सीमा विवादः जाडोमा चिनियाँ सेनालाई पहिलोपटक तातो पानीको सुविधा
१० मंसिर २०७७, बुधबार १७:४१
भारतसँगको सीमा विवादबीच सिमानामा खटिरहेका चिनियाँ सेनाले जाडोमा तातो पानीको सुविधा प्राप्त गरेका छन्।
तिब्बतको समतल क्षेत्र र सिनजियाङमा तैनाथ चिनियाँ सेनाले १३ वटा इनार खनेको र उक्त इनारको पानी तातो बनाउनलाई सोलर प्यानल जडान गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
४ हजारदेखि ५ हजार मिटरमाथि इनारहरु खनिएका छन्। पहिलोपटक चिनियाँ सेनाले सिमानामा तातो पानीको सुविधा प्राप्त गरेको बताइएको छ। यी सेनाहरुले जाडोमा तातो पानीले नै नुहाउनेछन्।
यस क्षेत्रको औसत तापक्रम माइनस १० डिग्री सेल्सियस हो, जाडोमा यहाँको तापक्रम झनै तल झर्छ।
त्यसकारण २४ घण्टा नै तातो पानीको सुविधा पाएपछि सेनाहरुले ठूलो राहत महसुस गरेको बताइएको छ।
यसअघि सेनाहरुले खोलको पानी ट्यांकरमा बोकेर ल्याउँथे र त्यही पानी नुहाउन र पिउन प्रयोग गर्दथे।
स्रोत : नेपालखबर

फेसबुकबाट तपाईको प्रतिक्रिया