युनिसफद्वारा सहयोग गर्न दातृनिकायसँग अनुरोध – Nagarikabhiyan : National News

युनिसफद्वारा सहयोग गर्न दातृनिकायसँग अनुरोध

काठमाडौं । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आगामी वर्षका लागि ६ अर्ब ४० करोड अमेरिकी डलर बजेटको आवश्यकता रहेको जनाएको छ ।

युनिसेफको आपतकालीन कोष व्यवस्थाबाट १ करोड ९० लाख बालबालिकासहित कूल ३० करोड व्यक्तिलाई आपतकालीन सहयोग गर्न उक्त रकम आवश्यक पर्ने र सो रकमका लागि दातृ निकाय समक्ष अपिल गरिएको युनिसेफको प्रधान कार्यालयले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण अति जोखिममा परेका समूदाय खास गरी महिला र बालबालिकालाई मानवीय सहायता उपलब्ध गराउन उक्त रकम जरुरी रहेको युनिसेफद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

यस अभूतपूर्व परिस्थितिमा अभूतपूर्व प्रतिक्रिया जरुरी हुने भन्दै यस घडीमा सबै दातृ निकायलाई बालबालिकाको समुन्नत भविष्यका लागि एकताबद्ध भएर हातेमालो गर्न आह्वान गरिएको छ ।

उक्त रकम चालु वर्षको भन्दा ३५ प्रतिशत बढी हो । बालबालिकाका लागि अहिले नियमित खोप अभियान ६० भन्दा बढी मुलुकमा अबरुद्ध रहेको र यसै वर्ष नयाँ मानवीय संकट पनि उत्पन्न भएको युनिसेफको भनाई छ ।

व्यक्ति हत्या, अपहरण, सैनिक सेवामा जबर्जस्ती भर्ना तथा बालसैन्यका रुपमा बालबालिकालाई प्रयोग गरिएको युनिसेफले भनाइ छ । जलवायुसँग सम्बन्धित विपद् विगत ३० वर्षमा ३ गुणा बढेको र यसबाट खाद्य सुरक्षामा चुनौती थपिएको, पानीको स्रोत घटेको, मानिसलाई पलायन हुन बाध्य पारिएको साथै द्वन्द्व र सार्वजनिक स्वास्थ्यको जोखिम बढेको युनसेफले जनाएको छ । द नेपालटप