नेरुडे लघुवित्तको खुद मुनाफा १९ करोड १० लाख
११ पुष २०७८, आईतवार १२:००
विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ मा १९ करोड १० लाख बढी खुद मुनाफा आर्जन गरेको छ ।
संस्थाले सोही अवधिमा ७ अर्ब ९० करोड ऋण लगानी र २ अर्ब ६१ करोड बचत संकलन गरी सम्पूर्ण कारोबार समावेशपछिको खुद मुनाफा १९ करोड १० लाख ६४ हजार ८ सय ४६ रुपैयाँ आर्जन गर्न सफल भएको हो । संस्थाको १५ औं वार्षिक साधारणसभाको अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक समितिका अध्यक्ष डा. भेषप्रसाद धमलाले आर्थिक वर्ष २०७७/७८ मा संस्थाले १ लाख ४८ हजार ३२ घरपरिवारमा लघुवित्त सेवा पु¥याई वित्तीय सेवा दिन सफल भएको बताए । संस्थाको १५ औं साधारणसभाले सम्पूर्ण सेयरधनीलाई वितरणयोग्य मुनाफाबाट २१ दशमलव ४८ प्रतिशत बोनस सेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णयसमेत पारित गरेको छ ।
बोनस वितरणपश्चात संस्थाको चुक्ता पुँजी ६० करोड पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले जानकारी गराए । राष्ट्रियस्तरको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल देशभरिका ३१ जिल्लामा १ सय ७ वटा शाखा कार्यालयमार्फत १ लाख ५४ हजार विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरिरहेको संस्थाका कम्पनी सचिव ऋषिप्रसाद न्यौपानेले बताए । साधारणसभाका बीच उत्कृष्ट लक्ष्य प्रगति गर्ने विभिन्न ४ वटा शाखालाई नगदसहित सम्मानसमेत गरिएको थियो । २५ हजार नगदसहित सम्मानित हुने शाखाहरूमा तेतरिया, चिमडी, झुम्का र बोदेबर्साइन रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया