छाती र टाउकोमा बल खान तयार छौं – Nagarikabhiyan : National News

छाती र टाउकोमा बल खान तयार छौं

दक्षिण अफ्रिका र भारतबीचको दोस्रो टेस्ट क्रिकेट दुई दिन पनि टिकेन । केपटाउनमा भएको पाँच दिनको खेल ६ सय ४२ बलमात्र खेल्न सम्भव भयो । त्यसपछि घरेलु टोली दक्षिण अफ्रिकाले बिहीबार भ्रमणकारी टोलीसामु घुँडा टेकेको थियो । पहिलो दिनमै २३ विकेट झर्दा दक्षिण अफ्रिकाको पहिलो इनिङ्स ५५ रनमै समेटिएको थियो ।

टेस्ट क्रिकेट इतिहासकै यो सबैभन्दा छोटो टेस्ट बन्यो । यसखाले नतिजा टेस्टमा अनेपेक्षित नै हुन्छ । तर, दक्षिण अफ्रिकाको विकेट वाउन्सी हुने हुनाले सानो स्कोर बन्नु कुनै नौलो होइन । तीव्र गतिका बलरको बोलवाला हुँदा ब्याटरले मजाले ब्याट घुमाउने अवसर कम पाउने गर्छन् ।

संयोगले नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोली विश्वकप खेल्नका लागि शुक्रबार दक्षिण अफ्रिका लागेको छ । नेपाली यू–१९ टोली कतारको दोहा हुँदै जोहानेसबर्ग पुग्ने कार्यक्रम छ । यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुँदै छ ।

नेपालले यू–१९ विश्वकपमा आठौं पटक सहभागिता जनाउँदै छ । सन् २०१६ यता नेपालले पहिलो पटक यू–१९ विश्वकप खेल्न लागेको हो । दक्षिण अफ्रिकामा भने नेपालले पहिलो पटक यू–१९ विश्वकप खेल्दै छ । यसअघि नेपालले सन् २००० मा श्रीलंका, २००२ मा न्युजिल्यान्ड, २००४ मा बंगलादेश, २००६ मा श्रीलंका, २००८ मा मलेसिया, २०१२ मा अस्ट्रेलिया र २०१६ मा बंगलादेशमा यू–१९ विश्वकप खेलेको थियो ।