तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये
३ माघ २०८०, बुधबार ११:५१
लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम संखुवासभा ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ । सो क्षेत्रमा मंगलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो ।
तीनजुरेडाँडा, फेदी पाथीभरा मन्दिर परिसर मंगलबारे र गुफा पोखरी हिउँले सेताम्ये भएका छन् । गुराँसका जंगल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन् । यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजंगा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन् ।
हिउँ परेसँगै हेर्न आउने पर्यटकले फोनमार्फत होटल बुकिङ गरिरहेको तेह्रथुम लालीगुराँस नगरपालिका–१ टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीले बताए । उनले अहिले होटल व्यवस्थापनमा भ्याइनभ्याइ भएको जानकारी दिए । उनका अनुसार हिउँ पर्ने याममा झापा, मोरङ सुनसरी र भारतका बिहार सिक्किम पश्चिम बंगाल र दिल्लीबाट पर्यटक आउने गर्छन् । गतवर्ष हिउँ नपर्दा यो क्षेत्रमा कम गुराँस फुलेको बताइएको छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा बनेको चोत्लुङ उद्यान आरआर गार्डेन पाथिभरा मन्दिर मङ्गलबारेबाट माथि पाथिभरा मन्दिरसम्मको फुट ट्रयाक अवलोकन गर्न र हेर्न बर्सेनि हजारौँ पर्यटक आउने गर्छन् । विशेषगरी हिउँ पर्ने र गुराँस फुल्ने याममा धेरै पर्यटक आउने गरेको वसन्तपुरका होटल व्यवसायी प्रकाश श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया