१३ पुष २०७९, बुधबार १०:४० – Page 2 – Nagarikabhiyan : National News

जनता समाजवादी पार्टी जसपाले आज संसदीय दलको नेता चयन गर्दै

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर साढे २ बजेदेखि साढे ३ बजेसम्म मतदान हुनेछ ।मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद रहेका छन् । अध्यक्ष उपेन्द्र यादव गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पराजित हुनुभएको थियो । दलको नेताका रुपमा संघीय परिषद् अध्यक्ष अशोक राई र राजकिशोर यादवको दाबी छ ।

जसपाले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने जनाएको छ । आउँदो १८ र १९ गते राजनीतिक समितिको बैठक बस्ने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

 

राष्ट्रपति चयनका लागि पुसभित्रै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी

काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन कार्यतालिका पुस महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुने समेत जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपतिको पदावधि पूरा हुनुभन्दा एक महिनाअघि नै चुनावको मिति तोक्नुपर्ने कानुनी व्यवस्था अनुसार मिति तोकेर पुस महिनाभित्र निर्वाचन कार्यक्रम सार्वजनिक गरिने जानकारी दिनुभयो ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन हुनुभएको थियो । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । त्यसअनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ ।

सङ्घीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएका व्यक्ति राष्ट्रपतिका लागि उम्मेदवार हुन योग्य हुनेछन् । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था समेत गरेको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाका २ सय ७५ र प्रदेश सभाका ५ सय ५० गरी कुल ८ सय ८४ जना मतदान गर्न योग्य हुनेछन् । बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था रहेको छ ।

माओवादी प्रदेश–१ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्वो सर्वसम्मत चयन

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश– १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन् ।मंगलबार माओेवादीका ज्येष्ठ प्रदेश सांसद नारायणबहादुर मगरको अध्यक्षतामा बसेको बैठकले दलको नेतामा आङ्बोलाई सर्बसम्मत चयन गरेको हो ।

माओवादी केन्द्रका सचिव तथा प्रदेश १ इञ्चार्ज राम कार्की, पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रदेशका सहइञ्चार्ज सावित्रीकुमनर काफ्ले, पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ्लगायतका नेताहरु सम्मेलित बैठकले आङवोलाई दलको नेता चयन गरिएको हो ।आङ्वो पाँचथर पाँचथर प्रदेश – २ बाट निर्वाचि सांसद हुने । उनी माओवादीबाट प्रदेशसभामा निर्वाचित सबैभन्दा सिनियर नेतासमेत हुन् ।

दलको नेतामा तेह्रथुम १ (२) बाट निर्वाचित पार्टीका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंले पनि दावी गरेका थिए । तर माओवादी सरकारमा जाने अवस्था रहे उनकै नेतृत्वमा जाने भन्ने सहमतिपछि उनी पछि हटेका हुन् ।

उता आङ्वो पनि मुख्यमन्त्रीका रुपमा सरकारमा जाने नत्र मन्त्रीका रुपमा अरुलाई अवसर दिने निश्कर्षमा पुगिसकेका छन् ।आङ्वो यसघिको संसदमा पनि माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेतामै थिए । ०७४ को निर्वाचन पछि पहिलो पटक बनेको शेरधन राई नेतृत्वको सरकारमा माओवादी आङ्वोकै नेतृत्वमा सरकारमा गएको थियो ।त्यो बेला आङ्वो अर्थमन्त्री थिए भने पछि नेपाली काँग्रेससहितको गठबन्धनमा बनेको अर्को सरकारमा पनि अर्थमन्त्रीकै जिम्मेवारीमा दोस्रो पटक सरकारमा गएका थिए ।

सङ्कटमा प्रकृतिका पर्यो कुचीकार–गिद्ध, पर्यावरणका लागि खतरा

लुम्बिनी । चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो ।

मानवीय सचेतनासँगै जथाभावी फालिने चौपायाको सिनोलाई गाड्ने तथा व्यवस्थितरूपमा राख्न थालिएपछि आहारा अपुग भई गिद्ध देखिन छाडेको लुम्बिनी सांस्कृतिक नगरपालिका–९ महिलवारका चराप्रेमी भोला गुप्ताले बताउनुभयो । जैविक विविधता र पर्यावरणका लागि अत्यन्तै महत्वपूर्ण मानिने लोपोन्मुख पक्षी हो, गिद्ध ।

चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठूलै भूमिका भएको पक्षी हो । यसको ठूलो धार्मिक महत्व पनि छ ।

गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ । गिद्ध आफँैले सिकार गर्दैन ।

यसले मरेका जनावरका मासु ९सिनो० खाने गर्दछ । गिद्धले सिनो खाई हाम्रो वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्छ ।

यो पर्यावरणीय चक्र, सनातन खाद्य शृङ्खलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो ।

“केही वर्ष पहिला गिद्ध सिनो फालेको आधा घण्टाभित्रै पुगी सफा गर्दथे”, गुप्ताले भन्नुभयो, “अचेल गिद्ध नआउँदा गाउँ नै दुर्गन्धित हुने गरेको छ ।” सिनोलाई कुकुर–स्यालले चिथोर्ने गर्दा वातावरण झनै दुर्गन्धित हुने गरेको उहाँको भनाइ छ ।

समयमा सिनो सफा नभए कुकुर, काग, स्याल र मुसाको सङ्ख्यामा वृद्धि हुन्छ ।

फलस्वरुप मानिसमा हैजा, आउँ, झाडापखाला, रेविज, प्लेगजस्ता रोगका साथै चौपायामा एन्थ्रक्स, ब्रुसेलोसिस र टिबीजस्ता रोगको सङ्क्रमणले महामारीको रूप लिन सक्छ ।

पर्यावरणीय सुरक्षाका लागि उपयोगी गिद्धको सङ्ख्या कम हुनु चिन्ताको विषय भएको हिन्दू परिषद् नेपालका प्रवक्ता तथा लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का पण्डित ओमकार पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गिद्धको सेवा र संरक्षण हाम्रो दायित्व हो ।” “त्रेतायुगमा सीता हरण हुँदाको दुःखदायी समयमा जटायु र सम्पाती नामक गिद्धले भगवान रामलाई सहयोग गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “गिद्ध पर्यावरणको शुद्धीका साथै प्राणीमात्रका लागि पूजनीय छ ।”

धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ । नेपालको माथिल्लो हिमाली क्षेत्रमा बस्ने लामा समुदायले गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पु¥याउने दूतका रूपमा पुज्ने गर्छन् ।

नेपाल, भारत र पाकिस्तानमा गरिएको विस्तृत अनुसन्धानबाट गिद्धको सङ्ख्यामा ह्रास आउनुको मुख्य कारण नन्–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधि डाइक्लोफेनेक भएको पशु चिकित्सक अशोक भण्डारीले बताउनुभयो ।

“धेरै प्रकारका दुःखाइ र सुन्निने अवस्थामा औषधिको रूपमा मानिस र पशु दुवैमा डाइक्लोफेनेक औषधिको प्रयोग गरिन्छ”, उहाँले भन्नुभयो, “डाइक्लोफेनेक प्रयोग गरी उपचार गरिएका गाईवस्तुको सिनो गिद्धले खाँदा त्यसको असरका कारण मिर्गौलाले काम नगर्ने भई उनीहरू मर्ने गरेको पाइएको छ ।”

डा भण्डारीले भन्नुभयो, “पछिल्लो अनुसन्धानले फ्लुनिक्सिन, कारप्रोफेन, निमुसुलाइड, एसिक्लोफनेक, किटोप्रोफेन र फिनाइबुटाजोनलगायत औषधि गिद्धका लागि विषाक्त मानिएको छ ।” यो औषधि गिद्धका लागि हितकर नभएको उहाँले बताउनुभयो ।
त्यसको विकल्पमा गिद्ध, अरु चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्याम र पछिल्लो समयमा उत्पादन गरिएको टोल्फेनामिक एसिड सुरक्षित मानिएको डा भण्डारीले बताउनुभयो ।

सरकारले २०६३ जेठ २३ गतेदेखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

मानिसले अन्य जनावरलाई लक्षित गरी सिनोमा विष राख्दा तथा अवैज्ञानिक ढङ्गबाट विस्तार गरिएका विद्युतीय तार आदिले पनि सानो सङ्ख्यामा जीवित रहेका ठूलो कदका गिद्धलाई सङ्कटमा पारेको छ ।

पक्षीविद् भूपाल नेपालीले पर्यावरणीय सुरक्षाका लागि गिद्धको संरक्षण गर्न आवश्यक रहेकोे बताउनुभयो । “हालसम्म विश्वमा २३ प्रजाति तथा दक्षिण एसियमा नौ प्रजातिका गिद्ध पाइन्छन् । ती सबै नौ प्रजातिका गिद्ध नेपालमै पाइन्छन्”, उहाँले भन्नुभयो ।

नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृतसमेत रहनुभएका पक्षीविद् नेपालीका अनुसार, “नौमध्ये छ प्रजातिका गिद्ध नेपालकै रैथाने हुन्, जसले नेपालमै गँुड बनाइ बच्चा कोरल्छन् ।” बाँकी तीन प्रजाति हिउँदे आगन्तुक र बटुवाका रूपमा नेपाल आउने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा नौ प्रजातिका गिद्धमध्ये डङ्गर, सानोखैरे, सुन र लामो ठुँडे प्रजातिका गिद्ध आइयुसिएनको सूचीमा अति सङ्कटापन तथा सेतो, हिमाली, राज र हडफोरगिद्ध सङ्कटापन्न तथा खैरो गिद्ध सामान्य अवस्थामा छन् ।”

– रासस

बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प

काठमाण्डाै । बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो ।

केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

याे भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको सो केन्द्रले जनाएको छ । नेपालको हिमालय क्षेत्र भूकम्पका लागि जोखिमको क्षेत्र भएको केन्द्रले जनाएको छ ।

आज २०७९ पुस १३ गते बुधवारकाे राशिफल

मेष : साथीभाइबाट सहयोग मिल्नेछ। धन सम्पत्ति आर्जन हुनेछ।
वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।
मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।
कर्कट : दिन राम्रो छ। पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।
सिंह : योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ।
कन्या : रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। साथीबाट सहयोग मिल्नेछ।
तुला : सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ।
वृश्चिक : नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ। रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला।
धनु : आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।
मकर : झुटा आरोप लाग्न सक्छन्। अनावश्यक खर्च बढ्नसक्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।
कुम्भ : बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।
मीन : दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ।

कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मङ्गलबार एक सूचना जारी गर्दै यी दुई बैंक गाभिएर आउँदो आइतबारदेखि एकीकृत कारोबार गर्ने जनाएको हो । दुवै बैंकबीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो ।

गत मङ्सिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । अब यी दुवै बैंकको ‘कुमारी बैंक लिमिटेड’ का नामबाट कारोबार हुनेछ ।

मर्जर सम्झौताअनुसार दुवै बैंकबीच शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) एक बराबर एक हुनेछ । अर्थात् एकीकृत कारोबारपछि अहिले कुमारी र एनसीसी बैंकका लगानीकर्ताको सेयर सङ्ख्या थपघट हुनेछैन । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौँ महानगरपालिका–२ स्थित टङ्गालमा रहनेछ ।

एकीकृत कारोबारका गर्न डाटा माइक्रेसन प्रयोजनका लागि पुस १५ र १६ गते दुवै बैंकका शाखाबाट प्रदान गर्दै आएको बैंकिङ सेवा प्रभावित हुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । रासस