बैंकको एटिएम तोडफोड गर्ने प्रहरी फन्दामा – Nagarikabhiyan : National News

बैंकको एटिएम तोडफोड गर्ने प्रहरी फन्दामा

विराटनगर ।  बैंकको एटिएम मेसिन तोडफोड गर्ने एकजनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
विराटनगर–३ कञ्चनबारीस्थित माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका ५ का २१ वर्षीय पारस कालिकोटे रहेका छन् । आइतबार राति साढे ९ बजे एटिएम मेसिन तोडफोड भइरहेको सूचना प्राप्त भएपछि पुगेको प्रहरीले कालिकोटेलाई पक्राउ गरेको हो ।
सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सिआरभी पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोडफोडमा संलग्न कालिकोटेलाई पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका कालिकोटेमाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक थप अनुसन्धान भइरहेको जनाइएको छ ।