्दै गएको छ । शुक्रवार उद्योग वाणिज्य संघ इनरुवामा जिल्ला अस्पताल इनरुवाको बारेमा बृहत छलफल र बहसबाट अस्पताल सुधारका लागि गठन भएको सुधार संघर्ष समितिले शनिवार चार बुदें निर्णय गरेको छ ।

इनरुवा अस्पताल सुधार संघर्ष समितिको शनिवार बसेको बैठकले चार बुदें निर्णय गरेको समितिको संयोजक दिलिप चन साहुले बताएका छन् ।

अस्पताल सुधारको लागी बिकास समिति, सामाजिक बिकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयलाइ अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउने, अस्पताल सुधारको लागी जनताको सुझाव लिनको लागी अस्पताल परिसरमा सुझाव पेटीका राख्ने, विभिन्न सरोकारवालाहरु संग समय समयमा अन्तरक्रिया गर्ने , सल्लाहकारमा इनरुवा ४ का समाजसेवी विवेकानन्द झालाइ मनोनीत गर्ने निर्णय गरेको संघर्ष समितिले जनाएको छ ।

समितिले अस्पताल सुधारका लागि काम गर्ने, निगरानी बढाउने, बहस र छलफललाई निरन्तरता दिने , सर्वसाधारणहरुसँग भेटघाट सँगै आवश्यक सरसल्लाह लिई अगामी दिनमा कार्ययोजना बनाई अस्पताल सुधारका कठिबद्ध हुने समितिको संयोजक साहुले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय छिटाहालाई ४ कठ्ठा जग्गादान

गढी । सुनसरीको गढी गाउँपलिका वडा नम्बर ३ छिटाहा स्थित रहेको ईलाका प्रहरी कार्यालयलाई २ कठ्ठा जग्गा दान गरेको छ ।
ईलाका प्रहरी कार्यालयको ठाउँ साँघुरो भएपछि छिटाहाका स्थानीय दाजुभाई मिलेर २ कठ्ठा जग्गादान गरेको हो ।

गढी गाउँपालिका वडा नम्बर ३ छिटाहाका राम कुमार साहु तेली र श्रीराम साहु मिलेर ईलाका प्रहरी कार्यालय छिटाहालाई २ कठ्ठा जग्गादान गरेको स्थानीय निरज कुमार यादवले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय छिटाहालाई २ कठ्ठा जग्गा दान गरेको पछि सो कार्यालयको क्षेत्रफल फराकिलो भएको स्थानीहरुले बताएका छन् । प्रहरी कार्यालय सानो ठाउँमा रहेको हुदाँ प्रहरी कार्यालयको काम कारवाही गर्न समस्या भएकोले दाजुभाई मिलेर जग्गादान गरेको हो ।

यस अघि ईलाका प्रहरी कार्यालय छिटाहालाई ४ कठ्ठा जग्गा समाजसेवी रामकिसुन साहले जग्गादान गरेका थिए । सो कार्यालयको कुल ६ कठ्ठा जग्गा प्रहरी कार्यालयकै नाममा पास भएको स्थानीय यादवको भनाई छ ।

ईलाका प्रहरी कार्यालयका प्रमुख बिक्रम बहादुर दाहालले आफनो कार्यकालमा जग्गा पास गराउँदा खुशी ब्यक्त गरेसँगै जग्गादाताहरुलाई धन्यवाद समेत ब्यक्त गरेका छन् ।

ईलाका प्रहरी कार्यालय छिटाहाको नाममा जग्गा पास भएकोले केही वर्षभित्र भवन निर्माणका लागि आफू प्रयत्न गर्न कुनै कसर बाँकी नराख्ने ईलाका प्रमुख दाहालको भनाई छ ।
गढी गाउँपालिका वडा नम्बर ३,४,५,६ सम्मको कार्यक्षेत्र भएको हुदाँ कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुदाँ काम गर्न समस्या भएको उनले बताए । कार्यक्षेत्र फराकिलो भएको र कर्मचारी कम भएकोले भनेजस्तो शान्ति सुरक्षाको प्रत्याभूती गराउन नसकेको उनको तर्क थियो ।
कर्मचारी अभाबले काम गर्न ठूलो समस्या भएपनि स्थानीयहरुको साथ सहयोग र मायाले गर्दा आफूहरुले जेनतेन काम गरिरहेको ईलाका प्रहरीका प्रमुख दाहालले बताए ।
जग्गा प्रर्याप्त भएको हुदाँ स्थानीय सरकारको पहलमा ईलाका प्रहरी कार्यालय छिटाहाको भवन निर्माण गर्न तर्फ स्थानीय दिलिप मेहताले जोड दिए । ईलाका प्रहरी कार्यालयमा थोरै प्रहरीले धेरै काम गर्नुपर्ने भएको हुदाँ यस कार्यालयमा जनशक्ति थप गर्नुपर्ने छिटाहाका स्थानीय ओमप्रकाश मेहताले माग गरेका छन् ।

प्रदेश नं १ का प्रदेश प्रमुखलाई कोरोना संक्रमण

काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना संक्रमण देखिएको छ ।

प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति संक्रमण देखिएको उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए ।

सामान्य लक्षण देखिएपछि शुक्रबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा उनले स्वाब दिएका थिए । उनकी धर्मपत्नी र सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको प्रेस सल्लाहकार अधिकारीले बताए ।

प्रदेश प्रमुख अधिकारी र उनकी धर्मपत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु विराटनगरस्थित निवासमा होम आइसोलेसनमा बसेका छन् ।

कैलालीका ७४ सहित सुदूरपश्चिममा ८२ जना कोरोना संक्रमित थपिए

धनगढी । कैलालीका ७४ सहित सुदूरपश्चिमका थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार २९१ जनाको परीक्षण गर्दा थप ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ११ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नं.५ का ५ जना, वडा नं.२ का २ जना, त्यस्तै वडा नं.३ का ८, १४ र वडा नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

कैलालीको टीकापुर नगरपालिकाका २९ जना, मोहन्याल गाउँपालिकाका १० जना, जोशीपुर गाउँपालिकाका ७ जना, कैलारी गाउँपालिकाका ५ जना, गोदावरी नगरपालिका र लम्किचुहा नगरपालिकाका ३-३ जना, यस्तै घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका २-२ जना, भजनी नगरपालिका र ठेगाना नखुलेका कैलालीकै १-१ जनामा कोराना पुष्टि भएको छ ।

यस्तै डडेल्धुराको परशुराम नगरपालिकाका ४ जना, डोटीको जोरायल गाउँपालिकाका १ जना, कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र कृष्णपुर नगरपालिकाका १-१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय ८० जनामा कोरोना पुष्टि

काठमाडौंं । पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय ८० जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार देशभर ५ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएको बताएको छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।

हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय १८ जना क्वारेन्टाइनमा छन् ।

प्रचण्डलाई ओलीको खुल्ला आह्वान : त्यागको यो सिलसिला आजै शुरु गरौं !

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री ओली आफूले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि प्रचण्डलाई तयार हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

पार्टीको सचिवालय बैठकमा पेश गरेको प्रस्ताव तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावको जवाफमा अध्यक्ष ओलीले सो प्रश्न गरेका हुन् ।

जवाफको बुँदा २३ मा उनले भनेका छन्, ‘म आज खुल्ला आहृवान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै शुरु गरौं ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔं र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौं ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?’ उनले चार महिनापछि पार्टीको महाधिवशेन हुन लागेको सन्दर्भ उल्लेख गर्दै लेखेका छन्–‘मेरो मनमा एउटा गम्भीर प्रश्न छ– चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? के कमरेडहरुलाई महाधिवेशनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन ? दुई वर्षपछि आम निर्वाचन हुन्छ । मेरो विश्वास छ– नेकपाको विजय यात्रा जारी नै रहने छ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । के कमरेडहरुमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने, फेरि किन सधैभरि सरकार परिवर्तनको दौडधुप ? चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौं भने हामीसँग लाखौं कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ ?’

यस्तै प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले प्रस्तावमा आफूलाई लगाएका आरोप पुष्टि गर्न पनि चुनौती दिएका छन् । उनले भनेका छन्, ‘कि त आरोप पुष्टि गर्नुस् होइन भने परिणामको जवाफदेहिता लिन तयार हुनुहोस् ।’

५३ बुँदे जवाफको बुँदा २४ औं बुँदामा उनले लेखेका छन्, ’तपाईंले मलाई ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप लगाउनु भएको छ । पार्टीमा उत्पन्न अन्योल र गतिरोध’ का लागि, अविश्वास र अन्तरविरोधका लागि, पार्टीमा आएको आचरण र मूल्यमान्यतामा ह्रासका लागि, व्यक्तिवादी अराजकतावादी आचरणका लागि, वैचारिक काम नहुने स्थितिका लागि, पार्टी र सरकारबीचको सम्बन्ध बिग्रने कुराका लागि, पार्टी एकताका क्रममा गरिएका प्रबन्ध र निर्णयको अतिक्रमणका लागि मुख्य जिम्मेवार ‘करार’ गर्नुभएको छ। अझ अगाडि बढेर ‘चरम असहिष्णु’, ‘बहुमतको निर्णय मान्दिना’ भन्ने दम्भी, ‘वुर्जुवा अराजकतावादी’, र ‘सामन्ती निरङ्कुश’ आदि अनेकौं फरेब लगाउनु लगाउनु भएको छ । यो समाचार द नेपालटपमा छ ।

मलाई ‘नवउदारवादी’, ‘दलाल–नोकरशाही पुँजीवादी बाटोको अनुशरण गरेको’ र ‘समाजवाद’ विरोधी आक्षेप लगाउँदै मेरा कारणले वर्तमान प्रणाली ‘परम्परागत संसदीय गणतन्त्र’ मा बदलिएको निष्कर्ष निकाल्नुभएको छ । अझ अगाडि बढेर ममाथि ‘भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको’, ‘विदेश मामला र कुटनीतिमा …..अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पु¥याएको’, ‘सङ्घीयता विरोधी’, आदि फौजदारी प्रकृतिका सङ्गीन र झुठा लाञ्छनाहरु लगाइएको छ । कहिलेकाहीं आफैं छक्क पर्छु, कम्युनिष्ट आन्दोलनमा यो कस्तो सङ्क्रामक रोग हो, जसले सामान्य असहमतिलाई पनि जबर्जस्ती कटु, विद्वेषपूर्ण र विग्रहकारी बनाउँछ ? यी यति अराजनीतिक आरोपहरु हुन्, जसलाई यहाँ उल्लेख गर्न पनि मलाई सिकसिक लागिरहेको छ । म यी सबै आरोपलाई एकमुष्ट खारेज गर्दछु ।

उद्योग वाणिज्य महासंघको निर्वाचन सकियो, मत गणना ६ बजे शुरु हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सकिएको छ । शतप्रतिशत मतदान भएको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए ।

उनका अनुसार बस्तुगत तर्फबाट १०१ मा १०१ नै मतदान भएको छ । जिल्ला नगरबाट १०५ रहेकोमा त्यहाँ पनि शतप्रतिशत नै मतदान भएको छ भने एसोसिएट तर्फ पनि सबै मतदान भएको पौडेलको भनाइ छ ।

कुल ११ सय १० जना मतदाता रहेकोमा सबैले मतदान गरेका छन् । निर्वाचन सकिएसँगै निर्वाचन समितिले मत गणनाको तयारी शुरु गरेको छ । साँझ ६ बजेबाट मतगणना शुरु गर्ने पौडेलले जानकारी दिए । मत परिणाम आउन मध्यरात १२ बजेसम्म लाग्ने अनुमान गरिएको छ ।

अस्पताल सुधार समिति सक्रिय बन्दैं

। सुनसरी सदरमुकाम इनरुवामा गठन भएको इनरुवा अस्पताल सुधार संघर्ष समितिले आफ्नो दबाबको कार्यक्रममा थप प्रभावकारी बनाउने भएको छ । सुनसरीको इनरुवा वेथिति नै बेथिति बढेकाले त्यसका विरुद्धमा अबाज उठाउने उदेश्यले समिति सक्रिय बन्दै गएको हो । अस्पताल सुधारका लागि गठन भएको सुधार संघर्ष समितिले शनिवार मात्रै चार बुदें निर्णय गरेको छ ।
अस्पताल सुधारको लागि अस्पताल विकास समिति, सामाजिक बिकास मन्त्रालय र मूख्यमन्त्री कार्यालयलाई अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउने, अस्पताल सुधारको लागि जनताको सुझाव लिन अस्पताल परिसरमा सुझाव पेटीका राख्ने, विभिन्न सरोकारवालाहरु संग समय समयमा अन्तरक्रिया गर्ने , सल्लाहकारमा इनरुवा ४ का समाजसेवी विवेकानन्द झालाई मनोनीत गर्ने निर्णय गरेको संघर्ष समितिको संयोजक दिलिप चन साहुले बताउनुभयो ।
समितिले अस्पताल सुधारका लागि काम गर्ने, निगरानी बढाउने, बहस र छलफललाई निरन्तरता दिने , सर्वसाधारणहरुसँग भेटघाट सँगै आवश्यक सरसल्लाह लिई अगामी दिनमा कार्ययोजना बनाई अस्पताल सुधारका कठिबद्ध हुने समितिको संयोजक साहुले बताउनुभयो ।

 

ईलाका प्रहरी कार्यालय छिटाहालाई जग्गादान

गाउँमा शान्ती सुरक्षा प्रदान गर्ने र नागरिकलाई सुरक्षाको महसुस गराउने प्रहरीलाई आफ्नै भवन र कार्यालयका लागि सुनसरीको गढी गाउँपालिकाका समाजसेवीले जग्गा दान गरेका छन् । सुनसरीको गढी गाउँपलिका वडा नम्बर ३ छिटाहामा रहेको ईलाका प्रहरी कार्यालयलाई गढी ३ का राम कुमार साहु तेली र श्रीराम साहु मिलेर संयुक्त रुपमा दुई कट्ठा जाग्गा दान गरेको स्थानीय निरज कुमार यादवले बताउनुभयो ।
दुई कठ्ठा जग्गा दान गरेकाले ईलाका प्रहरी कार्यालयको ठाउँ साँघुरोबाट फराकिलो हुने भएपछि छिटाहाका स्थानीय दाजुभाईले दुई कठ्ठा जग्गादान गर्नुभएको हो । यस अघि ईलाका प्रहरी कार्यालय छिटाहालाई ४ कठ्ठा जग्गा समाजसेवी रामकिसुन साहले दान गर्नुभएको थियो । हाल थप दुई कट्ठा दान प्राप्त भएकाले सो इलाका प्रहरी कार्यालयको कुल क्षेत्रफल ६ कठ्ठा जग्गा प्रहरी कार्यालयकै नाममा पास भएको छ ।
ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक बिक्रम बहादुर दाहालले आफनो कार्यकालमा जग्गा पास गराउन पाउँदा खुशी ब्यक्तगर्दै जग्गादाताहरुलाई धन्यवाद समेत दिनुभयो । जग्गा पास भएकोले केही वर्षभित्र नयाँ भवन निर्माणका लागि आफू प्रयत्न गर्ने दाहालको भनाई छ । गढी गाउँपालिका वडा नम्बर ३,४,५,६ सम्मको कार्यक्षेत्र भएको हुदाँ कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुदाँ काम गर्न समस्या भएको उहाँले बताउनुभयो । कार्यक्षेत्र ठूलोे भएको र कर्मचारी कम भएकोले भनेजस्तो शान्ति सुरक्षाको प्रत्याभूती गराउन नसकेको तर्क राख्नुभएको थियो । कर्मचारी अभाबले काम गर्न ठूलो समस्या भएपनि स्थानीयहरुको साथ सहयोग र मायाले गर्दा आफूहरुले जेनतेन काम गरिरहेको दाहालले बताउनुभयो । जग्गा प्रर्याप्त भएको हुदाँ स्थानीय सरकारको पहलमा ईलाका प्रहरी कार्यालय छिटाहाको भवन निर्माण गर्न तर्फ ध्यान दिनुपर्ने स्थानीय दिलिप मेहताको जोड थियो ।

बालबिवाह न्यूनीकरणका लागि कानुनी सचेतना आवश्यक

इनरुवा, मंसिर १३ गते । सुनसरीको गढी गाउँपालिका २ औरावनीमा लैगिंक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्र्तगत बालबिवाह बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । सनिबार गढी २ नम्बर वडा कार्यालयको सहयोगमा साझेदारी नेपाल सुनसरीले सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको हो । गढी गाउँपालिका २ औराबनी र मझौका ५२ जनाबढी सरोकारवालाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा स्थानीयले बालबिवाह न्यूनीकरणका लागि सचेतना कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
बालबिवाह ग्रामिण क्षेत्रमा एकपछि अर्को गर्दै तिब्र रुपले बढेकाले त्यसको न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको वडा कार्यालय औराबनीका वडा सदस्य गुदनसरी ऋषिदेवले बताउनुभयो । ऋषिदेवले ग्रामिण र त्यसमाथि दलित बिपन्न समुदायमा रुढीवादी परम्परा र संस्कारका कारण बालबिवाह बढेकाले त्यसको न्यूनीकरणमा स्तरीय शिक्षा र सचेतना आवश्यक रहेको बताउनुभयो ।


समाजसेवी डाक्टर ऋषिदेवले सरकारको ऐन कानुन एकातिर र सामाजिक संरचना अर्केतिर रहेकाले बालबिवाह न्यूनीकरणमा चुनौती रहेको बताउनुभयो । त्यसैगरी सन्जु ऋषिदेवले समेत बालबिवाह ब्यक्ति परिवार र समाजका लागि समस्याको विषय भएपनि नरोकिएकोमा चिन्ता ब्यक्त गर्दै सामाजिक रुपमै सचेतना आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा गढी गाउँपालिका २ का वडाध्यक्ष अरुण कुमार चौधरी, सचिव योगराज निरौला, अमिलाल चौधरी, बलराम ऋषिदेव, तारा ऋषिदेव, बिनिता ऋषिदेव, कमली ऋषिदेव लगायतकाले बालबिवाहका असर र यसबाट जोगिने उपायको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा पत्रकार जयकृष्ण यादवले सहजिकरण गर्नुभएको थियो भने गणेश यादवले बाल विवाहको असरको बारेमा धारणा राख्नुभएको थियो ।


१, सुनसरीको गढी गाउँपालिका २ औरावनीमा बालबिवाह बिरुद्ध सचेतना कार्यक्रमका सहभागीहरु ।