१५ श्रावण २०७८, शुक्रबार २०:२८ – Page 2 – Nagarikabhiyan : National News

स्वास्थ्य सुरक्षका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

राजविराज । सप्तरीको रुपनी गाउँपालिकास्थित आइसोलेशन सेन्टरलाई आधारभुत स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

फलाई एन्ड हेल्थ÷आईडा÷डब्लु एच.एचको सहयोग तथा सबल नेपालको आयोजनामा रुपनी गाउँपालिकामा कोभिड १९ को जोखिमपुर्ण अवस्थामा नियमित स्वास्थ्य सेवा संचालनको लागि आइसोलेशन सेन्टरलाई स्वास्थ्य समाग्री प्रदान गरिएको सबल नेपालका सिनियर म्यानेजर अशोक कुमार साहले बताउनुभयो । सो गाउँपालिकाको आइसोलेशन सेन्टरलाई करिब रु ६ लाख ५० हजार मुल्यबराबरको स्वास्थ्य समाग्री प्रदान गरिएको छ । उक्त गाउँपालिकालाई एक हजार सर्जिकल ग्लोब्स, पाँच लिटर १५ जार डिसइनफेक्टेड ,एक थान थर्मलगन, पाँच सय एमएल २५ थान सेनिटाइजर, तिन हजार थान लाइफवाई साबुन,तिन थान अक्सीमिटर,दुई सय थान के ९५ माक्स, दुई हजार ५ सय सर्जिकल माक्स,२५ थान पिपिई, २५ जोडी इकजामिनेसन ग्लोब्स,२५ थान फेस शिल्ड, दुई सय एमएल एक सय थान हयाण्वास,२५ थान हार्पिक,२५ लिटर फिनेल,४० सेट स्वच्छता ब्याग, एक सेट आरओफिल्टर र कन्टयाक्सलेस हेन्डवास स्टेशन १ सेट लगायतको स्वास्थ्य सामग्री दिइएको सबल नेपालका सिनियर म्यानेजर साहले जानकारी दिनुभयो । कार्यक्रममा सबल नेपालका कोषाध्यक्ष आयुश श्रेष्ठ,सिनियर म्यानेजर अशोक कुमार साह, डब्लु एच एचको ईन्जीनियर कमल चापागाई,प्रोग्राम कोडिनेटर रबिकान्त देव,गाउँपालिकाका अध्यक्ष हरेराम यादव ,उपाध्यक्ष बेचनी देवी सरदार, प्रशासकिय अधिकृत अरबिन्द चौधरी ,वासकोडिनेट मिथिलेश यादव लगायतका उपस्थित रहेको थियो ।

नासा ईन्भेष्टमेन्ट प्रा.लि.को कार्यालय संचालनमा

देवानगंज । मोरगंको विराटनगरमा नासा ईन्भेष्टमेन्ट प्रा.लि.को कार्यालय संचालनमा आएको छ ।

शुक्रबार एक कार्यक्रमका विच कार्यालाय उदघाटन गरिएको प्रालिले जनाएको छ । विराटनगर ५ भृकुटि चौकमा कार्यालय उद्घाटनसगैं प्रदेश १ मा शेयर बजारको सम्भावना र चुनौती विषयक तीन दिने कार्यक्रम समेत सुरु भएको छ ।

संचालक अरविन्द मेहताका अनुसार प्रदेशमा सेयर बजारको कारोबार र पहुचका बारेमा जानकारी दिन कार्यालयको उद्घाटन गरिएको हो । कार्यक्रम फेम्लियर इभेन्ट म्यानेजमेन्ट देवनागञ्ज , अर्थ सरोकार डटकमको सहकार्यमा गरिएको मेहताले जनाएको छ ।

सनातन धर्म संरक्षण मञ्चद्धारा र्यालीको तयारी

सुनसरीको इटहरीदेखी मोरगंको विराटनगरसम्म एमसीसीको विरुद्ध सनातन धर्म संरक्षण मञ्चद्धारा र्यालीको तयारी गरिएको छ । मञ्चले राजनीतिक दलहरुले राष्टघाती एमसीसी संसदबाट पास गर्न खोजेकोले सघर्ष गर्ने निर्णय सहित सनिबार र्यालीको तयारी गरिएको जनाएको छ । एमसीसी पास भए त्यसबाट असर पर्ने भएकाले त्यसको विरुद्ध र्यालीको तयारी गरिएको हो । आन्दोलनमा रहेको विभिन्न राष्टपादीहरुको साथ र सर्थन गर्ने र सनिबार शिव सेना नेपालको नेतृत्वमा हुने र्यालीमा सहभागीताको तयारी गरिएको मञ्चका केन्द्रिय अध्यक्ष सतेन्द्र कुमार आर्यले जानकारी दिनुभयो । आर्यले एमसीसीको विरोध सगैं धर्म परिर्वनको काम समेत भईरहेकाले त्यसलाई पूर्ण बन्द गर्न समेत अपिल गर्नुभएको छ । मञ्चका सचिव राजेश यादवले राष्टप्रेमीहरुलाई रयालीमा सहभागी हुन अपिल गर्नुभएको छ ।

 

अरू देश जाँदा ‘शून्य लागत’, सरकारले इजरायल पठाउँदा १ लाख ६५ हजार !

काठमाडौं । सरकारले इजरायलमा श्रमिक पठाउँदा आफ्नै नीति र अन्तर्राष्ट्रिय मान्यताहरु मिच्दै श्रमिक पठाउने भएको छ । श्रमिक भर्ति प्रक्रियामा लाग्ने खर्च श्रमिककै थाप्लोमा पर्ने गरी सरकारले १ हजार श्रमिक पठाउने गरी आफैंले विज्ञापन प्रकाशित गरेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको सबै शुल्क सम्बन्धित रोजगारदाता मुलुक वा त्यहाँका कम्पनीले तिर्नुपर्ने गरी ‘शून्य लागत’ सरकारी नीति छ । म्यानपावर कम्पनीले तोकिएको सेवा शुल्क मात्रै लिन पाउने नियम छ । मुख्य श्रम गन्तब्य मुलुकहरुमा १० हजार रुपैयाँ मात्रै सेवा शुल्क तोकिएको छ । म्यानपावर कम्पनीहरुले कानुन मिचेरै महंगो सेवा शुल्क उठाइरहँदा सरकार पनि सोही बाटोमा देखिएको छ ।

तर, इजरायलसँग गरिएको श्रम सम्झौताअनुसार भन्दै सरकारले इजरायल जाने श्रमिकलाई नै भर्ति प्रक्रियाको खर्चको भार थोपरेको हो । विभागले सूचनामै इजरायल जाने केयर गिभर श्रमिकले करिब एक लाख ६५ हजार ७०० रुपैयाँ आफैंले बेहोर्नुपर्ने उल्लेख गरेको छ ।

विभिन्न ८ वटा शीर्षमा सरकारले इजरायल जाने श्रमिकले आफैंले खर्च गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ । हवाइ भाडाका लागि श्रमिकले १ लाख ४० हजार रुपैयाँ, स्वास्थ्य बिमाका लागि ५ हजार रुपैयाँ, पूर्वप्रस्थान अभिमुखीकरणको लागि ७०० रुपैयाँ, पासपोर्टको लागि ५ हजार रुपैयाँ, स्वास्थ्य परीक्षणको लागि १० हजार रुपैयाँ, पीसीआरका लागि २५ सय रुपैयाँ र वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्न १५ देखि २५ सय रुपैयाँसम्म श्रमिक आफैंले खर्च गर्नुपर्ने सूचनामा उल्लेख छ ।

सरकारले विभिन्न देशसँग गरेको श्रम सम्झौतामा मेडिकल तथा हवाई भाडा लगायतका खर्च रोजगारदाताले नै ब्यहोर्ने व्यवस्था गरेको छ । तर, इजरायलका हकमा भने महंगो हवाई भाडा पनि श्रमिककै थाप्लोमा हालिएको छ ।

विज्ञ भन्छन्- गलत काम

श्रम विज्ञहरुले सरकारको यस्तो व्यवस्थामाथि प्रश्न उठाउँदै आएका छन् । वैदेशिक रोजगार विभागबाटै श्रमिक भर्ति गर्दा पनि पुरानो नीति लत्याउन लागिएको विज्ञहरुको भनाइ छ ।

श्रम, रोजगार तथा समाजिक विकास मन्त्रालयले २०७२ जेठमा भएको ‘फ्रि भिसा, फ्रि टिकट’को नीतिलाई वैदेशिक रोजगार नीतिको रुपमा व्याख्या गर्ने गरेको छ । यो नीति नमान्ने म्यानपावर कम्पनीलाई सरकारले कारवाही गर्दै आएको छ ।

कामदार विदेश पठाउन ‘श्रमिकको शून्य लागत’ को नीति लिएकै कारण मलेसियासहित खाडीका साउदी, कतार, दुबई, ओमान, कुवेतलगायतका देश जाने श्रमिकलाई म्यानपावर कम्पनीले १० हजार रुपैयाँ भन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था छ ।

