बराहक्षेत्रमा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण
१५ बैशाख २०७७, सोमबार ११:१५
इनरुवा । कोरोना महामारीका विच राहत वितरण कार्यक्रमसंगै सुनसरीको बराहक्षेत्र नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्न थालेको छ ।
बराहक्षेत्रमा सामाजिक सुरक्षा भत्ता मितेरी बैंक मार्फत वितरण हुने गरेको छ । लकडाउनका विच सामाजिक दुरी कायम गरेर भत्ता वितरण गर्न नगरपालिकाले पहल गरेपछि बराहक्षेत्र स्थित उक्त बैंकको ३ वटा शाखाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको बैंकका कालाबञ्जर शाखा प्रमुख शंकर कार्कीले बताउनुभयो ।
बैंकको चतरा, कालाबन्जार र प्रकाशपुर शाखाले ज्येष्ठ नागरिकलाई पायक पर्ने चौकहरुमा काउण्टर राखी भत्ता वितरण गरेको हो । लकडाउनको बेला बृद्ध, अशक्तहरु कार्यालयमा आउन कठिनाई हुने भएकाले उनिहरुको पायक पर्ने पुगेर चेकको भूक्तानी गरिएको कार्कीले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता लिनेहरुमा चतरा शाखामा १६ सय, कालाबन्जार शाखामा २१ सय र प्रकाशपुर शाखामा ७ सयको बैक खता राहेको छ । बराहक्षेत्रका ७ वटा वडा १,२,३,४,५,९,१० वडामा बैंकले भत्ता वितरण गर्दै गर्दै आएको कार्कीले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया