औरावनीका वृद्धवृद्धालाई सिरक वितरण – Nagarikabhiyan : National News

औरावनीका वृद्धवृद्धालाई सिरक वितरण

सुनसरीको गढी गाउँपालिका वडा नंम्बर २ औरावनीका वृद्धवृद्धा सहित विपन्न परिवारलाई सिरक वितरण गरिएको छ । जाडो प्रभावित भएकाहरुलाई राहतस्वरुप एक एकवटा नयाँ सिरक प्रदान गरिएको गढी गाउँपालिका वडा नंम्बर २ औरावनीका वडा अध्यक्ष अरुण कुमार चौधरीले जानकारी दिनुभयो । वडाभित्रका ४०० जना एकल महिला, अपांगता भएका बालबालिका, वृद्धवृद्धा, बिरामी, गर्भवती महिला सहित विपन्न व्यक्तिलाई फाइबर सिरक प्रदान गरिएको चौधरीले जानकारी दिनुभएको छ ।
वडा सदस्य गुदनसरी ऋषिदेवका अनुसार सामाजिक सुरक्षा भत्ता खानेहरु र वडामा रहेको ६० वर्ष माथिका वृद्धवृद्धा कार्डको आधारमा तथा एकल र गर्भवती महिला सहित विपन्न परिवारको पहिचान गरि सिरक वितरण गरिएको हो । वडाको कोषबाट सिरकको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । शुक्रबार औरावनी खानेपानीमा आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव र वडा अध्यक्ष अरुण कुमार चौधरीले सिरक जाडो प्रभावितहरुलाई हस्तान्तरण गर्नुभयो ।
त्यसअवसरमा यादवले जाडो प्रभावित परिवारलाई न्यानो कपडाको व्यवस्थाले थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जाडोमा अपांगता भएका व्यक्ति, बालबालिका, वृद्धवृद्धा, बिरामी, गर्भवती महिलालाई विशेष ख्याल राख्न आग्रह गर्नुभयो । जाडो प्रभावितको राहतका लागि गाउँपालिकाको समन्वयमा सिरक वितरण गरेको उहाँले बताउनुभयो । वडा सचिव योगराज निरौलाले जेष्ठनागरिक, अपांगता भएका व्यक्ति सहित विपन्न परिवारको आवश्यकतालाई महशुस गरेर सिरक वितरण गरिएको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र विभिन्न लक्षित समूह तथा संस्थाका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
१, सुनसरीको गढी गाउँपालिका वडा नंम्बर २ औरवानीका वृद्धवृद्धालाई सिरक वितरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा