१५ जेष्ठ २०७९, आईतवार १०:२३ – Page 5 – Nagarikabhiyan : National News

गणतन्त्र दिवस मूल समारोहमा सरिक भइन् राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी १५औँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सरिक भएकी छन्।

गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित शुभारम्भ भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थियो । समारोहमा ‘मेरो टोपी कैलाशको शीरजस्तो..’, बनेको छ पहराले यो छाती मेरो..’ र ‘धेरै छ गर्न स्वदेशको सेवा नेपाली भन्नलाई..’ बोलका गीत सङ्गीत गुञ्जिएका थिए । प्रतिकूल मौसमका कारण यसवर्ष विविध जाजातिगत झाँकी र प्रदर्शनी भने राखिएको थिएन ।

जनताको बलिदानीपूर्ण सङ्घर्षको फलस्वरुप २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य भई गणतन्त्रको घोषणा भएको थियो ।

बलाहामा सामूहिक हनुमान चालिसा पाठ

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई असल र सुशासनमैत्री काम गर्नका लागि सामुहिक रूपमा हनुमान चालिसा पाठ गराइएको छ । इनरुवा ५ बलाहाको स्थानीय शर्वेश्वर शिव मन्दिरमा शुभारम्भ मासिकको तर्फबाट सामूहिक रूपमा हनुमान चालिसा पाठ गर्दै असल, जनमैत्री र सुशासनमैत्री काम गर्नका लागि शुभकामना दिएको छ । मन्दिरका पूर्व अध्यक्ष लेखनाथ पोखरेल, सह प्राध्यापक तथा कार्यक्रमका अध्यक्ष भगतप्रसाद भण्डारी, धार्मिक समाजसेवीहरु जेष्ठ नागरिक तथा इनरुवाका मेयर एवम् नेपाली काङ्ग्रेस सुनसरी सभापति केदार भण्डारीकी आमा धर्मशिला भण्डारी, समाजसेवी जेष्ठ नागरिक तुलसी प्रसाद दुलाल, नेकपा एमालेका जिल्ला सदस्य हरि पोखरेल, काङ्ग्रेसका पूर्ववडा सभापति, कलाधर पोखरेल लगायतले रुद्राक्षको माला लगाई सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित वडा अध्यक्ष अनिलकुमार पोखरेलले यस पुण्य मन्दिरमा हनुमान चालिसा वितरण र पाठ गर्दै आफूहरुलाई सम्मान गर्ने शुभारम्भ मासिक प्रति आभार व्यक्त गर्नुभयो । पोखरेलले आफूहरु इमानदारी पूर्वक जनसेवामा लाग्ने र गलत काम नगर्ने भन्दै भ्राष्टाचार नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमका मासिकका अध्यक्ष सहप्राध्यापक भगत भण्डारीले जनप्रतिनिधिहरुलाई जनताको हित र भलाइमा लाग्न र यस मन्दिरको समेत संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य हरि पोखरेलले शुभकामना मन्त्व्य राख्दै धर्म संस्कृतिको सम्मान र संरक्षणमा पनि जनप्रतिनिधिले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । काङ्ग्रेसका वडा सचिब लेखराज निरौलाले पनि निर्वाचित प्रतिनिधिहरुलाई जनसेवाको कम गर्न आग्रह गर्दै बधाई ज्ञापन गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधिहरुले उपस्थित सबैलाई हनुमान चालिसा बितरण गरेका थिए । कार्यक्रम पत्रकार दीपक निरौलाले संचालन गर्नुभयो । इनरुवा –५ मा काङ्ग्रेसबाट अध्यक्षमा अनिलकुमार पोखरेल र सदस्य नवीन दाहाल निर्वाचित भएका थिए भने एमालेबाट यामकुमार श्रेष्ठ,शारदा भट्टराई तथा सिर्जना बिक बिजयी भएका छन् ।

 

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ।

नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक दलको अवस्थाको मूल्याङ्कन भइरहेको छ।

करिब एक वर्षअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको फुटपछि बनेको पाँच दलीय गठबन्धन सरकार स्थानीय तहको निर्वाचनमा पनि सहकार्यका साथ गएको तथा संसद्को ठूलो दल नेकपा ९एमाले०ले एक्लै निर्वाचन जित्ने दाबीका बीच सम्पन्न निर्वाचन परिणाम बढी चर्चित छ।

नेपालको सङ्घीय र प्रादेशिक संसद्को समयावधि पनि आगामी मङ्सिरसम्म रहेको र अबको बढीमा सात महिनामा संसद्कै निर्वाचन हुने भएकाले पनि प्राप्त स्थानीय निर्वाचनको जोड घटाउको चर्चा चुलिएको हो। यस निर्वाचनमा राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट काठमाडौँ महानगरलगायत कतिपय ठूला नगरमा स्वतन्त्र उम्मेदवारको उदयले पनि निर्वाचन परिणामलाई रोचक बनाइदिएको छ।

स्थानीय तह निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनको काम गरी विशेषतः दुई मान्यता स्थापित गर्न खोजेको देखियो। राजधानी काठमाडौँमा अवस्थित नेपालको सबैभन्दा पुरानो र ठूलो महानगरपालिका काठमाडौँ महानगरपालिकामा पहिलो पटक मतदाताले राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र हैसियतका युवा बालेन्द्रनारायण साहलाई विजयी गराएका छन्।

यो मतदाताले स्थापित गर्न खोजेको युवा नेतृत्व मात्र नभएर देशका ठूला राजनीतिक दलका विगतका महानगरका नेतृत्वले दिन नसकेका परिणामको नतिजा हो। काठमाडौँ महानगरसँगै जोडिएको ललितपुर महानगरपालिकामा भने मतदाताले ६५ वर्षीय चिरिबाबु महर्जनलाई पुनः चुनेका छन्। राजधानी बाहिर धरान र धनगढी उपमहानगरपालिकामा पनि मतदाताले परम्परागत दल बाहिरबाटै युवा नेतृत्वको चयन गरेका छन्। यसरी सम्पन्न स्थानीय निर्वाचनमा मतदाताले दलभन्दा पनि कामलाई प्राथमिकता दिएको सन्देशका रुपमा लिन सकिन्छ।

हालसम्म प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलो स्थानमा छ। कांग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ। कांग्रेसबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएका छन्।

यस्तै नेकपा (एमाले) बाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र)बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

विसं २०७४ मा तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट १४० प्रमुख, ११० उपप्रमुख, १८८ अध्यक्ष, १९० उपाध्यक्ष, दुई हजार ६६१ वडाध्यक्ष, दुई हजार ६०० महिला सदस्य, दुई हजार ५४७ दलित महिला र वडा सदस्य पाँच हजार ३०१ निर्वाचित भएका छन्। एमालेबाट ८२ प्रमुख, ११३ उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, दुई हजार १२७ वडाध्यक्ष, दुई हजार ३४० महिला सदस्य, दुई हजार २८५ दलित महिला सदस्य र चार हजार ६७६ वडा सदस्य निर्वाचित भएका छन्।

कूल निर्वाचित जनप्रतिनिधिका आधारमा माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादीबाट नगर प्रमुखमा २५, उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा एक हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्य ९७३ र वडा सदस्यमा एक हजार ८०६ निर्वाचित भएका छन्।

नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चार हजार ३४८ निर्वाचित भएको आयोगले जनाएको छ।

यस्तै ६ महानगरका प्रमुख र उपप्रमुख, ११ उपमहानगरका प्रमुख र उपप्रमुख, २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ वडा सदस्य गरी कूल ३५ हजार २२१ पदका लागि निर्वाचन भएको थियो। निर्वाचनमा करिब एक लाख ४५ हजारले उम्मेदवारी दिएका थिए।  रासस

ओलीलाई मिनेन्द्र रिजालको सुझाव : हार स्वीकार्नुस् र अर्को चुनावको तयारी गर्नुुस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा। मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनावमा प्राप्त परिणाम अनुसार हार स्वीकार गरेर अर्को चुनावको तयारी गर्न सुझाव दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्त दुई घण्टा लाग्यो, त्यसमाथिको टिप्पणी गर्न प्रमुख प्रतिपक्षी दलको नेताले तीन घण्टा लगाउनुभयो ।’

तीन घण्टा लगाएर प्रमुख विपक्षी दलको नेताओलीले दिएका अभिव्यक्तिहरुमाथि नेता रिजालले पनि टिप्पणी गरे ।

‘सिट संख्यामा हारे पनि लोकप्रिय मत बढी छ भन्नुभयो । चुनावका बेला कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न नसक्ने भएर अरुसँग लाग्यो भन्नुभयो’ ओलीलाई रिजालले जवाफ दिए, ‘अघिल्लो चुनावमा हामीले त्यसै भनिदिएको भए हुन्थ्यो सय सिटमा पनि लड्न नसक्ने एमाले भनेर । माओवादीको बुई चढेर चुनाव लड्न आएको छ भनिदिएको भए हुन्थ्यो भनेनौं हामीले ।’

