जोगबनीबाट भित्रिएको करिब १९ लाख रुपैयाँ बराबरको औषधि बरामद – Nagarikabhiyan : National News

जोगबनीबाट भित्रिएको करिब १९ लाख रुपैयाँ बराबरको औषधि बरामद

बिराटनगर । भारतबाट तस्करी गरेर ल्याइएको ठूलो परिमाणको औषधि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार भारतको जोगबनीबाट अवैध रुपमा भित्रिएको करिब १९ लाख रुपैयाँ बराबरको औषधि बरामद गरिएको हो।

प्रहरी उपरीक्षक पौडेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने विराटनगर महानगरपालिका– १६ रानीस्थित झाडीमा दुईवटा कार्टुनमा बेवारिसे अवस्थामा औषधि बरामद गरिएको बताए। बरामद गरिएको औषधिमा प्रहरीले टिगेवेस्ट, टिकोवाक्ट, डेक्समिडाइन, कुटेनोक्स, निप्रेस, डोटामिनलगायत विभिन्न ११ प्रकारका रहेका छन्। औषधि तस्करीमा संलग्नको भने पहिचान हुनसकेको छैन।

बरामद गरिएको औषधि सशस्त्रले आवश्यक कारबाहीका लागि आइतबार औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएको छ। विभागका अनुसार बरामद भएका औषधि कोरोना सङ्क्रमित, हृदयघात भएका, मुटुको समस्या र शरीरमा रगत जम्ने समस्या देखिएका बिरामीको उपचारमा प्रयोग गरिन्छ।