८ आश्विन २०७८, शुक्रबार १०:३४ – Page 8 – Nagarikabhiyan : National News

वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनुका साथै उनको कार्यकक्षमा आगजनी गरेका थिए ।

आगजनी गरेलगत्तै फरार ती व्यक्तिको प्रहरीले खोजी तीव्र पारेको जनाएको छ । नगरप्रमुख देवकुमार सुवेदीले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष जनतासँग सम्बन्धित कार्यालयमा आगो लगाउने, जनप्रतिनिधि र कर्मचारीको मनोबल गिराउने हर्कत गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्म सजायको माग गरेका छन् ।

नगरपालिकाले कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने कार्यलाई गम्भीर अपराध भन्दै विज्ञप्तिमार्फत घटनाको घोर भर्त्सना गरेको छ ।

राष्ट्रिय सभा बैठक आज बस्दै, बजेटसम्बन्धी दुई विधेयक पेश हुने

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुने कार्यसूची तय भएको छ ।

यी विधेयक प्रतिनिधि सभाबाट बिहीबार पारित भइसकेका छन् । विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ र प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ ।

त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुण विधेयकलगायत विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

देशभर अझै ४५१ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार देशभर हाल ३४० कोरोना संक्रमितको आईसीयूमा र १११ को भेन्टिलेटरमा गरी कुल ४५१ जना उपचाररत छन् । मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा ७३ जना आईसीयूमा र ३१ भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आइसीयूमा र बागमती प्रदेशमा १७३ जना आईसीयूमा र ६४ जना भेन्टिलेटरमा उपचारत छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ३९ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ४५ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै कर्णालीमा ४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ४ जना आईसीयू र ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।

आज २०७८ असाेज ८ गते शुक्रबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ ।

काठमाडौँ उपत्यकामा ४०४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४५ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा १०७ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण

खुल्यो विदेशी पर्यटकहरूका लागि अनअराइभल भिसा

काठमाडौं । विदेशी पर्यटक आगमनका लागि सरकारले अनअराइभल भिसा खुल्ला गरेको छ । सरकारले पर्यटन आगमनका लागि केही लचिलो नीति अबलम्बन गर्दै अब कोभिड विरुद्धको पूर्ण डोज खोप लगाएका र आवश्यक प्रक्रिया पुरा गरेका विदेशी पर्यटकहरूलाई अनअराइभल भिषा उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी विदेशबाट नेपाल आउने नेपाली तथा विदेशीहरुको आवागमनलाई व्यवस्थित गर्न बनेको संक्रमण रोग ऐन, २०२० लाई परिमार्जन गर्दै विदेशी पर्यटकहरुका लागि अनअराइभल भिसा खुल्ला गरेको जनाएको छ ।

अब विदेशी पर्यटकहरूका लागि नेपाल खुल्ला भएको छ । तर, विदेशी पर्यटकहरुले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणसँगै ७२ घण्टा भित्रको कोभिड परीक्षण गरेको रिपोर्ट पेस गर्नुपर्ने हुन्छ । यसका साथै पर्वतारोहण र पदयात्रा लागि आउने पर्यटकले सोको अनुमति र बस्ने होटल बुक गरेको प्रमाणपत्र समेत पेस गर्नुपर्ने सरकारले जनाएको छ ।

चिनियाँ विदेशमन्त्रीद्वारा जी २० बैठकमा अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह

चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका गरेको छ । मन्त्री वाङले (जी २०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति हो र त्यो अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त गरेको छ।

उनले भनको छ, ‘यो विषय राजनीतिक सौदाबाजीको विषय हुन सक्दैन।’ मन्त्री वाङले अफगानिस्तानमा जारी संकटको समाधानका लागि यथाशीघ्र राहत र अन्य मानवीय सहयोग उपलब्ध गराउनु पर्ने बताएको छ। चीनले अफगानिस्तानलाई ३०.८९ मिलियन अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराउन लागेको उनले जानकारी दिएको छ ।

मन्त्री वाङले जी २० का सदस्य राष्ट्रहरूलाई अफगानिस्तानमा जारी संकटलाई छिटै पार लगाउन थप सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । वित्तीय संस्थाहरूले आर्थिक सहयोग उपलब्ध गराई गरिबी निवारण र जीवनस्तर सुधारका निम्ति सहयोग गर्न मन्त्री वाङको आग्रह छ।

मोबाइल चोरीको आरोपमा दुई जना पक्राउ

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन र बाँके डुडुवा गाउँपालिका–७ का ४० वर्षीय मुसा कुरेसी रहेका छन् ।

दिनलाई घटनास्थलबाटै र सो घटनामा संलग्न रहेको आरोपमा कुरेसीलाई खोजतलास गर्दै जाँदा बर्दिया बढैयाताल गाउँपालिका – ३ भोलागौडी बजार नजिकबाट चोरी भएका चार थान मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेलले बताए ।

पक्राउ परेका दुवै जनालाई बर्दिया जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिए ।

उपप्रधानमन्त्री पाए मात्र उपेन्द्र सरकारमा जाने, नत्र अरूलाई पठाउने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपा नेपालले उपप्रधानमन्त्री नपाएमा रेणु यादवको नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको हो ।

“पार्टीको भागमा उपप्रधानमन्त्री मिलेमा अध्यक्ष यादवले नै नेतृत्व गरेर जसपा सरकारमा सहभागी हुनेछ,” सांसद प्रमोद साहले भने, “त्यसो नभए रेणु यादव वा रामसहाय यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने सामान्य छलफल भएको छ ।” उनकाअनुसार देउवा गठबन्धन सरकारमा जसपा नेपालले बढीमा पाँच र कम्तिमा चार मन्त्रालय पाउनेछ ।

“तर, २० प्रतिशतले पार्टी बिभाजन गर्ने अध्यादेश प्रतिस्थापन नभइकन जसपा नेपाल सरकारमा सहभागी भने हुने छैन,” उनले अगाडि भने, “त्यसका लागि प्रतिस्थापन विधेक तुरून्त ल्याउन आग्रह गरिएको छ ।” जसपा नेपालले मन्त्रालय कम भएको अवस्थामा २० प्रतिशत कायम राखेर जाँदा पुनः पार्टी विभाजन हुने खतरा औँल्याउँदै आएको छ ।

सीमामा चेकजाँच नहुँदा कोरोना महामारीको जोखिम बढ्दै

काठमाडौं । नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढेको छ । कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सिमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो ।

प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेपछि त्यसको जोखिम बढने खतरा रहेको बताउनुभयो । उहाँले बजारमा मास्क लगाउने,स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ ।

सीमानाकाहरु खुलेसँगै सहज रुपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढाउने बताउनुभयो । उहाँले सीमामा प्रभावकारी रुपमा हेल्थ डेस्क राखेर मात्रै खोल्दा जोखिम कम हुनसक्ने बताउनुभयो । न्यूज ऐजेन्सी नेपालबाट

नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २.७० अङ्कले बढेर दुई हजार ८१९.६५ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अङ्कले बढेर ५३०.०२ मा उक्लिएको छ । कूल २२८ कम्पनीको एक करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर रु सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ मूल्यमा खरिद बिक्री भए । बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४७ अर्ब १५ करोड सात लाख ९० हजारको हाराहारीमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ ४७.३७ र वित्त ८.२ अङ्कले उकालो लागे ।

केही वाणिज्य बैंकले आव २०७७÷७८ को मुनाफाबाट लाभांश घोषणा गरेका कारण बैंकिङ उपसमूहको शेयर मूल्यमा सुधार देखिएको हो । व्यापार ४५.०७, होटल तथा पर्यटन ९७.२७, विकास बैंक ८०.४४, जलविद्युत् ७१.८, निर्जीवन बीमा ९२.०४, उत्पादन ८०.४, अन्य २१.६१, लघुवित्त ४६.७९, जीवन बीमा ५१.०८, सामूहिक लगानी कोष ०.०६ र लगानी २.१६ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३४ करोड १५ लाख ८३ हजार बराबरको कारोबार भयो । नेपाल बैंक रु २७ करोड १० लाख ७७ हजार १४३, माछापुच्छ्रे बैंक रु २३ करोड ८६ लाख ८८ हजार ६०३, नेशनल हाइड्रोपावर रु २१ करोड ९६ लाख ५० हजार ५०५ र युनाइटेड मोदी हाइड्रोपावरको रु २१ करोड ७७ लाख २३ हजार २७७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । प्राइम लाइफ इन्स्योरेन्स ६.१३, नेपाल बैंक ५.५१, नेपाल बंगलादेश बैंक ५.३०, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ४.०२ प्रतिशतले कमाएका छन् । हिमालयन पावर पार्टनर ५.०९, यूनियन हाइड्रोपावर ५.०५, शिव श्री हाइड्रोपावर ४.६७, अरुण भ्याली हाइड्रोपावर ४.३६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ४.१४ प्रतिशतले गुमाए ।

