भारत र बंगलादेशमा हवाई उडानको तयारी
१२ मंसिर २०७७, शुक्रबार ११:५८
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अवरूद्ध भारत र बङ्लादेशसँगको हवाई उडानका लागि बाटो खुलेको छ।
बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले सबै देशसँगको उडान खोल्ने निर्णय गरेसँगै भारत र बङ्लादेशसँगको हवाई उडानका लागि पनि बाटो खुलेको छ। उक्त निर्णयपछि अब उडान हुन नसकिरहेका विशेष गरी भारत र बङ्लादेशका उड्ययन निकायहरूसँग छलफल गरी उडान शुरू गर्ने मिति तय गरिने सरकारको भनाइ छ।
यसअघि भारतले तेश्रो मुलुकका नागरिक बाहेक एक अर्काका देशमा बसिरहेका नेपाली र भारतीय नागरिकले मात्र उडान गर्न पाउने ‘एयर बबल’भनिने उडान ढाँचामा सहभागी हुन गरेको आग्रहलाई नेपाल सरकारले मानिरहेको थिएन।
“अन्यत्रको उडान खुला नै रहेको थियो। बुधवारको मन्त्रिपरिषद्को बैठकले भारत र बङ्लादेशको उडान पनि खोल्ने निर्णय गरेको छ। अब यो तुरुन्तै कार्यान्वयनमा जान्छ”, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भने, “तीन चार दिनभित्रै अब भारत र बङ्लादेशको पनि उडानका तालिकाहरू दिन्छौँ। त्यसका लागि हामीले भारत र बङ्लादेशका उड्डयन निकायसँग छलफल गर्नुपर्छ। दुवै देशका अधिकारीहरूले छलफल गरेर तालिका निकाल्छन्।”
भारतको “एअर बबल’ भनिने अवधारणामा नेपाल सहभागी हुने या नहुने भन्नेबारे अझै निर्क्यौल नभइसकेको उनले बताए। मन्त्री भट्टराई भन्छन्, “उहाँहरूले त्यस्तो कुरा राखेको भए पनि हामीले नियमित किसिमकै उडानहरू गरौँ भनेका छौँ। उहाँहरूको प्रस्ताव र हाम्रो प्रस्तावमा अब छलफल हुन्छ।”
अघिल्लो साता भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालसँग “एअर बबल” सम्झौताको सम्भाव्यता भारतले खोजिरहेको बताएका थिए। एअर बबल अन्तर्गतको सम्झौतामा विदेशी बाहेक नेपाल वा भारतमा बसिरहेका दुई देशका नागरिकका लागि मात्रै हुने हिसाबले हवाई उडान खोल्न भारतले नेपालसमक्ष प्रस्ताव राखेको बताइन्छ।
कोभिड(१९ को महामारी देखा परेपछि नियमित उडानहरू अवरूद्ध भएयता भारतले हालसम्म २२ वटा देशसँग यस्तो उडान सम्झौता गरेको छ। भारतसँगको उडान अवरूद्ध हुँदा ठूलो सङ्ख्यामा त्यहाँ काम गर्न जाने र अध्ययन गर्न बस्ने नेपालीह मारमा परेका थिए।
महामारीका कारण लकडाउन लगाइएपछि गएको मार्च महिनापछि केही समय नेपाल भारत स्थलमार्गबाट भइरहेको आवतजावत पूर्ण रूपमा रोकिएको भए पनि हाल त्यसलाई सीमित पारिएको छ। विशेष अवस्थामा विदेशी नागरिक बाहेक नेपाली नागरिकहलाई मात्रै हाल भारतसँगको सीमाका तोकिएका नाकाबाट प्रवेश गर्न दिइएको छ।
स्रोत : द नेपालटप

फेसबुकबाट तपाईको प्रतिक्रिया