रोजगारदाताले ‘फ्रि भिसा-फ्रि  टिकट’ नदिए श्रमिकलाई रोजगारीमा नपठाउने व्यवस्था छ । सरकारले प्रमुख श्रम गन्तब्य मुलुकमा श्रम समझदारी गर्दा शून्य लागतलाई ‘बटमलाइन’ बनाउने गरेको छ । यसकै आधारमा मलेसिया र दुवईसँग श्रम समझदारी पनि भएको छ । प्रभावकारी अनुगमन नहुँदा निर्णय कार्यान्वयन भने हुन सकेको छैन ।

तर सरकारले आफैंले भने इजरायल जाने कामदारले टिकट, मेडिकल, बीमा, अभिमुखीकरण शुल्क लगायतका खर्च आफैंले ब्यहोर्नुपर्ने गरी सूचना निकालेको छ ।

वैदेशिक रोजगार विज्ञ गणेश गुरुङ श्रमिक आपूर्ति प्रक्रियामा सबै लागत श्रमिकले ब्यहोर्ने व्यवस्था सही नभएको बताउँछन् । हुन लागेको यो सम्झौतामा उनी मूलतः दुईवटा खोट देख्छन् । पहिलो, खुला बजार अर्थनीति स्वीकारेको मुलुकले सकेसम्म श्रमिक आपूर्ति प्रक्रियामा सहभागी नहुँदा नै राम्रो हुन्छ ।

निजी क्षेत्रलाई जिम्मा दिँदा श्रमिक ठगिने जोखिम रहन्छ भने नीतिगत तथा कानूनी व्यवस्था र अनुगमन गरेर ठगी रोक्ने दायित्व पनि सरकारकै भएको उनी बताउँछन् । उनी भन्छन्, ‘विदेशमा श्रमिक आपूर्ति गर्ने प्रक्रियामा सरकारले नियामक र सहजकर्ताको भूमिका खेल्नपर्छ, आफैं आपूर्तिमा संलग्न नहुँदा राम्रो हुन्छ ।’

दोस्रो भिसा, टिकटसहित सबै खर्च श्रमिकलाई नै बोकाउनु पनि गलत हो । ‘रोजगारदाताले नै श्रमिक आपूर्तिको सबै खर्च ब्यहोर्ने मोडल संसारभर प्रचलनमा आइसक्यो’, गुरुङले अनलाइनखरसँग भने, ‘नेपालले श्रमिकमाथि नै ऋणको भार पार्ने हिसाबले सम्झौता गर्नु कुनै दृष्टिले पनि जायज छैन ।’

वार्ताका बेला नेपाल सरकारले श्रमिक आपूर्ति खर्च इजरायल सरकार वा त्यहाँका रोजगारदाताले नै ब्यहोर्नुपर्ने व्यवस्थाका लागि अडान लिन सकेको थिएन ।

निजी क्षेत्रलाई श्रमिकसँग एक रुपैयाँ नउठाऊ भन्ने सरकारले आफैंले श्रमिक पठाउँदा एकलाखभन्दा बढी शुल्क उठाउनु सही हुन नसक्ने वैदेशिक रोजगार मामिलामा जानकार मधुविलास पण्डित बताउँछन् ।

सरकारको यस्तो कार्यले निजी क्षेत्रलाई शून्य लागतमा श्रमिकलाई विदेश पठाउनका लागि दबाब दिन भविष्यमा सरकारलाई नैतिक संकट आइपर्ने उनको भनाइ छ ।

विश्वभर नै श्रमिकको माग गर्नेले आपूर्ति प्रक्रियामा सबै खर्च ब्यहोर्ने थिती बस्दै गर्दा सरकार आफैंले पैसा उठाउँदै श्रमिक विदेश पठाउनु अन्तर्राष्ट्रिय श्रम संगठन र त्यसमा नेपालले हस्ताक्षर गरेका सन्धि र अभिसन्धिको मान्यता विपरीत पनि हुनेमा विज्ञहरु एक मत छन् ।

घट्न सक्छ : सरकार

विगतमा पनि सरकारी स्तरबाट कामदार पठाउँदा टिकट लगायतका खर्च श्रमिकले तिर्ने नीति भएको वैदेशिक रोजगार विभागले जनाएको छ । श्रमिकको हित संरक्षणको जिम्मा सरकारले लिने, राम्रो आम्दानी हुने ग्यारेन्टी गर्ने भएकाले लागत श्रमिकले बेहोर्नु सामान्य भएको सरकारी अधिकारीहरूकाे तर्क छ ।

