१८ चैत्र २०७८, शुक्रबार १५:२७ – Page 8 – Nagarikabhiyan : National News

खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू भारत गएका कारण नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ को उपधारा ९१३० बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन् ।

 

देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्ने नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

पार्टीलाई कमजोर बनाउनेहरु बाहिरिंदा राम्रो : प्रकाशमान

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरु पार्टीमा बस्नुभन्दा बाहिरिंदा राम्रो हुने बताएका छन् ।

आज नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै निर्णय नमान्नेहरुलाई पार्टी छाड्न भनेका हुन् । चुनावमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्ट नेता–कार्यकर्ताहरुलाई लक्षित गर्दै उनले सो धारणा राखेका हुन् ।

 

कांग्रेस केन्द्रीय समिति बैठकले आगामी चुनावमा गठबन्धन गर्ने निर्णय गरे पनि शेखर कोइराला पक्षका केही नेताहरुले गठबन्धन गर्न नहुने बताउँदै आएका छन् ।

कार्यक्रममा नेता सिंहले यसपटक चुनावमा कांग्रेसका नेता–कार्यकर्ताको गतिविधिको एक–एक हिसाब हुने समेत बताए ।

 

विगतका निर्वाचनमा पनि अन्तरघात हुने गरेको थियो । अन्तरघात गर्नेहरुलाई कांग्रेसले कारबाहीसमेत गरेको थियो ।

 

 

 

प्रधानमन्त्रीको भ्रमणले नेपाल भारत सम्बन्ध अझ उचाइमा पुग्छ : सरकारका प्रवक्ता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबिचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने दाबी गरेका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार भएको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीनदिने भारत भ्रमणले नेपाल र भारतबिचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पुर्‍याएर मुलुकको हित गर्ने बताए ।

 

‘मुलरुपमा नेपाल र भारतको बिचमा सदिऔँदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पु¥याएर मुलुकको हितमा यो भ्रमण केन्द्रीत रहने कुरा म यहाँहरुमार्फत् निवेदन गर्न चाहान्छु’, उनले भने ।

तीनदिने भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान गरिसकेका छन् ।

१४ अर्ब २७ करोड ५० लाख बराबरको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवम् व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख बराबरको लगानी स्वीकृत गरेको छ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५० औं बैठकले लगानी स्वीकृत गरेको हो । सूर्यतारा सिमेन्ट उद्योग सुर्खेतको पञ्चपुरमी स्थापना हुने छ ।

 

यस्तै बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि ‘डीआईएजी इन्डस्ट्रिज जीएमबीएच जर्मनीलाई अनुमतिपत्र दिने निर्णय पनि गरेको छ ।

बैठकले तल्लो अरुण जलविद्युत परियोजना ९६ट९मेवा० का सम्बन्धमा प्रस्तावक कम्पनीले पेश गरेको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेको छ । यस्तै माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थप सम्बन्धी विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनको आधारमा विकासकर्तासँग वार्ता गरी समझदारीको निमित्त बोर्ड बैठकमा पेश गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

 

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास तथा लगानीको ढाँचा र अरुण ३ जलविद्युत परियोजनाबाट प्राप्त हुने निस्शुल्क ऊर्जा विक्री तथा सो बाहेकको अतिरिक्त उर्जा खरिद गर्ने विषयमा विस्तृत अध्ययन गरी वोर्डसमक्ष प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा दुई छुट्टा छुट्टै अध्ययन समिति गठन गरेको छ ।

बैठकले लगानी बोर्ड कोष स्थापना सम्बन्धी तथा सार्वजनिक निजी साझेदारी अवधारणाको डिजाइन(निर्माण(वीत्त(सञ्चालन र मर्मत डीबीएफओएम मोडलको अवधारणापत्र स्वीकृत गरी सो सम्बन्धी आवश्यक कानूनी तथा संस्थागत व्यवस्थाका लागि लगानी बोर्डको कार्यालय तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

लगानी बोर्डको कार्यालयको संस्थागत सुधारका लागि बोर्डले इन्टर्न भर्ना सञ्चालन एवम् नियमन सम्बन्धी मापदण्ड स्वीकृत गरेको र विशेषज्ञ समिति वा कार्यदल गठन तथा विशेषज्ञ नियुक्ति र पारिश्रमिक एवं सुविधा सम्बन्धी मापदण्ड अर्थ मन्त्रालयको राय सहमति समावेश गर्ने गरी स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण : आज विदेशमन्त्री जयशंकरले भेट्ने, भाजपा कार्यालय पनि जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि आज दिउँसो भारत जाँदै छन् । चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै देउवा भारत जान लागेका हुन् ।

उनी भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

 

त्यसपछि उनी चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा पुग्नेछन् । देउवाको बस्ने व्यवस्था यही होटलमा मिलाइएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले भारत भ्रमण गर्ने बेलामा पनि यही होटलमा बसेका थिए ।

भारतीय विदेशमन्त्रीसँग आजै भेटवार्ता, भाजपा कार्यालय पनि जाने

 

देउवाको पहिलो भेट भारतीय विदेशमन्त्री एस जयशंकरसँग हुने छ । विदेशमन्त्री जयशंकर देउवालाई भेट्न अपराह्न साढे चार बजे मौर्य होटलमा पुग्ने छन् । त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा०को केन्द्रीय कार्यालयमा पुग्ने छन् ।

भाजपाका नेताहरुको स्वागतपछि देउवा नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा पुग्नेछन् । दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा देउवा सहभागी हुनेछन् ।

शनिबारको दिन बिहान १०ः४० बजे देउवा महात्मा गान्धीको समाधीस्थल राजघाट पुग्ने छन् । त्यहाँ पुष्पुच्छा अर्पण गरेपछि औपचारिक कार्यक्रममा सहभागी हुन देउवा हैदरावाद हाउस पुग्ने छन् । हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमै नेपाली र भारतीय प्रतिनिधिमण्डलस्तरीय छुट्टै वार्ता पनि हुने छ । शनिबारको दिन दिउँसो सवा १२ बजे जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर विद्युत प्रसारण लाइनको दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यक्रम छ । त्यसैगरी भारतको सहयोगमा निर्माण गरिएका १३२ वटा स्वास्थ्य चौकी भवन पनि नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएपछि देउवाले अपराह्न साढे ४ बजे भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । शनिबारको दिन साँझ होटलमा भारतका उद्योगी व्यवसायीका प्रतिनिधिहरुले देउवालाई भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

आइतबार बिहान ९ बजे विशेष जहाजमार्फत् बनारस जाने छन् । बनारसमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले देउवालाई स्वागत गर्ने छन् ।

बनारसमा रहँदा देउवाले काशी विश्वनाथ मन्दिर र त्यहाँ रहेको पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेछन् । बनारसबाट अपराह्न चार बजे देउवा पुनः दिल्ली जाने र स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

देउवा भाजपाको केन्द्रीय कार्यालयमा जाने र बनारस पुगेर उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेट्ने कार्यक्रमलाई चासोका साथ हेरिएको छ ।

 

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ ।

नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति ओली र राणाबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

 

‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ ।’

स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ । राप्रपाका महामन्त्री डा।राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुन् ।