माओवादी संग मिल्दै नमिल्ने भन्दै माधव नेपालले यसरी दिए सफाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला गलत भएको बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकलाई बानेश्वरको बुद्धनगरमा सम्बोधन गर्दै नेपालले अर्को पार्टीमा मिसिन लागेको भन्ने हल्ला झुटो भएको स्पष्ट पारेका हुन्।

‘हाम्रो पार्टी अर्को पार्टीसँग मिसिन गएको छ भन्ने हजार प्रतिशत गलत छ। जनवर्गीय संगठन फैलिँदै गएको छ। यो पार्टीलाई सशक्त र प्रभावकारी बनाउनुपर्छ। कसैले भ्रम फैलाउन खोज्छ भने भ्रममा नपर्न आग्रह गर्छौ। हामी ५ दलको गठबन्धमा सहभागी छौँ,’ उनले भने।

पाँच दलको सत्ता गठबन्धनमा कुनै विवाद नभएको नेपालले बताए। उनले अहिले मात्रै नभइ चुनावसम्म र त्यसपछि पनि गठबन्धन कायमै रहने दाबी गरे। गठबन्धनलाई अघि बढाउन दस्तावे निर्माणको काम भइरहेको भन्दै  उनले स्थानीय तहमा समन्वयका लागि समन्वय समिति रहने समेत बताए।

भने,’५ वटै दलको बिचमा निकै राम्रो सम्बन्ध छ। हिजो मात्रै बालुवाटारमा बसेको बैठकमा यसबारेमा जोड दिइएको छ। ५ दलको राजनीतिक मोर्चाको दस्तावेज बन्दै छ। हामी पालिका पालिकामा समन्वय समिति बनाउने छौ। चुनाव पछि पनि गठबन्धनलाई निरन्तरता दिन चाहन्छौ। यसको आधार राष्ट्रियता हो।’

उनले गठबन्धनबाट सुशासनको प्रत्याभूति हुने बताए। आफ्नो पार्टी सबै खालका जटिलताबाट अगाडी बढने उनले दाबी गरे।

‘कुनै बाधा अवरोधले रोकिने छैन। हाम्रो संसदमा पनि सशक्त उपस्थिति छ,’ नेपालले भने।

नेकपा एकीकृत समाजवादी पार्टी आर्थिक रुपमा पारदर्शी हुने नेपालले बताए। उनले आर्थिक हिनामिनाको प्रश्न उठनेमा सचेत रहन नेताहरुलाई निर्देशन समेत दिएका छन्। लेवि संकलन र पार्टीका शुभेच्छुकबाट आर्थिक सहयोग संकलन गरिने उनले बताए।

‘सांसदको लेवि संकलन गर्ने छौ। शुभेच्छुकहरुले सहयोग गर्न तयार छौ भनेका छन्। आर्थिक सहयोग हामीले संकलन गर्ने छौ,’ नेपालले भने।

यस्तो छ ६ करोडभन्दा बढी पर्ने औडीको विद्युतीय कार

काठमाडौं । भारतीय कम्पनी औडीले भारतमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले बुधबार भारतीय बजारमा इ–ट्रोन जिटी र आरएस जिटी गाडी सार्वजनिक गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार सो गाडी अहिलेसम्मकै सबैभन्दा बढी सुविधा तथा लक्जरी हुने गाडीमध्येमा पर्छ । सो गाडी पूर्ण रुपमा विद्युतीय भएको र इ–ट्रोन जिटी सबैभन्दा शक्तिशाली विद्युतीय कार भएको बुझिएको छ ।

सार्वजनिक विद्युतीय इ–ट्रोन जिटी निकै आरामदायी गाडी हो जुन लक्जरी कारमध्ये पर्छ । नयाँ इ–ट्रोन जिटी ९३ किलोवाट प्रति घण्टाको लिथियम आयन ब्याट्री प्याकबाट चल्ने बताइएको छ ।

यसको इ–ट्रोन जिटी क्वाट्रो बुस्ट मोडमा हुँदा गाडीले अधिकतम ५३० एचपी पावर उत्पादन गर्छ । गाडी शून्यदेखि सय किलोमिटर प्रति घण्टाको रफ्तारमा चलाउन जम्मा ४.१ सेकेन्ड लाग्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गाडी एक पटकको पूरा चार्जमा ३८८ किलोमिटरदेखि ५ सय किलोमिटरसम्मको माइलेज दिन्छ । गाडीमा २० इन्चको अलोय ह्विल हुनेछ । सो कारको २२ मिनेट चर्चा गर्दा ८० प्रतिशतसम्म हुन्छ । २२ मिनेटको चार्जले ४ सय किमिसम्म गाडी कुद्ने कम्पनीको भनाई छ ।

कम्पनीले एलईडी टेल लाइट्स, १२.३ इञ्चको भच्र्युअल ककपिट, १०.१ इञ्चको टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम, कनेक्टेड कार प्रविधि, अटोमेटिक एसी, क्लाइमेट कन्ट्रोल सिस्टम लगायका विशेषता रहेको उल्लेख गरेको छ ।

यसका साथै कारमा दुईटा ड्राभिङ मोड्स (एउटा इको र अर्को डाइनामिक) रहेको बताइएको छ । यो कार ९ वटा रङमा उपलब्ध रहेको बताइएको छ । सेतो, निलो, खैरो, कालो, रातो लगायतका ९ वटा रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार इ–ट्रोन जिटीको मूल्य २ करोड ५ लाख भारतीय रुपैयाँ पर्ने जनाएको छ । नेपालमा भने सो गाडीको मूल्य तीन गुणासम्म पर्न सक्छ ।

हाल विद्युतीय गाडी नेपालमा भित्र्याउन ७० प्रतिशत भन्सार महसुल लाग्छ । भारतीय २ करोड ५० लाख रुपैयाँको नेपाली रुपैयाँ ३ करोड २८ लाख रुपैयाँ पर्न जान्छ ।

३ लाख २८ लाख रुपैयाँको ७० प्रतिशत भन्सार महसुल २ करोड २९ लाख रुपैयाँ पर्न सक्छ । भन्सार महसुल र भारतीय रुपैयाँ जोड्दा नेपाली रुपैयाँ कुल ५ करोड ५७ लाख ६० हजार रुपैयाँ हुन जान्छ । व्यवसायीले भारतबाट यो कार आयात गर्दा विभिन्न शुल्क तथा नाफा जोडेर यो कारको मूल्य ६ करोड रुपैयाँ बराबर पर्न सक्छ ।

लाभांश स्वीकृतिमा नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले लाभांश स्वीकृतिमा नयाँ व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थानहरुका लागि परिपत्र जारी गर्दै नयाँ व्यवस्था लागु गरेको हो ।

वित्तीय प्रणालीमा जोखिमको मात्रा बढ्दै गई भविष्यमा बैंक तथा वित्तीय संस्थाहरुले नोक्सानी व्यहोर्नुपर्ने संभावना रहने, कतिपय बैंक तथा वित्तीय संस्थाहरुको जोखिम मूल्याङ्कन एवम् जोखिम न्यूनीकरण, आन्तरिक नियन्त्रण प्रणाली एवम् संस्थागत सुशासनको अवस्था सुदृढ भई नसकेको, तरलताको स्थिति सहज हुँदा पनि पुँजीकोष पर्याप्त नरहेको कारणले संस्थालाई बढी सुदृढ गराउने गरी लाभांशमा नयाँ व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।

परिपत्रका अनुसार सम्पूर्ण प्रारम्भिक खर्च अपलेखन गरेको, अघिल्लो वर्षसम्म हुन गएको नोक्सानी बाँकी नरहेको, तोकिएको पुँजी कायम गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको, सम्भावित नोक्सानी व्यवस्थामा छुट्याउनुपर्ने रकम छुट्याएको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ४४ बमोजिम साधारण जगेडा कोषमा विनियोजन गरेको संस्थाको बोनस स्वीकृति हुनेछ ।

यस्तै, सर्वसाधारणलाई छुट्याइएको शेयर पूर्ण रुपमा बिक्री बितरण गरेको हुनु पर्ने पनि परिपत्रमा उल्लेख गरेको छ ।

यस्तै, इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिनेविद्यमान व्यवस्था भन्दा बढी हुनेगरी संस्थापक शेयर धारण गर्ने संस्थापक शेयरधनीहरुलाई तोकिएको सीमा कायम नगरे सम्म प्रस्तावित नगद लाभांश तथा वोनश शेयर वितरण रोक्का राख्न लगाउने पनि जनाएको छ ।

राष्ट्र बैंकको परिपत्रमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले अन्य इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा गरेको संस्थापक शेयर लगानी बिक्री नगरेसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस शेयर लाभांश वितरण रोक्का राख्ने, इजाजतपत्रप्राप्त संस्थाले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भएतापनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस सेयर घोषणा/वितरण गर्न स्वीकृति नदिने पनि व्यवस्था गरेको छ ।

यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण प्रकाशित गर्ने सहमति दिन थप विवरणहरु संलग्न हुनु पर्ने पनि व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार कोभिड–१९ को असर न्यूनीकरण गर्न यस बैंकबाट जारी निर्देशनहरुको पालना गरेको घोषणा र उक्त निर्देशनहरु मार्फत प्रदान भएका पुनर्कर्जा र व्यवसाय निरन्तरता कर्जाको विवरण नेपाल राष्ट्र बैंकले तोकेको ढाँचामा संस्थाको वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणीमा उल्लेख गरे नगरेको तथा उक्त निर्देशनहरुको परिपालना सम्बन्धमा संस्थाको बाह्य लेखापरीक्षकले उल्लेख गरेको हुनु पर्ने पनि जनाएको छ ।

केपी ओलीलाई कुनै घाटा नहुने गरी बन्यो यस्तो प्रावधान

काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले १०औं महाधिवेशनबाट पुनः केपी ओलीलाई नै अध्यक्ष बन्न सहज हुने गरी प्रस्ताव अघि सारेका छन् ।

पार्टीको विधान महाधिवेशनका लागि उनले तयार पारेको सांगठनिक प्रतिवेदनमा नवौं महाधिवेशनपछि कायम पार्टी विधानमा रहेको ७० वर्षे उमेरहदको व्यवस्थालाई व्याख्या गर्दै उनले ओलीलाई पुनः अध्यक्ष बन्न र पूरा कार्यकाल काम गर्न सजिलो हुने गरी प्रस्ताव अघि सारेका हुन् ।

एमालेले आगामी मंसिरमा पार्टीको १०औं महाधिवेशन गर्दैछ भने आगामी १५–१७ असोजदेखि पहिलो विधान महाधिवेशन गर्दैछ । विधान महाधिवेशनमा पेस गरिने संगठनिक प्रस्तावमा उनले ओलीलाई पुनः अध्यक्षमा ल्याउन सजिलो बनाउने गरी विधानको व्याख्या मात्र गरेका छैनन्, एमालेका तत्कालीन नेता माधव नेपाललाई नवौं महाधिवेशनमा अध्यक्ष बन्ने बाटो खोलिदिएर एमालेले गल्ती गरेकोसमेत प्रतिवेदनमा लेखेका छन् ।

आसन्न १०औं महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार बन्नयोग्य रहेको भन्दै केहीअघि पत्रकार बोलाएर घोषणा गरेका पोखरेलले प्रतिवेदनमा भने एमाले विधानमा रहेको ७० वर्षे उमेरहदको अपूर्ण व्यवस्थालाई थप व्याख्याको प्रस्ताव गरेका छन् ।

एमालेको नवौं महाधिवेशनले पारित गरेको विधानको धारा ६५ को उपधारा ३ ले भन्छ, ‘सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनीत हुन उमेरहद ७० वर्ष हुनेछ ।’

विधानको यो धारा एमालेको कार्यकारी पदमा बस्न ७० वर्ष पूरा भएपछि नपाउने हो या ७० लागेपछि नपाउने हो भन्ने विषयमा मौन छ । ७० वर्षपछि कार्यकारी पद त्याग गर्न पर्ने कि नपर्ने भन्ने विषयमा पनि मौन छ ।

तर स्थायी कमिटीले पारित गरेर भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस हुने प्रतिवेदनमा पोखरेलले भनेका छन्– ‘७० वर्षको उमेरहदलाई ७० वर्ष पूरा नहँुदासम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदासम्म जिम्मेवारीमा रहन पाउने स्पष्ट व्यवस्था गरी त्यसलाई यथावत् राख्नु उपयुक्त हुन्छ ।’ अध्यक्ष ओली निकट मानिएका नेता शंकर पोखरेललगायतका नेताले यसअघि नै केपी ओली पुनः एकपटक पार्टी अध्यक्ष र प्रधानमनत्री बन्ने घोषणा गरिसकेका छन् ।

तरपार्टीको हालको विधानमा रहेको कार्यकारी पदमा रहन ७० वर्षे उमेरहदसम्बन्धी व्यवस्था अमूर्त र अन्योलपूर्ण देखिएपछि पोखरेलले कार्यकारी भूमिकामा रहन ७० वर्ष पूरा भएपछि मात्र नपाउने र ७० वर्ष पुग्नै लाग्दा कार्यकारी पदमा पुगेपछि कार्यकाल नसकिएसम्म रहन पाउनेगरी विधानको व्यवस्थामा पमिरार्जन गर्न प्रस्ताव गरेका छन् ।

उनको प्रस्ताव पारित भए केपी ओलीलाई पुनः अध्यक्ष बन्नमात्र होइन, अध्यक्ष बनेपछि अर्को महाधिवेशन नभएसम्मका लागि पदमा रहिरहन बाटो खुल्नेछ । ओली आगामी फागुनमा मात्र ७० वर्ष पूरा भएर ७१ वर्षका लाग्ने छन् । पार्टी महाधिवेशन हुने समय अर्थात् मंसिरमा उनी ७० वर्ष आठ महिनाका मात्र हुनेछन् ।

अराजक बन्दै निगमका कर्मचारीः विजुली, फोन, खानेपानीलगायतका सेवा काटे

काठमाडौं । आन्दोलनरत नेपाल वायुसेवा निगमका कर्मचारीहरुले अतिआवश्यक सेवा समेत बन्द गरेका छन् । निगमलाई निजीकरण गर्न लागिएको भन्दै गत असार १८ गतेदेखि आन्दोलित बनेका कर्मचारीहरुले विजुली, फोन, खानेपानीलगायतका अति आवश्यक सेवा बन्द गरेका हुन ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बिहीबार विज्ञप्ती जारी गर्दै कर्मचारीको आन्दोलनका कारण निगमलाई धेरै नोक्सानी भएको बताएका छन् ।

कर्मचारीले गरेको आन्दोलनले निगमका तत्कालीन र दीर्घकालीन कामका साथै सुधारका योजना ठप्प भएको बताएका हुन ।

उनले जारी गरेको विज्ञप्ती अनुसार कर्मचारीको आन्दोलनका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डलिङको तयारीका काम रोकिएको छ । यस्तै, निगममा आईभी आरएस प्रणाली लागू गर्ने प्रक्रिया रोकिएको, अनलाइन टिकेटिङको तयारी रोकिएको, चालु आर्थिक वर्षको बजेट र वार्षिक कार्यक्रम तर्जुमाको काममा समेत असर परेको छ ।

यस्तैगरी, महालेखाको प्रतिवेदनमाथि छलफल र जवाफ दिन नपाएको, निगमको ऋण दायित्व भुक्तानी गर्न अर्थ मन्त्रालयसँगको समन्वयमा गरिने काम रोकिएको, १० वर्षे व्यावसायिक योजना कार्यान्वयनमा बाधा पुगेको छ ।

शान्तिपूर्ण रूपमा आफ्ना विचार तथा अभिव्यक्ति राख्ने अधिकार भए पनि निगममा काम गर्न चाहने कर्मचारीलाई जबरजस्ती आन्दोलनमा तान्ने, वार्तामा नबस्ने जस्ता अमानवीय काम भएको महाप्रबन्धक पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

बुधबार आन्दोलनरत कर्मचारीले निगमका निर्देशक, उपनिर्देशकलगाय कर्मचारीलाई कार्यकक्षमा थुनेर कोषमा रहेको रकम खर्च गर्न जबरजस्ती हस्ताक्षर गर्न लगाएको र यसले निगमको सङ्गठनात्मक पद्धति र अनुशासनमा गम्भीर प्रश्न उठेको उनको भनाई छ ।

आन्दोलनरत कर्मचारीले महाप्रबन्धक पौडेललाई कार्यालय प्रवेशमा रोक लगाउँदै आएका छन् । कर्मचारीले प्रवेशमा रोक लगाएपछि उनी लामो समयदेखि नियामक निकायको रुपमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन प्राधिकरणमा हाजिर गर्दै आएका छन् भने कर्मचारीले पौडेलले राजीनामा नदिएसम्म आन्दोलन फिर्ता नगर्ने उडान राख्दै आएका छन् ।