सुनसरीमा कोरानोको आशंकामा ५१ जनाको स्वाव परीक्षण, नतिजा सबै नेगेटिभ
२२ चैत्र २०७६, शनिबार १५:१५
जयकृष्ण यादव , सुनसरी : पछिल्लो अवस्था सम्ममा सुनसरीमा कोरोनाको आशंका गरिएका ५१ जनाको स्वाव परीक्षण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुासर चेकजाँच गरिएका मध्ये नेगेटिभ रिजल्ट आएका ३४ जना घर फर्किएका छन् । १२ जनाको स्वाब परीक्षणको क्रममा रहेको छ भने ३ जनाको परीक्षण हुन बाँकी छ । आइसोलेसनमा राखिएका ११ जना मध्ये १० जना सनिबारसम्ममा घर फर्कि सकेका छन् ।
सुनसरी प्रशासनको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार जिल्लामा १ सय ६७ जना होम क्वारेन्टाइनमा बसेका छन् । जसमा २६ जना महिला र १ सय ४१ जना पुरुष रहेका छन् । भारतमा सम्पन्न मुस्लिम धार्मिक सभामा सहभागि भएर फर्किएको भनिएका १४ जनालाई समेत क्वारेन्टाइनमा राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिनुभएको छ । भारतबाट आएका अन्य दुई व्यक्ति समेत क्वारेन्टाइनमा बसेका छन् । अर्का एक व्यक्ति समेत सुरक्षाकर्मीको सम्पर्कमा आईसकेको सुनसरी प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पछिल्लो एक महिनाको अवधिमा सुनसरीमा भारत बाहेकका अन्य तेस्रो मुलुकबाट ६२ जना फर्किएका छन् । धेरैजसो घर फर्किएको १५ दिन बितिसकेको र स्वास्थ्यकर्मीको सल्लाहमा होम क्वारेन्टाइनमा रहेको पौडेलले बताउनुभाये । उनीहरु सबैको अवस्था सामान्य रहेको समेत पौडेलले बताउनुभयो । प्रशासनले गरेको निर्णय र अनुगमन गरी संचालनमा ल्याइएका सुनसरीको धरान स्थित शैनिक महाविद्यालय सहित इटहरी, इनरुवा, रामधुनी र हरिनगर सहितका क्वारेन्टाइन स्थलमा २ सय ८८ वेड रहेको जनाएको छ । धरानमा २० वटा र इनरुवा अस्पतालमा चार वटा गरि २४ वटा आईसोलेसन वेड तयारी अवस्थामा रहेको प्रशासनले जनाएको छ ।
स्थानीय पालिकाहरु सबैजसोले आफूलाई पायकको स्थानमा क्वारेन्टाइन स्थल तयार पारेकाले ३ सय ५० बेडको हाराहारीमा वेडहरु तयार रहेपनि मापदण्ड लगायतका विषय पुरा भईनसकेकाले तीनिहरुको सवालमा संचालन अनुमति भने दिई नसकिएको प्रशासनको भनाई छ ।
भारतसँग सीमा जोडिएको ६२ किलोमिटर खुल्ला नाका रहेकाले समेत सुनसरीलाई संवेदनशील जिल्लाका रुपमा लिई सोही बमोजिमको सावधानी र तयारी थालिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । लक डाउन जारी रहेको अवस्थामा समेत घर फर्किनेको संख्या जारी रहेकाले स्थानीय प्रशासनले आवश्यक चेकजाँच सहित त्यस्ता व्यक्तिहरुका लागि अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने बाध्यकारी निर्णयलाई कडाई साथ लागु गरिरहेको जनाएको छ ।
सुनसरी प्रशासनका अनुसार स्थानीय पालिकासँगको समन्वयमा भारतबाट आएकाहरुको लगत तयार पारी उनीहरुलाई क्वारेन्टाइनमा राख्दै आइएको छ । प्रशासनले अफवाह नफैलाउन समेत सर्वसाधारणमा आग्रह गरेको छ । प्रशासनले वास्तविक सुचना मात्र आदान प्रदान गर्न भनेको छ । सुनसरी प्रशासनले लक डाउनको उल्लंघन नगरी घरमै बस्न जिल्लावासीमा अनुरोध समेत गरेको छ । सुनसरीको सदरमुकाम रहेका इनरुवा अस्पताल सहितका स्वास्थ्य संस्थामा पुगेका शंकास्पद बिरामीहरुलाई उनीहरुको यात्रा र स्वास्थ्य अवस्थाका आधारमा लक्षण हेरी कोरोना भाइरस सम्वन्धि थप चेकजाँचका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने गरिएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले जिल्लाको अवस्था सामान्य रहेको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । उसले सावधानी र सर्तक रहन सबैमा आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया