यसबर्ष सुर्य उपासनाको महानपर्व छठ पनि प्रभावित,
४ मंसिर २०७७, बिहीबार १९:५२
देवानगञ्ज । कोरोना महामारीका कारण दशैं र तिहार जस्तै यसबर्ष सुर्य उपासनाको महानपर्व छठ पनि प्रभावित भएको छ । कोरोना महामारीका कारण जलाशयमा गएर छठपर्व मनाउन सुरक्षित नभएपछि स्थानीयले यसबर्ष घरघरमै छठपर्व मनाउने तयारी थालेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले भीडभाडरहित छठपर्व मनाउन आग्रह गरेपछि स्थानीयले यसबर्ष घरमै छठपर्व मनाउने तयारी थालेका छन् । उनीहरुले घरघरमै कृत्रिम पोखरीको निमार्ण गरि छठपर्व मनाउने तयारी थालेका हुन् ।
यही मङसिर ४ गतेदेखि सुर्य उपासनाको महानपर्व छठ सुरु हुँदैछ । यसबर्ष मङ्सिर ४ गते नहाय खाय, ५ गते अस्ताउँदो र ६ गते उदाउँदो सुर्यलाई अर्घ दिईने कार्यक्रम परेको छ । गत कात्र्तिक २७ गते एक सुचना जारी गर्दै सुनसरी प्रशासनले आवश्यक स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्दै छठपर्व मनाउन सम्पुर्ण सुनसरीबासीलाई आग्रह गरेको थियो । प्रशासनको आग्रह बमोजिम यसबर्ष घरमै छठपर्व मनाउने तयारीमा जुटेको देवानगञ्ज -१ निवासी डोमी ठाकुरले बताउनुभयो । उहाँले घर छेउमा रहेको खाली जग्गामा कृत्रिम पोखरीको निमार्ण गरि पुर्ण आस्था र विश्वासका साथ छठ मनाउने निर्णय गरेको जानकारी दिनुभयो ।
यसपटक अन्य बर्षहरु झैं छठपर्व मनाउन रोक लगाईएपछि ईनरुवा भएर बग्ने मोरिया खोला, बुढी खोला र सुनसरी मोरङ सिँचाई आयोजना अन्तर्गतको नहर क्षेत्र पनि सुनसान देखिएको छ ।। भाईटिकाको भोलिपल्ट सम्बन्धित जलाशयहरुमा घाट बनाउने क्रियाकलापमा होमिने गरेका स्थानीयहरुले यसबर्ष घरमै छठ मनाउने निधो गरेपछि जलाशयहरुको रौनकता समेत गुमेको छ । कोरोना महामारीको फैलिदो संक्रमण र बढ्दो जोखिमले गर्दा यसबर्ष जलाशयहरुमा अन्य बर्षहरु झैं जमिन सुम्सुम्याउने, केराको थम्बा गाड्ने, सजावट गर्ने, टेन्ट तथा पाल लगाउने र भीडभाड गर्ने लगायतका क्रियाकलापहरु गर्न नदिईने जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) महेश कुमार पोख्रेलले बताउनुभयो । यद्यपि घरमै छठपर्व मनाउन नसक्नेहरुका लागी बढी भीडभाड नगरि आवश्यक सुरक्षा मापदण्ड अपनाएर सम्बन्धित जलाशयमा गएर अर्घ दिन पाउने व्यवस्था गरिएको जिल्ला प्ररहरी कार्यलाय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो ।
उहाँले यसबाहेकका अन्य सबै क्रियाकलापहरुमा रोक लगाईएको जानकारी दिँदै सो को व्यवस्थापनका निम्त्ति प्रशस्त प्रहरी परिचालन गरिने उल्लेख गर्नुभयो । कोरोना महामारीका कारण प्रदेश नं. १ मा हालसम्म २ सय ९३ जनाको ज्यान गईसकेको छ भने २४ हजार ७६ जना संक्रमित भईसकेका छन् । चाडपर्व बिशेषमा आवश्यक सुरक्षा सर्तकता अपनाउन सकिए यस महामारीको जोखिमबाट बच्न सकिने सुनसरी प्रशासनको बुझाई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया