राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता शुरु कोशीमा गठबन्धनको तर्फबाट सिटौलाको मनोनयन दर्ता – Nagarikabhiyan : National News

राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता शुरु कोशीमा गठबन्धनको तर्फबाट सिटौलाको मनोनयन दर्ता

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आउँदो माघ ११ गते हुने चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता शुरु भएको छ । कोशीमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सिटौलाले उम्मेदवारी दर्ता गर्नुभएको हो । सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि मनोनयन दर्ता शुरु भएको छ । आज दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभा चुनावमा प्रदेशसभा सदस्य तथा महानगरपालिका उपमहानगरपालिका नगरपालिका गाउँपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ । प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार चार सय ६२ रहने निर्वाचन आयोगले जनाएको छ ।

अघिल्ला वर्षहरुमा जस्तै यस चुनावमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला दलित अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ । माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल हरेक दुई वर्षमा सकिन्छ भने कार्यकाल छ वर्षको हुन्छ । अहिले २० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ ।
राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।