३१ श्रावण २०७७, शनिबार ११:४० – Page 6 – Nagarikabhiyan : National News

जसपामा पदीय बाँडफाँट र सिद्धान्तको मतभेद : बाबुराम र उपेन्द्रकै फरक दृष्टि

काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (जसपा)मा पदीय बाँडफाँट र सिद्धान्तको विषयमा मतभेद देखिएको छ ।

साउन १५ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठक नेताहरूको पदीय बाँडफाँट र पार्टीको सिद्धान्तको विषयमा कुनै निर्णय लिन सकेन । तत्कालीन राजपा र समाजवादीको एकीकरणपछि केन्द्रीय कार्यकारिणी समितिको बैठकमा जिम्मेवारी बाँडफाँटको मुद्दा नै मुख्य चासो बनेको थियो ।

सानो टिमबाट मात्रै समाधान निकाल्न सकिने भन्दै कार्यविभाजन र पार्टीको संगठनात्मक समायोजनको काम गर्न नेताहरूकै प्रस्तावमा सचिवालय बनाउने निर्णय भएको छ । सचिवालयमा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताहरू अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो छन् ।

बैठकमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका सबैको पद तथा जिम्मेवारी बाँडफाँट तत्काल तोक्न सदस्यहरूले माग गरेका थिए । निर्वाचन आयोगमा दल दर्ताका क्रममा दुई अध्यक्ष, तीन वरिष्ठ नेतासहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन गरिएको थियो ।

पार्टीका केन्द्रीय तहका अन्य संरचना बन्न सकेका छैनन् । पार्टीका मुख्य नेताहरू नै ५१ जनाको केन्द्रीय कार्यकारिणीमा छन् । यो नै पदाधिकारीहरूको समिति हो ।

अहिलेसम्म अध्यक्षद्वय ठाकुर र यादवकै भूमिकाको समेत परिभाषा भएको छैन । पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बाबुराम भट्टराईलाई एक हजारभन्दा बढी सदस्य रहने संघीय परिषद्को अध्यक्ष बनाउने तयारी सुरुदेखिकै छ ।

दल दर्ताका लागि निर्वाचन आयोगमा बुझाउने दस्तावेजमा समेत उनलाई संघीय परिषद्कै अध्यक्षमा राखिएको थियो । तर, अन्तिम घडीमा दुई अध्यक्षभन्दा तल आफ्नो वरीयता तोकिने भएपछि भट्टराई असन्तुष्ट बनेका थिए । त्यसैमा कुरो नमिलेपछि उनी आफैंले संघीय परिषद्को अध्यक्षमा रहेको आफ्नो नाम काटेर वरिष्ठ नेताको हैसियतमा राखेर चौथो वरीयतामा नाम थपेका थिए ।

यता पार्टीको सिद्धान्तका बारेमा फरक फरक दृष्टिकोण पेस भएको खुलासा भएको छ । समितिका ५१ जना सदस्यलाई पदाधिकारीको जिम्मेवारी बाँडफाँड गर्ने एजेन्डा भए पनि सो विषयमा अनिर्णत भएर सकिएको बैठकमा पार्टीको सिद्धान्तका बारेमा भने फरक फरक दृष्टिकोण पेश भएका थिए ।

बैठकमा पार्टीको सिद्धान्तका बारेमा छलफल हुदाँ झन्डै आधा दर्जन दृष्टिकोणहरु प्रस्तुत भएको थिए । अध्यक्ष उपेन्द्र यादवले समाजवादी लोकतन्त्रलाई पार्टीको सिद्धान्त बनाउनुपर्ने भन्दै छलफलका लागि प्रस्ताव पेश गरे भने वरिष्ठ नेता भट्टराईले समुन्नत संघीय समाजवादलाई पार्टीको सिद्धान्त बनाउनु पर्ने धारणा राखेका थिए ।

वरिष्ठ नेता महतोले सामुदायिक समाजवादलाई पार्टीको सिद्धान्त बनाउनु पर्ने प्रस्ताव गरे भने तत्कालीन राजपा नेपालका अन्य नेताहरुले लोकतान्त्रिक समाजवादलाई पार्टीको सिद्धान्तका बनाउनुपर्ने प्रस्ताव छलफलको क्रममा राखेका थिए ।

पार्टीको सिद्धान्त के बनाउने भन्ने बारेमा फरक–फरक मत र दृष्टिकोण पेश भएपछि जसपाको बैठकको अन्त्य गर्दै अध्यक्ष महन्थ ठाकुरले यसबारेमा अर्को बैठकमा छलफल गर्ने जनाएका थिए । तर अहिलेसम्म यस विषयमा छलफल हुन सकेको छैन । तत्कालीन राजापा नेपालले लोकतान्त्रिक समाजवादलाई सिद्धान्त मान्दै आएको थियो भने समाजवादीले समुन्नत संघीय समाजवादलाई सिद्धान्त मानेको थियो ।

तर जसपामा पुगेपछि भने ४ वटा फरक–फरक दृष्टिकोण पेश भएको थियो । जसमा तत्कालीन समाजवादी पार्टीभित्रै यादव र भट्टराईबीच नै मतभेद देखिएको छ भने राजपाभित्र पनि ठाकुर र महतोबीच मतभेद पैदा भएको छ । स्रोतका अनुसार पार्टीले भट्टराईको प्रस्तावमा सहमति खोज्ने प्रत्यन गरिरहेको छ । तर अहिलेसम्म सहमति हुन सकेको छैन ।

सिन्धुलीका पाँच स्थानीय तहद्वारा लकडाउन

सिन्धुली । यहाँका पाँच वटा स्थानीय तहले आफ्नो पालिकामा लकडाउन घोषणा गरेका छन् । जिल्लामा कोभिड–१९ सङ्क्रमित बढ्दै गएपछि स्थानीय तहले लकडाउन घोषणा गरेका हुन् ।

हाल कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी लकडाउनको घोषणा गरेका छन् । सिन्धुलीमा कोरोना सङ्क्रमण बढेको र समुदायमा सङ्क्रमण देखिएकाले जिल्लाका पाँच स्थानीय तहले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहेको जनाएका छन् ।

पालिकावासीलाई सूचनामार्फत पालिकाले गरेको आग्रहलाई वेवास्था नगर्न अपिल गरेका छन् । जिल्लाको कमलामाई नगरपालिकाले मङ्गलबार रातिदेखि नै लकडाउन गरेको हो भने अन्य स्थानीय तहमध्ये सुनकोशी, गोलञ्जोरले बिहीबारदेखि लकडाउन गरेका हुन् । शुक्रबारदेखि तीनपाटन गाउँपालिकाले पनि आफ्नो गाउँपालिकामा लकडाउनको घोषणा गरेको जनाएको छ ।

मरिण गाउँपालिकाले पनि लकडाउनको घोषणा गरेको छ । सबै स्थानीय तहले आफ्ना नागरिकलाई सुरक्षित भई घरमै बस्न आग्रह समेत गरेका छन । अत्याबसेक काम बाहेक हिँडडुल नगर्न, अत्यावश्यक सेवा बाहेकका अन्य पसल व्यवसाय सञ्चालन नगर्न, यदि हिँडडुल गर्नै पर्ने भएमा र सेवा सञ्चालन गर्नुपर्ने भएमा सुरक्षा उपयका सुरक्षा सामग्रीको प्रयोग गर्दै सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

हिजो एकै पटक १३ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएपछि जिल्लामा त्रास बढेको छ । सिन्धुली सदरमुकाममा रहेको कमलामाई नगरपालिकाले सबैभन्दा पहिला लकडाउनको घोषणा गरेको छ । जिल्ला सदरमुकाममा लकडाउन गरिएपछि औषधि पसल, तरकारी, खाद्यान्न, दूध बिक्री गर्ने पसल तथा अत्यावश्यक सेवाका बाहेक अन्य सबै पसल बन्द गर्न कमलामाईले निर्देशन दिएको छ ।

