ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा अराजक : नेता भण्डारी
१३ मंसिर २०७७, शनिबार १९:१५
जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता एवं पूर्व रक्षामन्त्री शरद सिंह भण्डारीले केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै सबैभन्दा अराजक रहेको आरोप लगाएका छन् ।
विद्यापति स्मृति दिवस-२०७७ को अवसरमा आज (शनिबार) जनकपुरधामस्थित विद्यापती चोकमा आयोजित कार्यक्रममा बोल्दै जसपा नेता भण्डारीले वर्तमान सरकारमा अनुशासनहिनता अत्यधिक रहेकोले अराजकता बढेको जिकिर गरे ।
उनले भने,‘मुलुकमा कानूनी व्यवस्थालाई निरन्तरता दिने उद्देश्यका साथ नेपाली जनताले दुई तिहाईको बहुमत दिएर जनादेश दिएपनि भ्रष्टाचार र अनुशासनहिनता बढेको छ । वर्तमान राजनीतिक प्रणाली संरक्षण गर्ने जिम्मा जुन सरकारको छ सोही सरकार राजनीतिक प्रणाली ध्वस्त पार्न उद्वत छ । वर्तमान सरकार नै संविधान ध्वस्त पार्ने षडयन्त्रमा लागेको छ ।’
नेता भण्डारीले देशमा शक्ति विकेन्द्रिकरणका लागि नेपाली जनताले संघियता ल्याएपनि वर्तमान सरकारको नियतमा शंका रहेको उल्लेख गरे । अर्को प्रसङ्गमा बोल्दै नेता भण्डारीले प्रदेश २ सरकारले अहिलेसम्म यस प्रदेशको नामाकरण गर्न नसक्नु दुः खद विषय रहेको बताए । प्रदेश २ को नामाकरण भूगोलको आधारमा मात्र नभई भू-संस्कृतिलाई समेत समेटेर नामाकरण गर्नु आवश्यक रहेकोले सहमतिको आधारमा चाँडै नै नामाकरण गर्न प्रदेश सरकारलाई नेता भण्डारीले आग्रह गरे ।
जनकपुरधामस्थित विद्यापती चोकमा विगत २३ वर्षदेखि महाकवी कोकिल विद्यापती स्मृति पर्व त्यहाँका स्थानीयले मनाउँदै आईरहेका छन् । विद्यापति स्मृति दिवस-२०७७ को अवसरमा आज माँ दुर्गा मन्दिर प्राङ्गणमा कविगोष्ठी आयोजना गर्नुका साथै विद्यापती चोकस्थित महाकवी विद्यापतीको स्मारक स्थलमा माल्यापर्ण समेत गरिएको थियो ।
जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता स्मृति नारायण चौधरी, प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्र, जिल्ला समन्वय समितिका उपसभापति दिपक झा लगायतकाले आ-आफ्नो मन्तव्य राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया