प्रदेश १ सरकार : पहिलो चौमासिकमा १२ प्रतिशत बजेट खर्च गर्न सफल – Nagarikabhiyan : National News

प्रदेश १ सरकार : पहिलो चौमासिकमा १२ प्रतिशत बजेट खर्च गर्न सफल

विराटनगर । लामो समयसम्म भएको लकडाउन र कोरोना महामारीका बीच पनि प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा करिब साढे १२ प्रतिशत बजेट खर्च गर्न सफल भएको जनाएको छ ।

गत वर्षको यसै अवधिमा करिब ७ प्रतिशत मात्र बजेट खर्च भएको थियो । कोभिड नाईन्टिनका कारण आर्थिक र विकासका गतिविधिहरु प्रभावित भइरहेको बेला चालूतर्फ करिब ८ प्रतिशत र पूँजीगततर्फ करिब साढे १५ प्रतिशत गरी करिब ४ अर्ब ९६ करोड रुपैया खर्च भएको प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले राजस्व संकलन केही प्रभावित भएपनि प्राथमिकतामा रहेका योजनाहरुका लागि श्रोत अभाव हुन नदिने जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण राजस्व संकलन प्रभावित भएको र संघीय सरकारबाट प्राप्त हुने अनुदान समेत घट्ने स्थिति रहेकाले कोभिड बाहेकका नयाँ योजनाहरु सन्चालन नगर्न सबै मन्त्रालयहरुलाई निर्देशन दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि करिब ३ सय योजनाहरुका लागि बजेट छुट्याएको थियो । न्युज२४बाट