नेतृत्व विहिन लेखासमिति, साहलाई सभापतिमा उम्मेदवार बनाउने तयारी – Nagarikabhiyan : National News

नेतृत्व विहिन लेखासमिति, साहलाई सभापतिमा उम्मेदवार बनाउने तयारी

जनकपुरधाम । राज्यकोषको खर्च संसदले चाहे बमोजिम गर्न, त्यसको सुनिश्चितता गर्न तथा सरकारी कोषको प्रभावकारी एवं मितव्ययितापूर्वक खर्च भए/नभएको जाँच पड्ताल गर्नका लागि गठन गरिएको सार्वजनिक लेखा समिति संसदको एउटा महत्वपूर्ण विषयगत समिति हो । तर, प्रदेश नम्बर २ को प्रदेशसभा गठन भएको ३ वर्ष पुग्न लाग्दा पनि प्रदेशसभामा सार्वजनिक लेखासमितिको सभापति चयन भने अहिलेसम्म पनि हुन सकेको छैन ।

प्रदेशसभाका विभिन्न ७ वटा समितिमध्ये प्रमुख प्रतिपक्षी दलको हैसियतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पाएको सार्वजनिक लेखा समिति पार्टी भित्रको विवादका कारण अझै पूर्णता पाउन सकेको छैन ।

प्रदेशमा विकास निर्माणका नाममा भईरहेका अनियमितताका अनेक आरोप प्रदेश सरकारमाथि लागेपनि सार्वजनिक लेखासमिति नेतृत्वविहीन हुँदा ती आरोपहरुको छानविन गर्ने काम अहिलेसम्म पनि हुन सकेको छैन ।

प्रदेशसभाका ७ वटा संसदीय समितिमध्ये संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल २/२ तथा नेपाली कांग्रेसले एउटा समितिको नेतृत्व गर्ने गरी भागबण्डा भएको थियो । नेकपाको भागमा परेको लेखा समितिको सभापतिका लागि २०७५ मंसिर २३ गते बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य भरतप्रसाद साहलाई उम्मेदवार बनाउने निर्णय गरिएको थियो । यद्यपि नेकपाकै अर्का प्रदेशसभा सदस्य शत्रुधन महतो बागी उम्मेदवार बनेपछि नेकपा भित्र विवाद चुलिएको थियो । नेकपा भित्रको यो विवादको निक्यौल लाग्न नसकेकाले यो प्रक्रिया अहिलेसम्म अल्झिरहेको छ ।

नेकपा प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डलले पार्टी भित्रकै आन्तरिक समस्याका कारण लेखासमितिको सभापति चयन हुन नसकेको स्वीकार गरे । उनले भने,‘पार्टी भित्रको अराजकताका कारण हामी सभापति चयन गर्न सकेका छैनौँ ।’

मण्डलले नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेता प्रभु साहले प्रदेशसभा सदस्य ज्वाला साहलाई लेखासमितिको सभापतिको उम्मेदवार बनाउन दवाब दिएपछि उनलाई पनि उम्मेदवार बनाउने प्रक्रिया पूरा गरेको जानकारी दिए । उनले भने,‘पार्टी अध्यक्ष प्रचण्डको दवाबपछि ज्वाला साहलाई उम्मेदवार बनाउने सम्म्पूर्ण तयारी पूरा गरेका थियौँ तर पार्टी भित्रै भरत साह लगायतका प्रदेशसभा सदस्यहरुले बिरोध जनाएपछि फेरी चयन हुन सकेन ।’

प्रदेशसभा बैठक शुरु भएलगत्तै सभापतिका लागि ज्वाला साहको उम्मेदवारी दिने उनले बताए । ज्वाला साहको उम्मेदवारीका लागि पूरा गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरेर सभामुखलाई बुझाईसकेको मण्डलले जानकारी दिए ।

यता सभामुख र संसद सचिवालयको गैर जिम्मेवारीका कारण सार्वजनिक लेखा समिति नै अन्योलमा परेको प्रदेशसभा सदस्यहरुको आरोप छ । प्रदेशसभा सचिवालयले भने केही दिनभित्रै सार्वजनिक लेखा समिति चयन हुने जनाएको छ ।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले सार्वजनिक लेखा समितिको सभापति नहुँदा पनि समितिले नै काम गरिरहेको बताए ।

उनले भने,‘समिति नै नभएको होइन, सभापति मात्रै नरहेको अवस्था छ ।’ गत वर्ष प्रदेशसभा सचिवालयकै १ करोड ७९ लाख रुपैयाँ बेरुजु छ । महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनमा तलब बुझेर कर कट्टा नगराएका ४ जना प्रदेशसभा सदस्यबाहेक सभामुख, उपसभामुख लगायतका ९३ लाख रुपैयाँ बेरुजु रहेको छ ।

प्रदेशसभामा आन्तरिक मामिलाअन्तर्गतका सबै काम र अन्य मन्त्रालयसँग सम्बन्धित विधेयकहरुका बारेमा विधायन समितिले संसदमा पेश भई समितिमा आउने सबै विधेयक उपर संशोधन लगायतका प्रत्यायोजित विधायन सम्बन्धि सबै कार्यहरु गर्ने लगायत मन्त्रालय, विभाग र अन्र्तगतका निकायहरुको नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन र अरु यससँग सम्बन्धित क्रियाकलापको मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने तथा समुचित टिप्पणी, सिफारिस र निर्देशन सहितको वार्षिक प्रतिवेदन बैठकमा पेश गर्ने काम सार्वजनिक लेखासमितिले गर्ने गर्दछ । द नेपालटप