पसल व्यवसाय भने बन्द भएको छ । बजारमा भने मानिसको आवतजावत भने बढ्दो अवस्थामा रहेको छ । व्यापार व्यवसाय बन्द गरिए पनि लकडाउन प्रभावकारी कार्यान्वयन नहुँदा जोखिम झन बढ्दो अवस्थामा रहेको छ । केही व्यवसायीले लुकीछिपी व्यवसाय सञ्चालन गरेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।

साथै चोक र सडकमा मानिस समूहमा जम्मा भई गफ गरेर समय बिताउनेको पनि जमात रहेको छ । स्थानीय तहले घोषणा गरेको लकडाउनको प्रभावकारिता कस्तो छ भनेर सडकमा बुझ्न आउने पनि धेरै रहेका छन् । यता सिन्धुली अस्पतालले अबको १४ दिन होम क्वारेन्टिनमा बस्न जिल्लावासीलाई आग्रह गगरेको छ । अस्पतालमा आइसोलेशनको श्ययाको कमी भएकाले कोरोना सङ्क्रमितलाई घरमा नै र क्वारेन्टिनमा नै राख्नुपर्ने अवस्था रहेको भन्दै लकडाउनको पूर्ण पालना गरी घरमा नै बस्न अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले आग्रह गरेका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १८ लाख ७ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६८ हजार ५३२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ४९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९९० जनाको मृत्यु भएपछि भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ४९ हजार १३४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा थप १ जना कोरोना संक्रमितको मृत्युु भएको हो ।

वीरगन्ज महानगरपालिका-१२ मुर्ली घर भएका ६० बर्षीय वृद्धको नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा शुक्रबार बेलुका मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक उदय नारायण सिंहले बताए ।

मृतक वृद्धको पिसिआर रिपोर्टमा साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै ज्वरो आएएपछि उनी नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा साउन २४ गते साँझ भर्ना भएका थिए ।

विगत ६ दिनदेखि उपचाररत उनको शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक सिंहले बताए । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

साउनमा मात्रै २२ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २६ मध्ये पर्साका १९, बाराका ५, रौतहटका १ जना रहेका छन् ।

जेठ ३१ गते वीरगन्जको घण्टाघरमा वेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।

गर्भवती हुँदा स्वस्थ रहन कति र के खाने ?

एजेन्सी । धेरैजसो महिलाहरूलाई गर्भवती हुँदा कति खानुपर्छ भन्ने थाहै छैन । बेलायतको नेसनल च्यारिटी पार्टनरसिपले गराएको एक सर्वेक्षणको परिणामले यसतर्फ इशारा गरेको छ । गर्भवती महिलामध्ये जम्मा एक तिहाइलाई मात्र यस प्रश्नको सही जवाफ थाहा भएको सर्वेक्षणको नतिजाले देखायो ।

बेलायतमा मानिसहरूको स्वास्थ्यमाथि निगरानी गर्ने नाइस नामक संस्थाको सल्लाहअनुसार गर्भावस्थाको पहिलो ७ महिनामा अतिरिक्त क्यालोरी आवश्यक हुँदैन ।

तर गर्भावस्थाको अन्तिम तीन महिनामा महिलाहरूले हरेक दिन २०० क्यालोरी अतिरिक्त लिनुपर्छ । यति क्यालोरी जैतूनको तेलमा तताइएको दुईवटा ब्रेडबाटै पाइन्छ ।

साधारणतया महिलाहरूले गर्भावस्थाका बेलामा दुईजनाका लागि भोजन गर्नुपर्ने आवश्यकता रहने अनुमान गरिन्छ : आफ्नै लागि र पेटमा भएको बच्चाका लागि ।

तर रोयल कलेज अफ अब्स्टेट्रिसियनन्स एन्ड गायनोकोलोजिस्ट्ससँग मिलेर नेसनल च्यारिटी पार्टनरशिपले यो मिथकलाई झुटो साबित गर्ने प्रयास गरेको छ ।

गर्भवती महिलाले हरेक दिन सामान्यतया दुई हजार क्यालोरी आवश्यक हुन्छ । यसमा ठोस र तरल दुवै पदार्थ पर्छन् ।

