दमकमा कोरोना संक्रमण र मृत्युदर बढ्दो निषेधाज्ञा लगाउने सर्वपक्षिय निर्णय – Nagarikabhiyan : National News

दमकमा कोरोना संक्रमण र मृत्युदर बढ्दो निषेधाज्ञा लगाउने सर्वपक्षिय निर्णय

दमक । झापाको दमकमा कोरोना संक्रमणदर धेरै बढेको र दोश्रो भेरियन्टको कोरोना संक्रमणका कारण ३८ जनाको मृत्यु भएको भन्दै अत्यावश्यकीय सेवा बाहेकका सबै सेवा बन्द हुने गरी निषेधाज्ञा लगाउने सर्वपक्षिय निर्णय भएको छ ।
दमक नगरपालिका कोरोना भाईरस रोकथाम तथा नियन्त्रण पालिकास्तर संरचना समितिको शनिवार बसेको सर्वपक्षीय सोमबार विहान ४ बजेदेखि १७ गते मध्यराती १२ बजे सम्म नगरपालिका क्षेत्र भित्र निषेधाज्ञा लागु गरिएको दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बताउनु भएको छ ।
अस्पतालको आकस्मिक सेवा, औषधी पसल, खोप सेवा, फोहोरमैला संकलन तथा व्यवस्थापन, दुध र अण्डाका पसल (विहान ६ देखि ८ बजे) सम्म र एम्बुलेन्स तथा वारुणयन्त्र सेवा जस्ता अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु संचालन नगर्ने/नगराउने निर्णय भएको र यसको अवज्ञा गरे कार्वाही गरिने पनि उहाँले जनाउनु भयो ।
दमकमा सक्रिय कोरोना संक्रमितको संख्या पनि ५ सय नाघेको छ । खाद्यन्न, ग्याँस लगायतका पसलहरु नखुल्ने र कसैलाई अति आवश्यक भएमा वार्ड कार्यालय, दमक नगरपालिका, नगर प्रहरी, जनपथ प्रहरी तथा अनुगमन समितिसंग समन्वय गरेर उक्त सामान नगरबासीको घरमा पुर्याईने ब्यवस्था मिलाईने पनि नगर प्रमुख ओलीले बताउनु भएको छ ।

अस्पतालमा बेड अभाव
यसैबीच दमकमा कोभिड उपचार केन्द्र र आम्दा अस्पतालले कोभिड संक्रमितको उपचार गराउदै आएकोमा अब बेडको अभाव रहेको बताईएको छ । सरकारी कोभिड उपचार केन्द्रमा ३० जनाको क्षमता रहेकोमा सबै बेड भरिएको र आम्दा अस्पतालमा २३ जना विरामीले उपचार गराईरहेको जनाईएको छ ।