कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार शेखर पक्षलाई ३ सिट – Nagarikabhiyan : National News

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार शेखर पक्षलाई ३ सिट

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जना उम्मेदवारको नाम टुंग्याएको छ ।
कांग्रेसले कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना मधेश बिष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत बगमती, कृष्ण रोकाया कर्णाली नारायण दत्त भटट र बलदेव बोहरा सुदुरपश्चिम पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ गण्डकी बिष्णुदेवी सापकोटा लुम्बिनी लाई उम्मेदवार बनाउने निर्णय कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको हो ।

परियार श्रेष्ठ र सापकोटा शेखर कोइराला पक्षबाट उम्मेदवार बन्न लागेका हुन् । शेखर पक्षले सभापति देउवासमक्ष आफ्नो समूहलाई चार सिट दिनुपर्ने माग गरेपनि ३ सिटमा चित्त बुझाएको छ ।
यसअघि दुईपटक झापाबाट चुनाव हारेका पूवमहामन्त्री सिटौलालाई अध्यक्ष बनाउने गरी राष्ट्रियसभामा लैजान लागेको चर्चा छ ।

पार्टी निर्णयमा कांग्रेसका महामन्त्री गगनकुमार थापाले भने लिखितरुपमा फरक मत राखेका छन् ।

माघ ११ मा हुने चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर राष्ट्रिय सभामा साझा उम्मेदवार तय गरेको हो । १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट भागबन्डा गरेर उम्मेदवारी दिने सहमति भएको थियो ।