१४ जेष्ठ २०७७, बुधबार १४:१२ – Page 6 – Nagarikabhiyan : National News

प्रदेश २ मा एकैदिन थपिए ४५ संक्रमित, ३५ जना रौतहटका

काठमाडौं । प्रदेश २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो ।

संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् । त्यस्तै, बाराका ८ जना र सिराहाका २ जना रहेका छन् । अनलाइनखबरबाट

प्रतिनिधिसभाको कार्यसूचीबाट संविधान संशोधन विधेयक हट्यो

काठमाडौं । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको छ ।

संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको थियो । संशोधन विधेयक पेस हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल थालेको बताइएको छ । तर, बुधबार यो विषय कार्यसूचीबाट हटाइएको छ ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले दलीय सहमतिलगायतका विषय थाती रहेपछि यसलाई कार्यसूचीबाट हटाइएको जानकारी दिए ।अनलाइनखबरबाट

जटही नाकामा एक नेपालीको मृत्यु

जनकपुरधाम । आफ्नो भूमिमा आउने प्रयास गरेका एक जना नेपालीको मृत्यु भएको छ । धनुषाको शहीद नगरपालिका ९ निवासी विरेन्द्र गुरमैता यादवको जटही नाकामा मंगलबार बिहान मृत्यु भएको छ ।

उनीसहित झण्डै २ सय जना भारतबाट आएर जटही नाकामा रोकिएका थिए । यही भिडमा अस्वस्थ भएपछि ३० वर्षीय गुरमैताले आफ्ना परिवारलाई चाँडो आइदिन फोन गरेका थिए । उनको फोन आएलगत्तै उनका भाइ धीरेन्द्रसहित परिवारका ४ जना राति नै जटही पुगेका थिए ।

‘राति दुई घण्टा लगाएर एम्बुलेन्स खोज्यौं र एम्बुलेन्स लिएर राति ११ बजे नै जटही पुग्यौं,’ मृतकका भाई धिरेन्द्रले भने, ‘तर रातभरि एम्बुलेन्सलाई दाजु भएतिर छिर्न दिइएन ।’

आफूहरु पैदलै भए पनि दाजुलाई लिन जाने बताए पनि जान नदिइएको उनले बताए । रातभरि सीमा पारी गएर ल्याउने प्रयास गरे पनि जान नदिँदा दाजुको मृत्यु भएको भाइ धिरेन्द्रको भनाइ छ ।

विरेन्द्र रोजगारी गर्न ४ महिनाअघि भारतको गुजरात गएका थिए । तर लकडाउनका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएपछि उनी आफ्नो घर आउन खोजेका थिए । परिवारका सदस्यहरुका अनुसार उनी १७ दिनअघि गुजरातबाट नेपालका लागि हिँडेका थिए । बाटोमा उनले सुख्खा खानेकुरा मात्रै खाएको र कमजोरीले गर्दा बेहोस भएर ज्यान गएको परिवारजनको भनाइ छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि विरेन्द्रको मृत्यु भएको पुष्टि गरेका छन् । अब उनको शवलाई ल्याएर स्वाब संकलन गरिने र अन्य व्यवस्थापनको बिषयमा छलफल गर्ने उनले बताए ।

उनको मृत्यु भएपछि सीमामा भारततर्फ जम्मा भएकाहरु आक्रोसित हुँँदै नेपालतर्फ ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट ज।१ त १२१३ नम्बरको एम्बुलेन्समा समेत क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी निरौलाले सीमामा जम्मा भएकाहरुलाई ल्याउनका लागि गाडी पठाउने तयारी भइरहेको बताए । अनलाइनखबरबाट

विराटनगरमा भारतको जोगबनी नाका हुँदै भित्रिए ३०४ नेपाली

विराटनगर । मोरङको विराटनगरमा भारतको जोगबनी नाका हुँदै ३ सय ४ जना नेपालीहरु भित्रिएका छन् । उनीहरुलाई गएराति उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ ।

भारतबाट आएकाहरुलाई विराटनगर–१३ स्थित डीएभी स्कुलको होल्डिङ स्टेसनमा राखिएको छ ।

३०४ जनामध्ये २३ जना सुनसरीका थिए । उनीहरुलाई दुहबी नगरपालिका वडा नं. ४ का वडा अध्यक्षले सुनसरीतर्फ लगेको मोरङ प्रहरीले जनाएको छ ।

संविधान संशोधन विधेयक संसदमा पेश हुँदै

काठमाडौं । संविधान संशोधन प्रस्ताव बुधबारको संसद बैठक पेश हुँदैछ । संसद बैठक बुधबार दिउँसो २ बजे बस्दै छ ।

सो बैठकमा कानुनमन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । यसलाई सर्वसम्मत पारित गराउने पहल सरकारले गर्दै आएको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो ।

त्यसअघि मन्त्रिपरिषद बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो । त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग आफ्नो भएको दाबी गर्दै भारतले कब्जा गरेको छ । तर, ऐतिहासिक तथ्य र प्रमाणमा ती भूभागहरु नेपालकै हुन् ।

नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । यसमा पहिलो संशोधन सोही वर्ष असोज १० गते भएको थियो । अनलाइनखबरबाट

अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाखभन्दा बढीको मृत्यु, १७ लाख २४ हजार संक्रमित

एजेन्सी । करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७३५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ५४० पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ९५२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख २५ हजार १७८ पुगेको छ ।

वुधबार विहान साढे ५ बजेको तथ्यांकका आधारमा अमेरिकामा मृत्यु हुनेको उक्त संख्या विश्वभर कोरोनाबाट मृत्यु हुनेको २८ प्रतिशतभन्दा बढी हो भने संक्रमितको संख्या विश्वभर संक्रमित हुनेको ३० प्रतिशतभन्दा बढी हो ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ७८ हजार २२५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४६ हजार ४१३ जनामध्ये १७ हजार १५२ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरस : विश्वभर ५६ लाख ७८ हजार संक्रमित, ३ लाख ५१ हजारको मृत्यु

एजेन्सी । कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९४ हजार २२४ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार २७१ पुगेको छ ।

यस्तै एकैदिन अरू ४ हजार २५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६३८ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख २६ हजार ४०० जना संक्रमण मुक्त भएका छन् ।

२९ लाख २०२ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९५ जनाको अवस्था गम्भीर छ ।

वुधबार बिहान ५:३० बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ६०१ जनाको मृत्यु भएको छ ।

१९ लाख ३४ हजार ८१ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १६ हजार १३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख २६ हजार ४९२ पुगेको छ । त्यसमध्ये ५ लाख ९३ हजार ८२७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २८ हजार २२० जनाको मृत्यु भएको छ । १० लाख २ हजार ९१८ जना संक्रमित भएकोमा ५ लाख ८९ हजार ३९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३३ हजार ९३० जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ७४२ जना संक्रमित भएकोमा २ लाख ७२ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ६१३ जनाको ज्यान गएको छ भने १ लाख २१ हजार ५४७ जना संक्रमित छन् । संक्रमितमध्ये ४९ हजार ९०२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७४१ जना संक्रमित भएकोमा ८ हजार ११५ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ५४५ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख २५ हजार ४०० जनामध्ये ४ लाख ७८ हजार २३७ जना संक्रमणमुक्त भएका छन् ।

आज २०७७ जेठ १४ गते बुधबारको राशिफल

आज २०७७ जेठ १४ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ । चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारले फजुल खर्च गराए पनि मिहिनेतले लक्ष्यमा पुग्न सफल भइनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ। समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

कति जिल्लामा फैलियो कोरोना ?

काठमाडौं । नेपालका ७७ जिल्लामध्ये ४६ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ४६ जिल्लामा कोरोना भाइरस संक्रमित मानिस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबारसम्म ४३ जिल्ला रहेकामा एक दिनमै थप तीन जिल्लामा संक्रमण फैलिएर ४६ जिल्लामा संक्रमण पुष्टि भएको हो।

मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७२ पुगेको छ ।

कोरोना संक्रमण फैलिएका जिल्लाहरु

प्रदेश १
१. झापा
२. मोरङ
३. सुनसरी
४. उदयपुर
५. धनकुटा
६. भोजपुर
७. खोटाङ

प्रदेश २
८. सप्तरी
९. सिरहा
१०. धनुषा
११. महोत्तरी
१२. सर्लाही
१३. रौतहट
१४. बारा
१५. पर्सा

वाग्मती प्रदेश
१६. सिन्धुली
१७. रामेछाप
१८. काभ्रे
१९. सिन्धुपाल्चोक
२०. काठमाडौं
२१. भक्तपुर
२२. ललितपुर
२३. नुवाकोट
२४. मकवानपुर
२५. धादिङ
२६. चितवन

गण्डकी प्रदेश
२७. लमजुङ
२८. नवलपरासी (पूर्व)
२९. स्याङ्जा
३०. वाग्लुङ

प्रदेश ५
३१. नवलपरासी (पश्चिम)
३२. रुपन्देही
३३. कपिलबस्तु
३४. अर्घाखाँची
३५. गुल्मी
३६. दाङ
३७. बाँके
३८. बर्दिया

कर्णाली प्रदेश
३९. दैलेख
४०. जुम्ला
४१. सुर्खेत

सुदूरपश्चिम प्रदेश
४२. कैलाली
४३. कञ्चनपुर
४४. अछाम
४५. डडेलधुरा
४६. बैतडी

द नेपालटपबाट

कर्मचारी सञ्चय कोषले सुरु गर्‍यो अनलाइन भुक्तानी सेवा

काठमाडौं । कर्मचारी सञ्चय कोषले आजदेखि सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत विशेष सापटी सेवा उपलब्ध गराउन शुरु गरेको छ ।

कोरोना सङ्क्रमणको जोखिम फैलन नदिन सरकारले जारी राखेको ‘लकडाउन’का कारण सार्वजनिक यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै कोषले घर तथा कार्यालयमै बसेर सरल र प्रभावकारी सेवा दिने लक्ष्यका साथ उक्त योजना कार्यान्वयनमा ल्याएको हो ।

कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठका अनुसार आज दार्चुला र ललितपुरस्थिति बैंकमा रहेको सञ्चयकर्ताको खातामा रकम जम्मा गरी विशेष सापटी बापतको रकम अनलाइनमार्फत प्रदान गरेको हो ।

कोषले शुरु गरेको अनलाइन विशेष सापटी सेवालाई निरन्तरता दिने र यो सेवा लिनका लागि विशेष सापटी लिन योग्यता पुगेका व्यक्तिगत विवरण अद्यावधिकजस्ता विषय अनिवार्य रहेको जनाइएको छ ।

लकडाउनको समयमा सेवाग्राहीलाई सहज रूपमा सापटी दिन सकियोस् भन्ने ध्येयका साथ कोषले उक्त योजना सञ्चालनमा ल्याएको हो ।

चीनले ल्याउँदैछ डिजिटल मुद्रा, अमेरिकी डलरका लागि खतराको घण्टी

चीनले सन् २०२२ मा एक डिजिटल युआन मुद्रा ल्याउन चाहन्छ, जसको नाम हो इ–आरएमबी । सन् २०२२ मा चीन जाने मानिसहरुले यहीँ नयाँ डिजिटल मुद्रामा किनमेल वा लेनदेन गर्नुपर्ने हुनसक्छ ।

यो यस्तो मुद्रा हुनेछ जुन देख्न सकिँदैन, न त यसलाई अन्य नोटजस्तै हातमा समाउन सकिनेछ । यो कुनै कल्पना होइन ।

एउटा समय यस्तो आयो, जहाँ दुनियाँका सबै देश कोरोना भाइरसको संक्रमणसँग जुधिरहँदा चीनचाहिँ डिजिटल युआन मुद्रासम्बन्धी पाइलट प्रोजेक्ट सुरु गर्ने कार्यमा जुटिरहेको थियो ।

अघिल्लो महिना चीनको केन्द्रीय बैंक, पिपुल्स बैंक अफ चाइनाले चारवटा ठूला सहर, सेन्जेन, छेङ्दू, सुन्जो र जिओङगाङमा यो परियोजनामा काम सुरु गरिएको छ ।

उक्त परियोजनामा सरकारी कर्मचारीहरुको तलबको केही हिस्सा डिजिटल युआनमा भुक्तानी गरिनेछ ।

यो परियोजनामा म्याकडोनाल्ड, स्टारबक्सजस्ता विभिन्न २० निजी उद्योग व्यवसायहरुले पनि सहभागिता जनाएका छन् ।

यदि यो सफल भएमा सन् २०२२ मा शीतकालीन ओलम्पिकको अवधिसम्ममा चीन सरकारले पूरै देशभर यो डिजिटल मुद्रा जारी गर्न सक्नेछ ।

यद्यपि, यो चरणबद्ध तरिकाले गरिनेछ र यसमा केही वर्ष पनि लाग्न सक्छ ।

वास्तवमा यो परियोजनाका विषयमा सन् २०१४ मै काम सुरु भएको थियो । चीन यसलाई लागू गर्नमा निकै तीव्र ढंगले कार्य गरिरहेको छ ।

यसका तीनवटा मुख्य कारण छन् स् अमेरिकासँग बढिरहेको व्यापार युद्ध, कोरोना भाइरसलाई लिएर अमेरिका तथा पश्चिमा मुलुकहरुले लगातार लगाइरहेको आरोप अनि फेसबुकले लिब्रा नामक डिजिटल मुद्रा यहीँ वर्ष ल्याउन गरिरहेको तयारी ।

आमूल परिवर्तन

डिजिटल युआनको आगमनलाई यस्तो घटना मानिएको छ जसले विश्वको विद्यमान सन्तुलनमै बदलाव ल्याइदिन सक्दछ । यो चीनको त्यस महत्त्वाकांक्षी परियोजनाको हिस्सा हो जसको उद्देश्य अमेरिकाको प्रभावलाई अन्त्य गर्नु र २१ औँ शताब्दीको एक शक्तिशाली देश भएर उभिनु हो ।

विशेषज्ञहरूका अनुसार, यसको सफल प्रयोगबाट १०र१५ वर्षमै एक एउटा नयाँ राजनीतिक तथा आर्थिक व्यवस्थाको प्रादुर्भाव हुनसक्दछ ।

भारतको नयाँदिल्लीस्थित फेर स्कूल अफ म्यानेजमेन्टका चीन विशेषज्ञ डाक्टर फैसल अहमद भन्छन्, ‘भारत र अमेरिका पनि क्रमशः लक्ष्मी र डिजिटल डलर नामका आफ्ना डिजिटल मुद्राहरुको तयारी गरिरहेका छन् । तर अहिलेसम्म यो वास्तविकताभन्दा निकै टाढा छ ।’

अमेरिकी डलर भर्सेस डिजिटल मुद्रा

अहिले चिनियाँ ‘ड्रागन’ले भारतीय ‘लक्ष्मी’लाई निकै पछाडि पारिसकेको छ । तर विज्ञहरुका अनुसार यसले मुद्रा जगतको अकंटक बादशाह ‘डलर’माथि पनि खतरा पैदा गरिरहेको छ ।

विज्ञका अनुसार अमेरिकी संघीय रिजर्भको खर्बौं डलरको ऋणलाई हेर्ने हो भने डलर आफ्नो खास मूल्यभन्दा निकै महंगो ९ओभर भ्यालुड० छ । एक नयाँ मुद्रालाई निश्चित रूपमा स्वागत गर्नुपर्दछ । तर यसको विश्वव्यापी स्वीकृतिका लागि लामो समय लाग्नेछ ।

डिजिटल युआन अमेरिकी डलरसँग दूरी बनाउनेतर्फको एक ठूलो कदम हो । वर्तमानमा अमेरिकी डलर दुनियाँको प्रचलित मुद्रा हो जुन सन् १९७० को दशकको सुरुवातमा गोल्ड स्टाण्डर्डको अन्त्यसँगै सुरु भएको थियो ।

विज्ञका अनुसार अमेरिका र चीनबीचको व्यापार युद्ध तथा कोरोना महामारीको विवादका कारण बढिरहेको विश्वव्यापीकरण विरोधी परिवेश डलरका लागि खतरा बनिरहेको छ । यद्यपि, तत्काल कुनै अरू विकल्पको अभावका कारण यो परिवर्तनका लागि समय लाग्नेछ ।

अहिले अमेरिकी डलरको महत्त्वलाई यस तथ्यबाट पनि अनुमान लगाउन सकिन्छ कि सन् २०१९ मा अन्तर्राष्ट्रिय मौद्रिक कारोबारको झण्डै ९० प्रतिशत हिस्सा अमेरिकी डलरले ओगटेको थियो ।

यसको तुलनामा चिनियाँ युआनले विश्वव्यापी भुक्तानी तथा भण्डारमा केवल २ प्रतिशत हिस्सा मात्र ओगटेको छ ।

अर्कोतर्फ संसारका बैंकिङ प्रणालीमा वैदेशिक मुद्रा भण्डारको ६० प्रतिशत हिस्सा अमेरिकी डलरले ओगटेको छ । रोचक त के भने चीनको ढुकुटीमा तीन खर्ब डलर समेत अमेरिकी मुद्रामा छ ।
चीनले यसलाई विभिन्न तरिकारले प्रयोग गर्न सक्दछ, जसबाट यसो शाख बढ्नेछ ।

विज्ञहरुका अनुसार, भू–राजनीतिक फाइदका लागि अन्य देशलाई प्रोत्साहन प्याकेन दिने तथा मध्य एसियादेखि लिएर आर्कटिक क्षेत्रसम्म बेल्ट एण्ड रोड परियोजनामा सामेल देशहरुमा लगानी गर्नका लागि समेत चीनले यो मुद्राको प्रयोग गर्न सक्दछ ।

अहिले अमेरिकी डलरको प्रभाव तथा यसको महत्त्वकै कारण अमेरिकाले विश्वको राजनीतिक तथा आर्थिक मुद्दामा आफ्नो दबदबा कायम राख्न सकेको छ । उदाहरणका लागि इरान, रुस, उत्तर कोरिया तथा अन्य केही देशका विरुद्ध उसको प्रतिबन्ध पनि अन्तर्राष्ट्रिय व्यापार तथा बैंकहरुको अमेरिकी डलरमाथिको निर्भरताकै कारण सम्भव भएको छ ।

जर्मन बैंकले गत जनवरीमा एउटा रिपोर्ट सार्वजनिक गरेको थियो, जसमा चिनियाँ डिजिटल मुद्राले विश्वको शक्ति सन्तुलनलाई उल्टाउन सक्ने उल्लेख गरिएको थियो ।

रिपोर्टमा भनिएको थियो, ‘चीन आफ्नो केन्द्रीय बैंकको सहयोगमा एक डिजिटल मुद्रामा काम गरिरहेको छ, जसलाई उसले सफ्ट वा हार्ड पावर टूलको रूपमा प्रयोग गर्न सक्नेछ । यदि चीनमा व्यापार गर्ने कम्पनीहरुलाई डिजिटल युआनको प्रयोग गनैपर्ने बाध्यता सिर्जना गरियो भने निश्चित रूपमा यसले विश्व बित्तीय बजारमा डलरको प्रधानतालाई नष्ट गर्न सक्नेछ ।’

हुन त डिजिटल युआन तथा यस्तै खाले डिजिटल मुद्राहरुले नोटलाई सम्पूर्ण रूपमा समाप्त गर्न सक्दैन । तर यो क्रेडिट कार्डजस्ता तेस्रो पक्षको अन्त्यको कारण बन्न सक्दछ ।

फेसबुकको लिब्रा भर्सेस चीनको डिजिटल युआन

जर्मन राष्ट्रिय बैंक डोएच बैंकको माथि उल्लेखति रिपोर्ट अनुसार अहिले मूल्धारका डिजिटल मुद्राहरुमा फेसबुकको लिब्रा र चीन सरकारको डिजिटल मुद्रा हुन् । फेसबुकका झण्डै अढाइ अर्ब प्रयोगकर्ता छन् जुन विश्वको कूल जनसंख्याको एक तिहाइ हो । त्यस्तै चीनको जनसंख्या १ अर्ब ४० करोड छ । त्यसैले फेसबुक र चीन दुवैले डिजिटल मुद्रालाई मूलधारमा अगाडि बढाउने क्षमता राख्दछन् ।

तर अन्य डिजिटल मुद्राहरु र डिजिटल युआनको बीचमा महत्त्वपूर्ण फरक यो छ कि डिजिटल युआनलाई चीनको केन्द्रीय बैंकले जारी गर्नेछ । जसका कारण यसप्रति स्वीकृति मिल्नेछ र विश्वास बढ्नेछ ।
जबकि, अन्य सबै डिजिटल मुद्राहरु विकेन्द्रित छन् र कुनै पनि नियामक प्राधिकरणको दायरामा छैनन् ।

इजरायलका इतिहासकार तथा विचारक युवल नूह हरिरीका अनुसार, मुद्रा एक मिथक हो जसको महत्त्व संसारभर छ । जो कोही मानिसले डलरमाथि भरोसा गर्दछन् र यसलाई महत्त्व दिन्छन् ।

तर संसारमा अमेरिकाको रवाफ कमी आउँदा कुनै अरू शक्तिले यसको ठाउँ लिनेछन् । अहिले चीन त्यस दौडमा निकै अगाडि देखिएको छ ।
बीबीसी

यि विधी, जसले हुन दिनेछैन जीवभर ‘हार्ट ब्लकेज’

हार्ट ब्लकेज’ हुनुमा केही कारण छन् । त्यसमा मूलत खराब जीवनशैली नै हो । आफ्नो भान्साको खानेकुरा भन्दा बाहिरको खाने बानी, राती अबेर खाना खाने बानी, व्यायाम नगर्ने प्रवृत्ति, तनाव आदि मुटुको रोगका लागि जिम्मेवार मानिन्छ । अहिले बुढ्यौलीमा मात्र होइन, युवा उमेरमै मुटु रोगले धेरैलाई ग्रस्त बनाउँदै लगेको छ ।

के हो हार्ट ब्लकेज ?

हाम्रो मुटुमा स–सना रक्त धमनी हुन्छ, जसमा कफ वा हामीले धेरै खाने फास्टफुड उक्त रगतमा जम्न पुग्छ । यसले हार्ट ब्लकेजको समस्या निम्त्याउँछ । त्यसो त कतिपय बच्चामा जन्मसाथ हार्ट ब्लकेजको समस्या पनि देखिन्छ । यसमा गर्भवतीको खानपान जिम्मेवार हुन्छ । गर्भावस्थामा खराब खानपान गर्नाले बच्चाको मुटुमा समस्या हुनसक्छ ।

हार्ट ब्लकेजको संभावित जोखिमबाट कसरी उम्कने त रु के छ यसको विधी ?

घरेलु ओखती

अदुवा, लसुन, कागती र मह मुटुलाई बलियो र स्वस्थ राख्न अति उपयोगी मानिन्छ । लसुनमा रहेको एन्टी ब्याक्टेरियल एवं एन्टि अक्सिडेन्स तत्वले मुटुको चाललाई सामान्य बनाइराख्नमा मद्दत गर्छ । दैनिक एक केस्रा लसुन सेवन गर्नाले मुटु रोगको संभावित जोखिमबाट बच्न सकिन्छ । यसले तपाईंको कोलेस्टोर लेभल पनि सन्तुलित रहन्छ । अदुवामा आयरन, क्याल्सियम र प्रोटिन जस्तो पोषक तत्व हुन्छ । यसले पनि मुटुलाई बलियो राख्न सहयोग गर्छ ।

ओखती तयार गर्ने विधी

एउटा गिलासमा कागतीको रस राख्ने । एक सानो टुक्रा अदुवा र लसुनको केस्रा राम्ररी पिसेर पेस्ट तयार गर्ने । पानीको प्रयोग गर्दै नगर्ने । उक्त पेस्टलाई चुल्होमा दुई÷तीन मिनेट पकाउने । चिसो भएपछि त्यसलाई राखेर बिहान र बेलुकी तातो पानीसँग एक वा दुई चम्चा हालेर सेवन गर्ने ।

त्यसो त यसलाई तपाईंले एकै पटकमा धेरै मात्रामा बनाउने, सिसाको बोत्तलमा राख्ने र नियमित रुपमा सेवन गर्न पनि सक्नुहुनेछ ।

व्यायाम

यदि तपाईं यो जोखिमबाट सधै मुक्त रहन चाहनुहुन्छ भने नियमित रुपमा समुचित ढंगले व्यायाम गर्नु सर्वोत्तम हुन्छ । प्राणायाम र ध्यान मुटुलाई स्वस्थ राख्न अत्यान्तै लाभदायक हुन्छ । दक्ष योग गुरु एवं प्रशिक्षकको सहयोगमा ध्यान, प्राणायाम गर्न सकिन्छ ।

यी कुरा त्यागौं

–मसलेदार, चिल्लो, तारेको खानेकुरा सेवन नगरौं ।

–रातो मासुको सेवन कम गरौं ।

–मैदाजन्य परिकार सेवन नगरौं ।

–प्याकेटबन्द खानेकुरा, प्रशोधित खानेकुरा सेवन नगरौं ।

–मदिरा र चुरोट त्यागौं ।

–तनाव एवं चिन्ता त्यागौं ।

–ऐशआरम त्यागौं ।

–इर्ष्या, अहंकार, रिस, गुनासो, पछुतो जस्ता मनोविकार त्यागौं ।

यी कुरा अपनाऔं

–नियमित उठ्ने र सुत्ने तालिका ।

–नियमित र सन्तुलित खानपान ।

–पर्याप्त पानी सेवन गरौं, ताजा फलफूल र सलादलाई खानामा समावेश गरौं ।

–नियमित र समुचित व्यायाम ।

–सक्रिय जीवन ।

–हरेक कुरामा सन्तोष गरौं ।

–सधै खुसी हुने अभ्यास गरौं ।

यदि कुनै शारीरिक समस्या छ, औषधि सेवन गरिरहनुभएको छ, दीर्घ रोग छ भने उल्लेखित कुनैपनि विधी अपनाउनुअघि चिकित्सकसँग परामर्श गर्नुपर्नेछ ।

गौरीफन्टा नाकाबाट एकैदिन ५०१३ नेपाली घर फर्किए

धनगढी । सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई सातामा २६ हजार नागरिक भित्रिएका छन् ।

२ जेठयता कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट २६ हजार १५० जना नेपाल आएका हुन् । उनीहरुमध्ये धेरै कैलालीको गौरिफन्टा नामाबाट भित्रिएका छन् ।

कैलालीको गौरिफन्टा नाकाबाट मात्रै १९ हजार ४ सय ८३ जना भित्रिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतकाअनुसार मंगलबार एकैदिन यो नाकाबाट ५०१३ जना नेपाल भित्रिएका हुन् ।

कञ्चनपुरको गड्डाचौकी र दोधरा चादँनीबाट ५ हजार ९७० भित्रिएको जिल्लाप्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले बताए । उनले भने, ‘हामीले सम्बन्धित स्थानीय तहमा पठाइरहेका छौं ।’

प्रदेशको पहाडि जिल्लाका सीमा नाकाबाट पनि नागरिक नेपालभित्रिरहेका छन् । ‘दार्चलाको नाका हुँदै ७ गते ३१९जना आएका थिए, त्यसपछि आएनन्’ दार्चुलाका प्रहरी प्रमुख पदमबहादुर बिष्टले भने, ‘आएका सबैलाई क्वारेन्टाइनमा राखेका छौं ।’

बैतडीकाको झुलाघाट नाकाबाट पनि ३७८ जना आएको प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् । ‘हामीले सिमामा पुगेकालाई उद्धार गरिरहेका छौँ’ उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि कोही आएका छैनन् । ’

परीक्षणमा समस्या

प्रदेशका ४ नाकाबाट २६ हजारबढी नेपाल प्रवेश गरेपनि अधिकांशको स्वास्थ्य परीक्षण भएको छैन ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले आडीटी किटको अभावले भारतबाट आउने अधिकांशको स्वास्थ्य परीक्षण हुन नसकेको स्वीकार गरे । ‘सुरुका केहि दिनमा सीमा क्षेत्रमै आरडीटी परीक्षण गरिएको थियो । अहिले किट नहुँदा सीमामै परीक्षण भएको छैन’ उनले भने ‘स्थानीय तहले अनिवार्य स्वास्थ्य परीक्षण गराउने भनेपछि हामीले पठाइरहेका छौं ।’

सीमामा प्रहरी ज्यादती: रात बिताउने सर्तमा सुनसरीकी एक महिलालाई सिमाना कटाइयो

इटहरी । सुनसरीकी अमृता सुवेदी (नाम परिवर्तन) भारतको गोवामा रोजगारी गर्दै आएकी थिइन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतले लकडाउन घोषणा गरेसँगै उनी भारतको गोवामा २ हप्तासम्म अलपत्र परिन् ।

४ वर्षदेखि गोवाको १ चाउचाउ फ्याक्ट्रीमा एकाउन्टेनको काम गर्दै आएको अमृताले बताइन् । गत मार्चमा कोरोना भाइरस नियन्त्रण गर्न भारतले लकडाउन गरेसँगै कम्पनी बन्द भएपछि गोवामा १५ दिन अलपत्र परेर बसेको अमृता बताउँछिन् ।

‘गोवाबाट आसाम नजिक पर्छ । तर, आसाम मणिपुरको बाटो भारतीय प्रहरीले नेपाली मुलको मान्छे हिँड्न नदिएपछि बनारस हुँदै नेपाल आउनुपर्‍यो । कोरोनाका कारण भारतबाट नेपाल आउँदा ४० दिन बाटोमा ठूलो समस्या झल्नुपर्‍यो । यो अवधिमा मेरो जीवनमा के चाँही भएन’ उनले भनिन्, ‘छोरी मान्छे जता गए पनि असुरक्षित हुन्छन् । कोरोना भाइरसका कारण भारतदेखि ४० दिन लगाएर नेपाल आउँदा बाटोमा भागेको पीडा कसलाई सुनाउनु रु भन्यो भने इज्जत जान्छ ।’ कोरोनामा समस्या परेका नभनी सबैले बाटोपिच्छे फाइदा लिएको उनको गुनासो छ ।

भारतीय प्रहरीको गिद्देनजर यसरी सुरू भयो
भारतको बनारसको रेल स्टेसन नजिकको खानीपनि भवनमा १५ दिन क्वारेन्टाइनमा भारतीय प्रहरीले राख्यो । ९ जना नेपाली महिला उक्त क्वारेन्टाइनमा बसेको सुवेदीले जानकारी दिइन् । क्वारेन्टाइनमा बस्दादेखि नै भारतीय प्रहरीले नेपाली युवतीमाथि गिद्देनजरले लगाउन थालेको अमृताले बताइन् । मुम्बइबाट फर्किएका ३ जना नेपाली युवती क्वारेन्टाइनमा सँगै बसेका थिए । ती युवती वैदेशिक रोजगारीमा युरोप हिँडेका रहेछन् । तर, भारतमा अलपत्र परेपछि घरबाट पैसा मगाएर नेपाल फर्किँदै गर्दा क्वारेन्टाइनमै परिचय भएको अमृताले जानकारी दिइन् । बानरसमै क्वारेन्टाइनमा बस्दा भारतीय प्रहरीले हामी भनेको मान्यौ भने छिटो घर पुग्छौ भनेर छेउ आएर केके भनेर दिक्दार लगाउने गरेको सुवेदीले बताइन् ।

बनारसमा प्रहरीलाई २ हजार भारू दिएपछि बंगलादेशको सिमानातिर जाने ट्रकमा प्रहरीले नै चढाएर पठाएको सुवेदी बताउँछिन् । ‘बनारसबाट सिलगुडी जाने ठूलो १६ चक्के ट्रकमा ४ जना युवती चढ्यौँ । हामीलाई बनारसबाट सिलगुडी पुग्न ९० किलोमिटर लेखेको पिलरसम्म आइपुग्न ५ दिन ३ रात लागेको थियो । बीच बाटोमा ट्रक डाइभरले खानकुरा खुवायो’ उनले भनिन्, ‘सिलगुडी पुग्न ५ घण्टा उत्तै ट्रकले झार्‍यो । त्यसपछि भारतीय पेहेँलो रङको पोसाक लगाएका प्रहरीले बाटोमै भेटाए । केहीपर जंगलमा लागेर सोधीखोजी गरे । कोरोना परीक्षण गरेको छौँ भनेर सोधेपछि १५ दिन क्वारेन्टाइनमा बसेर आएको भनेपछि भ्यानमा चढाए । एउटा सानो घरमा लागेर राखे ।’

भारतीय प्रहरीको अफिसरले मैले भनेको मान्छौ भने सिमानासम्म पुर्‍याइदिन्छ भनेर सर्त राखेको सुवेदीले बताइन् । ‘हामी ४ जनाले हुन्छ भन्यौ । उसले धेरै दिन भयो कोरोनाले वेवी नभेटेको २ रात हामीसँग बस्नुपर्छ भनेर सर्त राख्यो’ सुवेदीले भनिन् ।

‘प्रहरीको सर्त सुनेपछि ४ जना एकछिन अलमलमा परेर हेराहेर मात्र गर्‍यौँ । बीचमा १ जना साथीले हिन्दीमा हुन्छ भनेपछि प्रहरीले भ्यानमा हालेर सिलगुडीतिर लगे । त्यसपछि २ रात भनेर ५ रात राखेर झापाको काकाडभिट्टा पारी पानी ट्यांकी नजिकै पेट्रोल पम्पमा लगेर छाडेर फर्किए’ उनले भनिन्, ‘कोेरोनाका कारण अलपत्र परेर फर्किदै गरेका होलान नभनि फाइदा मात्र लिए । अब केही भयो भन्ने कसरी घरमा भन्नू रु एकतिर कोरोना चिन्ता अर्कोतिर प्रहरीसँग रात बिताउँदा नतिजा केही होला भन्ने चिन्ताले ज्यान लिने भयो ।’

अमृतासँग अन्य ३ जना युवतीसँगै आएका कोरोना भाइरसका कारण बाटोमा अलपत्र परेका थिए । उनीहरू बनारसमा क्वारेन्टाइनमा बस्दा भेट भएर सँगै नेपाल आएका थिए ।

भारतमा नेपालीलाई हेप्छन्

भारतमा रोजगारी गर्दै आए पनि अमृता सुवेदी खुसी छैनन् । ‘सानैदेखि परिवारसँग भारतको आसाममा बसेर पढेकी हुँ । उत्तै पढेर गोवामै जागिर खान थालेकी थिए’, उनले भनिन्, ‘२ वर्ष भयो परिवार भारत छाडेर नेपाल आएको छ । आसाम आन्दोलन भएका बेला नेपालीभाषीमाथि आक्रमण सुरू भएपछि बस्न सक्ने अवस्था थिएन । त्यही बेला परिवार नै बसाइ सरेर आएको थियो ।’

‘कोरोना परीक्षणका लागि तापक्रम नाप्ने भन्दै ज्वरो नाप्न बसेका भारतीय प्रहरीले संवेदनशील अंग छुन्थे’ उनले भनिन्, ‘भारतमा बाध्यताले मात्र काम गरेर बसेकी हुँ । कतिपय साहुले नेपाली युवतीलाई इज्जत गर्दैनन् । उनीहरूले नेपाली युवतीलाई कार्यस्थलमै जे मन लाग्यो त्यही गर्छन् । अर्कोको ठाउँ भनेर धेरै नेपाली युवती सहेर काम गरिरहेका छन् ।’

सुवेदीसँग ५ जना महिला अहिले झापामा क्वारेन्टाइनमा बसेका छन् । उनीसँग सामाजिक सञ्जालमार्फत भारत हेल्थ मिसन नेपालका एक सदस्यको सहयोगमा यो सामग्री तयार पारिएको हो ।
#शिलापत्रबाट

नक्कली पेस्तोल र लागूऔषधसहित तीन पक्राउ

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले नक्कली पेस्तोल र लागूऔषधसहित तीनजना युवाहरुलाई पक्राउ गरेको छ ।

सुनसरी प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षक सहितको टोलीले मंगलबार बिहानको नक्कली पेस्तोल र लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको हो । नक्कली पेस्तोल र लागूऔषधसहित पक्राउ पर्नेहरूमा जिल्लाको कोशी गाउँपालिका १ लौकहीका शोसिल साह, अमन साह र गणेशकुमार साह रहेका छन् ।

उनीहरूको साथबाट नक्कली पेस्तोल एक थान, डाइलेक्स डिसी ४७ बोतल, नाट्रोजन ९० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन २३ क्याप्सुल र कौडा २१ थान बरामद सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

युनियनको डिजिटल क्यालेण्डर सार्वजनिक

इनरुवा । प्रेस युनियनको २९ औं स्थापना दिवसको अवसरमा प्रेस युनियन सुनसरीले आफ्नो एप्स सार्वजनिक गरेको छ । एप्ससँगै युनियन सुनसरीले प्रकाशित गरेको डिजिटल क्यालेण्डर समेत सार्वजनिक गरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एप्स थिचेर सार्वजनिक गर्नुभयो । युनियनले स्थापना दिवसको अवसरमा राखेको भर्चुअल कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले डिजिटल क्यालेण्डर सार्वजनिक गर्नुभयो । उहाँले मिडियामा पनि राहत प्याकेज ल्याउनका लागि सरकारसंग माग गर्नुभयो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगाना, ट्रेड युनियन कांग्रेसका सभापति पुस्कर आचार्य, युरोप शाखाका सभापति विपिन निरौला लगायतले स्थापना दिवसको अवसरमा शुभकामना दिनुभयो । प्रेस युनियनका जिल्ला सभापति पवन अधिकारीले सबैलाई जानकारीका लागि एप्स निर्माण गरिएको बताउनुभयो । उहाँले युनियनले २२० जनाको बिमासमेत गरिदिएको बताउनुभयो ।