चिकित्सकहरूका अनुसार खाना सन्तुलित हुनुपर्छ जसमा फल र तरकारीहरू, कार्बोहाइड्रेट (पास्ता र आलु), प्रोटीन (दाल, माछामासु, दुग्ध पदार्थ) र बोसो समावेश हुनुपर्छ ।

रोयल कलेजका प्राध्यापक जेनिस राइमरका अनुसार गर्भवती अवस्थामा धेर खाँदा महिलाहरूलाई नोक्सानी हुन्छ ।

शरीर र दिमागलाई स्वस्थ राख्ने ५ टिप्स

एजेन्सी । पछिल्लो समय नेपालीहरुमा मुटु, क्यान्सर र मधुमेह लगायत विभिन्न किसिमका रोगहरुको संक्रमण बढ्दै गएको छ । मानिसमा लाग्न सक्ने विभिन्न रोगहरुबाट बच्न शरीर मात्रै स्वास्थ्य भएर नपुग्ने बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मीले बताए । उनले भने, ‘शरीरलाई पूर्ण रुपमा स्वास्थ्य मान्नको लागि हाम्रो शरीर, दिमाग र मन पनि स्वास्थ्य हुनुपर्छ । हामीले हाम्रो मन, शरीर र दिमागलाई स्वास्थ्य राख्न सक्यौ भने मात्रै हामी स्वास्थ्य व्यक्ति हुन्छौं ।’

स्वास्थ्य रहनको लागि के गर्ने ?

धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने :- धुमपान र सुर्तीजन्य पदार्थको सेवनले मानिसहरुमा क्यान्सर, दम लगायतका गम्भीर र दिर्घकालिन रोगहरु लाग्न सक्छ । त्यसलै स्वास्थ्य रहनको लागि धुमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहनु पर्छ ।

स्वास्थ्यकर खानपान :- खान नजानेकै कारण पनि विभिन्न किसिमका रोगहरु लाग्ने गरेको छ । स्वास्थ्य रहनको लागि हामीले हरेक दिन खाने खाना पनि स्वास्थ्य हुनुपर्छ । आफ्नौ शरीरलाई चाहिने पौष्टिक आहार नियमित रुपमा खानाले धेरै रोग लाग्नबाट बचाउँछ । खानामा नियमित रुपमा हरियो सागसब्जी सहितको खानाले स्वास्थ्यलाई निकै फाइदा गर्छ ।

पर्याप्त पानी पिउने :- स्वास्थ्य रहनको लागि शरीरमा पानीको मात्रा मिलाउनु जरुरी छ । स्वास्थ्य रहने चाहनामा शरीरले फिल्टर गर्न सक्ने भन्दा बढी पानी पिउँदा भने शरीरलाई असर पु¥याउन सक्छ । डा. रेग्मीका अनुसार शरीरले एक घण्टामा एक लिटर पानी मात्रै फिल्टर गर्न सक्छ । धेरै पानी एकैपटक पिउदा र कम पानी पिउँदा पनि शरीरलाई नकारात्मक असर पर्छ ।

नियमित व्यायाम तथा योगा :- शरीर दिमाग र मनलाई स्वास्थ्य राख्नको लागि नियमित व्यायाम तथा योगा गर्नु उपयुक्त हुन्छ । नियमित शारीरक व्यायाम र योगा गर्ने बानीले शरीरलाई स्वास्थ बनाउनुका साथै मन र दिमागलाई पनि तनावबाट मुक्त गराउँछ । योगाले मुटु रोग र तनावलाई घटाउँछ ।

मोटोपना,रक्तचाप तथा सुगर नियन्त्रण :- रक्तचाप, सुगर र मोटोपनाले शरीर र दिमाग दुबैलाई असर गर्छ । मोटोपनाले रक्तचाप र सुगरलाई पनि बढाउँछ । स्वास्थ्यकर खानपान र नियमित व्यायाम तथा योगाले मोटोपना खटाउँन सहयोग गर्छ ।

इमोसन कन्ट्रोल गर्ने :- शारीरिक रुपमा स्वास्थ्य रहेपनि मानसिक रुपमा तनाव र चिन्ता लिने मानिसलाई स्वास्थ्य व्यक्ति भन्न सकिदैन । धेरै दुःखी हुने र चिन्नता लिइरहने बानीले मानिसलाई मानसिक रुपमा कमजोर बनाउँछ । जसले उसको जीवनयापना समस्या ल्याउँछ । त्यसैले स्वास्थ्य रहनको लागि इमोसन कन्ट्रोल गनुपर्छ ।

गण्डकी प्रदेशमा १० जना संक्रमित थपिए

कास्की । गण्डकी प्रदेशमा १० जना कोरोना संक्रमित थपिएका छन्‌ । प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ६ जिल्लाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परीक्षण गर्दा तनहुँको भानु नगरपालिका-२ र ४ का दुई जना, कास्कीको पोखरा महानगरपालिका-५ र ८ दुई जना, बागलुङको बागलुङ नगरपालिका-३ का एक जना, बडिगाड-६ का एक जना, गोरखाको गोरखा नगरपालिकाका एक जना, स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ का एक जना र नवलपरासीको बर्दघाट सुस्तापूर्व मध्यबिन्दु नगरपालिका-८ का एक जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ । थप १० जनासहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६९२ जना पुगेको छ ।

आज २०७७ साउन ३१ गते शनिबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।

एप्पलको साझेदारले भन्यो – चीनका दिन सकिए

अमेरिकी कम्पनी एप्पलको उत्पादन साझेदार फक्सकन कम्पनीले विश्वको कारखानाको रुपमा रहने चीनको समय सकिएको बताएको छ ।

फक्सकनका अनुसार अब चीनबाहेक विश्वका अन्य जुनसुकै क्षेत्रहरु, चाहे भारत, दक्षिणपूर्वी एसिया र अमेरिकामा उत्पादन प्रणालीको विकास हुनेछ । उसका अनुसार अब चीन पूरै विश्वको कारखानाको रुपमा रहने छैन ।

होन होइ प्रिसिजन इन्डस्ट्री अर्थात् फक्सकनका अध्यक्ष योंग लिउले भनेका छन्, ‘फक्सकनका लागि अझै पनि चीनले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । तर विश्वकै कारखानाका रुपमा रहने चीनका दिन सकिएका छन् ।’

रिपोर्टअनुसार फक्सकन कम्पनीले चीनभन्दा बाहिर आफ्नो उत्पादन क्षमता विस्तार गरिरहेको छ । कम्पनीको कूल उत्पादनमध्ये चीनबाहिर हुने उत्पादन अहिले ३० प्रतिशत पुगेको छ, जबकी गत जुन महिनामा उक्त हिस्सा केवल २५ प्रतिशत थियो । यो अनुपात आगामी दिनमा झनै बढ्नसक्ने उनले बताए ।

यद्यपि चीन र अमेरिकाबीच चलिरहेको व्यापार युद्धको मारमा फक्सकन कम्पनी समेत पर्ने देखिन्छ । सोही कारण कम्पनीले दुईवटा आपूर्ति श्रृंखलाको निर्माणमा काम गरिरहेको छ, जसमध्ये एउटा चीनका लागि र अर्को अमेरिकाका लागि । सोही मुताविक फक्सकनले अमेरिकाको विस्कन्सिनका साथै मेक्सिको, ब्राजिल र दक्षिणपूर्वी एसियामा आफ्नो लगानीमा वृद्धि गरिरहेको छ ।

एजेन्सी

आज थपिए कोरोनाका ५ सय ९४ संक्रमित

काठमाडौं । आज देशभर कोरोनाका ५ सय ९४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा २ सय ४० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म १७ हजार ७७ जना कोरोनाबाट निको भइ घर फर्किका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ छ। विगत २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ।

त्यस्तै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ९९ पुगेको छ। यसरी मृत्यु भएकामा पुरुष ७७ र महिला २२ छन्।

विगत २४ घण्टामा गरिएको परीक्षणका क्रममा मृतक थप ४ जनामा कोरोना पुष्टि भएको हो।

पर्सा, रौतहट, महोत्तरी र काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या ५(५ सयभन्दा बढी छ।

मृगौला पीडित महतोको गुहार,‘सबैले सहयोग गरिदिए म अवश्य बाँच्नेछु’

