११ भाद्र २०७७, बिहीबार १६:०९ – Page 2 – Nagarikabhiyan : National News

सामाजिक सञ्जालले कुलमानलाई पुनः नियुक्ति दिएको हो सरकारले होइन : मन्त्री खतिवडा

काठमाडौं । सरकारका प्रवक्ता तथा संचार एवं अर्थमन्त्री डा.युवराज खतिवडाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा मन्त्रिपरिषदमा कुनै छलफल नभएको प्रष्ट पारेका छन् ।

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिंदै उनले घिसिङलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पुनः नियुक्ति दिएको टिप्पणी गरेका हुन् ।

घिसिङको कार्यकाल भदौ २९ गते सकिंदै छ । उनलाई प्राधिकरणमै पुनः नियुक्ति गर्नुपर्ने दवाव छ । घिसिङले पनि प्राधिकरणमा आफ्ना थुप्रै योजनाहरू अधुरो रहेको भन्दै पुनः नियुक्तिका लागि पहल गरिरहेका छन् ।

भारतमा एकैदिन ७५ हजारमा कोरोना संक्रमण

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २५ लाख २३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९५ हजार ४०० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १०१७ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६० हजार ६२९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

बेला न कुबेला विदेशको पढाइ खुला

काठमाडौं । उच्च शिक्षाका लागि बिदेसिएका विद्यार्थी कोरोना महामारीका कारण समस्यामा रहेका बेला सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने निर्णय गरेको छ।कोभिडका कारण भीड बढेको र आवतजावतमा समस्या भएपछि गत फागुन २९ गतेदेखि एनओसी वितरण रोकिएको थियो। एनओसी वितरण खुलाएपछि विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न विदेश जान पाउँछन्।

विदेशमा रहेका नेपालीलाई कसरी उद्धार गर्ने भन्ने समस्या परिरहेको अवस्थामा तत्काल एनओसी जारी गर्नु आवश्यक नभएको मन्त्रालयकै अधिकारीले बताएका छन्। विदेशमा रहेका विद्यार्थी त समस्यामा परेको समाचार आइरहेको अवस्थामा फेरि तत्काल किन विदेश जान अनुमति दिनुपर्‍यो भन्ने तर्क उनीहरूको छ।

सरकारले केही व्यवसायी र विद्यार्थीको दबाबमा यो निर्णय गरेको हो। एनओसी लिए पनि अहिलेको परिस्थितिमा तत्काल विद्यार्थी विदेश जान सक्ने अवस्था छैन। विदेश जान नपाएपछि उनीहरू सम्बन्धित विश्वविद्यालय तथा क्याम्पसमा शुल्क पठाएर नेपालमै बसेर अनलाइनमा पढ्नुपर्ने हुन्छ। वातावरण सहज भएपछि मात्रै विदेश जान सक्छन्। साथै क्याम्पस तथा विश्वविद्यालयहरूले प्रदान गर्ने छात्रवृत्ति कोटा सुरक्षित गर्न पनि विद्यार्थीलाई सजिलो हुन्छ।

विश्व स्वास्थ्य संगठनले कोभिडको प्रभाव अझै दुई वर्ष रहन सक्ने चेतावनी दिइसकेको छ। यस्तो अवस्थामा तत्काल अनलाइनबाट पढेर केही समयपछि विदेशमै गएर पढ्छु भन्ने योजना बनाउने विद्यार्थी समस्यामा पर्न सक्नेतर्फ शैक्षिक परामर्श व्यवसायी चिन्तित छन्। वैदेशिक अध्ययनका लागि गएको भने पनि अधिकांश नेपाली विद्यार्थीले पहिलो वर्षको शुल्क घरबाट तिरे पनि बाँकी शुल्क उतै कमाउँदै तिर्दै गर्ने गरेका छन्। विदेश जान नपाउने हो भने उनीहरूले थप झन्झट बेहोर्नुपर्ने हुन्छ।

नेपाली विद्यार्थीको आकर्षक गन्तव्य बनेको अस्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत मुलुक पनि कोभिडबाट प्रभावित छन्। तत्काल विद्यार्थी त्यता जान नसकेपछि स्वदेशमै बसेर पढ्नुपर्ने हुन्छ। यसरी पढ्दा नेपाली विद्यार्थीले विदेशी विश्वविद्यालयमा वार्षिक १६–१७ हजार अमेरिकी डलरसम्म तिर्नुपर्ने हुन्छ। मन्त्रालयका सहसचिव रामशरण सापकोटाले भने, ‘पहिलो किस्ता तिरेर अर्को किस्ता तिर्ने बेला पनि विद्यार्थी स्वदेशमै रहनुपर्‍यो भने यहाँको आर्थिक मन्दीका कारण दोस्रो वर्षको किस्ता तिर्न नसक्ने हुन सक्छन्। यस्तो अवस्थामा उनीहरूको विदेश जाने सपनामा धक्का लाग्छ। स्वदेशमा कमाएको पैसा पनि सकिन सक्छ।’ तत्काल विदेश जान पाए पनि रोजगारी पाउने सम्भावना कम रहेकाले वैदेशिक अध्ययनसम्बन्धी निर्णय गर्दा धेरैपटक सोच्नुपर्ने सापकोटाले बताए।

यो अवस्था रहिरह्यो भने नेपाली विद्यार्थीलाई विदेशी विश्वविद्यालयले अनलाइनबाट पढाउने र नेपाली मुद्रा विदेश पठाउने मुलुकको हब मात्रै बन्न सक्छ। कोभिडका कारण आर्थिक मन्दी भए पनि बेलायतलगायत मुलुकले त आर्थिक स्तर उकास्न विदेशी विद्यार्थी ल्याउने रणनीति बनाएका छन्। यसको प्र्रभाव नेपाली विद्यार्थीमा देखिन सक्ने नेपाल शैक्षिक परामर्श व्यवसायी संघका अध्यक्ष प्रकाश पाण्डेले बताए। बेलायतका दर्जनभन्दा बढी विश्वविद्यालय कोभिडका कारण आर्थिक समस्यामा परेको र कुनै पनि समय बन्द हुने अवस्थामा पुगिसकेका छन्।

‘नेपाली विद्यार्थी पनि त्यस्तै विश्वविद्यालयमा भर्ना गरेर समस्यामा परे भने त्यसमा को जवाफदेही हुने ?’, पाण्डेले भने, ‘कोभिडको संक्रमण सुरु भएको पहिलो चरणमै त विदेशमा रहेका नेपाली विद्यार्थीलाई कसरी उद्धार गर्ने भनेर शिक्षा मन्त्रालयलाई हायलकायल बनाएको थियो। अहिले अवस्था यस्तो प्रतिकूल भएको समयमा फेरि विदेश जान पाउँछौ भन्नु गलत हो।’ आजको अन्नपूर्ण पोस्ट दैनिकबाट

आज २०७७ भदौ ११ गते बिहीबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ । साझबाट समय राम्रो रहेकोले धर्मकर्ममा मन जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा अबिस्वास बढ्ने तथा बिपरित लिङगदेखि टाडै रहनुहोला । पढाई लेखाईमा खर्चिएको समय कम हुँने हुँनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । व्यावसायिक तथा पर्यटकिय यात्रा गर्न सकिने भएपनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । महत्वपुण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । साझबाट समय राम्रो रहेकोले भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । छोटो दुरिको उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ । साझको समय मध्ययम रहेकोले आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचना सहनु पर्नेछ । व्यापारमा भनेजस्तो नहुँदा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ भने पति पत्निबिचको सम्बन्धमा दरार आउँन सक्छ । साझबाट समय राम्रोे रहेकोले पारिवारिक माहोलामा दिन बित्ने योग रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । साझबाट जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाइ लेखाइमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पती तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । साझको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यावसाय फस्टाएर जानेछ भने कामकै सवादमा समाजका बिशिष्ट व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।

प्रदेश १ मा गएको २४ घण्टामा १०८ जना कोरोना संक्रमित थपिए

इनरुवा । प्रदेश १ मा गएको २४ घण्टामा १०८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको समाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा कोरोना देखिएको हो ।

विराटनगरमा ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बुढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ महिला र ९ पुरुष, इनरुवामा १ महिला र ३ पुरुष, बर्जुमा १ महिला र २ पुरुष, दुहवीमा २ पुरुष, धरानमा १ महिला, झापाको दमकमा ६ महिला र ९ पुरुष र गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ । उता ते¥हथुमको म्याङलुङमा ४ महिला र ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ । प्रदेशमा बुधबार ८१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ३८५ पुगेको छ ।

प्रदेशमा गएको २४ घण्टामा १ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३६ महिला र ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार अहिलेसम्म ८२ हजार १०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार १९५०४ जना घर फर्किएका छन् । हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा एकैदिन भेटिए ३०१ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

भारत पहिलो नीति हुनेछ, चीन पोर्ट एक गल्ती सम्झौताः श्रीलंका

श्रीलंका । विदेश सचिव जयनाथ कोलम्बगेले श्रीलंका तटस्थ परराष्ट्र नीति अनुसरण गर्न चाहेको बताएका छन् ।

‘श्रीलंकाले तटस्थ परराष्ट्र नीति अनुसरण गर्न चाहन्छ तर रणनीतिक र सुरक्षा मामिलामा भारत प्रथम दृष्टिकोण कायम राख्ने छ ।’ विदेश सचिव कोलम्बगेले भनेका छन्।

श्रीलंकाको टिभी च्यानलसँग कुरा गर्दै कोलम्बगेले सोमबार भने ‘रणनीतिक सुरक्षाको सन्दर्भमा हामी नीति अनुसरण गर्नेछौं। हामी भारतको लागि रणनीतिक सुरक्षा खतरनाक हुन सक्दैनौं र हामी यो हुनु हुँदैन। हामीले भारतबाट फाइदा लिन आवश्यक छ।’

‘सुरक्षाको सवालमा तपाईं हाम्रो पहिलो प्राथमिकता हुनुहुन्छ तर आर्थिक समृद्धिका लागि मैले अन्य खेलाडीहरूसँग व्यवहार गर्नुपर्नेछ ।’ राष्ट्रपतिले स्पष्ट भनेका छन् । ‘तटस्थ विदेश नीतिको साथसाथै श्रीलंकाले भारतको रणनीतिक चासोको रक्षा गर्नेछ ।’, उनले थपे।

आफ्नो टिप्पणीमा सशस्त्र सेवाका पहिलो विदेश सचिवले चीनलाई ९९ वर्षको भाडामा हम्बनटोटा पोर्ट दिने निर्णयलाई गल्ती भएको बताए । राजपक्ष टोलीले सरकारमा फिर्ता ल्याएपछि विदेशमन्त्री एस जयशंकर हालसालै आफ्नो समकक्षी दिनेश गुणवारनलाई भेट्न आए।

राजपक्षे सरकारले यसको इतिहासलाई हेरेर भारतलाई भन्दा चीनको नजीक देखिएको छ, जसले भारत सरकारलाई सम्बन्ध सार्नको लागि अवसर प्रदान गर्दछ। भारतले समाधान गर्न खोज्ने ठूलो मुद्दा पूर्वी कन्टेनर टर्मिनल हो जहाँ एक स्थानीय विरोधले यस परियोजनालाई रोकेको छ। उनीहरूको निजी कुराकानीमा, श्रीलंकाले भारतलाई आफ्नो हितको रक्षा गर्ने आश्वासन दिएको छ, तर यसलाई औपचारिक बनाउनुपर्नेछ, स्रोतले भने।

प्रधानमन्त्री बन्ने ‘प्रचण्ड’को हेसियत छैन्ः राजनीतिक विश्लेषक आचार्य

काठमाडौं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले प्रधानमन्त्री बन्न पुष्पकमल दाहाल ‘प्रचण्ड’को हेसियत नरहेको बताएका छन् ।

आज विहान पत्रकारसँग बोल्दे आचार्यले प्रचण्डको अब प्रधानमन्त्री बन्ने सम्भावना नै नभएको दाबी गरेका हुन् । उनले ‘छैन । उहाँलाई केही दिँदैनन् । उहाँलाई दिईने भनेको अस्तिको सेरेमोनियलको जस्तै पार्टी अध्यक्ष हो । त्योभन्दा माथि उहाँको हैसियत नै छैन ।’ भनेका छन् ।

त्यस्तै, उनले विचौलिया, कमिशन एजेन्टहरूले गर्दा नेपालको प्रशासन पूरा धमिराले खाएको पनि कडा टिप्पणी गरेका छन् । साथै यो देश राजनीतिज्ञ, शासक र प्रशासकले होइन, विधि, प्रक्रियाहरूले चलाउनुपर्ने पनि उनले बताएका छन् ।

उनले भने,‘हाम्रो राजनीतिक चरित्र आफन्तका साथसाथै आफन्तमा पनि पैसा दिने मात्रको छ । आफन्तले पनि पार्टीमा योगदान, देन दिएको अलिकति त्यागी, सक्षमलाई दिइँदैन, त्यहाँ आफन्तलाई पनि । आफन्तमा पनि पैसाको लेनदेन गर्न सक्नेलाई खोजेर दिईन्छ । यो देश राजनीतिज्ञ, शासक र प्रशासकले होइन, विधि, प्रक्रियाहरूले चलाउनुपर्छ । विचौलिया, कमिशन एजेन्टहरूले गर्दा नेपालको प्रशासन पूरा धमिराले खाएको छ ।’ नेपालपानाबाट

उराँवको करम पुजा सुरु, जमरा राखिया

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाभरीका उराव समुदायले आफ्नो महान चाड करम पूजाको सुरु गरेका छन् । प्रत्ये वर्षको भाद्र पूर्णिमामा हुने करम पूजाको सुभारम्भ गरिएको हो ।

कोरोना भएकोले नेपाल उराँव आदिवासि जनजाति प्रतिष्ठानको भवनमा जवा (जमरा) राख्ने कार्य बुधबार सम्पन्न गरेको हो । जवरा राखेर भाद्र पूर्णिमाका दिन साँझ विधी पुर्वक पूजा सुरु गरी अर्को बिहान पूजाआजा गरी सम्पन्न गर्ने वीधि भएपनि कोराना काल चलेकाले औपचारिक अन्य ठूला कार्यक्रम नगर्ने भएको छ ।

प्रतिष्ठानले सामाजिक दुरी कायम गरेर र स्वास्थ्य सुरक्षा बीधि अप्नाएर उराँव समुदायले मनाउने करम पूजा प्रारम्भ गरेको जनाएको छ । नेपालीहरुको महानपर्व विजया दशमीको आगमन पूर्व नै उराँव जातिको करम पूजा प्रारम्भ हुन्छ । भाद्र पूर्णिमामा विधि पूर्वक मनाइने यो पर्वको आफ्नै महत्व रहेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।

उराँवका अनुसार पूजामा उराँव समुदायले करम र करमको हागाँ वा वेलको रुखको हाँगालाई राखेर करम देवताको पूजा गर्ने प्रचलन छ । उनीहरुले पूजाका लागि एक हप्ता अघि देखि नै जमरा राख्ने संस्कार र प्ररम्परा अनुसार जमरा राखेका छन् ।
दशैंमा जमरा राखे जस्तै करम पूजाका लागि युवा युवतीहरु सामूहिक ब्रत बसेर जमरा राख्ने परम्परा रहेको प्रतिष्ठानका सम्पतलाल उराँवले बताउनुभयो ।

एक हप्ता पछि उम्रिएका जमरालाई फुलको रुपमा करम पूजामा प्रयोग गर्ने गरिन्छ । युवा युवतीहरु जमरा राखे जस्तै करम पूजामा ब्रत बस्ने गर्दछन् । यो वर्ष भदौ–१० गतेबाट करम पूजा सुरु भएको जनाइएको छ । पूजामा उराव समुदायले राम्रो लगाउने मिठो मसिनो खाने र वर्त समेत बस्ने प्रचलन छ ।

करम पूजामा उराँव समुदायले भरपुर मनोरन्जन र रमाइलो गर्ने गर्दछन् । दशैं, तिहार , होली तथा नयाँ वर्ष उराँव समुदायले मनाउने गरे पनि करम पूजाको भने आफनै विशेषता र महत्व रहेको स्थानीय रामलाल उराँवको भनाई छ । पूजामा सबै रिसराग तथा दुःख बिर्सेर सामूहिक रुपमा यो पर्व मनाउँछन् ।

पहिलो, दोश्रो र तेश्रो पकाएको रोटी करम देउतालाई चढाउने र आफन्त इष्टमित्र कहाँ गएर शुभकामना आदान प्रदान गर्ने तथा नाचगान गर्ने पनि चलन रहेको उराँवले बताउनुभयो । भाकल पूरा हुने भएकाले यो पूजाको महत्व बढ्दै गएको उहाँको भनाई छ ।

यो पूजामा बलिदिने चलन भने छैन हजारौ वर्ष देखि नेपालमा बसोबास गर्दै आएको यी जातीहरु खोला किनार तथा खेत खलियानमा बस्न रुचाउछन । नेपालमै सबै भन्दा बढी उराँवहरुको बसोबास सुनसरी जिल्लामा रहेकाले ठूलो कार्यक्रम समेत यहाँ नै गर्दै आएकोमा यसपाली कोरोनाका कारणले ठूलो कार्यक्रम नगर्ने भएको छ ।

पाटन अस्पतालमा काठमाडौंका कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

विराटनगरकी ४४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगर-११ की ४४ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि टंकिसिनवारीस्थित विराट मेडिकल कलेजमा मंगलबार दिउँसो भर्ना गरिएकोमा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

महिलालाई पोजेटिभ रिपोर्ट आएपछि मेडिकल कलेजकै आइसोलेशनमा भर्नाको तयारीगर्दा आकस्मिक कक्षमै मृत्यू भएको जनाइएको छ । मृतक महिलालाई निमोनियाको समेत लक्षण देखिएको थियो ।

विराटनगरमा मृतक महिलासहित कोरोनाको संक्रमण पुष्टि भएका ११ जनाको मृत्यू भएको छ ।

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

सोलु । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सोलुखुम्बुबाट दुई सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ । बेहोशावस्थामा रहेका सोलुदूधकुण्ड नगरपालिका– ७ गार्माकी २० वर्षीया गर्भवती विनिता लामिछाने र शिशुको अवस्था नाजुक भएकी माप्यदूधकोशी गाउँपलिका वाकुकी २३ वर्षीया जेनिसा मगरलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

उनीहरुको अहिले प्रसूतिगृह थापाथलीमा उपचार भइरहेको छ । अस्पतालका निमित्त प्रमुख शानी शेर्पाका अनुसार ३३ हप्ताकी गर्भवती लामिछाने रक्तश्रावका कारण बेहोश भएकाले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको छ ।

सामान्यतया ४० हप्तामा शिशु जन्मने भए पनि ३३ हप्ताको अवधिमै आमामा यस्तो समस्या देखिएपछि रेफर गरिएको उनको भनाइ छ । उपचारमा संलग्न चिकित्सकका अनुसार यस्तो अवस्थामा आमाको ज्यान बचाउन १२ घण्टाभित्र शिशु निकाल्नुपर्ने हुन्छ । वाकुकी मगरको शिशुलाई श्वासप्रश्वासमा समस्या आएपछि रेफर गरिएको अस्पतालले जनाएको छ ।

फाप्लु अस्पतालमा सामान्य प्रक्रियाबाटै आज अपराह्न प्रसूति गराइए पनि शिशुको अवस्था जटिल बन्दै गएपछि काठमाडौँ पठाइएको निमित्त प्रमुख शेर्पाले बताए । दुवै महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत फाप्लुबाट एकै पटक उद्धार गरिएको हो ।

यही भदौ १ गते मात्रै दुई सुत्केरीको एकै दिन हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । सोलुखुम्बुमा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागु भएपछि ११ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।

संघीयता छ, समन्वय छैन

काठमाडौं । मुलुकमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन्। तर, संघीयताको मर्मअनुरूप समन्वय र सहकार्य हुन सकेको देखिँदैन। तीनै तहका सरकारबीचको समन्वय अभाव कोरोना भाइरस संक्रमण नियन्त्रणमा देखिएको छ। प्रादेशिक योजनाविद् डा. खिमलाल देवकोटा तीन तहबीच समन्वय संयन्त्र नभएका कारण कोरानाले भयावह रूप लिएको बताउँछन्। ‘तीन तहका सरकारबीच समन्वय हुने गरी सर्वदलीय, सर्वपक्षीय संयन्त्र बनाएर अघि बढेको भए विकराल अवस्था आउने थिएन’, उनी भन्छन्। अझै संयन्त्र बनाएर अघि बढे कोराना नियन्त्रण सहज हुने उनको ठम्याइ छ।

समन्वयको अधिकार पाएको प्रदेश सरकारलाई यो जिम्मेवारी दिनुपर्ने उनी बताउँछन्। उनका अनुसार ५ सय ५० प्रदेश सांसद, २ सय ७५ संघीय सांसद र ३५ हजार जनप्रतिनिधि हुँदा पनि परिचालन गर्न सकिएको छैन। ‘स्थानीय जनप्रतिनिधिको के कुरा, मन्त्री–मन्त्रीबीच नै समन्वय भएन’, उनी भन्छन्, ‘जनप्रतिनिधिलाई नै अगाडि लगाउनुपर्छ।’ सुरुमा स्थानीय तहले क्वारेन्टाइन, आइसोलेसन सेन्टर निर्माणलगायत सकारात्मक काम गरेको उनको भनाइ छ।

स्थानीय शासनविज्ञ डा. श्याम भुर्तेलका अनुसार स्थानीय सरकारबीच भने समन्वय देखिएको छ। ‘स्थानीय तहबाट धेरै राम्रा काम भए तर त्यसको अनुगमन नहुँदा राहत वितरणलगायत काममा बदमासी पनि भयो’, डा. भुर्तेल भन्छन्, ‘गर्न सक्ने जति गरेका हुन् तर न पैसा दिइयो, न जनशक्ति पुर्‍याइयो।’

स्थानीय तहले आफ्ना जनतालाई गाडी नै लिएर ओसारपसार गरेका थिए । स्थानीय शासनविज्ञ कृष्णप्रसाद सापकोटाका अनुसार संघले प्रदेश राजधानीसम्म, प्रदेशले जिल्ला सदरमुकामसम्म र स्थानीय तहले आआफ्नो ठाउँ लाने गरी समन्वय गरेको भए धेरै उत्तम हुन्थ्यो।

प्रदेशको अधिकारको सूचीमा १ नम्बरमा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको कुरा राखेकाले त्यो प्रदेशलाई नै छाडिदिनुपर्ने डा. देवकोटा बताउँछन्। स्थानीय तहलाई सुरक्षा अधिकारभन्दा विकासका कुरी बढी दिनुपर्ने सापकोटाको भनाइ छ।

नयाँ संविधान बनेको पाँच वर्ष हुन लागेको छ। संविधानले नै संघीय, प्रादेशिक, स्थानीय गरी तीन तहका सरकारको व्यवस्था गरेको हो। तीनै तहका निर्वाचन भएको पनि तीन वर्ष भइसकेको छ। तापनि, व्यवहारमा संघीयताको अभ्यास हुन सकेको छैन। संघीयतामा अझै सकस देखिएको छ। नेतृत्व एकात्मक केन्द्रीकृत मानसकिता र सोचबाट मुक्त हुन सकेको देखिँदैन। संघले प्रदेश र स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गरिरहेको छ। प्रदेश र स्थानीय तह आफ्ना अधिकार केन्द्रले हस्तान्तरण नगरेको गुनासो गरिरहेका छन्। केन्द्रले भने प्रदेश र स्थानीय तहले अधिकार नै लिन नसकेको भन्दै आएको छ। संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था संविधानले गरेको छ।

सुविधा लिन सिंहदबार ठान्ने र अधिकार प्रयोग गर्न केन्द्रको मुख ताक्ने प्रवृत्ति पनि स्थानीय तह र प्रदेशमा देखिएको छ। त्यसो त प्रदेशको आवश्यकतामाथि प्रश्न खडा हुन थालेको छ।

संविधानले संघलाई रक्षा, सेनासहित ३५ वटा एकल अधिकार प्रदान गरेको छ। प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षासहित २१ अधिकारको सूची प्रदेशलाई छ। संविधानमा प्रदेश र संघका २५ साझा अधिकार सूचीको व्यवस्था छ। स्थानीय तहका २२ एकल अधिकारका सूची छन्। संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार सूची १५ वटा छन्।

स्थानीय शासनविज्ञ डा. भुर्तेल संविधानको मर्मअनुसार अधिकार बाँडफाँट हुन नसकेको बताउँछन्। तीन तहका सरकारबीच संवाद र सहकार्य नै नभएको उनको भनाइ छ।

संघीयता कार्यान्वयन गर्न १० वर्षे गुरुयोजना आवश्यक पर्ने आवाज उठ्दै आएको छ। तर, सरकारले त्यसतर्फ कुनै ध्यान दिएन। स्थानीय निकाय पुनःसंरचना आयोगका सदस्यसमेत भइसकेका डा. भुर्तेल संघीयता कार्यान्वयन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिँदै आएको सुनाउँछन्। ‘पहिलो निर्वाचनको पाँच वर्षमा त्यति काम सक्ने, त्यसपछि अरू काम गर्दै जाने भनेर गुरुयोजना बनाउनुपथ्र्यो। तर, त्यसमा कसैको ध्यान गएन’, उनी भन्छन्, ‘हात्ती ल्याएर माउते नभएजस्तै भएको छ।’

तीन तहमध्ये तुलनात्मक रूपमा स्थानीय सरकारको भूमिका सकारात्मक रहेको उनी बताउँछन्। प्रदेश कमजोर देखिएको उनको ठम्याइँ छ। ‘प्रदेश त स्थानको खोजीमै छन्। आफ्नो पहिचान र भूमिका नै बुझ्न सकेनन’, उनी भन्छन्, ‘संघ र स्थानीय तहबीचको समन्वयकारी भूमिका रहेको प्रदेशले त्यो भूमिका नै निर्वाह गर्न सकेको छैन। संघले आफ्नो काम बुझेन। बरु स्थानीय तहको भूमिका मिश्रित छ।’

संघीयता कार्यान्वयन गर्न संयन्त्र नै नभएको उनको भनाइ छ। भएको संघीय मन्त्रालय पनि कर्मचारीमै सीमित देखिएको छ। सबै दल बसेर संघीयता कार्यान्वयन गर्न आयोग वा प्राधिकरण बनाउनुपर्ने हो। त्यो पनि बनाएनन्। स्थानीय तहले आफूले जानेको काम गरे, जसबाट शक्तिको दुरुपयोग भयो। भ्रष्टाचार मौलायो।

प्रादेशिक योजनाविद् डा. देवकोटा समन्वय अभावले संघीयता नै कमजोर देखिएको बताउँछन्। उनका अनुसार संघ, प्रदेश र स्थानीय तहबीच धेरै काममा ओभरल्यापिङ र डुप्लिकेसन भएका छन्। अधिकार क्षेत्रको मापदण्ड बनाएर काम गर्न नसक्दा यो अवस्था आएको हो। जसले गर्दा योजना प्रणाली नै कमजोर भएको छ।

उनका अनुसार बजेट घोषणाको प्रणालीसमेत गलत छ। स्थानीय तह, प्रदेश हुँदै संघले बजेट ल्याउनुपर्ने हो। तर, पहिला संघले बजेट ल्याउँछ, त्यसपछि मात्रै प्रदेश र स्थानीय तहले। योजनाविद् डा. देवकोटा बजेट ल्याउने ‘टप टु बटम’ प्रणाली गलत भएको बताउँछन्। ठूला विद्युत्, सिँचाइ, सडक योजनामा मात्रै संघले हात हाल्ने हो। त्यस्तै, अन्तरप्रादेशिक योजना हात लिने हो। प्रदेशले अन्तरपालिकाका हात हाल्ने हो भने पालिकाभित्रका योजना सञ्चालन गर्ने हो। जता हेर्‍यो उतै बर्बाद रहेको उनी बताउँछन्। सत्तारूढ पार्टी बलियो र मजबुत नहुनु र विपक्षीले खबरदारी गर्न नसक्दा संघीयता कार्यान्वयनमा समस्या भएको उनको ठहर छ।

स्थानीय शासनविज्ञ सापकोटा पहिलाको एकात्मक व्यवस्थाभन्दा अहिले बढी केन्द्रीकृत भएको बताउँछन्। संरचना परिवर्तन भए पनि केन्द्रीकृत मानसिकता नगएको उनको बुझाइ छ। स्थानीय तहलाई प्रोत्साहन गर्ने काम नभएको उनको टिप्पणी छ। संविधानले प्रदेश र स्थानीय तहलाई स्वायत्त भने पनि त्यो व्यवहारमा नदेखिएको उनको भनाइ छ।

कर्मचारी व्यवस्थापनमा झमेला

तीन तहका निर्वाचन भई देशमा तीन तहका सरकार त बने तर लामो समय कर्मचारी संयन्त्रको पुनःसंरचना भएन। कर्मचारीको पुनःसंरचना गरेर निर्वाचन गर्नुपथ्र्यो तर निर्वाचनको वर्षपछि बल्ल नीतिगत रूपमा कर्मचारी समायोजन गरियो। कर्मचारी समायोजन ऐन २०७५ फागुनमा ल्याइयो तर त्यो समायोजन केन्द्रीकृत मानसिकताका आधारमै भयो। तथापि प्रक्रियामा गयो।

तीनै तहमा कर्मचारी समायोजन गरियो। तर, कर्मचारीहरू समायोजनपछि प्रदेश र स्थानीय तहमा जान मानेनन्। त्यसमाथि संघीय निजामती सेवा ऐन नै बन्न सकेको छैन। यो ऐन नबन्दा प्रदेश निजामती ऐन बनेको छैन। अहिले समायोजन ऐनविपरीत सरकारले कर्मचारी समायोजनका सम्बन्धमा नीतिगत निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयले समायोजन भएका कर्मचारीलाई सरुवाको बाटो खोलेको छ। यो संविधान र संघीयताको मर्मविपरीत भएको विज्ञ बताउँछन्।

योजनाविद् डा. देवकोटा ऐनविपरीत सरकारले निर्णय गर्नु गलत भएको बताउँछन्। संसद्ले बनाएको ऐन मन्त्रिपरिषद्ले परिवर्तन गर्न नसक्ने उनको भनाइ छ। उनका अनुसार यो संघीयता र संविधानविरोधी काम हो। संघीय निजामती सेवा ऐन छिटो बनाएर कर्मचारीको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्।

यससम्बन्धी विधेयक डेढ वर्षदेखि संसद्मा गिजोलिरहेको छ। कर्मचारी अभावमा प्रदेश र स्थानीय तहका विकास निर्माण नै प्रभावित हँुदै आएका छन्। प्रदेश र स्थानीय तहमा सबैभन्दा ठूलो समस्या कर्मचारी अभाव हो। संघमा कर्मचारी थुप्रिएका छन्। प्रदेश र स्थानीय तहमा जानै मान्दैनन्।

स्थानीय शासनविज्ञ सापकोटा सेवाप्रवाह, उत्पादन र विकास निर्माण गर्ने ठाउँमा कर्मचारी नै नभएको बताउँछन्। ‘जहाँ चाहिने हो त्यहाँ कर्मचारी छैनन्। संघमा आवश्यकताभन्दा बढी कर्मचारी थुपारेको छ’, उनी भन्छन्, ‘त्यसरी कसरी अथतन्त्र सबल हुन्छ ? समृद्धि आउँछ ?    ’

डा. भुर्तेल पनि प्रशासनिक बन्दोबस्त नै मिलाउन नसकेको बताउँछन्। ‘संघमा धेरै छन्, तल नपुग्ने अवस्था छ’, उनी भन्छन्।

गतिविधि शून्य अन्तरप्रदेश परिषदसंविधानले अन्तरप्रदेश परिषद्को व्यवस्था गरे पनि त्यसले आफ्नो गतिविधि गर्न सकेको छैन। संविधानको भाग २० ले संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध विषयमा चर्चा गरेको छ। सोही भागको धारा २३४ मा अन्तरप्रदेश परिषद्को व्यवस्था छ।

संघ र प्रदेशबीच कुनै अधिकारका विषयमा विवाद भए त्यसलाई समाधान गर्न परिषद्को परिकल्पना संविधानले गरेको हो। धारा २३४ मा लेखिएको छ, ‘संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न देहायबमोजिमको एक अन्तरप्रदेश परिषद् रहनेछ।’

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा ९ जना सदस्य रहनेछन्। सातै प्रदेशका मुख्यमन्त्रीहरू यसका सदस्य रहन्छन्। साथै संघीय सरकारका गृहमन्त्री र अर्थमन्त्री पनि प्रदेश परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ। धारा २३५ मा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयको व्यवस्था छ। समन्वय कायम गर्न संघीय संसदले आवश्यक कानुन बनाउने उल्लेख छ। प्रदेश, गाउँपालिका वा नगरपालिकाबीच समन्वय कायम गर्न र कुनै राजनीतिक विवाद भए प्रदेशसभाले सम्बन्धित गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिसँग समन्वय गरी त्यस्तो विवादको समाधान गर्न सक्ने व्यवस्था छ। प्रधानमन्त्री नै त्यसमा प्रतिबद्ध नदेखिएको डा. भुर्तेल बताउँछन्। संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय कायम गर्ने कानुनसमेत बन्न सकेको छैन। अन्नपूर्ण पोष्ट दैनिकबाट

चिनियाँ तथा अमेरिकी अधिकारीबीच व्यापार विवादबारे फोन वार्ता

एजेन्सी । चीन तथा अमेरिकाबीचको व्यापार विवाद समाधानका लागि गठित विस्तृत आर्थिक वार्ता समितिका दुबै देशका प्रमुख वार्ताकारहरूबीच फोनवार्ता भएको छ ।

चिनियाँ वार्ता टोलीका प्रमुख तथा उप प्रधानमन्त्री लिउ हेले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर तथा अर्थमन्त्री स्टेवन मुनचिनसँग मङ्गलबार विहान फोन वार्ता गरेको निकटस्थ स्रोतले बताएको हो ।

दुबै पक्षले समष्टिगत आर्थिक नीतिहरूको द्विपक्षीय समन्वय तथा चीन–अमेरिकाबीच भएको पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौता कार्यान्वयन गर्ने विषयमा रचनात्मक वार्ताका लागि कुराकानी भएको बताइएको छ ।

उक्त अवसरमा दुबै पक्षले व्यापार सम्झौताको कार्यान्वयनलाई अगाडि बढाउँदै परिस्थिति र वातावरण सिर्जना गर्न सहमति जनाएको पनि चिनियाँ अधिकारीले जनाएका छन् ।

लक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्ने प्रक्रिया परिवर्तन गरेको छ । मन्त्रालयले लक्षण नभएका संक्रमितलाई अब भर्ना नगर्न देशभरका अस्पताललाई निर्देशन दिएको छ ।

लक्षण नभएका संक्रमितले अस्पतालका शय्या भरिन थालेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षण नभएका अस्पतालमा र लक्षण भएका संक्रमित घरमा बस्नुपरेपछि अस्पताल भर्ना प्रक्रियामा परिवर्तन गर्नुपरेको बताए । अब सामान्य अवस्थाका संक्रमितलाई भर्ना नलिन चिकित्सक तथा अस्पताल प्रमुखलाई निर्देशन दिइएको उनले बताए ।

काठमाडौंलगायत तराईका जिल्लामा संक्रमित बढ्दै जाँदा अस्पताल शय्या अभाव हुन थालेको छ । यो समस्याको समाधान गर्न मन्त्रालयले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने भएको हो ।

पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्न थालेका छन् । कुल संक्रमितमध्ये ६ प्रतिशतमा लक्षण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर, उपत्यकामा भने २० प्रतिशत संक्रमितमा लक्षण देखिएको छ ।

सोमबार काठमाडौंमा एक सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा दुई सय २४ नयाँ संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या तीन हजार चार सय ८६ पुगेको छ । काठमाडौंमा दुई हजार सात सय ५६, भक्तपुरमा दुई सय ८६ र ललितपुरमा चार सय ४४ संक्रमित पुगेका छन् । उपत्यकामा पुष्टि भएका संक्रमितमध्ये ६ सय ९७ जनामा लक्षण देखिएको छ ।

कोरोना नियन्त्रणमा निषेधाज्ञाले काम गरे–नगरेको यकिन हुन अझै एक हप्ता लाग्ने

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको निषेधाज्ञाको प्रभाव अझै एक हप्तापछि मात्रै देखापर्ने चिकित्सकले बताएका छन् । दुईदेखि १४ दिनको संक्रमण अवधि भएकाले ६ दिनलाई हेरेर निषेधाज्ञाले काम गरे–नगरेको यकिन गर्न नसकिने उनीहरूको भनाइ छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दरलाई थप फैलन नदिन निषेधाज्ञा जारी गरेको मंगलबार ६ दिन भएको छ । निषेधाज्ञा जारी भएको अघिल्लो दिनसम्म मानिसहरू सडक, बजारमा हिँडिरहेका थिए । त्यसपछि सबै घरमा बसेका छन् । निषेधाज्ञा जारी भएको ठीक एक दिनअघि ३ भदौलाई आधार बनाएर हेर्दा त्यसवेला संक्रमण भएमा १४ दिनसम्म देखिरहन सक्छ । त्यसैले अझै एक हप्ता कुर्नुपर्ने विज्ञहरूको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार दुईदेखि १४ दिनभित्र यसको संक्रमण देखिने भनिए तापनि धेरैलाई पाँच दिनभित्र नै लक्षण देखिएको छ । ‘त्यसपछि बिस्तारै दैनिक संक्रमण कम हुँदै जान्छ,’ डा. पुन भन्छन्, ‘तर, कुनै व्यक्ति घर, परिवार, आफन्त र राज्यलाई नै झुक्याएर बाहिर हिँडडुल गरेको भए त्यो सोही दिनबाट १४ दिन गन्न सुरु हुन्छ । यस्तो अवस्थामा भने निषेधाज्ञा जारी गरेर पनि संक्रमण घट्दैन ।’

कस्तो छ अहिलेको अवस्था ?

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा कुन अवस्थामा पुगेको छ भन्ने पत्ता लगाउन कोसिस भइरहेको छ । अहिले समुदायमा कोरोना कुन अवस्था छ, भन्ने बलियो आधार निर्माण नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. विवेक लाल बताउँछन् । अब देशको अवस्था के हुन्छ भन्नलाई अहिलेको अवस्था कस्तो छ भन्ने कुरा प्रमुख हुने उनले बताए । त्यसका लागि विभिन्न क्षेत्र तोकेर सेरोलोजिकल (एन्टिबडी) परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।

सरुवारोग विशेषज्ञ डा. पुन पनि सुरुमा कोरोना संक्रमणबारे समुदायको तस्बिर बाहिर आउनुपर्ने बताउँछन् । ‘समुदायको अवस्था बाहिर आएको स्थितिमा आगामी दिनमा कोरोनाबारे नयाँ योजना बनाएर काम गर्न मद्दत मिल्छ,’ डा. पुन भन्छन् । उनी निषेधाज्ञा कहिलेसम्म रहन्छ, केस कति पुग्लान् भन्ने भन्दा पनि नेपाल कुन अवस्थामा छ भन्ने खाका स्पष्ट रूपमा ल्याउनुपर्ने बताउँछन् । ‘अहिले हामी कहाँ आइपुग्यौँ भनेर क्लियर भएको छैन,’ डा. पुन भन्छन्, ‘सेरोलोजिकल (एन्टिबडी) परीक्षण गरेको खण्डमा कोरोनाको स्पष्ट खाका आउनेछ । स्पष्ट तस्बिर ल्याउन सकेमा कुन क्षेत्रलाई बढी महत्व दिने भन्ने स्पष्ट हुने थियो ।’

चिकित्सकहरूले ‘सेरोलोजी सर्भिलेन्स’ गरेर कोरोनाको स्पष्ट खाका बाहिर ल्याए त्यसको नियन्त्रणमा सहज हुने बताएका छन् । ‘सेरोलोजी सर्भिलेन्स वैज्ञानिक आधारबाट हुन्छ । यो सर्भिलेन्सबाट आगामी दिनमा कोभिड–१९ को नियन्त्रणमा राम्रो आधार तय हुनेछ,’ डा. लाल भन्छन् । सेरोलोजी सर्भिलेन्स गरेर हेरेपछि कुन ठाउँमा राज्यले बढी मिहिनेत गर्नुपर्ने हो स्पष्ट हुने उनको भनाइ छ । यो भनेको क्षेत्र छुट्याएर त्यहाँ रहेको केही व्यक्तिको रगत संकलन गरेर कोरोना एन्टिबडी भए–नभएको परीक्षण गर्ने हो ।

कोरोनाले सातको मृत्यु, आठ सय ५५ संक्रमित थपिए 

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर सातजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंमा तीन, सिराहा, पर्सा, धनुषा र रुपन्देहीका एक–एकजना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ६४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा आठ सय ५५ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको छ । त्यसमध्ये १४ हजार दुई सय ५० जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये पाँच हजार ६ सय ६९ जना घरमा र आठ हजार पाँच सय ८१ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन् ।

काठमाडौं उपत्यकामा दुई सय ३२ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा एक सय ९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित देखिएका छन् । नयाँ पत्रिका दैनिकबाट