गत प्रतिनिधिसभाको चुनावमा कांग्रेसले ३५।७ प्रतिशत र एमालेले ३०।७ प्रतिशत मात्रै मत पाएको भएपनि आफूहरुले कांग्रेसले लोकप्रिय मत पाएको भन्दै नहिँडेको रिजालले बताए ।

‘त्यसबेला कहाँ गयो एमाले रु कता खोज्ने एमाले भनिदिएको भए हुन्थ्यो भनेनौं । हामीले भन्यौं, हामीले त्यति मत ल्याएको भए पनि २३ सिट मात्रै जित्यौं । एमालेले ८० सिट जित्यो । बाम गठबन्धनले ११६ सिट जित्यो । सरकार बन्यो टिकाउन सक्नुभएन हामीले गरेर हो त रु’ रिजालले प्रश्न गरे ।

उनले थपे, ‘जसको बुई चढेर चुनावमा सफलता प्राप्त गर्नुभयो उनलाई सम्मान गर्न नसकेपछि के को सरकार टिक्थ्यो रु आफ्नै पार्टी टिकाउन सक्नुभएन । अनि हामीलाई भन्नुहुन्छ रु त्यो हामीलाई भनिराख्नु परेन ।’

रिजालले एमालेलाई कुण्ठा नपोख्न पनि आग्रह गरे । भन्छन्, ‘कमसकेम आफ्नो अनुहार, आफ्नो रुप हेरे हुन्छ । किन कुण्ठा हामीसँग पोख्ने रु हाम्रा कारणले केही पनि भएको होइन । कुण्ठा नपोख्नुस् ।’

अब हार स्वीकारेर अर्को चुनावको तयारी गर्न ओलीलाई रिजालको सुझाव छ । ‘यसपालिको हारलाई स्वीकार गर्नुस् अनि आउने चुनावको तयारी सजिलो हुन्छ । यति भन्नैपर्छ’ उनले भने ।

एमालेले लोकप्रिय मत ल्याएको तर्फ संकेत गर्दै ओलीले भने, ‘उहाँले जे भने पनि कांग्रेसले ३२८ पालिकाको नेतृत्व गर्छ अझै केहीको परिणाम आउन बाँकी छ । कांग्रेसले दुई हजार ६५८ वडाको नेतृत्व गर्छ । त्यसबाट तपाईंलाई अलिकति दुख भएकै होला ।’

मतकै हिसाब गरे पनि एमालेले भन्दा कांग्रेसले बढी मत पाएको रिजालले बताए । वडा अध्यक्षले पाएको मतलाई केलाउँदा कांग्रेसले ३४।३ प्रतिशत मत पाएको र एमालेले ३३ प्रतिशत मत पाएको उल्लेख गर्दै उनले थपे, ‘हारे पनि खुट्टो माथि नै छ भन्न खोजेको हो भने केही छैन ।’

अध्यक्ष ओलीले एमालेले लोकप्रिय मतको लामो कथा सुनाएको भन्दै उनले २०१५ सालयताका चुनावमा कसले कति मत ल्याए भनेर तथ्याङ्क नै प्रस्तुत गरे ।

‘२०१६ सालमा काग्रेसको ३७।२ र कम्युनिस्टको ७।२, ०४८ सालका कांग्रेसको ३९।५ थियो एमालेको २९।३, ०५१ मा कांग्रेस ठूलो पार्टी थिएन तर, कांग्रेसको मत ३४।५ थियो, एमालेको मत ३१।९ थियो’ नेता रिजालले भने ।

२०५६ को चुनावमा कांग्रेसले ३७।२, एमालेले ३१।६, ०६४ को चुनावमा कांग्रेसले २२।७ थियो, एमालले २१।४ मत ल्याएको भन्दै उनले भने, ‘०६४ को चुनावमा माओवादीको हाम्रो भन्दा बढी थियो ।’ २०७० को चुनावमा कांग्रेसले २९।८ र एमालेले २७।६ मत पाएको उल्लेख गर्दै रिजालले भने, ‘इतिहासको कुन कालखण्डमा लोकप्रिय मत प्राप्त गरेको भनेको हो रु’

नेपालको कुनै पनि निर्वाचनमा एमालेले लोकप्रिय मत नपाएको रिजालले दावी गरे । उनले ओलीलाई सुझाव दिए, ‘टर्च बालेर पनि देखिन्न । बरु प्रयत्न गर्नुस् आउने चुनावका लागि ।’

एमाले अध्यक्ष ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने नेताहरुलाई अपमान गरेको भन्दै रिजालले रोष प्रकट गरे । ‘आत्मअभिमानको बाटोबाट लोकतन्त्र बलियो हुँदैन, कमजोर हुन्छ’ रिजालले भने, ‘लामो इतिहास हेर्नुपर्दैन गएको चार बर्ष नेपालले जे बोहोर्‍यो त्यसबाट राम्रोसँग बुझ्न सकिन्छ ।’

बिपी कोइरालालाई नेपाल ताराको तक्मा कुन सरकारले सिफारिस गरेको थियो रु सम्झन ओलीलाई आग्रह गर्दै रिजालले भने, ‘हिजो नेपाल ताराको तक्मा सिफारिस गर्नुभयो । आज विपीका बारेमा यो लवज बोल्दाखेरि मनमा अलिकति पनि ग्लानी महसुस हुँदैन रु’

नेपालमा थप १२ जनामा कोरोना पुष्टि, १३ जना निको भए

काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३८७ मा कोरोना परीक्षण गर्दा १२ जनामा मात्र सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १२४ रहेको छ । विगत २४ घण्टामा १३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३७ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३० जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ । नेपालमा प्रति दश लाखमा ३९३.४ को निधन भएको छ । आज ६६ हजार १८१ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

अहिलेसम्म होम आइसोलेसनमा १२३, संस्थागत आइसोलेसनमा एक र सघन उपचार कक्ष (आईसीयू)मा एक जनाको उपचार भइरहेको छ ।

भरतपुर महानगरकी मेयर रेणु दाहाल सवारी दुर्घटनामा घाइते

काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) मा नवनिर्वाचित रेणु दाहाल सवारी दुर्घटनामा घाइते भएकी छन् ।

शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै उनी सवार गाडी पोलमा ठोक्किएर दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकी मेयर दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको बताइएको छ ।

जघन्य अपराधका दोषीलाई कानूनी दायरामा ल्याउन सुरक्षा संयन्त्रलाई चुस्तदूरुस्त बनाइएको छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानूनको तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बलात्कारलगायतका जघन्य अपराधका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेको बेला गृहमन्त्री खाँणको यस्तो भनाइ बाहिर आएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गरिरहेको पनि बताए ।

त्यस अवसरमा गृहमन्त्री खाँणले राष्ट्रिय मानव अधिकार आयोगका सबै सिफारिसहरु कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए । मानव अधिकारको पूर्ण प्रत्याभूतिका लागि कानुनी शासन र लोकतन्त्रको सुदृढीकरणमा जोड दिन पनि सरकारवाला सबैलाई प्रतिवद्ध हुन पनि उनले आह्वान गरे ।

उनले भने, ‘आयोगले गरेको सिफारिसहरुको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ । यस कार्यका लागि नेपाल सरकारले कार्यदल समेत बनाएको छ । बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन सुरक्षा संयन्त्रलाई चुस्तदूरुस्त बनाइएको छ । त्यस्तो घटना हुनै नदिन आवश्यक कानुनको तर्जुमा गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी गराउन चाहन्छु ।’

उनले फेरि भने, ‘महिला तथा बालबालिकालाई हिंसा तथा अपराधिक घटनाबाट संरक्षण गर्न सरकारका निकायहरु सक्रियका साथ काम गर्ने विश्वास व्यक्त गर्न चाहन्छु । अपराधमुक्त समाज निर्माण गर्न नागरिक समाज, सामाजिक संघसंस्था, राजनीतिक दल, मानव अधिकारकर्मीहरुको सहयोगको अपेक्षा सरकारले गरेको छ । लोकतन्त्र, मानव अधिकार, कानुनी शासन एक अर्काका परिपुरक हुन् । कानूनी शासनको अवलम्बन र लोकतन्त्रको सुदृढीकरणले मात्रै मानव अधिकारको प्रत्याभूति हुने भएकाले सोको अवलम्बनमा सरकार र सरकारवाला सबैको प्रतिवद्धता आवश्यक रहेको छ ।’

गृहमन्त्री खाँणले राष्ट्रिय मानव अधिकार आयोगको स्वयत्तता र स्वतन्त्रलाई आँच नआउन नदिन सरकार प्रतिवद्ध रहेको बताए । त्यसका लागि सरकारले आवश्यक कानुन परिमार्जन गर्न संसदमा विधेयक पेश गरेको उनले बताए । त्यस्तै गृहमन्त्री खाँणले भूकम्पबाट क्षेतिग्रस्त आयोगको केन्द्रीय कार्यालय भवन पुनर्निर्माणको कामलाई सरकारले छिट्टै अघि बढाउने आश्वासन समेत दिए ।

उनले भने, ‘आयोगको स्वायत्तता र स्वतन्त्रतालाई कतैबाट पनि आँच आउन नदिन नेपाल सरकार प्रतिवद्ध छ । नेपाल सरकारले आयोगलाई आवश्यक सहयोग तथा स्रोत उपलब्ध गराउँदै आइरहेको छ । २०७२ सालको भूकम्पबाट क्षेतिग्रस्त आयोगको भवनलाई पुनर्निर्माण गर्ने कार्यमा सरकारले शीघ्र ध्यान दिनेछ । आयोगको स्वायत्तता र स्वतन्त्रतालाई समेत केन्द्रित गरेर आयोगको ऐन संशोधनलाई सरकारले सरकारले प्राथमिकतामा राखेर संसदमा पेश गरेको छ ।’

उनले थपे, ‘त्यसलाई छिट्टै पारित गरिनेछ । द्वन्द्वकालीन घटनाका पीडितको न्याय प्राप्तीमा नेपाल सरकार प्रतिवद्ध रहेकाले संक्रमणकालीन न्यायमार्फत् छिट्टै पीडित परिवारलाई समेत न्यायको अनुभूति हुने गरी यो कार्यलाई निष्कर्षमा पु¥याइनेछ । मानव बेचबिखनको सम्बोधन गर्न आयोग र नागरिक समाजले चालेका कदमको म खुलेर प्रशंसा गर्न चाहन्छु ।’

गृहमन्त्री खाँणले नेपालमा मानव बेचविखन हुन नदिन राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजले खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन् ।

शहीदका परिवार, घाइते र अपाङ्गताका बारेमा नीति तथा कार्यक्रम माैन

काठमाडाैँ । राष्ट्रियसभाका सदस्यले मुलुकलाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पुर्याउने महान् शहीद तथा घाइते अपाङ्गताका सम्बन्धमा नीति तथा कार्यक्रममा समावेश नगरिएको भन्दै टिप्पणी गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद महेशकुमार बोहराले संविधानको मर्मअनुरुप समाजवाद राज्य व्यवस्था उन्मुख नीति तथा कार्यक्रम हुन नसकेको टिप्पणी गर्दै कृषिसम्बन्धी मलखादका बारेमा सही समाधानको बाटो खोज्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुन नसकेको बताउनुभयो । उहाँले मुलुकलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान पुर्याउने महान् शहीद तथा घाइते अपाङ्गता भएकाका बारे नीति तथा कार्यक्रम बोल्न नसकेको उल्लेख गर्नुभयो ।

सांसद हीरादेवी गौतमले कृषकले सहज र समयमै मल पाउन नससकेको अवस्थामा नीति तथा कार्यक्रमले ठोस कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्दै गरीब तथा विपन्न परिवारप्रति वर्तमान सरकार गम्भीर हुन नसकेको बताउनुभयो । सांसद सिन्धुबहादुर विश्वकर्माले नीति तथा कार्यक्रमले तल्लो तहका जनसमुदायलाई सम्बोधन गरेको भन्दै सरकारले महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा उत्पीडित समुदाय, वैदेशिक रोजगारीलगायतका विषयलाई समेटेर नीति तथा कार्यक्रम ल्याउनु सकारात्मक भएको टिप्पणी गर्नुभयो ।

सांसद वीना पोखरेलले नीति तथा कार्यक्रममा समावेशी सबै विषयलाई बजेटले समेट्न सक्नुपर्ने बताउनुभयो । सांसद शारदादेवी भट्टले मुलुकमा व्याप्त महिला हिंसा अन्त्यका निम्ति नीति तथा कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्नुभयो । सांसद राजेन्द्रलक्ष्मी गैरेले खानेपानी, नालीको व्यवस्था, बाटोको व्यवस्थासहितको सहरी बस्ती निर्माण हुनुपर्ने बताउनुभयो । आमाको नामबाट नागरिकता प्राप्त गर्ने विषयलाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र आजका लागि तोकिएको थियो ।

बढ्यो सुनको मूल्य

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको उक्त सुन आज प्रतितोला रु २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १०ले बढेर रु एक हजार २८० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५३ डलर आसपास कारोबार भइरहेको छ ।

श्रीलङ्काका राष्ट्रपतिद्वारा आर्थिक सङ्कट समाधान गर्न अन्तरराष्ट्रिय सहयोगका निम्ति आह्वान

देश गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार अन्तरराष्ट्रिय समुदायलाई श्रीलङ्कालाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्न मद्दत गर्न आह्वान गर्नुभएको छ।

‘हामी अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका छौं जसले सबै श्रीलङ्कालीहरूको जीवनमा गहिरो प्रभाव पारेको छ जसको परिणामस्वरूप सामाजिक असमानता उत्पन्न भएको छ। हामीलाई तुरुन्तै अन्तरराष्ट्रिय समुदायबाट सहयोगको आवश्यकता छ र म श्रीलङ्काका अन्य साथीहरूलाई पनि यो कठिन समयमा मेरो देशलाई समर्थन र ऐक्यबद्धताका निम्ति अपील गर्दछु,’ राजापाक्षेले २७ औं अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभयो।

जापानको टोकियोमा भिडियोमार्फत आयोजित फ्युचर अफ एसिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सो कुरा उल्लेख गर्नुभएको डेली मिररले जनाएको छ ।

चरम आर्थिक समस्याका बीच श्रीलङ्काले हालै करिब ५१ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण चुक्ता गरेको छ। साथै गलत आर्थिक नीतिहरूले देशले पर्याप्त इन्धन किन्न नसक्ने र खाद्यान्न एवं अन्य आधारभूत आवश्यकताहरू जस्तै खान पाकाउने इन्धन र ग्यासको चरम अभावको सामना गर्नुपरेको छ।

‘कोभिड – १९ बाट पर्यटन उद्योगमा परेको असर र अन्य कारण विदेशी कामदारहरूको भित्री रेमिट्यान्समा तीव्र गिरावट र श्रीलङ्काको उच्च ऋण दायित्वहरूसँग मिलेर अन्य घटनाहरूको कारणले बढ्दो मुद्रास्फीतिले गम्भीर वित्तीय सङ्कट निम्त्याएको छ । भविष्यमा विश्वले सामना गर्ने अझ व्यापक समस्या भनेको खाद्य सुरक्षासँग सम्बन्धित छ। आगामी महिनाहरूमा खाद्यान्नको अभाव र खाद्यान्नको मूल्यमा भएको तीव्र वृद्धिले धेरै देशहरूमा ठूलो दबाब दिनेछ,’ डेली मिररले राष्ट्रपतिलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

राष्ट्रपतिले युक्रेन–रुस द्वन्द्वले कोभिड–१९ को महामारीपछि पीडित मुलुकमा सङ्कट थपिएको भन्दै त्यस्ता जोखिममा परेका राष्ट्रहरूलाई सहयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले मुलुकमा देखिएको सङ्कटलाई समाधान गर्नका निम्ति राष्ट्रहरूबीचको सहकार्य बढाउनुपर्नेमा पनि विशेष जोड दिनुभएको छ ।

‘श्रीलङ्काले सामना गरिरहेको गम्भीर कठिनाइहरू कोभिड – १९ महामारीको प्रभावहरूको प्रारम्भिक सङ्केत हो । त्यस्तै युरोपमा जारी द्वन्द्वले अन्य कमजोर राष्ट्रहरूलाई क्षेत्रीय र विश्वव्यापीरूपमा पनि असर गर्न सक्छ ।’ उहाँले भन्नुभयो ।

राष्ट्रपतिले यस जटिल समस्यामा ध्यान दिनुपर्ने र कृषि उत्पादनलाई स्थानीय तहमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले देशवासीलाई यस्ता विकराल समस्याको सामना गर्ने उपाय खोज्न पनि आग्रह गर्नुभएको छ ।

‘जापान श्रीलङ्काको प्रमुख विकास साझेदारहरू मध्ये एक हो र हामी आशा गर्छौं अहिले जापानबाट कोष जुटाउने सम्बन्धमा भइरहेको वार्ता छिट्टै टुङ्गिनेछ र हामीले हाम्रो अर्थतन्त्र र हाम्रो राष्ट्रलाई स्थिर बनाउन प्रयास गर्नेछौं,’ डेली मिररले राजापाक्षेलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

खाद्यान्न र इन्धनको अभाव बढ्दो मूल्य र बिजुली कटौतीका कारण श्रीलङ्काले स्वतन्त्रता पछि यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।

अर्थतन्त्र राम्रो अवस्थामा नभएकाले अन्तरराष्ट्रिय ब्याजदर बढ्ने उच्च जोखिम रहेको प्रष्ट देखिन्छ ।

अहिले अन्तरराष्ट्रिय खाद्यान्नको मूल्य बढ्ने खतरा पनि उत्तिकै टड्कारो छ ।

काठमाडौंकी उपमेयर डंगोल भन्छिन् – जनताको शासक होइन सेवक बन्न तत्पर छु

काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

विजय र्‍याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उनले भनिन्, ‘जनताको शासक होइन, सेवक बन्न तत्पर छु । सेवक बन्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ।’

जितहारको मानसिकताभन्दा माथि उठेर काठमाडौं महानगरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने कार्यमा लाग्ने बताइन् । ‘जीवन्त राजधानी सहर बनाउने हो । हामीले सोंचेकै जस्तो कान्तिपुरी नगरि बनाउने हो’ डंगोलले भनिन्,’त्यसका लागि जनप्रतिनिधि र कर्मचारी एक ढिक्का भएर लाग्न जरुरी छ । जितहारको मानसिकतालाई रिजल्टसँगै त्याग्नुपर्दछ ।’

युवाहरू सिर्जनात्मक कार्यमा लाग्नुपर्ने डंगोलको जिकिर छ । खुट्टा तान्ने प्रवृत्तिमा नलाग्न सुझाव दिंदै युवाहरूलाई उनलाई आग्रह गरिन्, ‘एक अर्कालाई खुट्टा तान्ने र आलोचना गर्नेमा हाम्रो इनर्जी खर्च गर्नहुँदैन । क्रियटिभ र इनोभेटिभ काममा लाग्नुपर्दछ । युवाले राजनीतिमा लाग्नु हुँदैन भन्ने मानसिकता नराखेर युवा अघि बढेकाले आशाको दीप बढेको छ । यो दीपलाई कदापी मर्न दिने छैनौं ।’

यौन दुर्व्यवहार गरेको आरोपमा अर्का एक सुन्दरी प्रतियोगिताका सञ्चालक पक्राउ

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा अर्का एक सुन्दरी प्रतियोगिताका संचालक पक्राउ परेका छन् ।

झापामा सुन्दरी प्रतियोगिता जिताउने प्रलोभन देखाएर किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘मिस्टर एन्ड मिस कलेज २०२२’ को आयोजक संस्था शंकर आट्र्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकर पक्राउ परेका हुन् ।

दमक घर भएकी १७ वर्षीया किशोरीको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले फेसबुक म्यासेन्जर तथा ह्वाट्स एपमार्फत आफूसँग नजिक भएमा प्रतियोगिता जिताइदिने भन्दै यौन दुर्व्यवहार गरेको किशोरीको आरोप छ ।

इलाका प्रहरी कार्यालयमा किशोरीले वैशाख २८ मा उजुरी दिइएकी थिइन् । प्रहरीले भने चुनावी चहलपहलमा व्यस्त भएको भन्दै तीन दिनअघि मात्र उनलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी शंकरमाथि बाल यौन दुरूपयोग कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

शैक्षिक सत्र सुरु भयो, पाठ्यपुस्तक छैन

उदयपुर । समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ ।

नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नक्दा पठनपाठनमा समस्या भएको हो । बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका छन् ।

जिल्लाको उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ताको पर्शुरामपद्मा माविका कक्षा १० मा अध्ययनत छात्र सुरेन्द्र राईले पढ्ने पुस्तक नभएको गुनासो गर्नुभयो । जिल्ला सदरमुकाम गाईघाटमा पुस्तक लिन आउनुभएका उहाँले भन्नुभयो, “विद्यालयमा पठनपाठन सुरु भइसक्यो । पुस्तक लिन गाईघाट आएँ । तर कहीँ पाइएन । रित्तै घर फर्कँदैछु ।”

रौतामाई गाउँपालिका–४ मलबासेका ५५ वर्षीय जीतबहादुर मङ्ग्राती आफ्ना छोराहरूका लागि पुस्तक नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यसपटक समयमै स्कुल त खुल्यो, अहिलेसम्म किताब छैन । कसरी पढाउने, चिन्ता लाग्न थालेको छ ।” अहिले जिल्लाका सरकारी र अधिकांश निजी विद्यालयमा पुस्तक अभाव रहेको शिक्षकले जनाएका छन् ।

जिल्लाका केही निजी विद्यालयमा भने ६० प्रतिशत पाठ्यपुस्तक उपलब्ध भइसकेको भए पनि सरकारी विद्यालयमा भने पाठ्यपुस्तक प्राप्त गर्न नसकेको शिक्षक तथा विद्यार्थीको गुनासो छ ।

बालमन्दिर मावि गाईघाट बोक्सेका प्राचार्य जङ्गबहादुर खड्का भन्नुभयो, “नयाँ शैक्षिकसत्र सुरु भयो । स्थानीय तहको निर्वाचनका कारण केही दिन विद्यालय बन्द भए । अब सञ्चालन हुन थालेका छन् । विद्यालयमा पाठ्यपुस्तक प्राप्त हुन नकसकेको कारण पठनपाठनमा समस्या भएको छ ।”

पुस्तक पसल सञ्चालक विष्णु न्यौपानेले भन्नुभयो, “आफूहरूले त चैतदेखि नै काठमाडौँका पुस्तक प्रकाशक र डिलरहरूसँग पुस्तक मगाए पनि कतिपय पुस्तक अझै प्रकाशन हुन बाँकी रहेको भन्ने उत्तर पाएको कारण अझै पुस्तक उपलब्ध हुन दुई÷चार हप्ता लाग्न सक्छ ।”

बाग्लुङमा आगलागी हुँदा घर जल्यो

बलेवा । बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

गए राति विद्युत् सर्ट हुँदा भएको आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ ।

रातको समयमा एक्कासी आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताउनुभयो ।

राति ९ बजेदेखि सुरु भएको आगलागी १ बजेमात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीलगत्तै प्रहरीलाई खबर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयवासीको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।

आगलागीबाट घर पूर्णरूपमा जलेको छ भने ग्यास सिलिन्डर पड्किँदा छिमेकका केही घरमा समेत आगो पुगेको थियो । घर जलेर भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रनाउ रानाले बताउनुभयो ।

अमेरिकाको उच्चस्तरिय भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यही असारमा अमेरिको उच्चस्तरिय भ्रमण गर्ने भएका छन् । सो अनुसार प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको तयारी थालेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण असारको अन्त्यतिर हुनेछ । विषेशत नेपाल–अमेरिका सम्बन्धको ७५ वर्षको अवसरमा दुवै पक्षको सहमतिअनुसार देउवाको भ्रमण हुन लागेको हो ।

प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप प्रधानसेनापति प्रभुराम शर्मा असारको पहिलो सातामै अमेरिका जानेछन् ।

देउवा नेतृत्वको सरकारले आगामी प्रदेश र संघको निर्वाचन पनि चाँडै गर्नुपर्ने भएकाले प्रधानमन्त्रीको भ्रमण छिटै हुन लागेको वालुवाटार स्रोतले जनाएको छ ।

नेपाल र अमेरिकाबीचको कुटनीतिक इतिहाँसमा राजा महेन्द्र शाहले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा), राजा वीरेन्द्र शाहले एक पटक (सन् १९८३ मा) राजकीय भ्रमण गरेका थिए ।

त्यस्तै नेपालबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखका रूपमा देउवाले नै २०५९ देउवाले अमेरिकाको औपचारिक भ्रमण गरेका हुन् ।

यसबीचमा अमेरिकी पूर्वराष्ट्रपतिहरुले पनि छिटफुट रुपमा नेपालको भ्रमण गरेका थिए ।

नेपालको सरकार प्रमुखको यो भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने कुटनीतिज्ञहरुको दावी छ ।

झापाका दुई स्वतन्त्र उम्मेदवारको मत शून्य

झापा । स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्रतर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र पाएका छन् ।

त्यस्तै शिवसताक्षी योगमणि अधिकारी ९स्वतन्त्र०ले चार मत, गौरादह राधिका धमला ९स्वतन्त्र०ले सात मत, बिर्तामोड अञ्चल धिमाल ९नेपाल लोकतान्त्रिक पार्टी०ले छ मत, कमलका नारायणप्रसाद रिजाल ९मौलिक जरोकिलो पार्टी०ले आठ मत, दमकका देउकुमार राई ९किराँत खम्बूवान साझा पार्टी०ले नौ मत, दमकका कृष्ण राया ९लोकतान्त्रिक समाजवादी पार्टी नेपाल०ले छ मत, दमकका नेत्रजङ्ग थापा ९स्वतन्त्र०ले छ मत, दमकका नीलकण्ठ सापकोटा ९स्वतन्त्र० पाँच मत र दमककै कृष्ण खनाल ९स्वतन्त्र०ले तीन मत पाएका छन् ।

त्यस्तै गौरीगञ्ज–२ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गणेशबहादुर कार्की र शिवसताक्षी–७ बाट राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर लिम्बूले एक–एक मत पाउनुभएको छ ।

जिल्लामा ९६१उम्मेदवारको जमानत जफत भएको छ । जिल्लामा विभिन्न पदमा गरी दुई हजार ७८६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । तीमध्ये प्रमुख–अध्यक्षमा ८३, उपप्रमुख–उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ र महिला, दलित, खुला सदस्य गरी ५३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिनुभयो ।