आफनै भवनमा स्वास्थ्य संस्था – Nagarikabhiyan : National News

आफनै भवनमा स्वास्थ्य संस्था

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–५ र ६ मा स्वास्थ्य संस्था आफनै भवनमा संचालनमा आएको छ । विगतमा निर्माण भएको भवन समेत प्रयोगविहिन बनेकोबेला मानवअधिकार समुह कोशीले गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएपछि स्वास्थ्य संस्था आफनै भवनमा संचालनमा आएको हो ।

गाउँपालिकाले निर्माण भएको स्वास्थ्य संस्था संचालनका लागि वडालाई भनेपनि बेवास्ता हुदैं आएकोमा मानवअधिकार समुहको ज्ञापनपत्र बुझाएपछि आफनै भवनबाट सेवा सुचारु भएको समुहका सदस्य मुस्ताक आलमले बताए ।

आलमका अनुसार एकवर्ष अघिनै निर्माण भएपनि स्वास्थ्य चौकी र वडा कार्यालय भवन प्रयोग विहिन रहेकोमा मानव अधिकार समुहले आफनो माग सहितको ज्ञापनपत्र बुझाएकाले त्यसको प्रभाव स्वरुप पुस १ गतेबाट अधारभूत स्वास्थ्य केन्द्र कोशी–५ आफनै भवनबाट संचालन भई सेवा सूचारु गरेको छ ।

चारकोठे स्वास्थ्य चौकी भवनबाट सेवा सूचारु भएपछि स्थानीयलाई सेवा लिन र बिश्राम गर्न समेत सहज भएको छ । यसअघि स्थानीय मदर्साको एउटा सानो कोठामा बिरामी जाँच्ने देखी औषधी वितरणसम्मको काम गर्नुपर्दा स्वास्थ्यकर्मी र सेवाग्राही दुबैलाई समस्या रहेकोमा आफनै भवनबाट सेवा दिन थालेपछि सहज भएको स्वास्थ्यकर्मी राजकुमार साहले जानकारी दिए ।

श्रीपुर स्वास्थ्य केन्द्रमा दैनिक २०–४० जनासम्म सेवाग्राही आउने गरेका छन् । समुहले मंसिर १६ गते कोशी गाँउपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई ज्ञापनपत्र बुझाउँदै कोशी ५ को आधारभुत स्वास्थ्य केन्द्र भवन संचालनमा ल्याउनुपर्ने माग गरेको र सोही अनुसार पुस १ गतेबाट आफनै भवनमा सेवा सूचारु गरेको मानव अधिकार समूहका सचिव विष्णुकुमार यादवले बताए ।