प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ संक्रमितको मृत्यु
१९ जेष्ठ २०७८, बुधबार २०:५८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका ८, झापाका ५, सुनसरीका ३, धनकुटाका २, उदयपुरका १ र प्रदेश १ बाहिरका ३ जना रहेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार नोवेल शिक्षण अस्पतालमा ४ जना, विराट शिक्षण अस्पतालमा २ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी कोभिड अस्पतालमा ३–३, मेची अस्पताल र अन्य आइसोलेसनमा २–२ र होम आइसोलेसनमा १ जनाको मृत्यु भएको हो ।
कोशी कोभिड १९ उपचार केन्दमा विराटनगर ६ का ६० वर्षीय पुरुष, मोरङको ग्रामथानकी ४५ वर्षीया महिला र सुनसरी देवानगंजकी ६८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।
यसै गरी नोबेल शिक्षण अस्पतालमा मोरङ सुन्दरहरैचाका ५५ वर्षीय पुरुष, सिराहाका ६५ वर्षीय पुरुष, सुनसरी बराहक्षेत्रकी ६१ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
विराट शिक्षण अस्पतालमा इटहरी–९ सुनसरीकी ४२ वर्षीया महिला र ७१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सो अस्पतालका इन्चार्ज सुनिल देवले जानकारी दिए ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा सभापोखरी ३ संखसभासभाका ५० वर्षीय पुरुष र उर्लाबारी ४ मोरङका ६२ वर्षीय पुरुषको र अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सह प्रबक्ता चुरामण्ी पोखरेलले जानकारी दिए ।
प्रदेश १ मा विहीबारसम्म ९२५ जनाको मृत्यु भएको छ, भने दोश्रो लहरपछि मात्रै ४६९ जनाको मृत्यु भएको छ । विराटनगरमहानगर पालिकामा मात्र १ सय १५ जना संक्रमितको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया