समन्वय भएमात्रै वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सकिन्छ मेयर कोइराला – Nagarikabhiyan : National News

समन्वय भएमात्रै वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सकिन्छ मेयर कोइराला

देवानगञ्ज विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न सकिने बताउनुभएको छ ।

सुरक्षित आप्रवासन सामी कार्यक्रम प्रहरीसँगको अन्तरक्रियालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगीका घटनाहरु बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले विदेश जाँदा सीप सिकेर र भरपर्दो अस्पतालमा स्वास्थ्य जाँच गरेर मात्रै जानुपर्नेमा जोड दिनुभयो ।

सीप नसिकी जाँदा विदेश गएर पनि काम नपाउने अवस्था छ । अझ यहाँ भरपर्दो अस्पतालमा स्वास्थ्य चेकजाँच नगर्दा विदेशमा पुगेर हृदयघातलगायतका कारण ज्यान गुमाउनुपरेको छ,” उहाँले भन्नुभयो, “आफू जाने मुलुकका बारेमा र कामका बारेमा यहीं राम्ररी बुझेर जाँदा समस्या हुँदैन ।” सीप नसिकी जाँदा नेपाली युवाले विदेशमा दुःख पाउने गरेको उहाँको भनाइ थियो । मेयर कोइरालाले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न स्थानीयसँगै संघीय सरकार बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वैदेशिक रोजगारीले मुलुकमा रेमिट्यान्स भित्रिए पनि सामाजिक विकृति र परनिर्भरता बढ्दै गएको उल्लेख गर्नुभयो । मेयर कोइरालाले भन्नुभयो, “रेमिट्यान्स त हरेक दिन भित्रिरहेको छ यसले वैदेशिक मुद्रा संचितिमा योगदान पनि पुगेको छ । तर रेमिट्यान्सको सही सदुपयोग पनि भएको छ । वस्तु आयातमै रेमिट्यान्स खर्च गरिरहेका छौं । हामीले उत्पादनमूलक र रोजगारीमूलक क्षेत्रमा रेमिट्यान्स लगाउन सकेका छैनौं ।”
अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले प्रमाण अपुग हुँदा ठगीमा संलग्नलाई कारबाही गर्न समस्या हुने गरेको बताउनुभयो ।