राप्रपाले संसदीय समितिको नेतृत्व लिँदा कुनै सहमति भएको छैनः लिङ्देन – Nagarikabhiyan : National News

राप्रपाले संसदीय समितिको नेतृत्व लिँदा कुनै सहमति भएको छैनः लिङ्देन

काठमाडौं :राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको दाबी गरेका छन् ।

यूएई र साउदी अरबको भ्रमण सकेर मंगलबार स्वेदश फर्किएका लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दैआफूहरुको दलको हैसियत अनुसार समिति सभापति लिएको दाबी गरे । समिति सभापति लिनुलाई लेनदेनसँग जोडेर प्रचार गरिएको भन्दै उनले भने, ‘कुनै लेनदेनको सहमति भएको छैन ।’

उनले कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा अब चाहेर पनि हुन नसक्ने बताए । राप्रपाले कोशी प्रदेशमा सभामुख र मन्त्री पाउन मागिरहनु नपर्ने र शुरुको गठबन्धन ताका नै राप्रपालाई कोशी प्रदेशको सभामुखको भाग परेको बताए । उनले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको अफर आएको समेत दाबी गरे ।

उनले भने, ‘संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसिएर प्रचार गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेन सहमति भएको छैन । कतिपय ठाउँमा जिम्मेवार व्यक्तिले तोकरै सभामुख र एउटा मन्त्री लिनेभयो भनेर राप्रपाले र अहिलेको गठबन्धनलाई कोशी प्रदेशमा सघाउने टुंगो लाग्यो भन्ने जस्ता प्रचार भए । प्रक्रियाको हिसावले नै अब राप्रपाले चाहेर पनि सहयोग गर्ने चरण नै समाप्त भइसकेको छ । त्यो झुट हो । राप्रपाले सभामुख मागिरहनु नै पर्दैन । शुरुमै भाग पर्दा सभामुख नलिएको हो । हामीले चाहेको खण्डमा सत्तापक्षबाट मुख्यमन्त्री नै प्राप्त हुनसक्ने गणितीय अवस्था छ । हामीलाई मुख्यमन्त्रीको अफर आएको थियो ।’

१० पुसको गठबन्धनमै पनि बागमती र कोशीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अंकगणितलाई हेरेर आफूहरुले नलिएको उनको दाबी छ ।
संसदीय गणितमा कुनै भूमिका नहुनसक्ने देखेपछि सभामुख नलिएको भन्दै उनले भने, ‘सभामुख र मन्त्री प्राथमिकताको विषय होइन । हामीले अहिले चाह्यौं भने सत्ता गटबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था छ ।’