जसपामा पदीय बाँडफाँट र सिद्धान्तको मतभेद : बाबुराम र उपेन्द्रकै फरक दृष्टि – Nagarikabhiyan : National News

जसपामा पदीय बाँडफाँट र सिद्धान्तको मतभेद : बाबुराम र उपेन्द्रकै फरक दृष्टि

काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (जसपा)मा पदीय बाँडफाँट र सिद्धान्तको विषयमा मतभेद देखिएको छ ।

साउन १५ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठक नेताहरूको पदीय बाँडफाँट र पार्टीको सिद्धान्तको विषयमा कुनै निर्णय लिन सकेन । तत्कालीन राजपा र समाजवादीको एकीकरणपछि केन्द्रीय कार्यकारिणी समितिको बैठकमा जिम्मेवारी बाँडफाँटको मुद्दा नै मुख्य चासो बनेको थियो ।

सानो टिमबाट मात्रै समाधान निकाल्न सकिने भन्दै कार्यविभाजन र पार्टीको संगठनात्मक समायोजनको काम गर्न नेताहरूकै प्रस्तावमा सचिवालय बनाउने निर्णय भएको छ । सचिवालयमा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताहरू अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो छन् ।

बैठकमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका सबैको पद तथा जिम्मेवारी बाँडफाँट तत्काल तोक्न सदस्यहरूले माग गरेका थिए । निर्वाचन आयोगमा दल दर्ताका क्रममा दुई अध्यक्ष, तीन वरिष्ठ नेतासहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन गरिएको थियो ।

पार्टीका केन्द्रीय तहका अन्य संरचना बन्न सकेका छैनन् । पार्टीका मुख्य नेताहरू नै ५१ जनाको केन्द्रीय कार्यकारिणीमा छन् । यो नै पदाधिकारीहरूको समिति हो ।

अहिलेसम्म अध्यक्षद्वय ठाकुर र यादवकै भूमिकाको समेत परिभाषा भएको छैन । पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बाबुराम भट्टराईलाई एक हजारभन्दा बढी सदस्य रहने संघीय परिषद्को अध्यक्ष बनाउने तयारी सुरुदेखिकै छ ।

दल दर्ताका लागि निर्वाचन आयोगमा बुझाउने दस्तावेजमा समेत उनलाई संघीय परिषद्कै अध्यक्षमा राखिएको थियो । तर, अन्तिम घडीमा दुई अध्यक्षभन्दा तल आफ्नो वरीयता तोकिने भएपछि भट्टराई असन्तुष्ट बनेका थिए । त्यसैमा कुरो नमिलेपछि उनी आफैंले संघीय परिषद्को अध्यक्षमा रहेको आफ्नो नाम काटेर वरिष्ठ नेताको हैसियतमा राखेर चौथो वरीयतामा नाम थपेका थिए ।

यता पार्टीको सिद्धान्तका बारेमा फरक फरक दृष्टिकोण पेस भएको खुलासा भएको छ । समितिका ५१ जना सदस्यलाई पदाधिकारीको जिम्मेवारी बाँडफाँड गर्ने एजेन्डा भए पनि सो विषयमा अनिर्णत भएर सकिएको बैठकमा पार्टीको सिद्धान्तका बारेमा भने फरक फरक दृष्टिकोण पेश भएका थिए ।

बैठकमा पार्टीको सिद्धान्तका बारेमा छलफल हुदाँ झन्डै आधा दर्जन दृष्टिकोणहरु प्रस्तुत भएको थिए । अध्यक्ष उपेन्द्र यादवले समाजवादी लोकतन्त्रलाई पार्टीको सिद्धान्त बनाउनुपर्ने भन्दै छलफलका लागि प्रस्ताव पेश गरे भने वरिष्ठ नेता भट्टराईले समुन्नत संघीय समाजवादलाई पार्टीको सिद्धान्त बनाउनु पर्ने धारणा राखेका थिए ।

वरिष्ठ नेता महतोले सामुदायिक समाजवादलाई पार्टीको सिद्धान्त बनाउनु पर्ने प्रस्ताव गरे भने तत्कालीन राजपा नेपालका अन्य नेताहरुले लोकतान्त्रिक समाजवादलाई पार्टीको सिद्धान्तका बनाउनुपर्ने प्रस्ताव छलफलको क्रममा राखेका थिए ।

पार्टीको सिद्धान्त के बनाउने भन्ने बारेमा फरक–फरक मत र दृष्टिकोण पेश भएपछि जसपाको बैठकको अन्त्य गर्दै अध्यक्ष महन्थ ठाकुरले यसबारेमा अर्को बैठकमा छलफल गर्ने जनाएका थिए । तर अहिलेसम्म यस विषयमा छलफल हुन सकेको छैन । तत्कालीन राजापा नेपालले लोकतान्त्रिक समाजवादलाई सिद्धान्त मान्दै आएको थियो भने समाजवादीले समुन्नत संघीय समाजवादलाई सिद्धान्त मानेको थियो ।

तर जसपामा पुगेपछि भने ४ वटा फरक–फरक दृष्टिकोण पेश भएको थियो । जसमा तत्कालीन समाजवादी पार्टीभित्रै यादव र भट्टराईबीच नै मतभेद देखिएको छ भने राजपाभित्र पनि ठाकुर र महतोबीच मतभेद पैदा भएको छ । स्रोतका अनुसार पार्टीले भट्टराईको प्रस्तावमा सहमति खोज्ने प्रत्यन गरिरहेको छ । तर अहिलेसम्म सहमति हुन सकेको छैन ।