निर्माणाधीन जाजरकोट–डोल्पा सडक खण्डमा चन्दा माग्दै काममा अवरोध – Nagarikabhiyan : National News

निर्माणाधीन जाजरकोट–डोल्पा सडक खण्डमा चन्दा माग्दै काममा अवरोध

भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा निर्माण व्यवसायीसँग चन्दा माग्दै सडक अवरुद्ध पारिएको छ । शुक्रबार अपरान्ह ४ बजेतिर निर्माणस्थलमा पुगेका ३(४ जना युवाले सडक निर्माणको काम गरिरहेका सवारीसाधनका साँचो झिकेर काममा अवरोध गरेको बताइएको छ ।

जाजरकोटको नलगाढ नगरपालिका–७ दानीपिपलमा स्थानीय युवाले आर्थिक सहयोग मागेको र उक्त रकम नदिँदा सडक खनिरहेका साधनको साँचो झिकिएको निर्माण कम्पनीका साइट इन्चार्ज पतिराम रोकाले बताए । ‘बेला बेलामा विभिन्न खाले सहयोग माग्नेहरुलाई सकेको सहयोग गरिएकै हो । तर यो चाहिँ अति भएपछि हामी दिएनौं । अनि हाम्रा सवारीको चाबी तानिदिए, उनले भने ।

यस खण्डमा श्रेष्ठ कन्ट्रक्सन मार्फत यती विल्डर्सले सडक कालोपत्रेको काम गरिरहेको छ । आफ्ना स्काभेटर, भ्याकुलोडर, ट्याक्टर र टिपर गरी ४ वटा सवारीसाधन रोकेको इन्चार्ज रोकाको भनाइ छ । बिच सडकमै सवारीसाधनहरु रोकिँदा अन्य सवारीसाधन समेत आउजाउ गर्न सकेका छैनन् ।

काम गरिरहेका बेला विभिन्न नाम र बहानामा धम्क्याउने र रकम माग्दै काममा नै अवरोध गर्ने कार्य सधैंका लागि समाधान गरेर बिना त्रास काम गर्ने वातावतरण मिलाउन प्रशासनसँग निर्माण व्यवयायीले माग गरेका छन् ।