विराटनगरको पसलबाट एक ट्रक अवैध कपडा बरामद, भण्डारण गर्दै ठूला पसलबाट किनबेच
२५ मंसिर २०७७, बिहीबार १५:३५
विराटनगर । प्रहरीले विराटनगरको जलजला चोक नजिक रहेको एउटा पसलबाट बिहीबार दिउँसो ठूलो परिणाममा अवैध कपडा बरामद गरेको छ ।
विराटनगर महानगरपालिका–७ मेनरोडमा सञ्चालनमा रहेको ह्वाइट हाउस कपडा पसलबाट लाखौं रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार विराटनगरमा नाम चलेकोमध्येको उक्त कपडा पसल तरुण रौनियारले सञ्चालन गरेको खुलेको छ । तस्करीको अवैध कपडा पसलमा राखेर बिक्री गर्ने गरेको पाइएपछि रौनियारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा कपडा भण्डारण गरी बिक्री गर्ने पाइएपछि प्रहरीको टोलीले छापा हानेर कपडा बरामद गरेको एसपी खड्काले बताए । उनका अनुसार भारतबाट भन्सार छली गरेर अवैध रुपमा ल्याउँदै गोदाममा भण्डारण गरेर पसलदेखि ग्राहाकलाई बिक्री गर्ने गरेको पाइएको छ ।
छापा हान्न वानटेन ट्रक नै लिएर प्रहरी टोली पुगेको थियो । त्यस क्रममा पसल सञ्चालन गरिएको घरको माथिल्लो तलामा भण्डारण गरेर राखेको अवस्थामा कपडा बरामद भएको एसपी खड्काले बताए । उनका अनुसार पसल सञ्चालकले कपडाको कुनै पनि बिल विजक देखाउन सकेनन् । ठूलो परिणाममा कपडा भण्डारण गरिएको भए पनि बिल देखाउन नसकेपछि पसल सञ्चालक रौनियारलाई पनि नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको उनको भनाइ छ ।
रौनियारले लामो समयदेखि भारतबाट राजस्व छली गरेर अवैध रुपमा तस्करीको कपडामा सस्तोमा नेपाल भित्राउँदै महँगोमा बिक्री गर्ने गरेको सूचना प्रहरीमा थियो । पसलबाट सर्ट लगायतका एक ट्रक कपडा बरामद भएको जानकारी खड्काले दिए । खड्काका अनुसार कपडा लाखौं रुपैयाँ बराबरको भए पनि अनुसन्धानकै क्रममा रहेका कारण मूल्य यकिन हुन बाँकी छ । प्रहरी नियन्त्रणमा रहेको कपडा बिल प्रस्तुत गर्न नसकेमा आवश्यक कारबाहीका लागि बरामद भएको कपडासहित रौनियारलाई विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी उनले दिए । अवैध कपडासहित उनी पक्राउ परेपछि विराटनगरका ठूला र नाम चलेका पसलबाट तस्करीको कपडा किनबेच हुने गरेको खुलेको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमणका कारण लामो समयदेखि नेपाल–भारत आवतजावत बन्द छ । सीमा नाका शिल गर्दै आवतजावत पूर्ण रुपमा बन्द गरिएको हो । यस्तो अवस्थामा पनि नेपालबाट भारत र भारतबाट नेपालतिर हुने तस्करी धन्दा नरोकिएको पाइएपछि प्रहरीले नियन्त्रण गर्न विशेष अप्रेशन चलाइरहेको छ । सीमावर्ती नाकाबाट तस्करी नरोकिएपछि प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले नियन्त्रणमा लिन र तस्करीलाई शून्यमा झार्न विशेष निर्देशन दिएका छन् ।
कार्की तस्करी नियन्त्रणमा आफै खटिने गरेका छन् । ‘कोरोनाका कारण दुई देशबीच आवतजावत बन्द भए पनि सुरक्षाकर्मीलाई छल्दै तस्करले चोर बाटोको प्रयोग गरेर अवैध धन्दा चलाइरहेको पाइयो,’ उनले भने, ‘नियन्त्रणमा लिन र तस्करीलाई शून्यमा झार्न सीमा क्षेत्रमा प्रहरीलाई ‘हाईअलटर्’मा राखिएको छ ।’ डीआईजी कार्की आफैले पनि तस्करी नियन्त्रणका लागि प्रदेश प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरेका छन् । उनले तस्करी नियन्त्रणमा लागि सशस्त्र प्रहरीसँग समन्वय गर्दै उच्च सतर्कता अपनाएर सीमा क्षेत्रमा विशेष ढंगले निगरानी बढाइएको जानकारी दिए ।
‘सीमाबाट हुने तस्करी कुनै पनि हालतमा मान्य हुने छैन । त्यही भएर नियन्त्रणका लागि ठूलो मेहनत भइरहेको छ,’ कार्कीले भने, ‘तस्करीका कारण मुलुकलाई प्राप्त हुने करोडौं रुपैयाँ राजस्व छली भइरहेको छ । त्यसलाई रोक्न सीमा क्षेत्रमा विशेष अभियान सञ्चालन गरिएको छ । पूर्वेली न्यूजबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया