प्रदेश १ मा प्रचण्ड-माधव समुहलाई अर्काे झटका, थप तीन सांसदले फिर्ता लिए मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्तावमा गरेका हस्ताक्षर – Nagarikabhiyan : National News

प्रदेश १ मा प्रचण्ड-माधव समुहलाई अर्काे झटका, थप तीन सांसदले फिर्ता लिए मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्तावमा गरेका हस्ताक्षर

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्‍वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये तीन सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

प्रदेश सांसद जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । प्रदेश सभा सचिवालयमा सामूहिक निवेदन गर्दै उनीहरूले नेकपाको सरकारविरुद्ध नेकपाकै सांसदहरूले अविश्‍वास प्रस्ताव दर्ता गर्न उपयुक्त नठानेको भन्दै उक्त प्रस्तावको हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका छन् । उहाँहरुको यो निर्णयसँगै प्रदेश १ प्रचण्ड माधव समुह निकै कमजोर बनेको तथ्य बाहिर आएको छ ।

जसमायाले प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी थिइन् ।

सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई ‘कू’ गर्न प्रचण्ड–माधव समुहले गरेको षडयन्त्रलाई चिर्दै प्रतिनिधिसभा बिघटन गरी चुनावको घोषणा प्रधानमन्त्रीले गरेसँगै पार्टीबाटै अलग भएर गएको सो समुहले ओलीनिकट मुख्यमन्त्री राई बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड–माधव समूहका ३७ जना सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये यसअघि कला घले र बसन्तीदेवी यादवले हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका थिए ।

थप ३ जनाले हस्ताक्षर फिर्ता लिएपछि अविश्वास प्रस्तावको निर्णयमा कायम रहने सांसद संख्या ३२ जना भएको छ ।  ९३ सदस्यीय प्रदेशसभामा नेकपाको ६७ सिट रहेको छ ।