जाजरकोट भूकम्पपछि साढे ६ सय परकम्प आउनेक्रम जारी – Nagarikabhiyan : National News

जाजरकोट भूकम्पपछि साढे ६ सय परकम्प आउनेक्रम जारी

 

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर आएको भूकम्पका परकम्प आउनेक्रम जारी छ । कात्तिक १७ मा ६।४ म्याग्निच्युडको भूकम्पपछि त्यस क्षेत्रमा साढे ६ सय परकम्प आइसकेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले परकम्प अझै आउने बताए । ‘जाजरकोट भूकम्पपछि उक्त केन्द्रमा साढे ६ सय परकम्प आइसकेको छ,’ उनले भने नेपाल भूकम्पीय जोखिम क्षेत्र भएकाले अरु क्षेत्रमा पनि कम्पन आइरहको छ ।जाजरकोट भूकम्प अध्ययनका लागि नास्ट र भूकम्प अनुसन्धान केन्द्रले रुकुमको दुई र जाजरकोटको दुई ठाउँमा भूकम्प मापन प्राविधिक यन्त्र सिस्मोमिटर  जडान गरेको थियो । ती उपकरणले निरन्तर संकेत दिइएरहेको उनले बताए ।

नास्टले बारेकोट रामीडाँडा केन्द्रविन्दु सीमा जोडिएको कुशे गाउँपालिका  रुकुम पश्चिमको खलंगा र गोतामकोट र भूकम्प मापन केन्द्रले बारेकोट २ भूकम्प मापनयन्त्र जडान गरिएको थियो ।
भूकम्पले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले ल्याएको कहर ठूलो छ । बारेकोट रामीडाँगा केन्द्रविन्दु बनाएर आएको भूकम्पले १७ हजार ८ सय ६५ पूर्ण र ४३ हजार ९ सय २४ गरी ६१ हजार ७ सय ८९ मा क्षति पुगेको छ । यसबाट करिब ६७ हजार ३ सय १० परिवार प्रभावित भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भूकम्पमा परी १ सय ५७ को मृत्यु र ३ सय ७२ घाइते भएका थिए । भूकम्पपछि चिसोका कारण ३५ मृत्यु भइसकेको छ ।

भूकम्पविद् अधिकारीले भूकम्प गएको क्षेत्रमा निरन्तर परकम्प जानु सकारात्मक भए पनि जोखिम हटिसकेको भन्न नमिल्ने बताए । ‘नेपाल साना भूकम्प गइरहने क्षेत्र हो । ठूलो गएपछि मात्र सबैका ध्याना जान्छ उनले भने ‘ठूलो भूकम्प जहिले पनि जान सक्छ । त्यसका लागि भौतिक संरचना बलियो हुनुपर्छ तर त्यतातिर ध्यान जान सकेको छैन ।

उनले २०७२ को भूकम्पपछि शिक्षा लिएर नेपालको पश्चिम भागमा भूकम्प प्रतिरोधी संरचना बनाउने अभियान चलाएको भए जाजरकोट भूकम्पबाट ठूलो क्षतिबाट बच्ने सम्भावना भएको बताए । हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइन्छ । तर भूकम्प प्रतिरोधी संरचना बनाउन पालिकाहरु सचेत भएको पाइएन उनले भने, भूकम्पबाट सुरक्षित हुन पहिले भूकम्प प्रतिरोधी संरचना बनाउने अभियानै चलाउनु पर्‍यो ।

उनले स्थानीय सरकारको रुपमा रहेका पालिकाले अनिवार्य भूकम्प प्रतिरोधी निर्माण गर्न पहल गर्नुपर्ने बताए । ‘नेपालमा कुनै बेला ठूलो भूकम्प जान सक्छ । त्यसबाट सुरक्षित रहन पालिकाले योजना बनाएरै काम गर्नुपर्ने देखिन्छ उनको भनाइ छ भूकम्प गएको क्षेत्रमा मात्र प्रतिरोधी संरचना बनाएर भएन अब । देशभर नै अभियान सुरु गर्नुपर्छ ।