कोरोनाविरुद्धको खोप लगाउन प्रदेश सरकार लागिपरेको छ : मुख्यमन्त्री राई
९ जेष्ठ २०७८, आईतवार १८:५२
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन प्रदेश सरकार लागिपरेको बताएका छन् । उनले प्रदेश सरकारले सबै नगरिकलाई खोप लगाउन संघीय सरकारसँग आवश्यक मात्रामा खोप माग गरिएको बताए ।
आइतबार विराटनगरमा करुणा फाउन्डेशन नेपालले प्रदेश १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै मुख्यमन्त्री राईले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता रहेको बताए ।
नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा समेत खोपलाई उच्च प्राथमिकता दिने मुख्यमन्त्री राई बताउँछन् । सरकारले नागरिकलाई कोभिडको संक्रमणबाट बचाउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको उनले बताए । यो संकटका बेला सरकारलाई सबैको साथ चाँहिने भन्दै सामाजिक संघसंस्थाहरुले आफुले सकेको सहयोग गर्नु पर्नेमा जोड दिए ।
करुणा फाउण्डेशनले संखुवासभा, भोजपुर, तेह्रथुमलगायतका ७ जिल्लाका जिल्ला अस्पताललाई ३/३ वटा र कोशी कोभिड अस्पतालका लागि ९ वटा वितरणका लागि अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया