ईञ्जिनियरसहित चार जनाविरूद्ध भ्रष्टाचारको मुद्दा
२१ मंसिर २०७७, आईतवार १६:४१
काठमाडौं । सप्तरी जिल्ला प्राविधिक कार्यलयका ईन्जिनियरसहित चार जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालयका ईन्जिनियर विकासकुमार श्रेष्ठसहित चार जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
अख्तियारले उनीहरू विरूद्ध गैरकानूनी रुपमा लाभ लिई सरकारलाई हानिनोक्सानी पुर्याएको भन्दै आइतबार काठमाडौं विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
शम्भुनाथ नगरपालिका-१ को खाँडो खोलामा खेलकुद मन्त्रालयबाट खेलकूद फिल्ड मर्मत सम्भारका लागि बजेट आएको थियो।
उनीहरूले कुनै काम नगरी उपभोक्ता समिति र प्राविधिक कर्मचारीले फर्जी बिल भरपाई पेश गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।
सो उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला प्राविधिक कार्यालय, सप्तरीका ईन्जिनियर श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र वर्मा, तत्कालीन प्रशासकीय अधिकृत महेन्द्र प्रसाद यादव र फुटबल खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धिलाल यादवको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार उनीहरूले दुई लाख ७५ हजार ६ सय २३ रुपैयाँ बराबरको रकम बढी भुक्तानी लिने/दिने गरी सरकारलाई हानिनोक्सानी पुर्याएका थिए।
उनीहरूमाथि बिगो रकम असुल गरी कारबाही गर्न अख्तियारले माग गरेको छ। सेतोपाटी

फेसबुकबाट तपाईको प्रतिक्रिया