इनरुवाका विद्यालयहरु पुस १ गतेबाट पूर्ण संचालन हुदैं
३० मंसिर २०७७, मंगलवार १७:१५
सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको मंसिर ३० गतेको बैठकले सबै शैक्षिक संस्थाहरु पुस १ गतेबाट पूर्ण संचालन हुने भएको छ ।
नगरपालिकाको सबै शैक्षिक संस्थाहरु कोरोना महामारीका कारण नौ महिनादेखी बन्द रहेकोमा पुस १ गते बुधवारबाट एकसाथ शिशु कक्षादेखी १२ सम्म सबै कक्षा संचालन हुने भएको हो ।
इनरुवा क्षेत्रको निजी तथा मावि तहका सामुदायिक विद्यालयहरुले कक्षा ६ देखी १२ सम्म मंसिर १८ गतेबाट कक्षा संचालन गर्दै आएकोमा पुस १ गतेदेखी सबै कक्षा पुर्ववत रुपमा संचालन हुने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले जानकारी दिएका छन् । निरौलाका अनुसार पालिकाका सबै विद्यालयका प्रधानाध्यापकहरुसँग सामुहिक छलफल गर्दा विद्यालय संचालन गर्न सहमति जनाएकाले एकसाथ विद्यालय संचालन हुने भएको हो ।
बैठकमा प्रशासकीय अधिकृत निरौलाले समान्य स्वास्थ्य मापदण्ड पुरा गर्न आभिभावक र विद्यार्थीलाई आग्रह गर्ने तथा वडा कार्यालयहरुलाई सरसफाई सामाग्री साबुन पानी र थरमल गनको ब्यवस्था गरिदिन आग्रह गर्न प्रधानाध्यापकहरुलाई सुझाव दिनुभएको छ ।

निरौलाले नगरक्षेत्रमा ढिलो भएपनि सरकारले जारी गरेको परिमार्जित पाठ योजना अनुसार पढाउने कार्यमा लाग्न प्रअहरुलाई आग्रह गर्नुभयो । प्रअहरुको बैठकबाट कक्षा १ देखी ५ सम्म पठनपाठन गर्न नगरपालिकामा विद्यालयहरुले पेश गरेको कार्ययोजना अनुसार नेपाल सरकारको कार्तिक २० गतेको निर्णय अनुसार स्वीकृत कोभिड १९ को सन्दर्भमा विद्यालय संचालन सम्वन्धि ऐन कार्यढाँचा २०७७ स्वीकृत गरी सोही अनुसार पुस १ गतेदेखी कक्षा १ देखी ५ सम्ममा पठनपाठन गर्ने अनुमति दिने निर्णय गरिएको छ ।
त्यसैगरी विविधमा छलफलमा गर्दा बालमन्दिर माविमा मावि तहको दरबन्दी नभएको अवस्थामा कक्षा संचालन गर्ने योग्यता विद्यालयको माग बमोजिम गर्ने भएको छ । त्यसैगरी विद्यालयहरुले आईईएम आईएसलाई पुस १५ गतेसम्ममा अधावधिक गर्ने, अनलाइन तालिममा प्रत्येक विद्यालयबाट दुईजनाका दरले प्राविबाट, तीनजनाका दरले निमाविबाट, पाँचजनाको दरले मावि र आठजनाका दरले उच्च माविबाट सहभागि गराउने विवरण माग गर्ने , दोश्रो चौमासिक माग फारम पुस ७ गतेसम्ममा तयार गरी नगरपालिकामा पेश गर्ने निर्णय गरेको छ । बैठकमा २६ सामुदायिक विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया