टमाटर खेतमै कुहिन थालेपछि किसान चिन्तित
८ बैशाख २०७७, सोमबार ११:४४
इनरुवा । सुनसरीको इनरुवा ९ बबियाका किसान रामदेव मेहताले लगाउनुभएको टमाटर लकडाउनका कारण बारीमै कुहिन थालेको छ । मेहताले तीन महिनादेखी मेहेनत गरेर फलाएको टमाटरले लकडाउनका कारणले बजार नपाए पछि बारीमै कुहिन थालेको गुनासो गर्नुभयो ।
मेहताले पाचँ कट्ठामा लगाएको टमाटरले बजार लानुपर्ने समयमा सरकारले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि भन्दै लकडाउन लगाएकाले बजार नपाए पछि बारीमै कुहिन थालेको गुनासो गर्नुभयो ।
यसैबीच जिल्लाको बराहक्षेत्रका कृषकले उत्पादन गरेको टमाटर लकडाउनका कारण बारीमै कुहिन थालेको छ । बराहक्षेत्र ८ मा लामो समय देखि तरकारी खेती गर्दै आएका जिल्लाकै अगुवा कृषक कर्णबहादुर कार्कीले अहिले चिन्तित बन्नुभयो । बारीमा लटारम्ब फलेको टमाटर टिप्दै बस्तुलाई दिन थालेको उहाँ भन्नुभयो, कर्मले दियो भाग्यले दिएन ।
बराहक्षेत्र वडा नं ८ चौखोला चोकमा वर्षौं देखि कृषि पेशा गर्दै आईरहेका जिल्लाकै अगुवा कृषक कार्कीले ३ कट्ठामा लगाएको टमाटर पाकेर बोटमै कुहिन थालेको छ । हाट बजार लगेर बिक्री गर्न सक्ने अवस्था नभएपछि लगानी मात्र नभई आफ्नो मेहनत समेत नउठ्ने भएपछी अहिले टमाटर बस्तुलाई दिन थालेको बताउनुभयो ।
कोरोना भाईरसको कारण सिङ्गो देश लकडाउनमा रहेका बेला आजको भोलि बेच्नुपर्ने कृषि उत्पादन बारीमै कुहिए पछी आफूहरुलाई ठूलो नोक्सान भएको र वास्तविक कृषकको पीडा आज सम्म कसैले बुझ्न नसकेको ठम्याई कृषक कार्कीको छ ।
टमाटर मज्जाले फले पनि अहिले लकडाउनले कही पुराउँन नसक्दा आफुहरुले लगानी र समय खेर गएको बताउनुभयो । कृषि क्षेत्रमा लामो समय देखि लागेका उनलाई यो बर्ष लकडाउनले नराम्ररी ढुबाएको छ ।
अरुबेला व्यापारी तथा विचौलिया बारीमा नै तरकारी लिन आउने गरेका थिए ।
तर यसपटक व्यापारी आएका छैनन् । करिव ३० कुइन्टल टमाटर बारीमै कुहिन लागेको बताउनुभयो ।
सरकारले कृषकले उत्पादन गरेको वस्तुको भण्डारण, बजारीकरणमा ध्यान दिन आवश्यक रहेको बताका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया