कर्फ्यू हट्यो भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा
२१ पुष २०८०, शनिबार ०८:४०
सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ।
शुक्रबार अपराह्नदेखि लागेको कर्फ्यू अहिले बिहान ८ बजे हटाएर निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा आइतबार बिहान ८ बजेसम्म रहने प्रहरी नायब उपरीक्षक डिएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए।
शुक्रबार दिउँसो नगर अस्पताल स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर बरहथवा–६ का जयशंकर साह मृत्यु भएको थियो। प्रदर्शनका क्रममा भएको झडपमा ८ प्रहरीसहित १० जना घाइते भएका थिए।
स्थिति नियन्त्रणमा नआएपछि स्थानीय प्रशासनले अपराह्नदेखि कर्फ्यू आदेश जारी गरेको थियो।
प्रहरीको गोली लागेर मारिएका साहको शव अहिले पनि घटनास्थलमै छ। स्थानीयवासी शव घेरा हालेर रातभर घटनास्थलमै बसेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया