धरानमा लकडाउन उल्लंघनको क्रम बढ्दै – Nagarikabhiyan : National News

धरानमा लकडाउन उल्लंघनको क्रम बढ्दै

इनरुवा, चैत २६ गते । सुनसरीको धरानमा कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले लकडाउनको घोषणा गरेको १६ दिन बिते पनि लकडाउन उल्लंघनको क्रम बढ्दै गएको छ ।
एक अर्कामा सर्न सक्ने भएकाले सामाजिक दुरी कायम गर्न र सकेसम्म घरमै बस्न भन्दै सरकारले लकडाउनको घोषणा गरेको भएपनि यसको उल्लंघनको क्रम बढ्दै गएको हो ।
जनताले लकडाउनको उल्लंघन गरिरहँदा केही दिन यता राजनितिक दलहरु पनि अनुगमनको नाममा लकडाउनको उल्लघंन गर्दै समूह बनाएर अस्पताल, नगरपालिका, वडा र सरकारी निकायहरुमा पुग्ने गरेका छन् । अनुगमनमा निस्किएका समूहले कुनै पनि सुरक्षा अप्नाएको भेटिन्दैन् ।
अनुगमनको नाममा निस्कीएको समूह पनि कोरोनाको संक्रमणमा पर्न सक्ने चिकित्सकहरुको सुझाव छ । मंगलबार नेपाली कांग्रेसको जिल्ला सचिव सुजेन्द्र तामाङको नेतृत्वमा महासमिती सदस्य सहित जिल्ला सदस्य, पुर्व नगर सभापति लगायतको टोलिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित कृषि उपज बजार स्थल, वडा कार्यालयहरुले वितरण गरेको राहतको अनुगमन गरेको थियो । अनुगमन आवश्यक्ता भए पनि उनीहरुले व्यक्तिगत सुरक्षाका सामग्रीहरु प्रयोग गरेका थिएनन् ।
मास्क मात्रै लगाएर अस्पताल लगायत कृषि बजारको अनुगमन गर्दा जोखिम बढ्ने प्रतिष्ठानका एक चिकित्सकले बताउनुभयो ।
डा. विकास साहले भन्नुभयो, ‘समूह बनाएर अनुगमन गर्न आउने, स्वास्थ्य सुरक्षाको सामग्री प्रयोग नगर्ने, उनीहरुले नै लकडाउनको उल्लंघन गरिरहेका छन् ।’ अनुगमनका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारले कार्यविधि अनुसारको टोलि बनाएको छ । धरान उपमहानगरपालिकाले पनि छुट्टै अनुगमन टोलि बनाएको छ ।
लकडाउनको अवस्थामा सम्बन्धित निकाय बाहेकको अनुगमन अवैधानिक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनुभयो । नेपाली कांग्रेसको टोलिले गरेको अनुगमन पनि अवैधानिक रहेकाले तुरुन्तै रोक्न प्रशासनलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।
वहाँले भन्नुभयो, ‘मैले हिजो नै सुनेको थिए, तुरुन्तै कांग्रेसकै नेताहरुलाई भेटेर जानकारी गराई सकेको छु, इलाका प्रहरी कार्यालय धरानका प्रमुखलाई पनि रोक्न निर्देशन दिइसकेको छु ।’
स्थानीय तह तथा सम्बन्धित पक्षले काम गरे नगरेको भन्ने विषयमा स्थानीय प्रशासनसँग जानकारी लिन पाउने भए पनि समूह बनाएर अनुगमनको नाममा भिड नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।