मेलमिलापकर्ता सम्बन्धी आठ दिने तालिम सुरु – Nagarikabhiyan : National News

मेलमिलापकर्ता सम्बन्धी आठ दिने तालिम सुरु

इनरुवा । सुनसरीको रामधुनी नगरपालिकामा मेलमिलापकर्ता सम्बन्धी आठ दिने तालिम सुरु भएको छ । नगरपालिका क्षेत्र र वडाहरुमा सामुदायिक मेलमिलापकर्ताको आवश्यकता पुर्ती गर्नका लागि आठ दिने तालिम सुरु भएको हो । वडा तथा नगरमा मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन रामधुनी नगरपालिकाको आयोजना तथा हाम्रो साझा अभियान सुनसरीको सहजिकरणमा कार्यक्रम सुरु भएको हो ।

न्यायिक समिति संयोजक एवम् रामधुनी नगरपालिका उपप्रमुख सविना चौधरी तथा पालिकाका प्रमुख प्रशासयिक अधिकृत ओमकार न्यौपानेको उपस्थितीमा शुक्रबार तालिमको उद्घाटन गरिएको आयोजक संस्थाका मेघराज न्यौपानेले जानकारी दिनुभयो । वडा तथा नगरमा विवाद आइरहने हुनाले धेरै जसो समय विवाद मिलाउनमै गइरहेको तितो यथार्थतालाई मध्यनजर गरी मेलमिलापकर्ताहरुलाई तालिम दिएर स्थानीय स्तरमै मेलमिलाप गराउनका लागि तालिमको आयोजना गरेको उपप्रमुख चौधरीले बताउनुभयो । मेलमिलामकर्ता मार्फत् विवाद निरुपण हुने बातावरण सिर्जना भए विकास निर्माणले थप गति लिने चौधरीले बताउनुभयो ।

न्यायका लागि मेलमिलापको माध्यम उपयुक्त भएको भन्दै यसको व्यापकता र प्रभावकारिता मेलमिलापकर्तामा निर्भर रहने बताउनुभयो । मेलमिलापबाट समाधान गरिएका विवादहरु कार्यान्वयन गर्न प्रभावकारी रहने हुनाले मेलमिलाप प्रक्रियालाई पालिकाले प्राथमिकता साथ अवलम्वन गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । मेलमिलापको माध्यमबाट समाजलाई रुपान्तरण गर्न सकिने भन्दै मेलमिलापको विषयलाई पालिकाले योजनागत रुपमा प्रक्रियामा राख्न सहभागीहरुले माग गर्नुभयो । सामुदायिक मेलमिलापकर्ता तालिम शुक्रबार सुरु भई बैशाख १० गते सम्पन्न गरिने भएको छ । हाम्रो चाहना विवाद रहित समाजको स्थापना र विवादको साटो, मेलमिलापको बाटो भन्ने नाराका साथ शुरु तालिममा विवाद, मेलमिलापको पद्धति, मेलमिलाप सम्वन्धि प्रचलित कानुनी व्यवस्था, मेलमिलापको सीप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गुणहरु र मेलमिलापका आचारसंहिता, सहमतीय निकास लगायतका विविध पाटोमा सहजीकरण गरिरहेको छ । तालिमको सहजिकरण अधिवक्ता विरेन्द्र बहादुर बस्नेत सहितकाले गरिरहनुभएको छ ।  सुनसरीको रामधुनी नगरपालिकामा आयोजित आठ दिने मेलमिलापकर्ता तालिमको उद्घाटन समारोहका सरोकारवालाहरु र सहभागीहरु ।
तस्बीर : जयकृष्ण यादव । इनरुवा