३ बैशाख २०८०, आईतवार १७:०६ – Page 2 – Nagarikabhiyan : National News

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको अख्तियारको ठहर

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको ठहर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै ९ जनाविरुद्ध मुद्दा दाय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित सिडिई, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न, मेपटेक विल्डिंग सर्भिसेस , परामर्शदाता वास्तुशिल्प एसोसिएट्ससहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मुगुमा पहिलो पटक अदालती विवाह

मुगु । मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, संस्कृति तथा रीतिरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत विवाह भएको हो ।

जिल्लाको सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षिय जानकी रोकायाबिच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो । उनीहरूबिचको उमेर अन्तर ८ वर्ष रहेको छ ।

विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र  दिएका हुन् । न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको बताएका छन् ।

काफ्लेकि श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्ध विच्छेद  गरेकी थिइन् । दुवै जनाको सहमति र साक्षीहरुको उपस्थितीमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले बताए । सत्तरी वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भिड लागेको थियो ।

भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजु मारिए

काठमाडौं । भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ ।

पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला गोली प्रहार भएको थियो । उनीहरुलाई गोली लागेको दृष्य पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो । भिडियो फुटेजमा एक व्यक्तिले उनीहरुलाई नजिकैबाट टाउकोमा गोली हानेको देखिन्छ ।

अतिकका वकिल विजय मिश्राले पत्रकारहरुको भिड भित्रबाट अज्ञात व्यक्तिले निकै नजिकबाट गोली हानेको बताएका छन् । प्रहरीका एक आयुक्त रमित शर्माले पत्रकार बनेर आएकाहरुले गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । गोली हानेकाहरुले घटनास्थलमै आत्मसमर्पण गरेका थिए ।

अतिक अहमद र उनका भाइ अशरफलाई १० भन्दा बढी गोली लागेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गरेका छन् । मुख्यमन्त्री आदित्यनाथले अधिकारीहरुलाई सुरक्षामा चनाखो रहन र शान्ति सुव्यवस्था खलबलिने गतिविधि नियन्त्रण गर्न निर्देशनसमेत दिएका छन् ।

सन् २००५ को जनवरीमा पूर्व विधायक राजु पालको हत्याका प्रत्यक्षदर्शी उमेश पाललाई अपहरण गरेर वयान नदिने कागज गराएर छाडेको आरोप अतिक अहमदमाथि लागेको थियो । तर सन् २००७ मा उमेशले प्रयागराजको धुमनगञ्ज प्रहरीमा आफूलाई अपहरण र यातना दिएको भन्दै अतिकविरुद्ध उजुरी दिए ।

यो मुद्दामा सन् २०२३ को फेब्रअुरी २४ मा बयान दिएर फर्किइरहेको बेला उमेशको गोली हानेर हत्या भएको थियो । उमेशको हत्यामा अतिकका छोरा असद अहमद संलग्न भएको बताइएको छ । असद अहमद र उनका साथी मोहम्मद गुलाम सन् २०२३ को अप्रिल १४ मा प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

आठौं पटक आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका मन्त्रीहरूको टुंगो नलाग्दै कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्। सभापति शेरबहादुर देउवाले आफूनिकट आफू निकट साउदलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी तोकेका हुन्।

मन्त्रिपरिषद् छिट्टै विस्तार हुने चर्चा भइरहेका बेला साउद एक्लै आज (आइतबार) दिउँसो शपथ लिँदै छन्। आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवासँग छलफलपछि साउदलाई यस्तो जिम्मेवारी दिने भएका हुन्। वर्तमान सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति भएको छ।

यसअघि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस संस्थापन पक्षका ४ जना मन्त्री भएका थिए। गत १७ फागुनमा खड्का उपप्रधान एवं रक्षा, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति सीता गुरुङ सहरीविकास मन्त्री नियुक्त भएका थिए। देउवाले आफूखुसी मन्त्रीहरूको नाम सिफारिस गरेको भन्दै कांग्रेस संस्थापनइतर समूहका डा. शेखर कोइराला, महामन्त्री गगन थापालगायतले सो दिन आफू निकटका सांसदलाई मन्त्री बन्न रोकेको थियो। संस्थापनइतरले कम्तिमा ३ वटा मन्त्रालय दाबी गर्दै आएको छ।

आफ्नो भारत भ्रमणको तयारी भइरहँदा तालुकदार मन्त्रालयनै रिक्त भएपछि प्रधानमन्त्री प्रचण्डले साउदलाई परराष्ट्रको जिम्मेवारी तोक्न भएका हुन् । प्रचण्डको भ्रमण तयारीमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव जुटेका छन् । भ्रमणलाई लक्षित गर्दै गत साता उनले प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए।

चैत चौथो साता भ्रमण तयारीका लागि भारत गएर फर्किए लगत्तै श्रीवास्तवले प्रचण्डसँग भेट गरेका थिए। त्यसअघि भारतले राष्ट्रपति निर्वाचन अगावै (गत फागुन दोस्रो साता) भारत भ्रमणका लागि प्रस्ताव गरे पनि प्रचण्डले राष्ट्रपति निर्वाचनपछि मात्रै भ्रमण गर्ने बताएका थिए। भारतबाट फर्किएका राजदूत श्रीवास्तवले वैशाखभित्रै भ्रमण गर्ने निम्तो दिएपछि उच्चस्तरीय भ्रमणसँग प्रत्यक्ष जोडिने परराष्ट्र मन्त्रालयमा साउदलाई नियुक्त गर्ने भएका हुन्।

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो। त्यसका लागि सम्भावित कार्यसूची पनि तय गरिएको छ।

जसअनुसार आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संसोधन) विधेयक २०७०’ र ‘भ्रष्टाचार निवारण (पहिलो संसोधन) विधेयक, २०७७’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।

त्यस्तै आज सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रा सम्बन्धी विधेयक २०७७ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यसैगरी आजको बैठकमा पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

युवा संघको अध्यक्षमा क्षितिज थेबे चयन

बाँके । एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा भएको महाधिवेशनले संघको अध्यक्षमा थेबेलाई चयन गरेको हो । महाधिवेशनबाट सात उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन् ।

महासचिवमा सुमन पुरीलाई चयन गरेको महाधिवेशनले उप महासचिवमा महेन्द्र गुरुङ र राजन थापालाई चयन गरेको हो । यसैगरी, सचिवमा विनय शाह, मोबिन आलम, जय गुरुङ, खेम शर्मा, अनिता कन्दङ्वा, बिष्णा चन्द, कुबेर अधिकारी, देवानन्द मेहता र पर्वत भण्डारी चयन भएका छन् ।

कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई र उपप्रमुखमा नानीराम तिवारी चयन भएका छन् । अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली चयन हुँदा महाधिवेशनले निर्वाचन आयोग प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपालीलाई चयन गरेको छ ।

बारा–२ मा चुनावी प्रचारप्रसार तीव्र

बारा । बारा क्षेत्र नम्बर ।२ मा आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा मतदाता आकर्षित गर्न उम्मेदवारसँगै पार्टीहरुले आफ्ना गतिविधि बढाएका छन् ।

टोल भेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु खेतखेतमा पुगरे मत माग्ने क्रम बढेको छ । दलहरुले निर्वाचनलाई पार्टीको प्रतिष्ठाको विषय बनाएको बारा क्षेत्र नं।२ अन्तर्गतको करैयामाई निवासी पूर्वजनप्रतिनिधि रामएकवाल चौधरीको भनाइ छ । उनका अनुसार जनता समाजवादी पार्टी ९जसपा०, नेकपा एमाले, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टीले क्षेत्र नं।२ मा चुनावी प्रचारलाई तीव्र पार्दै लगेका छन । यस पटकको चुनावमा दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको देखिन्छ ।

जनता समाजवादी पार्टीले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । यसअघि गत मंसिरमा सम्पन्न निर्वाचनमा सोही पार्टीका रामसहायप्रसाद यादवले नेकपा एमालेको सहयोगमा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका थिए । उनी उपराष्ट्रपती बनेपछि यहाँ उपचुनाव हुन लागेको हो । यसअघि जसपाल नै जितेकाले यसपटक जसपाकै उम्मेदवार यादवले सहजै चुनाव जित्ने अनुमान गरिएको छ । यादव सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

यस क्षेत्रमा अर्को बलियो शक्ति मानिएको कांग्रेसले पनि उनलाई समर्थन गरेको छ । यस दृष्टिकोणबाट हेर्दा यादवको जित सुनिश्चित रहेको दाबी गरिएका छन् । एमालेले पूर्व युवा तथा खेलकुद मन्त्री पूरुषोत्त्म पौडेललाई मैदानमा उतारेको छ । एमाले पोलिटब्युरो सदस्य एवं मधेश प्रदेश सहईन्चाज पौडेलको यस क्षेत्रमा आफ्नै खालको क्रेज छ ।

२०४८ र २०५६ मा एमाले जितेको क्षेत्र भएकाले एमाले यहाँ बलियो नै मानिन्छ । पौडेललाई चुनावी अभियानलाई ऊर्जा दिन गएको २२ गते एमाले अध्यक्ष केपी शर्मा ओली बारा आएका थिए । ओलीको आगमनपछि यहाँको माहोल एमालेमय बन्दै गएको महागढीमाई नगरपालिका २ का सर्वजित पटेल दाबी गर्छन् । त्यसैगरी बारा क्षेत्र नम्बर ३ की सांसद ज्वालकुमारी साह, क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली र एमाले नेता रघुविर महासेठ लगायतका संघीय सांसदहरु पौडेल जिताउ अभियानमा यतिबेला सक्रिय बनेका छन् ।

यसैगरी नेकपा माओवादीका पूर्वनेता शिवचन्द्र कुशवाह हाल जनमत पार्टीका उम्मेदवार छन् । उनी पनि यस क्षेत्रका प्रभावशाली व्यक्तिका रुपमा परिचित छन् । गत मंसिरको निर्वाचनमा यस क्षेत्रमा २५४ मते रामसहायप्रसाद यादवसँग कुशवाहा पराजित भएका थिए । उनी यसपटक मंसिरको हारको बदला लिन चाहन्छन् । उनलाई कुनै हाललमा जिताउन जनमत पार्टीका अध्यक्ष सिके राउतसमेत क्षेत्रमै खट्दै आएका छन् । गत निर्वाचनमा स्वतन्त्र उमेदवार बनेर पराजित अरुण ज्ञवाली यसपटक प्रभु साहको आम जनता पार्टीबाट उम्मेदवार बनेका छन् । उनको अभियानलाई स्वयंं प्रभु साहले अगुवाई गरिरहेका छन् ।

यस्तै राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकको बदला ३ भन्दै चुनावी माहोल बनाउँदै आएका छन् । रास्वपाले पूर्वडिआईजी रमेश खरेललाई उम्मेदवार बनाएको छ ।

देशका धेरै ठाउँमा वायु प्रदूषण बढ्दो

काठमाडौं । पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ। डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ ।

पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन । विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गरेको प्रेस विज्ञप्तिमा बारा, पर्सा, चितवनलगायत देशभरका एक सय ४० स्थानमा लागेको डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशको मध्य तथा पूर्वी भागमा वायुको प्रदूषण अत्यधिक बढेको पाइएको छ। प्रदूषण बिहान र बेलुकी अत्यधिक बढेको छ ।

सिंहदरवारको फोहोर नउठाउनु अराजकता हो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता भएको टिप्पणी गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारका १४ वटा मन्त्रालयले महानगरपालिकालाई सहयोग नगरेको भन्दै आइतबारबाट सिंहदरबारको फोहोर उठाउन बन्द गरेका छन्।

सोही निर्णयमाथि टिप्पणी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्। बिहीबार ट्विट गर्दै नेता कोइरालाले भनेका छन्, ‘कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो,जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ।’

उनले केन्द्र सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्की परिभाषा प्रयोग गर्नु पनि सिंहदरवारले स्थानीय तहलाई हेर्ने दृष्टिकोणको प्रतिविम्व भएको बताएका छन्। उनले दुवै सच्चिनुपर्ने सुझाव दिएका छन्।

स्थानीय तहलाई सहकारी किन भयो बोझ ?

काठमाडौं । तीन तहको सरकारबीच समन्वयको अभावका कारण सहकारी क्षेत्र यतिबेला अलपत्र परेको छ ।

स्थानीय तहका लागि भने सहकारी बोझ बन्न पुगेको छ ।

सहकारीको उजुरीको चाङ बढेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले त स्थानीय तहमा दक्ष जनशक्ति नभएकाले वित्तीय कारोबार गर्ने सहकारीको नियमन तथा अनुगमन संघीय वा प्रदेश सरकारले गर्नुपर्ने प्रस्ताव नै गरेका छन् ।

उनले यसअघि पनि नेपाल राष्ट्र बैंकका गर्भनरसँग नै सहकारीको नियमनका लागि सहयोग गर्न माग गरेका थिए ।

नियामक निकायको कमजोर उपस्थितिका कारण सहकारीको समस्या जटिल बन्दै गएको सहकारीकर्मीहरूको समेत बुझाइ छ ।

संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकार सूचीभित्र सहकारी रहेको छ । जसका कारण आफ्नो कार्यक्षेत्रभित्रका सहकारीको प्रवद्र्धन, नियमन गर्ने जिम्मेवारी तहगत सरकारको छ ।

स्थानीय सरकारले सहकारीसम्बन्धी आफ्नो छुट्टै ऐन, नियम बनाउनुपर्ने, नियमन र प्रवद्र्धन गर्नुपर्ने उल्लेख छ । तर, अधिकांश स्थानीय तहको प्राथमिकतामा सहकारी पर्न सकेको छैन ।

सहरी क्षेत्रका स्थानीय तहमा यतिबेला सहकारीका उजुरीको चाङ भए पनि जनशक्तिको अभाव भएको भन्दै स्थानीय तहहरू पन्छिरहेका छन् ।

नेपालमा रहेका करिब ३० हजारबढी सहकारीमध्ये संघीय सरकारको क्षेत्राधिकारभित्र १ सय २५ वटा सहकारी मात्रै छन् ।

त्यसैगरी, ६ हजार सहकारी प्रदेश सरकारहरूको क्षेत्राधिकारभित्र छन् भने बाँकी सबै साढे २३ हजारबढी सहकारी स्थानीय तहको क्षेत्राधिकारभित्र पर्छन् ।

यो खबर आजको राजधानी दैनिकमा छ ।

वडाध्यक्षको व्यक्तिगत खर्चमा विद्यार्थीको बिमा

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा ‘आकस्मिक दुर्घटना बिमा’ गरिदिएका छन्।

उनले आफ्नै खर्चमा एक हजार दुई सय २० विद्यार्थीको बिमा गराइदिएका हुन् ।

वडा नं १२ मा सञ्चालित आठ विद्यालयका विद्यार्थीलाई बिमा कार्यक्रममा समावेश भएको ‘निको इन्स्योरेन्स’का प्रतिनिधि रवीन्द्र रिजालले जानकारी दिए ।

बिमावापत प्रतिविद्यार्थी रु दुई सयका दरले एक वर्षको प्रिमियमवापत रु दुई लाख ४४ हजार वडाध्यक्ष खड्काले भुक्तानी दिएका छन् ।

बिमा गरेपश्चात विद्यार्थी दुर्घटनामा परे उपचार तथा औषधि सेवनका लागि लाग्ने सम्पूर्ण खर्च सोहीमार्फत दाबी भुक्तानी पाइने छ ।

चालु आर्थिक वर्षदेखि सुरु भएको आकस्मिक दुर्घटना बिमा कार्यक्रम पाँच वर्षसम्म कायम रहने वडाध्यक्ष खड्काले बतए । वडाध्यक्षका रुपमा सरकारी सेवा सुविधाअन्तर्गत उनले मासिक रु २६ हजार छ सय ७० पाउँदै आएका छन्।

सो रकमबाट भुक्तानीको प्रबन्ध मिलाएको र बाँकी रकमसमेत वडाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गर्ने खड्काले बताए।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खड्का नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

कार्यशैलीमा सुधार र सङघीयतामैत्री सोच हुनुपर्छ : मुख्य सचिव वैरागी

काठमाडाैँ । सरकारका प्रतितिनिधि, नागरिक समाज र संविधानविद्ले मुलुकका तीन तहका सरकारबीच समन्वय र सहकार्यका लागि सङ्घीयतामैत्री सोच र कार्यशैलीमा सुधारको खाँचो औँल्याएका छन् ।

नेपाल कानुन समाजद्वारा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था तथा भावी रणनीति विषयक कार्यक्रममा सहभागी भएका वक्ताहरूले सङ्घीयता कार्यान्वयनमा राजनीतिक इच्छाशक्ति नभए अन्य पहल र प्रयास निरर्थक हुने प्रतिक्रिया दिएका छन् ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सङ्घीयतालाई जीवन्त तुल्याउन संविधान संशोधन, पुनरावलोकन र सुधार गर्ने साहस एवं पहल कदमको खाँचो औँल्याए । उनले भने, “भाषणमा समन्वय र सहकार्य भनिए पनि व्यवहारमा तल्लो तहलाई थिचोमिचो गरिएको छ, अधिकार केन्द्रिकृत गर्ने सोच र अभ्यासले उपलब्धि कसरी रक्षा गर्ला ? सङ्घीयता कार्यान्वयनमा राजनीति तहमै समस्या छ ।”

मुख्यसचिव शङ्करदास वैरागीले लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रूपमा प्राप्त सङ्घीयतालाई सफल तुल्याउन हालसम्मका अभ्यासको अध्ययन र अनुसन्धान गर्दै ठीक मार्गमा लैजान आवश्यक रहेको बताए। उनले भने, “तीन तहकै सरकारले जवाफदेही, मितव्ययी, चुस्त सेवा प्रवाह र आर्थिक अनुशासन कायम गर्ने विषयलाई जोड दिनुपर्छ । समन्वय र सहकार्यको पाटोमा हालसम्मका कार्यको वैज्ञानिक विश्लेषण र समीक्षाको खाँचो छ, सङ्घीयतामैत्री सोच र कार्यशैलीमा सुधार हुनुपर्छ ।”

राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीले मुलुकको आवश्यकताभन्दा बाहिर गएर राज्यको ढुकुटी खर्च गर्ने होडबाजीले लक्ष्य प्राप्त गर्न कठिन हुने धारणा राखे । उनले भने, “अस्पताल र विद्यालय भवन निर्माणको साटो भ्यूटावर र मन्दिरका लागि जोडबल गर्ने प्रयासले आवश्यकता र लक्ष्य प्राप्तिमा चुनौती खडा गरेको छ ।”

पूर्वमन्त्री शेरबहादुर कुँवरले सङ्घीयता कार्यान्वयनका लागि हालसम्म भएका प्रयास निराशाजनक नदेखिएकाले खराब व्यवहार र सोचलाई सुधार गर्दै सशक्तरूपमा अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिए ।

पूर्वमन्त्री जीतेन्द्रनारायण देवले सङ्घीयतासम्बन्धी राजनीतिक सोचलाई कानुनको भाषा र भाकामा मिलाएर अघि बढ्नुपर्ने धारणा राखे । उनले भने, “मुलुकको आर्थिक र राजनीतिक परिदृश्य सवल देखिन्न, फजुल खर्च रोक्न मितव्ययी बन्नुपर्छ, सुशासन र सेवा प्रवाह चुस्त हुनुपर्छ, आवश्यकताका आधारमा कानुन निर्माण र संविधान संशोधन गरिनु बुद्धिमानी हुनेछ ।”

पूर्वमन्त्री हितराज पाण्डेले स्थानीय तह र प्रदेश सुरुआती चरणमा सामान्य साधनस्रोतको अभावमा पनि अभ्यास गर्दै यहाँसम्म आइपुगेकाले अब दृढताका साथ सङ्घीयता कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले भने, “अहिले कानुन निर्माणको नभई भएका कानुनको कार्यान्वयनको समस्या हो । नेपालको सङ्घीयता मौलिक छ, सोहीअनुरुपको कानुन तर्जुमा गरी अघि बढ्नुपर्छ । बनाइएको कानुनको संरक्षण र अडिट गराैँ ।”

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले अझै पनि धेरै स्थानीय तहका पदाधिकारीलाई आफ्नो क्षेत्राधिकार र ऐनबारे थाहा छैन, तर पनि सङ्घीयता कार्यान्वयनमा भने प्रगति हासिल भइरहेको प्रतिक्रिया दिए । उनले भने, “प्रदेशलाई प्रहरी, निजामती, शान्ति सुरक्षासम्बन्धी कानुनको खाँचो छ, कतिपयले सङ्घीय नीतिबारे आफू अनुकूल व्याख्या गर्दै आएको देखिएको छ, तथापि सङ्घीयताको अभ्यास गलत बाटोतर्फ उन्मुख छैन ।”

पूर्वमन्त्री माधव पौडेलले मुलुकमा तीन तहको सङ्घीय संरचना र अधिकारसम्बन्धी व्यवस्था आफैँमा अनुपम र उदाहरणीय रहेको हुँदा अभ्याससँगै सङ्घीय संरचना प्रणाली निकै परिपक्व हुँदै गएको विचार व्यक्त गरे । उनले भने, “ऐन बनाउन दक्षिण एसियामै नेपाल च्याम्पियन छ, कार्यान्वयनको पाटो भने समीक्षा गर्नुपर्छ, तीन तहका सरकारबीच देखिएका दोहोरोपन हटाउनुपर्छ, त्यसका लागि संविधानको संशोधन र समीक्षा समय-समयमा हुनुपर्छ ।”

नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान र अधिवक्ता मोहन आचार्यले सङ्घीयता कार्यान्वयनका सन्दर्भमा थुप्रै काम भए पनि बाहिर आउन नसकेको तथा प्रशासनिक र वित्तीय सङ्घीयताबारे अझै धेरै काम गर्नुपर्ने भएकाले आलोचना एवं टिप्पणी हुने गरेको धारणा राखे ।

सङ्घ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध तथा समन्वय ऐन, २०७७ को अवस्था, कार्यान्वयनमा देखिएका चुनौती, अवलम्बन गर्नुपर्ने कार्यदिशा पहिचान र प्रभावकारी कार्यान्वयनको विषयमा विभिन्न मन्त्रालयको सहयोगमा समाजले अध्ययनको काम गर्दै आएको छ ।

देवानगंजमा मोटरसाइकल मर्मत सम्बन्धि तालिम सम्पन्न

देवानगंज । सुनसरीको देवानगंज गाउँपालिका–६ मा एक महिने मोटरसाइकल मर्मत तालिम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोग र जय नेपाल होटल ट्रेनिङ सेन्टरको आयोजनामा संचालन भएको तालिम आज सम्पन्न भएको हो ।

तालिमा देवानगंज गाउँपालिका वडा नम्बर–६ का २० जना यूवाहरूको सहभागिता रहेको थियो । आज सम्पन्न भएको कार्यत्रममा वडाध्यक्ष हरिनन्दन मेहता, वडा सदस्य प्रशुराम यादव, छुतहरू पासवान, वाड सचिव नारायण मेहता लागयतको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा तालिममा सहभागी यूवाहरू प्रमाणपत्र समेत विरतण गरिएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष मेहताले युवाहरूलाई आत्मनिर्भर बानउने उद्देश्यले तालिमको आयोजना

उदयपुरको गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा डढेलो फैलिन थालेपछि बस्ती जोखिममा

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन्। त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ।

मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन्। त्रियुगा नगपालिका–१३ असारी, भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो फैलिएर घर नजिकसम्म पुग्न थालेको भुसुनेको कर्णबहादुर रायले बताए। गाउँलेले मिलेर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन्।

डिभिजन वन कार्यालय गाईघाटका अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जङ्गलमा घाँसदाउरा गर्ने र गोठालो जानेले आगो लगाएको बताए। डिभिजन वन कार्यालय कटारीअन्तर्गत एक सय ५४ र गाईघाटअन्तर्गत दुई सय पाँच सामुदायिक वन छन् । एक महिनाअघि पनि यसरी नै विभिन्न सामुदायिक वनमा डढेलो लागेको थियो । वर्षा भएपछि डढेलो नियन्त्रणमा आएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एसोसिएसनका पदाधिकारी बिच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एसोसिएसनका पदाधिकारीले छलफल गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्वपदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे। छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाएर आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

काठमाण्डौसहित धेरै ठाउँमा तुवाँलो, तराईमा तीव्र गतिमा हुरी चल्ने सम्भावना

काठमाण्डाै – काठमाण्डौसहित धेरै ठाउँमा तुवाँलो लागेको छ । प्रदूषण बढेकाले तुवाँलो लागेको हो ।

देशका धेरै ठाउँमा आगलागी र डढेलोका घटना बढेकाले प्रदूषण बढेको छ । यस्तै, गाडीबाट निस्कएको धुवाँका कारण वातावरण प्रदूषित भएको छ । केही दिनदेखि पानी नपरेकाले प्रदूषण वाुमण्डलमा थुप्रिएर बस्दा तुवाँलो लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार एक दुई दिन अझै पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ ।

प्रदूषण मापन सूचक एक्यूआईको मात्रा अहिले काठमाण्डौमा उच्चतम २ सय ४४ पुगेको छ । भक्तपुरमा २ सय २७  छ । त्यस्तै हेटौडामा पनि १ सय ७२ छ । तुलसीपुरमा १ सय ७० रहेको छ । अन्य शहरमा पनि प्रदुषण बढेको छ । यसैबीच, आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरिएको छ ।

दिउँसो र बेलुकीपख तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना छ । केही दिनदेखि पानी नपरे पनि प्रि मनसुनको समय भएकाले दिउँसोपछि मेघगर्जन र चट्याङ भने पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

अहिले खेतबारीमा पाकेको बाली भित्र्याउने र नयाँ बाली लगाउने बेला हो । यतिबेला बिहानदेखि बेलुकासम्म नै किसान खेतबारीमा व्यस्त हुने गरेका छन् । मौसमविद्ले मेघगर्जन र चट्याङ परेका बेला खेतबारीमा काम नगर्न र नजान सुझाव दिएका छन् ।