ईपीएसमार्फत कोरिया पनि यही विधिमार्फत नै पठाइने भएकाले इजरायलको विषय नयाँ नभएको विभागका अधिकारीहरु बताउँछन् । सकेसम्म श्रमिक भर्ति प्रक्रियाका लागत पनि इजरायलले बेहोरोस् भनेर मनाउन प्रयास गर्दा भिसा शुल्क मात्रै तिर्ने गरी सहमत गराउन सकेको विभागका एक अधिकारीले बताए ।

विभागका निर्देशक मात्रिका सापकोटा इजरायलसँगको सम्झौताअनुसार नै भिसा बाहेकका खर्चहरु श्रमिकले नै गर्नुपर्ने भएको बताउँछन् । टिकटको शुल्क श्रमिक जानेबेलासम्म घट्न सक्ने भन्दै उनले सूचनामा अहिलेको शुल्कका आधारमा मात्रै अनुमानित शुलक उल्लेख गरिएको बताए ।

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप आउँदै

काठमाडौँ । चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । दिउँसो नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट थप आठ लाख डोज खोप काठमाडौँ आइपुग्नेछ ।

नेपालले चीनससँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम ‘लट’ खोप ल्याउन लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । त्यो खोप कहिले नेपाल आउने भन्नेबारे टुंगो नलागेको व्यवस्थापन शाखाले जनाएको छ ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी चेक काट्ने पक्राउ

काठमाडौं । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी चेक काटी पीडितलाई दिने एक व्यक्ति पक्राउ परेका छन् ।

बाउन्स चेक काटेर बैंकिङ्ग कसूर मुद्दामा परेका फरार प्रतिवादी राम खड्कालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले काठमाडौं मनोहरका ४६ वर्षीय खड्का ३ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ परेको जनाएको छ ।

उच्च अदालत पाटनको २०७८ बैशाख १४ गतेको फैसलाले उक्त मुद्दामा ९ दिन कैद र ९ लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही उनी फरार हुँदै आएका थिए । खड्काले बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

आज साउन १५ अर्थात खिर खाने दिन

काठमाडौँ ।  साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुकाबेला साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।

संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ ।

इन्सेकद्वारा कोभिड खोप केन्द्रको अनुगमन- खोपकेन्द्र कतै सुनसान, कतै अत्यधिक भीड

इनरूवा ।  जिल्लाका १२ ओटै स्थानीय तहमा साउन ११ गतेदेखि साउन १६ गते सम्मका लागि कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालन भइरहेको छ । इन्सेकले गरेको खोप अनुगमनका क्रममा खोपकेन्द्र कतै सुनसान त कतै भीँडभाड बढी भएकाले कोभिड–१९ को सङ्क्रमण बढेर जाने जोखिम देखिएको छ ।

जिल्लामा साउन ११ गतेबाट कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालन भइरहेको छ । साउन ११, १२ र १३ गतेको अवधिमा ४० हजार बढी व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । इन्सेक सुनसरीद्वारा गरिएको अनुगमनका क्रमममा धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकामा कोभिड–१९ विरूद्धको खोप लगाउनेहरूको सङ्ख्या अत्यधिक देखिएको छ । खोप लगाउनेहरूको भिडका कारण कोभिड–१९ को सङ्क्रमण बढेर जाने जोखिम देखिएको  धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताउनु भएको छ ।

कोशी गाउँपालिकाको वडा– २ को खोप केन्द्रमा साउन १३ गते १ सय ६० जनाले मात्र कोभिड–१९ विरूद्धको खोप लगाएका छन् । भोक्राहा नरसिंह गाउँपालिकाको आधारभूत स्वास्थ्य केन्द्रमा वडा–३ र ८ का स्थानीयले खोप लगाएका छन् । स्वास्थ्य चौकी भोक्राहा र नरसिंह स्वास्थ्य चौकीको तथ्याङ्क अनुसार खोप अभियानका क्रममा ५५ वर्ष भन्दा माथिको उमेर समूहका ३ सय २६ जना, शिक्षक, कर्मचारीहरू मध्ये १ सय ९६ जना, सार्वजनिक यातायातका चालक १ सय २२ जना, वैदेशिक रोजगारमा जानेहरू ३४ जना गरी ४ सय २० जना पुरूष र २ सय ५८ जना महिला गरी ६ सय ७८ जनाले खोप लगाएको भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य प्रमुख आलम अन्सारीले बताउनु भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार धरानमा कोभिड–१९ विरूद्धको खोप लगाउनेको सङ्ख्या अत्यधिक भएकाले खोप लगाउने समय दुई दिनका लागि थप गर्ने निर्णय गरिएको छ । थप गरिएको समयमा ५५ वर्ष उमेर समूह माथिका नागरिक, प्राध्यापक, शिक्षक, कर्मचारी, निजी सवारी चालक, सहचालकहरूलाई भेरोसिल खोप लगाउने तयारी गरिएको छ । दुई दिन भेरोसिल खोप लगाएपछि ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई एक मात्रा लगाउँदा हुने अमेरिकन खोप जोनसन एण्ड जोनसन खोप लगाइने गरी तयारी गरिएको प्रमुख मेहेताको भनाइ छ । खोप केन्द्रमा अत्यधिक भीड हुने भएकाले धरान उपमहानगरपालिकामा सात ओटा खोप केन्द्र सञ्चालन गरिएको छ । सात ओटा खोप केन्द्रबाट १८ हजार बढीलाई कोभिड–१९ विरूद्धको खोप लगाइने भएको छ ।

धरान उपमहानगरपाकिामा साउन ११ गते देखि सुरू भएको कोभिड–१९ विरूद्धको खोप अभियानमा साउन १२ गते ५ हजार २ सय ९२ जनाले कोभिड–१९ विरूद्धको भेरोसिल  खोप लगाएका छन् । धरान उपमहानगरपालिकाको सात ओटा खोप केन्द्रहरू छाताचोकमा ८ सय २६ जना, पाँचकन्यामा ५ सय २४ जना, सभागृहमा एक हजार २ सय जना, विष्णुपादुकामा ८८ जना, धरान–१३ मा १ हजार जना, धरान–१५ मा ६ सय ५४ जना र धरान–१८ मा १ हजार गरी २ हजार ८ सय ३१ जना पुरूष र २ हजार ४ सय ६१ जना महिला गरी ५ हजार २ सय ९२ जनाले एकै दिन खोप लगाएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताउनु भएको छ ।

जिल्लाका १२ ओटै स्थानीय तहमा खोप अभियान सञ्चालन गरिए पनि कोशी गाउँपालिका, बर्जु गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिकालगायतका खोप केन्द्रमा स्थानीयको न्यून उपस्थिती देखिएको छ । धरान उपमहानगरपालिकाका खोप केन्द्रमा अत्यधिक भीड भएकाले स्वास्थ्य मापदण्ड र भीड व्यवस्थापनमा समस्या देखिएको छ ।

photo 20210727 sunsari (2)

Photo 20210727 Sunsari

काष्ठमण्डप धुरीमा गजुर चढाउने तयारी, पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौँ ।  पुनर्निर्माणको अन्तिम चरणमा रहेको पुरातात्त्विक सम्पदा काष्ठमण्डपमा गजुर भित्र्याइएको छ । काष्ठमण्डपको धुरीमा राखिन उक्त गजुर धार्मिक विधिपूर्वक भित्र्याइएको हो । अब छाना छाउने कामसँगै पुनर्निर्माण सकिने काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ । सालको काठबाट बनेको गजुरका १३ चक्का छन् । यसलाई तामाको पाताले मोरेर धुरीमा स्थापना गरिनेछ । काष्ठमण्डपको मूल गजुर यही हो । समिति अध्यक्ष राजेश शाक्यले अबको दुई महिनामा सबै काम सक्ने लक्ष्य रहेको बताए । वाग्मती प्रदेशका सांसदसमेत रहेका शाक्यले भने, ‘अब चाँडै पुनर्निर्माण कार्य सकिनेछ ।’

काठमाडौं सहरको प्रतीक मानिने काष्ठमण्डपमा भित्र्याउनुअघि गजुरलाई नजिकैको सिंख्व: मू विहारमा तीन दिनसम्म तान्त्रिक विधिसहित पूजा गरिएको थियो । भित्र्याइएपछि पण्डित यज्ञमानपति वज्राचार्यको नेतृत्वमा रहेको समूहले वज्रयानी बौद्ध परम्पराअनुसार चर्या नृत्य गर्दै गजुर प्रतिस्थापनको पूजा गरेका थिए । सातौं शताब्दीमा निर्माण भएको मानिने काष्ठमण्डप ०७२ सालको भूकम्पमा पूरै भत्किएको थियो । पहिलेको संरचना पूरै एउटा रूखले बनेको मानिन्छ ।

काठमाडौं महानगरपालिकाको आर्थिक लगानीमा यसको पुनर्निर्माण ०७५ बाट सुरु भएको थियो । शाक्यका अनुसार अहिलेसम्म महानगरले ११ करोड ५० लाख रुपैयाँ प्रदान गरिसकेको छ ।

धनुषामा सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

धनुषा । धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य घाइते पाँच जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ । उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ । आज बिहान ५ः०० बजे ढल्केबर–जनकपुर राजमार्गको लक्ष्मीनियाँ गाउँपालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बर प्लेट ज२००२०००१ख ००३५ नम्बरको स्कारपिओ पिकअप अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

क्रिकेटमा १३ वर्षपछि श्रीलङ्काको भारतमाथि जित

काठमाडौं । श्रीलङ्काले १३ वर्षपछि भारत विरुद्ध क्रिकेट श्रृखंला जितेको छ । सन् २००८ मा श्रीलङ्काले घरेलु टेष्ट शृङ्खलामा भारतलाई २–१ ले जिते यता क्रिकेटको कुनै पनि स्वरुप जित्न सकेको थिएन ।
श्रीलङ्का विरुद्ध अन्तर्राष्ट्रिय एकदिबसीय र टी ट्वान्टी खेल्न कोलम्बो पुगेको २० सदस्यीय भारतीय टोलिका नौ जना खेलाडी क्वारेन्टिनमा बसेपछि दोस्रो तथा तेस्रो टी ट्वान्टीमा भारतले खेलेर औपचारिकता मात्रै पूरा गर्यो । पहिलो टी ट्वान्टी जितेको भारतले दोस्रो र तेस्रोमा हार बेहोर्यो । बिहीबार कोलम्बोमा सम्पन्न तेस्रो टी ट्वान्टीमा भारतले २० ओभरमा आठ विकेटको क्षतिमा ८१ रन मात्रै जोडन सक्यो । श्रीलङ्काले मात्र तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै तीन खेलको टी ट्वान्टी २–१ ले जितेको छ । खेल सकिन पाँच ओभर तीन बल बाँकी छदा श्रीलङ्काले जित हात पार्यो ।

जसपाको आधिकारिकता विवाद सर्वोच्चमा आज सुनुवाइ हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै पक्षलाई बोलाएको छ ।

निर्वाचन आयोगले पार्टी दर्ता हुँदा बखतका कार्याकारिणी समितिका सदस्यलाई मात्र मान्यता दिने भन्दै गत सोमबार दुवै पक्षलाई सशरीर उपस्थित गराएर पार्टीको आधिकारिकताबारे टुंगो लगाउने आदेश कानुनसम्मत नभएको भन्दै त्यसलाई रोक्न महन्त ठाकुर पक्षले अन्तरिम आदेश मागेको थियो ।

तर, न्यायाधीश कुमार रेग्मीको एकल इजलासले ठाकुर पक्षको मात्र तर्क सुनेर अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । रेग्मीको इजलासले आज दुवै पक्षलाई बोलाएर अन्तरिम आदेश दिने नदिने विषयमा निर्णय गर्न लागेको हो ।

निर्वाचन आयोगले जसपा विवादमा निर्णय गरिसकेको छ । आयोगले उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षलाई जसपाको आधिकारिकता दिइसकेको छ ।

लुम्बिनी प्रदेश प्रमुख शेरचनले आज पदभार ग्रहण गर्दै

बुटवल । नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार (आज) पदभार ग्रहण गर्दैछन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुख शेरचनले आज बिहान ११ बजेपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले बताए । शेरचन नियुक्त भएसँगै यादव बिहीबार बिदाई भएर गएका छन् ।

शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी यादवलाई नियुक्त गरेको थियो ।

गत वैशाख ६ गते पदबाट राजीनामा दिएका मुख्यमन्त्रीलाई अल्पमतमा रहँदा पनि यादवले आस्थाकै आधारमा सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै यादवसँग विपक्षी गठबन्धन रुष्ट थिए ।

नयाँ प्रदेश प्रमुखले पदभार ग्रहण गरेसँगै लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले विशेष अधिवेशनका लागि समावेदन गर्ने र मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने रणनीतिमा छन् ।

ललितपुरमा आजदेखि भेरोसेल खोप लगाइदै

काठमाडौँ । ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ ।

साउन १५, १६, १७ गते खोप कार्यक्रम हुनेछ । ४५ वर्षमाथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउनेछन् ।

महानगरका अनुसार १८ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप पनि लगाइनेछ । यसका लागि छिट्टै खोप तालिका सार्वजनिक गरिने महानगरले जनाएको छ ।

बाढी-पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बाढी–पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिएका छन्।

बिहीबार साँझ मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी–पहिरोले ठूलो क्षति पुर्‍याएको भन्दै उक्त स्थानमा तत्काल प्राविधिक टोली खटाएर अध्ययन गर्न निर्देशन दिएका हुन्।

उनले बाढी–पहिरोका कारण कतिपय स्थानमा आवतजावतसमेत रोकिएको उल्लेख गर्दै त्यस्ता स्थानमा हेलिकोप्टरबाट आपूर्तिको व्यवस्था मिलाउनुपर्ने बताए। गृहमन्त्री खाँणले प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर क्षतिको अध्ययन गरी प्रतिवेदन पेश गर्न र आवश्यक थप बजेटका लागि अर्थ मन्त्रालयसँग माग गर्नसमेत निर्देशन दिएका छन्।

छलफलमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको सहभागिता थियो।

जियानिस एन्टेटोकुम्पो बब पेटीपछि ६० वर्षको अन्तरमा एनबीए फाइनलमा ५० अंक बटुल्ने पहिलो खेलाडी

म्याड्रिड । अमेरिका र बास्केटबल मन पराउने देशमा अहिले कुनै एक उपलब्धि र कुनै एक खेलाडीको चर्चा छ भने त्यो बिलवाकी बक्सले जितेको एनबीए फाइनल र यसका खेलाडी जियानिस एन्टेटोकुम्पोको मात्र छ । एन्टेटोकुम्पोको कथाले त त्यो सबै भौगोलिक सीमा तोडेर चारैतर्फ चर्चा बटुलेको छ । उनको उपलब्धि जो–कोहीका लागि आफ्नो सपना पूरा गर्न लगातार प्रयत्नशील रहन प्रेरित गर्छ । वास्तवमै अद्वितीय छ, उनको कथा र उपलब्धि ।

जियानिस एन्टेटोकुम्पो अब एनबीए च्याम्पियन भए । उनले जसरी यहाँसम्मको यात्रा तय गरे, त्यसलाई विश्व बास्केटबल इतिहासकै सबैभन्दा अद्वितीय र दुर्लभमध्ये मान्न सकिन्छ । सन् १९९४ मा उनको जन्म ग्रिसमा भएको थियो, आप्रवासी नाइजेरियाली आमाबुबाबाट । आफ्नो परिवारलाई पाल्न उनले सानोमा सडकमा सस्ता नक्कली गहना बेच्ने काम गर्थे । अहिले भने उनले एनबीए फाइनलको मोस्ट भ्यालुएबल प्लेयर ट्रफी जितेका छन् । यतिमात्र कहाँ हो र ?

उनी बब पेटीपछि ६० वर्षको अन्तरमा एनबीए फाइनलमा ५० अंक बटुल्ने पहिलो खेलाडी भएका छन् । एक साताअघि एन्टेटोकुम्पोको अलराउन्ड प्रदर्शनमा मिलवाकी बक्सले सन् १९७१ यता पहिलोपल्ट एनबीए उपाधि जितेको थियो । बक्सले फिनिक्स सन्सलाई हराएर यो उपाधि जितेको हो । खेलमा बक्सले १०५–९८ स्कोरको जित निकाल्यो । टोली सात खेलको शृंखलामा ४–२ को निर्णायक अग्रता लिन सफल रह्यो ।

एन्टेटोकुम्पो फाइनलको एकै खेलमा ५० अंक बटुल्ने इतिहासकै सातौं खेलाडी बने । मिलवाकीले यसैक्रममा ५० वर्षसम्म उपाधिविहीन रहेको यात्रा टुंग्याएको छ । एन्टेटोकुम्पोले पछिल्लो समय ग्रिसमा आफू र आफ्नो परिवारले सामना गरेको दुःख र संघर्षबारे खुलेर कुरा गरेका छन् । ग्रिसको नागरिकता प्राप्त गर्न उनको परिवारले निकै लामो समय मिहिनेत गर्नुपरेको थियो । यो वास्तवमै निकै झन्झटिलो कानुनी प्रक्रिया थियो ।

उनले अहिलेसम्म भुल्न सकेका छैनन्, आफू र आफ्ना तीन दाजुभाइले कसरी सडकमा ती नक्कली गहना बेच्न मिहिनेत गर्नुपर्थ्यो । उनी एथेन्स नजिकको सेपोलियामा हुर्केबढे । उनका आमाबुबा आप्रवासी भएको हुनाले वैध रूपमा काम गर्न सक्दैन थिए । त्यसैले उनले सानोमा सस्ता नक्कली गहनामात्र बेचेनन्, उस्तै नक्कली सस्ता घडी, ह्यान्डब्याग र चश्मा पनि बेचे । खासमा उनको ग्रिक नाम जो–कोहीले ठीकसँग उच्चारण गर्नसमेत सक्दैनन् ।

त्यसैले उनलाई उपनाम दिइएको छ, ‘ग्रिक फ्रिक’ । सन् २००७ देखि उनले बास्केटबल खेल्न सुरु गरेका थिए । सुरुआती दिनदेखि नै उनको प्रदर्शन गज्जब हुने गर्थ्यो । त्यसैले उनी स्काउटहरूको नजरमा परिहाले । उनको प्रतिभा सबैभन्दा पहिले चिन्ने व्यक्ति थिए, रियल जारागोजाका स्पोर्टिङ डाइरेक्टर विली भिलार । सन् २०१२ सम्म पुग्दा एन्टेटोकुम्पोले स्पेनी क्लबसँग चारवर्षे अनुबन्ध गरे । यसपछि उनको खेलजीवनले निरन्तर उडान भर्‍यो ।

यसैक्रममा उनले आफ्नो खेलमा नाटकीय सुधार गरे । सन् २०१३ अगाडि नै एनबीए ड्राफ्टमा परे । उनलाई मिलवाकीले किनेको थियो । सुरुमा त क्लबले जारागोजामै उनलाई ऋणमा फर्काउन विचार गरेको थियो । तर उनले विचार फेर्न समय लगाएनन् । अनि त एन्टेटोकुम्पो बने १८ वर्षकै उमेरमा एनबीएका सबैभन्दा युवा खेलाडी । खासमा मिलवाकीले आफ्ना युवा खेलाडीमाथि गरेको विश्वासले चाँडै रंग पनि देखायो ।

उनको पहिलो सिजन नै उत्तिकै दमदार रह्यो । उनले आफ्नो खेलमा अझ बढी सुधार ल्याए । एनबीएमा बिताएको आठ वर्षपछि उनले अन्ततः एनबीए फाइनल पनि जिते । भन्न कर लाग्छ, एन्टेटोकुम्पोले यहाँसम्म पुग्न तय गरेको यात्रा पक्कै सजिलो थिएन । विश्वास नहुन सक्छ, उनले सन् २०१३ मा मात्र ग्रिसको नागरिकता प्राप्त गरेका थिए, अमेरिका जानु ठीकअगाडि । यसअघि उनले राष्ट्रविहीन नागरिकका रूपमा आफ्नो जीवन गुजारेका थिए ।

उनलाई ग्रिसको नागरिकता दिने क्रममा पनि त्यहाँका उग्रवादी–दक्षिणपन्थी राजनीतिक पार्टीहरूले चर्को विरोध गरेका थिए । यस्तै पार्टीका एक नेता निकोलस मिचालिकोसले भनेका थिए, ‘कोही एक चिम्पान्जीलाई केरा र झन्डा दिएर चिडियाखानामा हालिन्छ भने के ऊ पनि ग्रिक हुन्छ त ?’ उनले जति समय ग्रिसमा बिताएका छन्, त्यसको प्रत्येक पल–पलमा रंगभेदी व्यवहार सामना गर्नुपरेको छ । यो उनका लागि दिनचर्याजस्तै थियो ।

एन्टेटोकुम्पोले एनबीए फाइनल जितेपछि भने भनेका छन्, ‘मैले दुवै देशलाई प्रतिनिधित्व गर्छु, नाइजेरिया र ग्रिस । दुवै देशमा म जस्ता धेरै युवा छन् । पूरा अफ्रिका र युरोपका लागि नायक भएको छु । कसैले पनि सपना देख्न छाड्नुहुन्न । खाली आफ्नो प्रतिभाप्रति विश्वास गर्नुपर्छ, यसका लागि कडा मिहिनेत गरिरहनुपर्छ । आफूबारे कसले के भन्दा त्यसमा चासो लिनु आवश्यक छैन । आफूले के गर्न सकिन्छ, त्यसको मात्र अर्थ हुन्छ ।’ कान्तिपुर बाट