जनकपुरधाम । विगत ३ वर्षदेखि दुबै मृगौला फेल भएका धनुषाको धनुषाधाम नगरपालिका-५ पर्वताका रामसोगारथ महतो कोईरीका ३० वर्षीय छोरा शिवनाथ महतोले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो उपचारमा समस्या भएको भन्दै उनले सहयोग मागेका हुन् । आर्थिक अवस्थाका कारण उपचार गराउन समस्या भईरहेको र परिवासमेत कष्टकर जीवन व्यतित गरिरहेकाले आर्थिक सहयोग गरिदिन उनले आग्रह गरेका हुन् ।

अहिलेसम्म जेनतेन गरी नियमित उपचार गराउँदै आएको महतोलाई उपचारमा लाग्ने रकम ठुलो भएकोले आर्थिक संकट आइपरेको छ । उनले भने,‘आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गरेको छु,सबैले सहयोग गरिदिए म अवश्य बाँच्नेछु । नियमित डायलासिसको भरमा बाँचिरहेको छु ।’

मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरको बेडबाट सहयोगका लागि अपिल गर्दै उनले भने,‘मलाई आजसम्म कुनै संघसंस्थाबाट सहयोग भएको छैन । मेरो लागि पहल गर्ने कुनै व्यक्ति नभएकोले कसैसँग कुनै सहयोग पाएको छुईन् । मेरो श्रीमती र ५ वर्षीया एक छोरीलाई पेट पाल्न समेत निकै समस्या भईरहेको छ । मलाई आशा छ, सबैजनाले मेरो गुहार सुनेपछि अवश्य सहयोग गर्नुहुन्छ ।’

शिवनाथको उपचार र परिवारको संचालन कहिलेकाहीँ चन्दा लगाएर हुने गरेको ग्रीन मिथिला युवा क्लवका सचिव सन्तोष महतोले बताए । नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भनेपनि अन्तमा १५ हजार रुपैयाँ मात्रै उपलब्ध गराउन सकिने बताएपनि त्यो रकम समेत नदिएको उनले बताए । शिवनाथ अहिले भक्तपुरस्थित राष्ट्रिय मानव अंग प्रत्यारोपन केन्द्रमा उपचाररत छन् ।

४० जना तरकारी व्यापारीमा कोरोना, विभिन्न स्थान सिल

काठमाडौं । काठमाडौंको कालीमाटी, कुलेश्वर र बल्खुका केही क्षेत्र सिल गरिएको छ ।

उक्त स्थानका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका-१४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही क्षेत्र सिल गरेको हो ।

लकडाउन खुलेसँगै कालिमाटी तरकारी बजारमा र बल्खु तरकारी बजार क्षेत्रमा मानिसको घुइँचो बढेको थियो । वडा कार्यालयलेसमेत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटी र स्थानीय तहको समन्वयमा कोरोना जोखिम क्षेत्रको पहिचान गरी सिल गर्ने कार्य जारी छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रामेछाप प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले अनलाइनखबरसँग कुरा गर्दै खड्कालाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । उनले भने, ‘उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको भन्दै उहाँविरुद्ध उजुरी परेको छ ।’

खड्का तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष हुन् । यद्यपि, हाल उनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निलम्बन गरेको छ ।

नेकपामा यसरी तयार भयो सहमतिको खाका : मन्त्रीदेखि मुख्यमन्त्रीसम्म फेरिने

काठमाडौं । विभाजनको डिलमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्वादले विवाद समाधानको दीशा समातेको छ ।

नौ दिनको संवादहीनता तोड्दै विहीबार बालुवाटारमा ओली र प्रचण्डबीच चएको छलफल सहमति नजिक पुगेको पार्टीभित्रको विवाद टुंग्याउने गृहकार्यमा जुटेका नेताहरूको दाबी छ ।

महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेता जनार्दन शर्मा विवाद टुंग्याउने गृहकार्यमा सुरुदेखि नै व्यवस्त देखिन्छन् ।

महासचिव पौडेलले मुख्यमन्त्री पोखरेल र नेता शर्मासँगको सल्लाहका आधारमा तयार पारेको सहमतिको ‘खेस्रा प्रस्ताव’ दुई अध्यक्षको छलफलमा प्रस्तुत गरिएको थियो । ओली र प्रचण्डबीच सहमतिका लागि अधिकार बाँडफाँडसहितका विभिन्न विषयमा ठोस छलफल सुरु भएको छ ।

ओलीसँगको छलफलका विषयमा प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलाई ब्रिफिङ गरेका थिए । खनालले बिहीबार दुई अध्यक्षबीच अधिकार बाँडफाँडको विषयमा लगभग सहमति भएको छ ।

‘विषयवस्तुकेन्द्रित सकारात्मक संवाद भएको छ । आज पनि छलफल हुन्छ । सहमति बन्छ कि भन्ने विश्वास बढेको छ,’ पौडेलले भने, ‘अब स्थायी कमिटी बैठकचाहिँ सुचारु हुन्छ ।’

नेता नेपालसहितका अन्य नेतालाई पनि विश्वासमा लिने र यसै साता स्थायी कमिटीमार्फत निर्णय लिने ओली–प्रचण्डको तयारी छ । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक सञ्चालनमा ओलीले रुचि नराखेपछि स्थगित छ ।

छलफलमा दुई पदबाट नहट्ने गरी ओलीको तर्फबाट प्रस्ताव पेस भएको छ । जसअनुसार पहिलो अध्यक्ष ओली नै रहने, तर दाहाल पूर्ण रुपले पार्टी काममा केन्द्रित हुने रहेको छ ।

यसबाहेक सरकारले नियुक्ति र आधारभूत नीतिमा पार्टीसँग सल्लाह गर्ने, मन्त्रिपरिषद्को पुनर्गठन, मुख्यमन्त्री हेरफेर र सांगठनिक काम टुंग्याउने प्रस्ताव आएको प्रचण्डको भनाइ छ ।

त्यस्तै केन्द्रीय कमिटीले तोकेको मितिमा सहमतिका आधारमा महाधिवेशन गर्ने प्रस्तावका बारेमा पनि अध्यक्षद्वयबीचमा छलफल भएको छ । तर, कार्यदल ओलीको तर्फबाट पेस भएको प्रस्तावको सीमाभित्र छलफल गर्ने गरी नभई स्वतन्त्र ढंगले छलफल गरेर प्रस्ताव तयार गर्ने अधिकार दिने गरी सहमति नजिक पुगेको प्रचण्डले सुनाएका थिए ।

कार्यदलमा कुन–कुन नेतालाई राख्ने, त्यसले के के विषयमा गृहकार्य गर्ने भन्नेमा भने ओली दाहालले सहमति जुटाइसकेका छैनन्। तर पौडेल, पोखरेल, शर्मा र अर्का एकदुई नेता सहभागी गराएर कार्यदल बनाउन सक्ने सम्भावना अधिक देखिएको छ।

त्यसो हुँदा दुई अध्यक्षको कार्य विभाजनदेखि महाधिवेशन कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक राजनीतिक बहस, आलोचना, आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, विवादित नियुक्तिहरूको बदर, राजनीतिक नियुक्तिहरूमा संस्थागत निर्णय, मुख्यमन्त्री हेरफेरलगायत विषयमा केन्द्रित रहेर कार्यदलले प्रस्ताव तयार पार्ने छ ।

स्रोतका अनुसार प्रदेशका मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल फेरिने सम्भावना बलियो छ । यस्तै आवश्यक परे आफू मुख्यमन्त्री छोड्न तयार रहेको प्रदेश ५ का मुख्यमन्त्री पोखरेल संकेत देखाएका छन् ।

यस्तै परराष्ट्रमन्त्री गृहमन्त्री रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवाडा र श्रममन्त्री रामेश्वर राय यादव फेरिने सम्भावना रहेको बुझिएको छ । तत्काललाई बैठक सुचारु गरेर समग्र प्याकेजमा सहमतिको खोजी गर्न विभिन्न विकल्पहरूमा छलफल जारी छ ।

‘उहाँहरूबीच एक साताभित्र स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने समझदारी भएको छ,’ पौडेलले भने, ‘तत्काललाई बैठक सुचारु गरेर समग्र प्याकेजमा सहमतिको खोजी गर्न विभिन्न विकल्पहरूमा छलफल जारी राख्दै अघि बढ्ने विषयमा पनि उहाँहरू सहमत हुनुभएको छ ।’

यस्तै उपनेता नेम्वाङले विहीबारको छलफलपछि अध्यक्षद्वय उत्साहित देखिएको बताए । ‘बिहीबारको छलफलबाट समग्रमा दुवै अध्यक्ष उत्साहित हुनुहुन्छ र छलफल सकारात्मक भयो भन्ने छ । त्यसैले प्रधानमन्त्रीले बुधबार काउन्टडाउन गर्दा हुन्छ भनेजस्तै सुरुवात सकारात्मक देखिएकोमा त विवादै रहेन,’ नेम्वाङले भने, ‘स्थिति सकारात्मक र मिल्ने दिशातिरै गएको छ, तर विभिन्न विकल्पमा छलफल चलिरहेकाले केमा मिल्छ भन्ने कुराचाहिँ दुई अध्यक्षले मात्र भन्न सक्नुहुन्छ ।’ द नेपालटपबाट

प्रतिबन्धित सभामा मुख्यमन्त्री : न मास्क, न भौतिक दुरी

विराटनगर । आइसोलेसन बेड अभावका कारण प्रदेश १ मा एक सयभन्दा बढी कोरोना संक्रमितहरु घरमै बस्न बाध्य भएको अवस्थामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने प्रदेश सरकारले जनताको घर–घरमा पुगेर सेवा प्रवाह गरेको बताएका छन् ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएका कारण संघीय सरकारले सार्वजनिक भेला, कार्यक्रम, सेमिनार तथा जमघट गर्न प्रतिबन्ध लगाएको छ । तर मुख्यमन्त्री राई विहीबार प्रतिबन्धित तीन वटा कार्यक्रमको प्रमुख अतिथि बने ।

कार्यक्रममा भौतिक दुरी कायम भएको थिएन । मानिसहरुको भिड थियो । मुख्यमन्त्री राई आफैंले पनि मास्क लगाएका थिएनन् । कार्यक्रममा सहभागी अन्यले मास्क चिउँडोमा लगाएका थिए ।

तीनै कार्यक्रमहरुमा भाषण गर्दै मुख्यमन्त्री राईले घरघरमा पुगेर सेवा प्रवाह गरेको दाबी गरे ।

बिहीबार उनले झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रमिण पूर्वाधार सडक परियोजना अन्तरगत निर्मित सडक उदघाटन गरे । सडक उदघाटन गर्दै उनले सानातिना काम स्थानीय, मझौला प्रकृतिका प्रदेश र ठूला आयोजना संघीय सरकारबाट पूरा हुने बताउँदै निराश बन्नु नपर्ने बताए ।

मुख्यमन्त्री राईले अर्जुनधारा जलेश्वरधाम जाने बाटोमा रहेको कृष्ण–अर्जुन रथको प्रतिमा तथा अर्जुनधारा–१ र २ को बेलटारस्थित प्रदेश सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा बनेको दुग्ध संकलन केन्द्र ९चिलिङ सेन्टर० को पनि उदघाटन गरे ।अनलाइनखबरबाट

सिन्धुपाल्चोकको लिदीमा पहिरो : १३ घर पुरिए, ५ घरका सदस्य सम्पर्कविहीन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शुक्रबार बिहान पहिरो गएको छ । अविरल वर्षाकाको कारण जुगल गाउँपालिका–२ लिदीमा आज बिहान करिब ६ बजे भिषण पहिरो गएको हो ।

पहिरोले १३ घर पुरिँदा पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएका छन् । प्रहरी घटनास्थल पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले १३ वटा घर पुरिएर देखिँदैको छैन भने पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएका छन् । ती पाँच घर परिवारमा कति जना सदस्य थिए भन्ने पत्ता लागेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले त्यस घटना स्थलमा सेना प्रहरीलाई पठाएको जानकारी दिए । अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन ।